Comments Add Comment

झापाको बलौटोमा ‘सुन’ फलाउने गोल्यानको सपना, रोजगारी खोज्न भारत जानु परेन

बलौटे जमीनमा ड्रागन फ्रुट, मेवा, स्ट्राबेरी र कागती खेती

११ जेठ, काठमाडौं । अंग्रेजीमा एउटा भनाइ छ ‘इफ यू क्यान ड्रीम इट, यू क्यान डू इट ।’ अर्थात यदि तिमी सपना देख्न सक्छौं भने तिमीले त्यो गर्न पनि सक्छौं । यही भनाइसँग मिल्दो छ झापाको सयौं विगाहामा फैलिँदै गरेको कृषि फार्म । यहाँ कसैले अर्गानिक कृषि कर्म गरे सफल भइन्छ भन्ने सपना देख्यो, त्यो गर्न पनि सक्यो ।

झापाको चकचकी, मदरगास, घेराबारी, राजगढ लगायतका थुप्रै ठाउँमा २ वर्ष अघिसम्म बाझो जमीन धेरै थिए । बलौटे माटोमा उब्जनी नहुने भन्दै स्थानीयहरु खेती कममात्रै गर्थे । खेती गरिहालेकालाई पनि लगानी उठाउन पनि धौ–धौ नै थियो ।

सिँचाइको उस्तै समस्या । बिउ बिजन सहज उपलब्ध नहुँदा पनि त्यहाँ नाम मात्रैका किसानहरु थिए । जो जमीन भएर पनि कोही छिमेकी मुलुक भारततर्फ कामको खोजीमा जान्थे त कोही गाउँमै ज्यामी काममा रमाउँथे ।

स्वदेशमै अवसर खोज्नेहरु राजधानी काठमाडौंसम्म पुग्थे । स्थानीयको यहाँ रहर भन्दा पनि बाध्यता नै थियो । ‘कृषि कर्ममा लागे खानै मुस्किल पर्थ्यो , के गरौं’ स्थानीय शुक्रा राजवंशी भन्छन्, ‘गाउँमै काम पाउन पनि गाह्रो थियो, कि त काठमाण्डू पुग्नु पर्यो, कि त इन्डिया ।’

यो पनि पढ्नुहोस आदिवासी बस्तीमा स्ट्रबेरीले ल्याएको परिवर्तन

केही वर्ष अघिसम्मको स्थानीयको यो पीडा अहिले मत्थर भएको छ । अर्को महत्वपूर्ण कुरा, मन लगाएर मेहनत गरे बलौटोमै ‘सुन’ फल्छ भन्ने स्थानीयको मनमा पस्न थालेको छ । किनकि झापाका करिब ५ सय विगाहा जमीनमा गोल्यान समूहले ‘सुन’ फलाउँदैछ । स्थानीयले पनि घर नजिकै रोजगारीको अवसर पाएका छन् ।

झापाको चकचकीमा सुपारी, कागती तथा खरबजुजा विरुवाहरु हुर्किदैछन् । त्योसँगै गाँजर र चुकन्दर त लकडाउनअघि बजारमा पुग्न शुरु भइसकेका थिए ।

गोल्यानको अर्को फार्म मगरगासमा छ । त्यहाँ लगाइएका ड्रागन फूडले आकास चुम्न खोज्दैछन् । सँगै लगाइएका मेवा तथा कागतीका बोटहरुले सुख्खा मरुभूमिलाई उर्बर बनाइदिएका छन् । केराउ, खोर्सानी, सिमी लगायतका तरकारीले बलौटे माटो पुरै छापिदिएर हरियाली बनाइदिएका छन् । स्थानीय आश्चर्यचकित छन् । बलौटोमा पनि गरे त उब्जनी हुने रहेछ नि भन्ने बल्ल दिमागमा घुस्दैछ स्थानीयको ।

