+
+
Shares
जेनजी आन्दोलनको ५ सातापछि मिडियासामु सेना :

सिंहदरबार किन जल्यो ? विमानस्थल कसरी बच्यो ? सेनाको १० बुँदे प्रष्टीकरण

दुईदिने जेन–जी आन्दोलनले मुलुकलाई अराजकताको भुमरीमा धकेल्यो। ऐतिहासिक संरचना जले, उच्च राजनीतिक नेतृत्व संकटमा परे र आम मानिसमा एउटा साझा प्रश्न उब्जियो – ‘सिंहदरबारमा आगो लाग्दा सेना किन मौन बस्यो ?’ आन्दोलनको ५ हप्तापछि सेनाले जवाफ दिएको छ – केही तथ्य र कार्ययोजनासहित।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ असोज ३१ गते २१:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेन–जी आन्दोलनका क्रममा ७६ जनाले प्राण गुमाएका थिए र प्रधानमन्त्री ओलीले सत्ता छाड्न बाध्य भएका थिए।
  • नेपाली सेनाले सिंहदरबार जोगाउन ४६ राउन्ड हवाइ फायर गरेको र मानवीय सुरक्षा प्राथमिकता दिएको खुलाएको छ।
  • सेनाले विमानस्थलमा जिलेटिन बोकेर पुगेको समूहलाई हटाएर ठूलो दुर्घटना टरेको र आगामी चुनावमा शान्ति सुरक्षा सुनिश्चित गर्ने बताएको छ।

३१ असोज, काठमाडौं। गत २३ र २४ भदौको दुई दिने जेन–जी आन्दोलनले सिंगै देश तहसनहस बनायो। राज्यविहीनताको अवस्था कस्तो हुन्छ भने नमिठो अनुभूति दिलाएको सो आन्दोलनका क्रममा मुलुकले इतिहासमै कहिल्यै नभएको क्षति बेहोर्‍यो।

आन्दोलन हिंसात्मक बन्दा विद्यालय र कलेजका पोशाकमै शान्ति पूर्ण प्रदर्शनमा उत्रिएका नवयुवकहरूसहित ७६ जनाले प्राण गुमाए। दुईतिहाइ बहुमतका प्रधानमन्त्री केपी शर्मा ओली सत्ता छाड्न बाध्य मात्र भएनन्, उनीसहित उच्च पदस्थ व्यक्तिहरूलाई नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याउनु पर्ने अवस्था आयो।

समयमै उद्धार हुन नसक्दा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बहालवाला परराष्ट्रमन्त्री आरजु राणामाथि घरमै निर्घात कुटपिट भयो। दर्जनौं प्रहरी कार्यालयहरू, राजनीतिक पार्टीका कार्यालय र नेताहरूका निजी घर आगजनीमा परेर खरानी भए।

देशको ऐतिहासिक धरोहर तथा प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारदेखि सर्वोच्च अदालत, संसद् भवन, थुप्रै अदालतमा आन्दोलनकारीले आगो झोस्दा केही मिटरकै दूरीमा रहेको जंगी अड्डा (सैनिक मुख्यालय) ले रोक्ने प्रयास किन गरेन?

त्यस दिनयता आम नागरिकको मनमा यो प्रश्न अनुत्तरित छ। आफ्नो हेडक्वार्टर नजिकै रहेको सिंहदरबार, सर्वोच्च अदालत जलाइँदा सेनाले रोक्ने प्रयास नै गरेको थिएन त?

घटनाको ५ हप्तापछि पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले आम सर्वसाधारणका मनमा समेत बसेका यी आशंका चिर्न यसरी प्रस्तुत भयो। यी हुन् १० अनुत्तरित प्रश्नमा सेनाको जवाफः

१. किन जले सिंहदरबारसहित महत्वपूर्ण संरचना ?

