+
+
Shares

जाँदाजाँदै नेवानि अध्यक्ष अधिकारीले करारमा भर्ती गरे चार दर्जन कार्यकर्ता

सरकारले जारी गरेको खर्च कटौती सम्बन्धी निर्णयमा करार र अस्थायी कर्मचारी भर्ना गर्न नपाइने उल्लेख छ, तर नेवानि अध्यक्ष अधिकारीले करार र दैनिक ज्यालादारीमा करिब २ सय कर्मचारी भर्ना गरिसकेका छन् भने थप चार दर्जनलाई नियुक्ति दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते २१:०८

८ असोज, काठमाडौं । जेनजीको भ्रष्टाचार विरोधी आन्दोलनले सरकार फेरेर अन्तरिम सरकार बनिसके पनि नेपाल वायुसेवा निगम (नेवानि) का अध्यक्ष युवराज अधिकारीले भने करारमा राजनीतिक कार्यकर्ता र आफन्त भर्ना गर्ने क्रम छाडेका छैनन् ।

बुधबार मात्रै नेवानिले करारमा नियुक्ति गर्न भन्दै ४५ जना कर्मचारी छनोट गरी गोरखापत्रमा सूचना जारी गरेको छ । आफ्नो कार्यकालमा २ सयभन्दा बढी ज्यालादारी र करार कर्मचारी भर्ना गरेका अधिकारीले लिखित परीक्षा समेत नलिई ४५ कर्मचारी भर्ना गरेका हुन् ।

नेवानिमा अधिकारीको कार्यकाल एक महिना पनि बाँकी छैन । यस्तो अवस्थामा कार्यालयलाई दीर्घकालीन आर्थिक भार पर्ने खालको कुनै पनि निर्णय गर्न मिल्दैन ।

तर, निगम अध्यक्ष अधिकारीले १ असोज २०८२ मा चौथो (खरिदार) र पाँचौं (नासु) तहमा २५ कर्मचारी करारमा भर्ना गर्ने गरी सूचीसहित गोरखापत्रमा सूचना प्रकाशित गरेको छ ।

त्यस्तै ६ असोजमा २० जना जुनियर ग्राउन्ड इक्विपमेन्ट अपरेटर (तेस्रो) तहका कर्मचारी भर्ना गर्न छनोट सम्बन्धी सूचना नेवानिले निकालेको छ ।

निगमले वरिष्ठ प्राविधिक पदमा ११ जना र प्राविधिक पदमा १३ जना कर्मचारी छनोट गर्ने सूचना १ असोजमा प्रकाशित गरेको छ । ५ असार २०८२ मा प्रकाशित गरेको सूचना बमोजिम अन्तर्वार्ता गरी तीन वटै तहमा कर्मचारी छनोट गरिएको नेवानिले जनाएको छ ।

लोक सेवा आयोगको संगठित संस्थाका कर्मचारीको सेवाका सर्तसम्बन्धी कानुन, बढुवा र विभागीय कारबाही सम्बन्धी व्यवस्था सामान्यतया संगठित संस्थाले अस्थायी वा करारमा नियुक्ति गर्न पाइँदैन ।

तर, संगठनलाई आवश्यक पर्ने कार्यालय सहयोगी र श्रेणीविहीन पदहरूमा कर्मचारी नियुक्ति गर्नुपरे मात्रै करार वा दैनिक ज्यालादारीमा राख्न पाइने व्यवस्था छ । त्यसरी अस्थायी वा करारमा कर्मचारी नियुक्ति गर्दा प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने व्यवस्था समेत छ ।

तर, कार्यकारी अध्यक्ष अधिकारीले तेस्रो, चौथो र पाँचौं तहमा अत्यधिक मात्रामा कर्मचारी भर्ना गरेका छन् । विगतमा विभिन्न पार्टीका मन्त्री बन्दा उनीहरूलाई रिझाउन पार्टीका कार्यकर्तालाई करार र ज्यालादारीमा नियुक्ति दिलाउने गरेका थिए । त्यसरी भर्ना भएका पार्टीका कार्यकर्ताहरू २ सयभन्दा बढी भएको निगम स्रोत बताउँछ ।

अहिले जेनजी आन्दोलनले सत्ता परिवर्तन गरेको अवस्थामा आफैंले ठूलो रकम उठाएर चौथो र पाँचांै तहका कर्मचारी लोकसेवा आयोगको अनुमति, लिखित जाँच लगायत प्रक्रिया नै पूरा नगरी भर्ना गरेका हुन् ।

सामान्य अन्तर्वार्ता मात्रै गरेर यति ठूलो संख्यामा कर्मचारी भर्ना गरेको विषयमा नेवानि भित्रैबाट विरोध भइरहेको छ ।