ठूलो परिमाणमा लगानी गर्न नसक्ने भएका कारण पनि स्थानीयमा व्यवसायिक खेती गरौं भन्ने भावनाको विकास भएन । तर, अहिले गोल्यान समूहले फार्म सञ्चालन गरेपछि स्थानीय पनि खुसी छन् ।

अर्को रोचक कुरा यहाँको अर्गानिक हो । ठूलो क्षेत्रफलमा व्यवसायिक रुपमा खेती गर्नेहरुले अहिले विषादी प्रयोग गर्छन् । विषादी प्रयोग नगरे विभिन्न प्रकारका किरा, फट्यांग्राका कारण पनि उब्जनी नहुने भएकाले ठूलो परिणाममा खेती गर्ने अधिकांशले विषादी प्रयोग गर्छन् । फेरि मलको पनि समस्या छ । बजारबाट किनेर ल्याइएको रासायनिक मल नै प्रयोग गर्छन् ।

रासायनिक मल प्रयोग गर्दा केही दिनमै नतिजा देखिन्छ, लगाएका फलफूलहरु हलक्कै बढ्छन् । हेर्दैखेरि आकर्षक देखिने भएका कारण पनि रासायनिक मलको प्रयोग बढ्दो छ तर, गोल्यान समूहले आफ्ना कुनै पनि फार्ममा रासायनिक मल प्रयोग गर्दैन । न त किराबाट जोगाउन भन्दै कुनै विषादी प्रयोग गर्छ । ‘यहाँ प्रयोग हुन्छ त केवल गौमुत्र, गोबरजस्ता प्राङ्गारिक तथा जैविक मलहरु,’ पवन गोल्यान भन्छन् ।

औषधीका नाममा यहाँ अमृतरस लगाइन्छ । गोबर, गौमुत्र, शखर, तोरीको पीनाको समिश्रणबाट बन्ने अमृतरसलाई यहाँ औषधीका रुपमा प्रयोग गरिन्छ । रासायनिक मल जस्तो तत्कालै नतिजा नदेखिने भए पनि स्वास्थ्यका लागि भने जैविक तथा प्रारंगिक मल धेरै उत्तम हुन्छ ।

नेपालको उद्योग–व्यवसायमा चर्चित नाम हो, गोल्यान समूह । स्वदेशमै उद्योग सञ्चालन गरेर अब्बल बनेकाहरुको सूची पर्छ यो समूह । गोल्यान समूहका अध्यक्ष हुन् पवन गोल्यान । गोल्यान समूहले अहिले ५ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने मुलुकको व्यापार घाटा घटाउन करिब ७ प्रतिशत योगदान गरिरहेको छ ।

यसबाहेक पवन गोल्यान ‘क’ वर्गको वाणिज्य बैंक एनएमबी र नेपाल धागो उत्पादक संघको पनि अध्यक्ष छन् । गोल्यान समूहले बीमा, जलविद्युत्, रियलस्टेट तथा हस्पिटालिटी क्षेत्रमा पनि लगानी गरिरहेको छ ।

मोरङको पुरानो सदरमुकाम रंगेलीमा जन्मिएका पवन अहिले ६० वर्षका भए  । १४ वर्षको उमेरमा नै बुवा सोहनलाल गोल्यानलाई उद्योगमा सघाउन शुरु गरेका पवनले पुख्र्यौली ब्यापारमै रमाए । जतिबेला पवनले उद्योगमा प्रवेश गरेँ, त्यसबेला विराटनगरमा गोल्यान समूहको कपडा उद्योग थियो । तर, बन्द अवस्थामा । पवनले त्यसलाई सञ्चालनमा ल्याए ।

त्यसपछि उनले पस्मिना उद्योगमा हात हालेर सबैभन्दा धेरै निर्यात गर्ने उद्यमी बने । उनले नेपाल बाहिर उद्योग खोल्ने सोच कहिल्यै राखेनन् । यसको खास कारण छ । ‘बुवाले धेरै मुलुक घुमेर हेर्नुभयो, हङकङ र यूएईमा लगानी गर्ने योजना पनि बनाउनुभएको थियो’ पवन भन्छन्, ‘तर, असफल भएकाले मैले दायाँबायाँ नहेरी स्वदेश मै काम गरेँ ।’

धागो उत्पादनमा विशेष योगदान दिने गरेको यस समूहले कृषिमा किन लगानी गर्यो त ? पुर्खौली मोरङ भए पनि धेरै व्यवसायका कारण पवनको परिवार काठमाडौंमै छ । काठमाडौंको धुलो धुवाका कारण स्वस्थकर खानेकुरा पाउन पनि मुश्किल छ ।

विषादी प्रयोग गरिएको तरकारी तथा फलफूल खानु पर्दा पवन आफैं हैरान भएका थिए । स्वास्थ्यका लागि पनि अर्गानिक तरकारी तथा फलफूल खानुपर्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । तर, अर्गानिक कसरी खाने ? पवनको मनमा कुरा खेलिरह्यो ।

सुरुवात आफैंबाट हुनुपर्छ भन्ने दिमागमा आएपछि उनले अर्गानिक खेति आफैं गर्ने योजना बनाए । त्यसपछि उनले खेतिका लागि जमीन बुझ्न शुरु गरे । ‘इफ यू क्यान ड्रीम, इट यू क्यान डू इट’ भन्ने भनाई गोल्यानमा लागू भयो । उनले आफूमात्रै होइन, देशलाई नै अर्गानिक खुवाउने सपना देखे, र त्यो गर्न पनि सके । अहिले उनको उत्पादन देशैभर पुगिसकेको त छैन । तर, उनको मुख्य उद्देश्य नै अर्गानिक उतपादनमा मुलुकलाई आत्मनिर्भर बनाउने । जसअनुसार उनले संयौ विगाहा जमीनमा विभिन्न प्रकारका फलफुल तथा तरकारी लगाएका छन् सयौलाई रोजगारी दिएका छन् ।

झापाका विभन्न ४ ठाउँमा समूले फार्म सञ्चालन गरेको छ । चारै ठाउँको माटो भने बलौटे माटो हो । बलौटे माटोलाई उर्बर बनाएर अहिले खेती भइरहेको छ । गोल्यानका ४ ठाउँमा फार्महरु सञ्चालित छन् ।

कागती, आँप, लिच्ची, मेवा, खरबुजा लगायतका फलफूल तथा तरकारी अहिले गोल्यान समूहको फार्म फस्टाउदैछ । झापाको बाह्रदशी गाउँपालिका राजगढको ३० विगाहा क्षेत्रफलमामात्रै स्टबेरी लगाइएको छ ।

यसैगरी झापाको झापा गाउँपालिकाको मदरगास भन्ने ठाउँमा ड्रागन फ्रुट लगाइएको छ । कागती, मेवा, केराउ, खुर्सानी चुकन्दर लगायतका फलफुल तथा तरकारी पनि उत्तिकै फस्टाएका छन् मदरगासमा ।

बाह्रदशी गाउँपालिकाकै चकचकी भन्ने ठाउँमा ठूलो क्षेत्रफलमा सुपारी लगाइएको छ । त्यहाँ पनि चुकन्दर तथा गाजरहरुले बलौटे माटो थप उर्बर बन्दैछ । उता घेराबारीमा पनि यस्तै फलफु तथा तरकारी लगाइएका छन् ।

गोल्यान समूहले आफूमात्रै खेति नगरेर कृषकहरुलाई पनि आधुनिक कृषिमा प्रोत्साहन गरिरहेका छन् । त्यसका लागि माछा, बंगुर, कुखुरा र गाई पालनका लागि सहयोग समेत समूहले गरिरहेको छ । काम गर्न चाहने तर, स्रोत नभएका किसानहरुलाई नगद होइन, आवश्यक सामग्रीमा लगानी गरिदिने गरेको समूहका अध्यक्ष गोल्यान बताउछन् ।  ‘त्यसका लागि गैर(नाफामूखी गोल्यान एग्रो कम्पनी खोलेका छौं ।’