सिंहदरबार जल्नुको मुख्य कारणमा नेपाली सेनाले अहिलेको वर्तमान अवस्थालाई मात्रै हेरेर अर्थ्याउन नहुने जनाएको छ। शुक्रबार सैनिक मुख्यामा भएको पत्रकार सम्मलेनमा नेपाली सेनाको युद्धकार्य विभागका प्रमुख तथा उपरथी अनुप जंग थापाले अहिलेको कम्फर्टेबल वर्तमान अवस्थामा भन्दा पनि तत्कालीन अवस्थामा रहेर मनन गर्नु पर्ने बताए।

त्यतिबेला भएका प्रदर्शन, तोडफोड र आगजनी भएको अवस्थामा अराजकतालाई कम गर्न र नियन्त्रण गर्न न्युनतम शक्ति प्रयोग गर्दा पनि अराजक भिड पछाडि नहट्दा यो अवस्था भएको सेनाको बुझाइ छ।

सिंहदरबार जोगाउन त्यतिबेला अत्यन्तै संयमता अपनाएको सेनाले प्रष्टीकरण दिएको छ। त्यतिबेला सेनाले लेस देन लिथ (घातकभन्दा कम) उपाय अपनाएको बताएको छ। सैनिक अधिकारीका अनुसार त्यतिबेला सिंहदरबार जोगाउनका लागि ४६ राउन्ड हवाइ फायर गरिएको थियो।

यति गर्दा पनि उत्तेजित र अराजक भिड सिंहदरबार प्रवेश गर्न खोजिरह्यो। हवाइ फायर गर्दा पनि नरोकिएर भित्र छिरेको भिडलाई दुई पटकसम्म भौतिक रूपमा धकेलेर बाहिर निकालिएको प्रष्टीकरण सेनाले दिएको छ।

रातभरि जलिरहेको सिंहदरबार (तस्वीर/भिडियो) – Online Khabar

यति गर्दा पनि आक्रोशित भिड रोकिएन। सिंहदरबारको चारैतर्फबाट भिड भित्र प्रवेश गर्न खोज्यो। चारै दिशाबाट अत्यन्त आक्रोशित जत्था भित्र छिरेपछि ठूलो मानवीय क्षतिको अवस्थामा मात्र सिंहदरबारलाई जोगाउन सकिने निष्कर्ष सेनाले निकाल्यो।

यही परिवेशमा मानवीय सुरक्षा भौतिक सुरक्षाभन्दा महत्वपूर्ण हुने निष्कर्षसहित आवश्यकताको सिद्धान्त अनुसार काम भएको उपरथी थापाले बताए।

२. सेनाले तत्काल किन निभाएन आगो?

पत्रकार सम्मेलनमा युद्धकार्य निर्देशनालयका निर्देशक सहायक रथी मनोज थापाले यसबारे प्रष्टीकरण दिए। बाहिर हल्ला आएजस्तो सेनाले तत्कालै आगो निभाउन पहलकदमी नगरेको भन्ने कुरामा सत्यता नरहेको उनको दावी थियो।

२४ गते दिउँसो करिब १ बजे सिंहदरबारको पश्चिमी मुख्य प्रवेशद्वारमा लगाइएको आगो भित्र रहेको एउटा दमकलको सहायतामा निभाइएको उनले जानकारी दिए। त्यसपछि दमकल फेरि आफ्नो ठाउँमा गयो। २ बजे पुन: सिंहदरबारमा आगो लाग्यो।

दमकल सिंहदरबारको आगो निभाउन परिचालन गर्न खोज्दा आन्दोलनकारीहरू दमकलकै पाङ्ग्रामा चढेर सुतेकाले तुरुन्तै आगो निभाउन नसकिएको सहायक रथी थापाले बताए।

सिंहदरबारमा दन्कियो आगो (तस्वीरहरू) – Online Khabar

प्रदर्शनकारीहरूलाई विभिन्न कारणबाट विभिन्न तरिकाबाट हटाइसकेपछि २ बजेर ३५ मिनेटमा सिंहदरबारको आगलागी निभाउन दमकल भित्र छिरेको सेनाले बताएको छ।

२. सिंहदरबार जल्दा कसरी जोगियो डाटा सेन्टर ?

मुख्य प्रशासनिक निकाय सिंहदरबार जल्दा त्यही भित्र रहेको डाटा सेन्टर भने जल्नबाट जोगिएको थियो। धेरैले यो कसरी जोगियो भनेर अचम्म मानेका थिए।

डाटा सेन्टर जोगिनुको रहस्य शुक्रबार सेनाले खुलाएको छ। ‘यो रात हामीले तीन स्थान— राष्ट्र सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको डेटा सेन्टरलाई सुरक्षित राख्यौं,’ सहायक रथी थापाले भने।

उनका अनुसार एक जर्नेल आफैं फिल्डमा उत्रिएर काम गरेका थिए। शरीर, कपडा धुँवाले पूरै कालो भएको अवस्थामा उनी सेनाको मुख्यालय फर्किएका थिइ। सहायक रथी थापाका ती संरचना जोगाउन सेनाका जवान, प्रहरी र दमकल टोलीले लगातार १८ घण्टा ननस्टप काम गरेका थिए।

डेटा सेन्टर जोगिएका कारण देशको वित्तीय प्रणाली ठप्प हुनबाट बचेको सेनाले बताएको छ। ‘यदि डेटा सेन्टर जलेको हुन्थ्यो भने, केही दिनभित्रै राज्यको तलब, भुक्तानी, लेखा–जोखा सबै ठप्प हुने अवस्था आउँथ्यो,’ उनले भने, ‘हामीले सिंहदरबारका सबै ढोका खुला राखेर मानिस र दमकल आवतजावत गर्न दिइरहेका थियौं, निरन्तर काम गर्‍यौं र जोगाउन सक्यौं’ उनले भने।

४. के काठमाडौं महानगरका दमकल परिचालित नभएका हुन् ? 

सिंहदबार, प्रधानमन्त्री निवास वालुवाटार, सर्वोच्च अदालत जस्ता ऐतिहासिक संरचना जलिरहँदा काठमाडौं महानगरपालिकाले आगो निभाउने प्रयास नगरेको भन्दै आलोचना हुँदै आएको छ। तर, यस्तो आलोचना आवश्यक नरहेको भन्दै नेपाली सेनाले काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउन नगएको भन्ने आरोपकै खण्डन गरिदियो।

काठमाडौं महानगरपालिकाको दमकल राति ८ बजे सिंहदरबार पुगेको सेनाले जनाएको छ। ‘महानगरको दमकलाई पनि विभिन्न ठाउँमा अवरोध भएछ। महानगरपालिकासँग मेरो सुरुदेखि नै कन्ट्याक्ट भएको थियो। उहाँहरूसँग मेरो कुरा भइराखेको थियो। हाम्रो दमकल यो–यो ठाउँमा छ र अहिले एक–दुई ठाउँमा ड्राइभर (चालक) हरू छैनन्, त्यो ड्राइभरहरूको व्यवस्था गरेर दमकल लानु भन्ने कुरा पनि महानगरपालिकाले गरेको थियो,’ सहायक रथी थापाले भने।

सर्वोच्च अदालतमा आगो निभाउन आयो महानगरपालिकाको दमकल – Online Khabar

उनले महानगरले सिंहदरबारको आगो निभाउन प्रयास नगरेको भन्ने पूर्णत: गलत रहेको बताए। भोलिपल्ट २५ भदौको बिहान ८–९ बजेतिर अधिकांश ठाउँहरूको आगो निभेको सेनाले दावी गरेको छ। महानगरसहित १२ वटा दमकलले आगो निभाएको सेनाको नभाइ छ।

५. हिल्टनको आगो निभाउन किन ढिला?

अन्य ठाउँको भन्दा हिल्टन होटलको आगो ढिलो निभेको कुरामा सत्यता रहेको सेनाले बताएको छ। हिल्टन होटलको संरचना धेरै अग्लो भएकाले आगो निभाउन समस्या भएको सेनाको भनाइ छ।

उपलब्ध दमकलहरूमा त्यति लामो पाइप नभएकाले समस्या भएको सेनाको बुझाइ छ। ‘हामीसँग उपलब्ध दमकलहरूमा त्यो लामो पाइप (नली) नभएको हुनाले तेस्रो दिनसम्म त्यहाँ आगो बलिरहेको रहेछ,’ सहायक रथी थापाले भने।

६. जिलेटिन बोकेर पुगेको समूहबाट कसरी बच्यो विमानस्थल?

जेन–जी आन्दोलनको क्रममा एउटा ठूलो समूह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनीमा उत्रन खोजेको तर त्यसलाई निस्तेज पारिएको सेनाको भनाइ छ।

ठूलो संख्यामा रहेको त्यो समूहमा रहेका केहीले विस्फोटका निम्ति प्रयोग गरिने जिलेटिन समेत बोकेको सेनाले बताएको छ। तर त्यो समूहलाई विमानस्थलबाट हटाइएको, केहीलाई नियन्त्रण लिँदा विमानस्थल जोगिएको सहायक रथी थापाले बताएका छन्।

‘यदि विमानस्थल बन्द भएको भए, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको साख ठूलो संकटमा पर्थ्यो,’ सहायक रथी थापाले भने, ‘तर सेनाले त्यो ठूलो समूहलाई त्यहाँबाट हटायो। दुर्घटना टर्‍यो।’

७. असम्बन्धित व्यक्तिसँग सेनाको वार्ता किन?

जेन–जी आन्दोलनको दोस्रो दिन सिंगै मुलुक तहसनहस भयो। संघीय राजधानी काठमाडौं प्रहरीविमुख बनिसकेको थियो। राज्यका अन्य अंग निस्कृय प्राय: थिए। यस्तोमा २४ भदौको राति १० बजेबाट नेपाली सेना सडकमा उत्रियो। त्यही राति ९ बजे प्रधानसेनापतिले राष्ट्रलाई सम्बोधन गर्दै १० बजेबाट नेपाली सेना परिचालित हुने जानकारी मात्र गराएनन्, आन्दोलनरत पक्षलाई शान्त रहन, संवादमा आउन आह्वान गरे।

यसपछि सेनाको मुख्यालयमा अनौपचारिक संवादहरू सुरु भयो। जेन–जीका प्रतिनिधिसामू प्रधानसेनापतिले आन्दोलनको एक स्टेक होल्डर भएको भन्दै गत २५ चैतको तीनकुने घटनाका मुख्य अभियुक्त दुर्गा प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टीसँग समेत संवाद गर्न सुझाव दिएको खबर बाहिरियो।

त्यसको केहीपछि सेनापतिले प्रसाईंसँग वार्ता गरेको खबर सार्वजनिक भयो। केही घण्टापछि त दुर्गा प्रसाईं आफैंले तस्वीर सार्वजनिक गरे। यसपछि सेनाको नियतमाथि नै अनेक आशंका व्यक्त भए। आन्दोलनकारी जेन–जीका अनेक समूहले राष्ट्रपतिलाई सार्वजनिक गर्न आह्वान गर्दै सेनासँग राजनीतिक संवाद नगर्ने सन्देश प्रवाह गरे। त्यति मात्र होइन, उनीहरूले वर्तमान संविधान प्रति आफूहरू प्रतिबद्ध रहेको भन्दै नेपाली सेनालाई मुलुकको शान्ति सुव्यवस्था बहालमा मात्र सीमित रहन आह्वान नै गरे।

यसरी उब्जिएका आशंकाबारे प्रष्टीकरण दिँदै सेनाले त्यतिबेलाको अवस्थाको वस्तुगत मुल्यांकन गरेर कदम चालिएको बताएको छ।

‘सेनाले राजनीति गर्दैन। तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न नेपाली सेनाले सुरक्षाको अवस्थाको वस्तुगत ढङ्गले मूल्याङ्कन गरी आवश्यक पहलकदमी दिएको मात्र हो। यसको परिणामबाटै कस्तो खालको नियत थियो भन्ने कुरा हामीले आकलन गर्न सक्छौं,’ सहायक रथी अनुप जंग थापाले भने।

यसलाई सेनाले स्थिती सामान्य पार्न गरिएका बहुआयामिक प्रयासको रूपमा बुझ्न आग्रह गरेको छ।

‘एक क्षणलाई सोचौं, भदौ २४ को राति सेनाले स्थिति साम्य पार्न जे प्रयास गर्‍यो, त्यो नगरेको भए अथवा विश्वमा अहिले विभिन्न ठाउँमा देखिएका अन्य मोडल (ढाँचा) हरू अनुसार कुरा अगाडि बढेको भए के हुन सक्थ्यो? सबैको लागि यो विचारयोग्य विषय हुन सक्छ,’ सहायक रथी थापाले भने।

त्यस बखतको शान्तिपूर्ण निकास तथा अराजक वातावरणको न्यूनीकरणका लागि सबै पक्षहरूसँग छलफल गर्न अपरिहार्य सम्झेर वार्ता र छलफलहरू गरेको नेपाली सेनाले दाबी गरेको छ।

८. किन चल्यो सेनाभित्र विद्रोहको हल्ला?

२०६२/०६३ को १९ दिने जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले सशस्त्र संघर्ष गरिरहेको तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीसँग युद्ध अन्त्यका लागि विस्तृत शान्ति सम्झौता गरेको थियो। सो सम्झौताको एक प्रमुख अंग माओवादीका लडाकु (जनमुक्ति सेना) नेपाली राष्ट्रिय सेनामा समायोजन हुने र नेपाली सेनाको पुनर्संरचना गरिने उल्लेख थियो।

त्यसअनुसार समायोजनका विभिन्न प्रक्रिया पूरा गरी १३ सय ५१ लडाकु नेपाली सेनामा समायोजित भए। उनीहरूमध्ये थुप्रै अहिले पनि सेनाका विभिन्न पदमा छन्।

जेन–जी आन्दोलनपछि व्यवस्था नै उलटफेर हुनसक्ने आशंका चलिरहेका बेला यही व्यवस्थाको पक्षमा पूर्वमाओवादी लडाकुहरूले सेनाभित्र विद्रोह गर्न तयारी गरेका हल्लाहरू चलेका थिए।

जंगीअड्डामा दुर्गा प्रसाईं

तर, नेपाली सेनाले संस्थागत रूपमै यस्ता हल्लामा रित्तभर सत्यता नरहेको स्पष्ट पारेको छ। माओवादी पूर्वलडाकुहरू सेनामा समायोजन भएर काम गरेपछि संसारभर यसलाई उदाहरणको रूपमा हेरिएको भन्दै पत्रकार सम्मेलनमा सहायक रथी थापाले यस विषयमा पठनपाठन समेत हुने गरेको बताए।

‘निर्धक्क रहनुहोस्, विभिन्न ठाउँमा छिटपुट उठेका त्यो विषयमा कुनै पनि सत्यता छैन। नेपाली सेना एकढिक्का छ,’ सहायक रथी थापाले भने।

९. पशुपतिमा पनि आक्रमणको प्रयास भएको थियो?

२४ भदौको साँझपख पशुपति मन्दिरमा पनि आक्रमणको प्रयास भएको खबरहरू फैलिएको थियो। तर केहीले त्यो खबरमा भने सत्यता नरहेको दाबी गरेका थिए।

घटनाको एक महिनापछि नेपाली सेनाले भने आक्रमणको प्रयास भएको दाबी गरेको छ। मन्दिरको दक्षिण पश्चिमतर्फबाट भित्र प्रवेश गरेर आक्रमण गर्न खोजिएको सेनाले बताएको छ।

त्यो सूचना पाएलगत्तै ठूलो संख्यामा सेना पशुपति क्षेत्रमा खटिएर स्थिति नियन्त्रणमा लिएको सेनाले जनाएको छ।

१०. फागुन २१ मा चुनाव सम्भव छ?

जेनजी आन्दोलनको बलमा मुलुकमा अन्तरिम सरकार गठन भएको छ। सरकारले आउँदो २१ फागुनमा निर्वाचनको घोषणा गरेको छ। तर, शान्ति सुरक्षाको प्रबन्धमाथि अनेक टिकाटिप्पणी भएका छन्।

सुरक्षाकर्मीका कार्यालयहरू जलाइनु, हतियार लुटिनु, ठूलो संख्यामा कैदीहरू बाहिर हुनुजस्ता कारण चुनावमा चुनौती रहेको भन्दै सुरक्षाको प्रत्याभूति नहुँदा सम्म निर्वाचन हुन नसक्ने भनाइ निर्वाचन आयोगकै अन्तरक्रियामा दलहरूले उठाएका छन् ।

यही परिप्रेक्ष्यमा सेनाले भने चुनावको विकल्प नरहेको बताएको छ। चुनावबारे धेरै बोल्न नमिल्ने भन्दै राष्ट्रले तोकेको जिम्मेवारी सेनाले कुशल ढंगले सम्पन्न गर्ने बताएको छ।

‘विशेष परिस्थितिमा निर्वाचन हुन जाँदै छ। पक्कै पनि यो चुनौतीपूर्ण छ। हामीले चुनावका निम्ति एउटा संकल्प गर्नुपर्छ भन्ने मान्यता तय गरिसकेका छौं’ सहायक रथी मनोज थापा भन्छन्।

चुनावमा शान्ति सुव्यवस्थाका निम्ति काम गर्न बिहीबार मात्रै गृह मन्त्रालय अन्तर्गत रहेको एउटा समिति सक्रिय भइसकेको बताइएको छ। त्यस्तैगरी दलहरूले पनि सकारात्मक भूमिका खेल्दै जाने हो भने चुनाव गर्न सकिने सेनाको बुझाइ छ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?