२४ भदौ, काठमाडौं । जेनजी पुस्ताका युवाहरूको समूहले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आगजनी गरेका छन् ।
अहिले पनि बालुवाटारमा दनदनी आगो दन्किरहेको छ । भिषण आगलागीका कारण भवनभित्र रहेका एलपीजी ग्यासका सिलिण्डर लगायतका अन्य सामग्री पड्किरहेको आवाज सुनिन्छ ।
अनलाइनखबरले मंगलबार ९ बजेतिर ड्रोनबाट कैद गरेको एरिएल फुटेजमा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास खण्डहरमा परिणत हुन लागेको देखिन्छ ।
आगजनीबाट निवास जलेर पूर्णरूपमा क्षतिग्रस्त छ ।
केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि बालुवाटार पुगेका आक्रोशित युवाहरू देखेर प्रहरी समेत पछि हट्नु परेको थियो ।
समूहमा भित्र पसेका उनीहरूले आगो झोसेर भवन ध्वस्त पारेका छन् । मंगलबार अबेरसम्म बालुवाटारमा लागेको आगो निभाउन कुनै पनि पक्ष त्यहाँ पुगेको देखिँदैन । अन्यत्र पनि हालत उस्तै छ ।
सोमबारको प्रदर्शनमा १९ जना युवाको ज्यान गएपछि आक्रोशित भएका जेनजी युवाहरूले मंगलबार बिहानैदेखि सरकारी कार्यालयलाई निशाना बनाउन थालेका थिए ।
प्रदर्शनकारीले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवास, सर्वोच्च अदालतसहित उच्चपदस्थको कार्यालय र भवनमा समेत आगजनी गरेर ध्वस्त पारेका छन् ।
आगजनीले राज्यको सम्पत्तिमा अपूरणीय क्षति भएको छ ।
प्रतिक्रिया 4