सहयोग गर्ने हेर्तुले नै अध्यक्ष गोल्यानले १४ वर्षको उमेरमा बितेका छोराको नाममा जयन्त गोल्यान फाउण्डेशन समेत खोलेका छन् । फाउण्डेशनले महिला र कृषकलाई आत्मनिर्भर बनाउने शीप विकास तालिम तथा सहयोग गर्ने गरेको छ । अहिले यसबाट फार्म नजिकै किसानहरुले समेत प्रत्यक्ष फाइदा लिइरहेका छन् ।

बलौटे जमीनमा ‘ड्रागन फ्रुट’

कुनैबेला स्याल कराउने झापाको झापा गाउँपालिका स्थित मदरगासमा यतिबेला फलफूल र तरकारीको ठूलो फार्म सञ्चालनमा छ । गोल्यान समूहको लगानीमा त्यहाँ कृषि फार्म सञ्चालन भइरहेको छ । करिब १० विगाहा क्षेत्रफलमा त्यहाँ गोल्यान समूहले विभिन्न प्रजातिका फलफूल तथा तरकारी लगाएको छ । केही महिना अघिमात्रै लगाइएको तरकारीले उत्पादन दिन शुरु गरेको छ । फलफूलहरु विरुवाहरु भने यतिबेला बढ्ने क्रममा छन् ।

‘यहाँ पहिले कास घारी थियो, खासै उब्जनी हुने ठाउँ थिएन’ फार्मका बोट विरुवाहरुको रेखदेखमा खटिएका राजकुमार राई भन्छन्, ‘यो त कुनै बेला स्याल कराउने ठाउँ हो, अहिले त उर्बर भूमि नै भइसकेको छ ।’

फार्मको मुख्य आकर्षण भनेको ड्रागन फ्रुट हो । सिउँडी प्रजातिको यो फल अढाइ विगाहा जमीनमा लगाइएको छ । जमीनको वरिपरि तार बेरा गरिएको छ भने ड्रागन फ्रुटलाई सपोर्टिङका लागि हरेक विरुवा बराबर एक सिमेन्ट पिल्लर ठड्याइएको छ ।

त्यसबाहेक अन्य फलफुलहरु पनि धेरै छन् । नजिकै कागती तथा मेवा पनि ठूलो क्षेत्रफलमा लगाइएको छ । ड्रागन फ्रुटसँगै तरकारी खाने सिमी, खुर्सानी, केराउँ, चुकन्दर लगायतका थुप्रै तरकारीहरुको उत्पादन शुरु भइसकेको छ ।

उनी ड्रागन फ्रुटसँगै मेवा, कागती लगायत त्यस क्षेत्रमा भएका सबै फलफूल तरकारीहरुको रेखदेख गर्छन् । तरकारी टिप्न परे वा हुर्कदै गरेका बोटविरुवाको गोडमेल गर्न परे एक्लै सम्भव छैन । यस्तो अवस्थामा उनले गाउँमा रोजगारी चाहनेहरुलाई खबर गर्छन् ।

स्थानीय पनि निकै खुसी छन् । बेलाबखतमा रोजगारी पाउने भएपछि गाउँका महिलाहरु धेरै फार्ममा आउँछन् । कामको पारिश्रमिक कम्पनीले दैनिक ७ घण्टाको ५ सय ६ सय रुपैयाँसम्म भुक्तानी गर्छन् । घरमै बसेर आम्दानी गर्न पाएका स्थानीयहरु अर्को खुसी हुने अर्को कारण पनि छ ।

‘यो सबै अर्गानिक हो, विषादी प्रयोग नहुने भएकाले काम गर्न सबैको रुची छ’ त्यहाँ कार्यरत राजकुमार सुनाउछन् । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालन भइरहेको फलफूल तथा तरकारी खेतीहरुमा विषादी प्रयोग हुन्छन् ।

विषादी प्रयोगका लागि खटिएका कामदारहरुमा रिंगाटा लाग्ने, टाउँको दुख्ने ज्वरो आउने लगायका समस्याले सताउछन् । तर, यहाँ सञ्चालित फार्म पूर्णरुपमा अर्गानिक हो । यहाँ रासानिक कुनै पनि मल प्रयोग गरिँदैन । यहाँ प्रयोग हुने मल भनेको गाईको गोबर, गौमुत्र, पिना लगायत हुन् । यसले मान्छेकोको स्वास्थ्यमा कुनै असर नगर्ने हुँदा यहाँ काम गर्नेहरु सबै सन्तुष्ट छन् ।

के हो ‘ड्रागन फ्रुट’ ?

कम्पनीले विशेष ध्यान दिएर लगाएको ड्रागन फ्रुट यतिबेला हलक्कै बढेको छ । कम्पनीमा कार्यरत नवीन खनालका अनुसार रोपेको ३ महिना भयो । ड्रागन फ्रुटका विरुवाहरु राम्रोसँग फस्टाएका छन् ।

हुर्कन सहज होस र फल लागेपछि नलडोस भनेर बनाइएका ५ फिटका सिमेन्टका पिल्लर केहि नाघेका छन् केहि विरुवाहरु तंग्रिदै छन् । त्यस क्षेत्रको जमीनमा पुरै बलौटे माटो छ । बलौटै माटोले ड्राडन फ्रुटलाई केही असर नगर्ने पोखरेल बताउछन् ।

उनका अनुसार यसलाई चाहिने नै बलोटै माटो हो । ३ महिना उमेर पुगेको बोटहरुबाट उत्पादन शुरु हुन भने २ वर्ष लाग्छ । ३ वर्ष पुगेपछि भने पूर्ण रुपमा यसको उत्पादन शुरु हुने पोखरेल बताउँछन् । २ वर्षदेखि उत्पादन शुरु हुने यस बोटरले २० देखि २५ वर्षसम्म निरन्तर फल दिने उनी बताउँछन् ।

झट्ट हेर्दा सिउडी जस्तै देखिने भएकाले यसलाई सिउडी प्रजातिको फल भनिन्छ । जानकारहरुका अनुसार दक्षिण र मध्य अमेरिकामा यस फलको उत्पति भएको थियो । यसको वैज्ञानिक नाम भने हाइलोसेरियस अनडाइटस हो ।

यस फल नेपालमा अन्य ठाउँमा पनि खेती गर्न शुरु गरिएको छ । तर उत्पादन भएर बजारीकरण भइसकेको छैन । स्वास्थ्यका लागि समेत यस फल धेरै राम्रो मानिन्छ । मानव शरीरलाई चाहिने औषधीय गुणहरु यसमा पाइन्छ ।

कम्पनीका अनुसार सिउडी हुर्किने गर्मी ठाउँमा यो फलको खेती हुन्छ । स्वास्थ्यका लागि लाभदायक १२ प्रकारका खनिज, पोषण र भिटामिन तत्वको मिश्रण पाइने भएकाले विश्वभर नै यसले महङ्गो मानिन्छ ।

एउटा सिमेन्टको पोलमा लहरिएका बोटबाट वर्षेनी २० देखि ३० किलोसम्म फल उत्पादन गर्न सकिने र यसको बजार मूल्य रु आठ सयदेखि रु एक हजारसम्म हुने बताइएको छ । यो फलबाट उच्चस्तरको आइसक्रिम र इनर्जी ड्रिङ्क पनि बनाउन सकिन्छ ।

