+
+
Shares

नयाँ सरकार प्रमुख छान्न जंगीअड्डामा जेनजी प्रतिनिधिका ९ घन्टा

नयाँ सरकार गठनबारे छलफल गर्न बिहान १० बजे सैनिक मुख्यालय जंगीअड्डा छिरेका जेनजी प्रतिनिधिले साँझ ७ बजे पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाएका थिए ।

गौरव पोखरेल गौरव पोखरेल
२०८२ भदौ २५ गते २२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भ्रष्टाचारविरोधी जेनजीले नेपाली सेनाको मुख्यालय जंगीअड्डामा नयाँ सरकार प्रमुखका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरेका छन्।
  • सोमबार भएको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा १९ जनाको मृत्यु भएको र मृत्यु हुनेको संख्या ३० पुगेको छ।
  • नेपाली सेनाले विभिन्न पक्षसँग छलफल गर्दै सबैलाई समेट्ने प्रयास गरिरहेको र शुक्रबारसम्म कर्फ्यू जारी रहने जनाएको छ।

२५ भदौ, काठमाडौं । भ्रष्टाचारविरोधी जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिका नेपाली सेनाको मुख्यालय जंगीअड्डामा नयाँ सरकार प्रमुखको खोजी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग औपचारिक वार्ता गर्नुअघि छलफलका लागि बोलाइएका जेनजी प्रतिनिधिले जंगीअड्डामै छलफल गरेर देशको भविष्यबारे खाका प्रस्तुत गरेका हुन् ।

नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार, झण्डै ९ घन्टा लामो छलफलपछि जेनजी प्रतिनिधिका तर्फबाट सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव भएको छ ।

‘उहाँहरुले सम्माननीयज्यूको नाम प्रस्ताव गर्नुभएको छ, यद्यपि केही समूहसँग अझै कुराकानी गर्न बाँकी छ,’ ती अधिकारीले भने, ‘उहाँहरुसँग बिहीबार बिहान कुराकानी गरेपछि थप प्रक्रिया अघि बढ्छ ।’

बुधबार बेलुकी जेनजी प्रतिनिधिले कार्कीको नाम प्रस्ताव गरेको विवरण सार्वजनिक भएलगत्तै एउटा समूहले जंगीअड्डाको बाहिर गएर नारावाजी गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन सेनाले माइकिङ समेत गर्नु परेको थियो ।

‘प्रक्रिया अघि बढाएको अवस्थामा कुनै पनि समूहको असन्तुष्टि नहोस् भन्नेमा सचेत छौं,’ सैनिक स्रोतले भन्यो, ‘त्यसैले विभिन्न पक्षसँग छलफल गरिरहेका छौं ।’

त्यही नीति अन्तर्गत भेटका लागि समय मागेका दुर्गा प्रसाईंदेखि धरानका मेयर हर्क साम्पाङसम्मलाई भेटेको सैनिक स्रोत बताउँछ ।

जेनजीका प्रतिनिधि धेरै हुँदा अन्योल

सैनिक अधिकारीहरुका अनुसार, संवादका लागि जाने भन्दै सम्पर्क गर्ने प्रतिनिधि धेरै भएपछि कुराकानी गर्न कतिपय अवस्थामा समस्या समेत भएको छ ।

राष्ट्रपति वार्ताका लागि आह्वान गरेलगत्तै संवादका लागि नाम टिपाएका जति अधिकांशलाई बुधबार सेनाले छलफलका लागि बोलाएको थियो । तर, बिहान १० बजेतिर २० जनाभन्दा बढी भेला भएपछि प्रधानसेनापति अशोकराज सिग्देलले पहिले छुट्टै बसेर साझा मत लिएर आउन भनेका थिए ।

‘धेरै जनासँग कुरा गर्न समेत कठिनाइ हुन्छ, त्यसैले सबै जना पहिले एकठाउँमा बसेर आउनु होला,’ उनको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘सकभर एक जनालाई संयोजक समेत बनाएर आउनु होला ।’

त्यसपछि जेनजी प्रतिनिधिलाई छुट्टै बसेर छलफल गर्न सेनाले हल उपलब्ध गराएको थियो । त्यसक्रममा कतिपयले आगामी सरकार कस्तो हुने भन्नेबारे छलफल भएको थियो ।

स्रोतका अनुसार, उनीहरुबीच देशको भविष्य गणतन्त्र वा राजतन्त्र के हुने भन्नेमा समेत छलफल भएको थियो । जंगीअड्डामा चलिरहेको छलफलबाट बाहिर निस्किएकी रक्षा बमले ‘आन्दोलनको न्यूनतम मर्मविरुद्ध छलफल अघि बढाइन थालेपछि आफू र केही साथीहरु बाहिरिएको’ भनेकी छन् ।

स्रोतका अनुसार, उनको संकेत छलफलमा राजतन्त्र फर्काउने प्रस्ताव गरिएको सन्दर्भमा हो । स्रोतका अनुसार, एउटा पक्षले संघीयता र धर्मनिरपेक्षता हटाउनुपर्ने भन्दै राजा फर्काउनुपर्ने प्रस्ताव गरेका थिए ।

अर्को पक्षले चाहिँ जेनजीले गणतन्त्रको विकल्प नखोजेको भन्दै यसका नेताहरुको शैलीप्रति आन्दोलन लक्षित भएको जिकिर गरेका थिए ।

‘यो व्यवस्था विरुद्धको आन्दोलन थिएन, यही व्यवस्थाबाट निकास दिने हो । हामीले यसलाई नै सुधार्दै जाने हो,’ वार्तामा सहभागी एक जेनजी युवाले भने, ‘तर, गणतन्त्रलाई नै सुधार गर्दै जाने पक्षमा बोल्दा राजावादी पक्षमा रहेकाहरुले रोके ।’

त्यहीबेला गणतन्त्रवादी जेनजी प्रतिनिधिहरुले चाहिँ स्वतन्त्र र स्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार गठन हुनुपर्ने मत राखेका थिए ।

‘सहिद परिवार, आन्दोलनका घाइते जस्तालाई पनि प्राथमिकता दिनुपर्‍यो भन्ने कुरा थियो,’ स्रोतले भन्यो, ‘कतिपय सन्दर्भमा छलफल व्यक्तिगत विषयहरुमा समेत प्रवेश गर्‍यो ।’

स्रोतका अनुसार, सानो संख्यामा रहेका जेनजी रहेका युवाले अहिलेकै संसद्बाट निकास निकाल्नुपर्ने मत समेत राखेका थिए । स्रोतका अनुसार, वार्ताका क्रममा काठमाडौं महानगरपालिकाका कानूनी सल्लाहकार समेत रहेका ओमप्रकाश अर्याल समेत उपस्थिति थिए ।

उनीसँग नयाँ सरकार गठनका क्रममा आइपर्नसक्ने कानुनी चुनौतिबारे जेनजी युवाले सुझाव लिएका थिए । त्यसक्रममा झण्डै ९ घन्टा कुराकानी भएपछि अन्तिममा सुशीला कार्कीलाई अघि बढाउने प्रस्तावमा सहमति भएको थियो ।

जेनजी आन्दोलनका लागि युवा एकजुट भएका सामाजिक सञ्जाल डिस्कर्डबाट समेत छलफलमा सहभागी प्रतिनिधिलाई नागरिक सरकार बनाउन दबाब बढिरहेको थियो । डिस्कर्डमा दिनभर जेनजी युवाको संवाद र ‘डिजिटल भोटिङ’ भइरहेको थियो । जसमा पूर्वप्रधानन्यायाधीश कार्कीको नाम अगाडि आएको थियो ।

सबै पक्षलाई समेट्ने सेनाको प्रयास

नेपाली सेनाले चाहिँ अहिले वार्ता चलिरहँदा दुर्गा प्रसाईं, हर्क साम्पाङ र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समेत समेट्न खोजेको छ ।

‘यी पक्षलाई बाहिर राखेर अघि बढ्दा भोलि फेरि समस्या हुनसक्ने भएकाले कुनै न कुनै रुपमा उहाँहरुको कुरा पनि सुनियोस् भन्ने हो,’ सैनिक स्रोतले भन्यो । त्यही नीति अन्तर्गत दुर्गा प्रसाईं समेत दिउँसो सैनिक मुख्यालय जंगीअड्डा पुगेका थिए ।

प्रसाईंले प्रधानसेनापति सिग्देलसँग भेट गरेको तस्वीर समेत सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा उनले प्रधानसेनापति सिग्देलसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको उल्लेख गरेका छन् । ‘यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ— मलाई नेतृत्वको मोह छैन,’ उनले भनेका छन्, ‘देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो ।’

उनले जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै आफूलाई बालेन वा सुशीला कार्की जसको नेतृत्व पनि स्वीकार्य हुने बताएका छन् । उनीपछि हर्क साम्पाङले जंगीअड्डामा प्रधानसेनापतिसँग भेट गरेका थिए । त्यसक्रममा उनले समेत नागरिकका सरोकार राखेका थिए ।

नेपाली सेनाका उच्च अधिकृतहरुले संवादबाटै समस्याको समाधान निकाल्नुपर्ने बताइरहेका छन् । त्यसका लागि सेनाले सहजिकरण मात्र गर्ने उनीहरुको दाबी छ । सैनिक मुख्यालयमा भएको छलफलपछि एककिमिसको एकमत बनाएर राष्ट्रपति कहाँ संवाद हुने सैनिक अधिकारीहरु बताउँछन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत मंगलबार अपराह्न सामाजिक सञ्जालमार्फत सेना प्रमुखसँग वार्ता गर्न तयार हुनुस् भन्दै त्यसका लागि संसद् चाहिँ विघटन भएको हुनपर्ने उल्लेख गरेका थिए ।

‘अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्नेछ, तयार रहनु होला,’ उनले भनेका थिए । यसपछि राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जेनजी समूहलाई वार्तामा आउन आह्वान गरेको थियो ।

त्यसक्रममा धेरै समूहले आफूहरु जेनजीको प्रतिनिधि भएको भन्दै राष्ट्रपति कार्यालय र नेपाली सेनासँग सम्पर्क गरेका थिए ।

भ्रष्टाचारविरुद्ध जेनजीले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका बेला सरकारले फेसबुक, एक्ससहित २५ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि ‘नेपोनेविज’ अभियान चलाइरहेका युवाले सडक प्रदर्शन घोषणा गरेका थिए ।

सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा १९ जना मारिएका थिए, २०० भन्दा बढी घाइते भए । अहिले मृत्यु हुनेको संख्या ३० पुगिसकेको छ ।

मंगलबार प्रशासनको कफ्र्यूका बीच प्रदर्शनकारी सुरक्षा घेरा तोडेर बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका थिए । संसद् भवनमा आगजनी भएपछि जेनजी युवा नारावाजीसहित अन्यत्र हिँडेका थिए ।

पछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानमा समेत आगजनी भयो । नेपाली सेनाले बुधबार अपराह्न विज्ञप्ति जारी गर्दै शुक्रबारसम्म कर्फ्यू लगाइएको जानकारी दिएको छ ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?