नेवानिले अहिले चार वटा जहाजले मुस्किलले उडान गरिरहेको छ । दुइटा वाइडबडी र दुई न्यारोबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणसमेत निगमले तिर्न सकेको छैन ।

तर, नेवानिमा १ हजार ४ सयभन्दा बढी कर्मचारीले काम गरिरहेका छन् । त्यसमध्ये आधाभन्दा बढी विभिन्न समयमा राजनीतिक नियुक्ति पाएका पार्टीका कार्यकर्ता रहेको सम्बद्ध स्रोत बताउँछ ।

सरकार र पर्यटनमन्त्री फेरिएपिच्छे नेवानिमा ज्यालादारी र करारका कर्मचारी थपिने गरेका छन् । तर, यसपटक भने सरकार र मन्त्री हटेको मौका छोपी कार्यकारी अध्यक्ष अधिकारीले आफूअनुकूल मानिस भर्ना गरेका छन् ।

अधिकारी अध्यक्ष बनेपछि पछिलो चार वर्ष अवधिमा २ सयभन्दा बढी कर्मचारी दैनिक ज्यालादारी र करारमा थपिएको नेवानि स्रोतले बताएको छ ।

त्यसरी अधिकारीले मात्रै भर्ना गरेका दैनिक ज्यालादारी तथा करारका कर्मचारीका लागि मात्रै मासिक ६० देखि ७० लाख रुपैयाँ खर्च हुने गरेको स्रोत बताउँछ । अध्यक्ष अधिकारीले नयाँ आउने मन्त्रीलाई रिझाउने औजारका रूपमा कर्मचारी भर्ना गर्ने गरेको नेवानि स्रोत बताउँछ ।

निगममा भएका कर्मचारी तथा पाइलटहरूको सही व्यवस्थापन नगर्ने तर करार र ज्यालादारीमा कर्मचारी भर्ना गरेको गर्‍यै गरेपछि कर्मचारीहरूले नै अध्यक्ष अधिकारीलाई कारबाही गर्न माग गरेका छन् ।

कार्यकाल सकिँदै गर्दा आफूनिकट व्यक्तिहरूको ठूलो संख्यालाई करारमा भर्ती गर्न आफूनिकट व्यक्तिलाई छनोट समितिमा राखी ठूलो रकम असुल गरी खुलेआम भ्रष्टाचार गरेको आरोप कर्मचारीले अध्यक्ष अधिकारीमाथि लगाएका छन् ।

आफ्नो कार्यकाल सकिँदै गर्दा नेवानिका कार्यकारी अध्यक्ष अधिकारीले दुइटा वाइडबडी जहाजको इन्जिन मर्मतका लागि ८ अर्बको टेन्डर प्रक्रियामा नगई कम्पनीसँग गोप्य सम्झौता र वार्ता गरी रोल्स रोयस कम्पनीसँग सिंगापुरमा बैठक गरेको आरोप उनीमाथि लगाइएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय टिकट बिक्रीमा अमुक ट्राभल एजेन्सीसँग मिलेमतो गर्ने गरेको आरोप पनि उनीमाथि कर्मचारीले लगाएका छन् । निगमको प्रतिनिधिका रूपमा अन्तर्राष्ट्रिय स्टेसनहरूमा जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्ति भएको तर त्यसमा करोडौं घोटाला हुने गरेको आरोप पनि कर्मचारीको छ ।

कार्यकारी अध्यक्षको स्वार्थका कारण एयरबस ३२० जहाज महिनौंसम्म मर्मत हुन नसकी इन्जिनमा समस्या आई ग्राउन्डेड भएको तर समयमै जहाज मर्मत गराउन निगम व्यवस्थापन अक्षम हुँदा अग्रिम टिकट खरिद गरेका यात्रुको बिचल्ली भएको पनि कर्मचारीको भनाइ छ । त्यस्ता यात्रुलाई अन्य वायुसेवा कम्पनीको जहाजमा टिकट काटी गन्तव्य पुर्‍याउँदा नेवानिलाई करिब १ अर्ब क्षति भएको पनि उनीहरूको भनाइ छ ।

एयरबस ३२० जहाजमा प्रयोग गर्न ल्याइएको भाडाको इन्जिन समेत समयमा फिर्ता नगरिएको र पुरानो इन्जिन समेत मर्मत नगरी भाडाको इन्जिन प्रयोग गर्दा दैनिक १० लाखभन्दा बढी नोक्सानी भइरहेको पनि जेनजी कर्मचारीको भनाइ छ ।

गत वर्ष एयरबस ३३० जहाजको नियमित गर्नुपर्ने सेड्युल चेक गर्नसमेत समयमा नपठाइएका कारण महिनौंसम्म जहाज मर्मत गर्ने कार्य रोकिएको र जहाज समयमा नेपाल आई नपुग्दा नेवानिलाई करोडौं नोक्सान पुगेको पनि कर्मचारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?