मेवा फस्टाएन, तरकारी बजारमा पुग्यो

मदरगासको फार्मको अढाई विगाहा क्षेत्रमा ड्रागन फल लगाइएको छ सँगै डेढ विगाहा क्षेत्रमा मेवा लगाइएको छ । ड्रागन फ्रुट जुन अनुपातमा बढिरहेको छ, यसले राम्रै उत्पादन दिने कम्पनीको विश्वास छ ।

तर, तुलनात्मक हिसाबले मेवा भने फस्टाउन सकेको छैन । मेवा रोपेको १०/११ महिना भइसकेको कम्पनीले बताएको छ । साधारणतया मेवा रोपेको ९ देखि १२ महिनामा उत्पादन शुरु हुन्छ । अहिले केही मेवाहरुमा फल लागे पनि राम्रोसँग फल्ने संकेत देखिएको छैन ।

बलौटे माटो भएका कारण त्यहाँ मेवाले खासै राम्रो फस्टाउन नसकेको फार्म म्यानेजर विवेक शुक्ला बताउछन् । यद्यपि, अर्को पटकदेखि भने मेवा पनि राम्रै फल्ने उनको विश्वास छ ।

९ देखि १२ महिनाभित्रमा उतपादन शुरु हुने मेवाले रोपेको ३ वर्षसम्म फल दिन्छ । त्यसपछि त्यसको आयु सकिने र अर्को विरुवा रोप्नु पर्ने हुन्छ । बलौटै बलौटोमा लगाइएका कारण शुरुमा त्यसले फल दिन नसके पनि अहिले गरिएको मलजलको कारण पछि राम्रै उत्पादन हुने कम्पनीको विस्वास छ ।

त्यहाँ सिँचाइका लागि २ वटा ठूला पम्प सेट राखिएका छन् । आवश्यकता अनुसार सिँचाइ गरिन्छ ।

एक विगाहा क्षेत्रमा कागती लगाइएको छ । कागती भने रोपेको एक वर्ष पूरा भयो । कागतीको उत्पदान शुरु हुन भने कम्तिमा ३ वर्ष पर्खनुपर्ने हुन्छ ।

रोपेको ५ वर्षमा भने कागतीले पूर्णरुपमा उत्पादन दिने उनले बताए । यसले २५ देखि ३० वर्षसम्म उतपादन दिन्छ । मेवा नफस्टाए पनि फार्ममा उत्पादन भएको तरकारीहरु भने बजार पुगिसकेको छ । केराउँ, खुर्सानी तथा सिमी टिपेर कोल्ड स्टोरेजमा राख्ने र बजारको मागअनुसार बिक्री वितरण गर्ने काम भइरहेको कम्पनीका फार्म म्यानेजर शुक्लाले बताए ।

कम्पनीले राजगढमै कोल्डस्टोरेज तथा गोदाम बनाएको छ । गोदाम गर्नु परे त्यहाँ राख्ने नत्र सीधै बजार पठाउने गरिएको छ । गोद्ययान समूहले अर्गानिक तरकारी बिक्री गर्नकै लागि भनेर आफ्नै ब्राण्ड पनि स्थापना गरेको छ । माटो ब्राण्डको नामबाट आवश्यक अनुसार बजार पठाइने गरेको कम्पनीले बताएको छ ।

तरकारीहरु धेरैजसो झापा जिल्लामै खपत हुने गरेको छ । कहिले झापा बाहेक धरान, इटहरी बिराटनगरदेखि काठमाडौंसम्म माटो ब्राण्डका नामबाट तरकारी बिक्री हुने गरेको छ । पूर्वको लोकल बजारमा मात्रै होइन, काठमाडौंसम्म कम्पनीले आफ्नो उत्पादन पुर्याएको छ ।

तर, अहिले लकडाउनको असर यहाँको कृषि फार्ममा पनि परेको छ । उत्पादित बस्तुको ढुवानी र बिक्रीमा समस्या आइपरेको छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment