Comments Add Comment

‘संक्रमण बोकेर स्वदेश फर्कने कसैको रहर हुँदैन’

आफ्ना देशवासीहरुलाई सरकारले समयमै उद्धार गर्छ : प्रधानमन्त्री

१२ जेठ, काठमाडौं । भारत लगायत विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने मामिलामा कठोर देखिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः उनीहरुप्रति नरम देखिएका छन् । सरकारले उनीहरुका समस्यालाई सम्बोधन गर्न चाँडै आदेश जारी गर्ने उनले बताएका छन् ।

‘अहिले मुलुक बाहिर रहेका नेपालीहरुको घर फर्किने क्रम बढेको छ’ प्रधानमन्त्रीले सोमबार राष्ट्रका नाममा गरेको सम्वोधनमा भने, ‘विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश र्फकनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गरिनेछ ।’

प्रधानमन्त्रीले भने, ‘कोभिड-१९ को विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशवासीहरुलाई सरकारले समयमै उद्धार गर्छ । समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिनेछ । सरकार आफ्ना नागरिकप्रति संवेदनशील छ, यसमा निश्चिन्त रहन म सबैमा आग्रह गर्दछु ।’

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोही पनि रहरले विदेशिएको हुँदैन भन्दै बाहिरबाट फर्केका नेपालीको चित्त दुखाउने अभिव्यक्ति नदिन सबैमा आग्रह गरे ।

यसअघि विदेशबाट नेपालीहरुलाई स्वदेश ल्याउने विषयमा कठोर देखिएका प्रधानमन्त्री ओलीले सोमबार नरम हुँदै भने, ‘हामी स्पष्ट हुनुपर्दछ, कोही पनि रहरले मात्र विदेशिएको हुँदैन ।… कोरोना संक्रमण जो कसैलाई पनि हुन सक्छ । कसैले पनि इच्छाले संक्रमण बोकेर फर्किएको पनि हुँदैन । कसैको पनि बोली र व्यवहारबाट घर फर्किएकाहरुको आत्मसम्मानमा चोट नपुगोस् भन्नेमा सचेत रहन म सबै देशबासीहरुलाई आग्रह गर्दछु ।’

प्रधानमन्त्री ओलीले अगाडि भने ‘विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुरुप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदायस्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो’ प्रधानमन्त्रीले भने, ‘तर छिमेकी मित्रराष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरु नियमको पालना र परीक्षणविना नै, अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनु भएको छ । परीक्षणको अभावमा महामारी तीव्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको छ ।’

यसरी घर फर्किएकाहरुलाई क्वारेन्टाइनमा रहन र परीक्षण गराउन प्रधानमन्त्रीले आग्रह गरेका छन् । प्रधानमन्त्रीले भनेका छन्, ‘स्वदेश भित्रिइसक्नु भएका दाजुभाइ दिदीबहिनीहरुले छिटो परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न, सुरक्षित ढंगले क्वारेन्टाइनमा रहन र अन्य नियमहरुको पालना गर्न जरुरी छ ।’

यस काममा उनीहरुलाई आवश्यक सहयोग पुर्‍याउने थप दायित्व स्थानीय तहको काँधमा आइपरेको बताउँदै प्रधानमन्त्रीले भने, ‘यस्तै अवस्थामा जनस्तरमा पारस्परिक सहयोगको आवश्यकता हुन्छ । जनताबीचको आपसी सहयोग र सजगतामा मात्रै कोरोनाजस्तो महामारीको संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ ।’

विदेशबाट आउनेहरुले कोरोना संक्रमण ल्याएको भए पनि उनीहरु रहरले संक्रमण लिएर नआएको प्रधानमन्त्रीको भनाइ छ । यसअघि प्रधानमन्त्री ओली विदेशबाट आउनेहरुले संक्रमण ल्याउने भन्दै केही कठोर रुपमा प्रस्तुत हुने गरेका थिए ।

घर फर्किएकाहरुले पनि आफ्नो कारणले आफ्नो परिवार, छरछिमेक तथा समुदायमा महामारी नफैलियोस् भन्नेमा सतर्कता अपनाउनुपर्ने र चिकित्सक तथा प्रशासनको सल्लाहबमोजिम स्वास्थ्यसम्बन्धी अन्य नियमहरूको पालना गर्नुपर्ने प्रधानमन्त्रीको आग्रह छ ।

कोरोना महामारीको संक्रमण अझै केही समय विस्तार हुने सम्भावना रहेको बताउँदै सरकारले आवश्यक कमदहरु चाल्ने प्रधानमन्त्री ओलीले बताएका छन् । उनले भने, ‘विश्वव्यापी प्रवृत्ति र हाम्रो मुलुकमा त्यसको प्रभावलाई हेर्दा यस महामारीको संक्रमण अझै केही अवधि जारी रहने देखिन्छ ।’

आफूले नेपालीहरू ठूलो संख्यामा कार्यरत रहेका मुलुकका सरकार तथा राष्ट्र प्रमुखसँग गरेको र नेपालीहरूको अप्ठ्यारोमा सहयोग गर्न गरेको आग्रहमा ती देशहरुले निश्चिन्त रहन आश्वस्त पारेको प्रधानमन्त्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment