
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले आफ्नो कार्यकाल सकिन लाग्दा ४५ जना आफन्त र पार्टी कार्यकर्तालाई बिना प्रतिस्पर्धा नियुक्तिपत्र दिएका छन्।
- अधिकारीले करारमा नियुक्ति गर्दा लोक सेवा आयोगको अनुमति र लिखित परीक्षा नलिएको निगम स्रोतले बताएका छन्।
- अधिकारीमाथि ८ अर्बको टेन्डर प्रक्रिया नगरी गोप्य सम्झौता गरेको र अन्तर्राष्ट्रिय टिकट बिक्रीमा मिलेमतो गरेको आरोप कर्मचारीले लगाएका छन्।
२ कात्तिक, काठमाडौं । ११ कात्तिकदेखि कार्यकाल सकिन लागेका नेपाल वायुसेवा निगम (नेवानि) अध्यक्ष युवराज अधिकारीले करारमा भर्ना गरेका ४५ जना आफन्त र पार्टी कार्यकर्तालाई आफू अवकाश भएपछि हाजिर हुने गरी नियुक्तिपत्र दिएका छन् ।
नेवानिले ८ असोजमा करारमा नियुक्तिका लागि कर्मचारी छनोट गरेको भन्दै ४५ जनाको नाम गोरखापत्रमा प्रकाशन गरेको थियो । अध्यक्ष अधिकारीले विनाप्रतिस्पर्धा नाम मात्रैको अन्तर्वार्ता लिएर २ सयभन्दा बढी करार र ज्यालादारीका कर्मचारी भर्ना गरेका थिए । त्यसमध्ये अवकाश जान एक महिनामात्रै बाँकी हुँदा उनले लिखित परीक्षा समेत नलिई ४५ कर्मचारी भर्ना गरेका थिए ।
त्यसबारे अनलाइनखबरले समाचार प्रकाशित गरेपछि नियुक्तिपत्र दिन रोकिएकोमा तिहार बिदा सुरु हुनुअघि उनीहरूलाई नियुक्तिपत्र बाँडिएको र तिहारपछिबाट हाजिर हुने गरी उनीहरूलाई नियुक्तिपत्र दिइएको निगम स्रोतले बतायो ।
अवकाशमा जाने बेला संस्थालाई दीर्घकालीन आर्थिक भार पर्ने खालको कुनै पनि निर्णय गर्न नमिल्नेमा उनले तेस्रो, चौथो र पाँचौं तहका कर्मचारीलाई नियुक्तिपत्र बाँडेका हुन् ।
अधिकारीले १ असोज २०८२ मा चौथो (खरिदार) र पाँचौं (नासु) तहमा २५ कर्मचारी करारमा भर्ना गर्ने गरी सूचीसहित गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो ।
त्यस्तै ६ असोजमा २० जना जुनियर ग्राउन्ड इक्विपमेन्ट अपरेटर (तेस्रो) तहका कर्मचारी भर्ना गर्न छनोट सम्बन्धी सूचना नेवानिले निकालेको थियो । तिनै कर्मचारीलाई नियुक्तिपत्र प्रदान गरिएको स्रोतले बतायो ।
प्रतिस्पर्धा नै नगराइ कर्मचारी भर्ना गरेको र तिनलाई नियुक्तिपत्र नै प्रदान गरिएको विषयमा अनलाइनखबरले तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका प्रवक्ता रामकष्ण लामिछानेलाई जिज्ञासा राखेको थियो । त्यस विषयमा मन्त्रालयमा कुनै जानकारी वा उजुरी नआएको र निगमले गरेको नियुक्तिका विषयमा पनि जानकारी नभएको उनले बताए ।
नेवानिले वरिष्ठ प्राविधिक पदमा ११ र प्राविधिक पदमा १३ कर्मचारी छनोट गर्ने सूचना १ असोजमा प्रकाशित गरेको थियो । ५ असार २०८२ मा प्रकाशित सूचना बमोजिम अन्तर्वार्ता गरी तीन वटै तहमा कर्मचारी छनोट गरिएको नेवानिले जनाएको छ ।
लोक सेवा आयोगको संगठित संस्थाका कर्मचारीको सेवाका सर्त सम्बन्धी कानुन, बढुवा र विभागीय कारबाही सम्बन्धी व्यवस्था सामान्यतया संगठित संस्थाले अस्थायी वा करारमा नियुक्ति गर्न पाइँदैन ।
तर, संगठनलाई आवश्यक कार्यालय सहयोगी र श्रेणीविहीन पदहरूमा कर्मचारी नियुक्ति गर्नुपरे मात्रै करार वा दैनिक ज्यालादारीमा राख्न पाइने व्यवस्था छ । त्यसरी अस्थायी वा करारमा कर्मचारी नियुक्ति गर्दा प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने व्यवस्था समेत छ ।
तर, कार्यकारी अध्यक्ष अधिकारीले तेस्रो, चौथो र पाँचौं तहमा अत्यधिक मात्रामा कर्मचारी भर्ना गरेका छन् । विगतमा विभिन्न पार्टीका मन्त्री बन्दा उनीहरूलाई रिझाउन पार्टीका कार्यकर्तालाई करार र ज्यालादारीमा नियुक्ति दिलाउने गरेका थिए । त्यसरी भर्ना भएका पार्टीका कार्यकर्ता २ सयभन्दा बढी भएको निगम स्रोत बताउँछ ।
अहिले जेनजी आन्दोलनले सत्ता परिवर्तन गरेको र सरकारले सुशासन कायम गर्ने प्रतिबद्धता पनि गरेको अवस्थामा अधिकारीले ठूलो रकम उठाएर तेस्रो, चौथो र पाँचौं तहका कर्मचारी लोकसेवा आयोगको अनुमति, लिखित जाँच लगायत प्रक्रिया नै पूरा नगरी भर्ना गरेको निगम स्रोतले बतायो ।
नेवानिले अहिले ४ जहाजबाट मुस्किलले उडान गरिरहेको छ । दुइटा वाइडबडी र दुई न्यारोबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणसमेत निगमले तिर्न सकेको छैन ।
तर, नेवानिमा १ हजार ४ सयभन्दा बढी कर्मचारीले काम गरिरहेका छन् । तीमध्ये आधाभन्दा बढी विभिन्न समयमा राजनीतिक नियुक्ति पाएका पार्र्टीका कार्यकर्ता रहेको सम्बद्ध स्रोत बताउँछ ।
सरकार र पर्यटनमन्त्री फेरिएपिच्छे नेवानिमा ज्यालादारी र करारका कर्मचारी थपिने गरेका छन् । तर, यसपटक भने सरकार र मन्त्री हटेको मौका छोपी कार्यकारी अध्यक्ष अधिकारीले आफूअनुकूल मानिसलाई नियुक्तिपत्र दिएर अवकाशमा जान लागेका हुन् ।
अधिकारीले मात्रै भर्ना गरेका दैनिक ज्यालादारी तथा करारका कर्मचारीका लागि मात्रै मासिक ६० देखि ७० लाख रुपैयाँ खर्च हुने गरेको स्रोत बताउँछ । अध्यक्ष अधिकारीले नयाँ आउने मन्त्रीलाई रिझाउने औजारका रूपमा कर्मचारी भर्ना गर्ने गरेको नेवानि स्रोत बताउँछ ।
आफ्नो कार्यकाल सकिँदै गर्दा नेवानिका कार्यकारी अध्यक्ष अधिकारीले दुइटा वाइडबडी जहाजको इन्जिन मर्मतका लागि ८ अर्बको टेन्डर प्रक्रियामा नगई कम्पनीसँग गोप्य सम्झौता र वार्ता गरी रोल्स रोयस कम्पनीसँग सिंगापुरमा बैठक गरेको आरोप उनीमाथि लगाइएको छ ।
त्यस्तै अन्तर्राष्ट्रिय टिकट बिक्रीमा अमुक ट्राभल एजेन्सीसँग मिलेमतो गर्ने गरेको आरोप पनि उनीमाथि कर्मचारीले लगाएका छन् । निगमको प्रतिनिधिका रूपमा अन्तर्राष्ट्रिय स्टेसनहरूमा जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्ति भएको तर त्यसमा करोडौं घोटाला हुने गरेको आरोप पनि कर्मचारीको छ ।
एयरबस ३२० जहाजमा प्रयोग गर्न ल्याइएको भाडाको इन्जिन समेत समयमा फिर्ता नगरिएको र पुरानो इन्जिन समेत मर्मत नगरी भाडाको इन्जिन प्रयोग गर्दा दैनिक १० लाखभन्दा बढी नोक्सानी भइरहेको पनि कर्मचारीको भनाइ छ ।
गत वर्ष एयरबस ३३० जहाजको नियमित गर्नुपर्ने सेड्युल चेक गर्नसमेत समयमा नपठाइएका कारण महिनौंसम्म जहाज मर्मत गर्ने कार्य रोकिएको र जहाज समयमा नेपाल नआइपुग्दा नेवानिलाई करोडौं नोक्सान पुगेको पनि कर्मचारीले बताएका छन् ।
प्रतिक्रिया 4