Comments Add Comment

टेलिभिजनमा भारतीय विज्ञापन कहिले हट्छ ?

अनुगमन गर्न प्रविधि किन्दै सरकार, कात्तिकदेखि क्लिन फिड लागू गर्ने तयारी

१२ जेठ, काठमाडौं । सरकारले विदेशी टीभी च्यानलहरूमा क्लिन फिड लागू गर्न तयारी अघि बढाएको छ । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले तोकिएको अवधिभित्रै क्लिन फिड लागू गर्न र त्यसको अनुगमन गर्न प्राविधिक संयन्त्र विकास गर्ने प्रक्रिया अघि बढाएको  छ।

सूचना तथा प्रशारण विभागले क्लिन फिड लागू भए/नभएको अनुगमन गर्ने प्रविधि खरिद गर्न लागेको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले अनलाइनखबरलाई जानकारी दिए ।

‘आगमी ८ कात्तिकसम्म क्लिन फिड लागू भइसक्नुपर्छ,’ उनले भने,’सरकारले त्यो भएन नभएको अनुगमन गर्न प्राविधिक संयन्त्र विकास तयारी गर्दै, उपरकण खरिदको प्रक्रिया अघि बढेको छ ।’

‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ लागू भएसँगै नेपालमा प्रसारण हुने विदेशी टीभी च्यानलहरूले विज्ञापन बजाउन नपाउने व्यवस्था लागू भईसकेको छ । गत कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको छ ।

नयाँमा लागू भइसक्यो

सरकारले नयाँ डाउन लिंकको अनुमति लिँदाको हकमा भने तत्काल यो व्यवस्था लागू भइसकेको बताएको छ । तर, त्यसको अनुगमन भने हुन सकेको छैन ।

यो ऐनमा भनिएको छ, ‘ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले यस ऐन प्रारम्भ भएको एक वर्षभत्र विज्ञापनरहित प्रसारण गर्नुपर्नेछ ।’

मन्त्रालयका प्रवक्ता तिवारी क्लिन फिडको व्यवस्था ऐन कार्यान्वनयमा गएसँगै लागू भइसकेको बताउँछन् ।

‘अहिले नयाँ डाउनलिंकको अनुमति लिँदा क्लिड फिड गर्नैपर्छ भने पुरानाले आगामी ८ कात्तिक वर्षभित्र व्यवस्था लागू गरिसक्नुपर्छ,’ उनले भने,’क्लिन फिड लागू गर्न सरकार प्रतिवद्ध छ ।’

केबल, आईपीपी, डिटीटी, डीटीएचलगायताका विभिन्न प्रविधिमार्फत टेलिभिजन सेवा प्रदान गर्ने टेलिभिजन अपरेटरहरूले क्लिन फिडको व्यवस्था लागू गर्न भारतीय च्यानल तथा अपरेटरहरूसँग छलफल थालिहाल्नुपर्ने अवस्था छ ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ०७४ साउन १ गतेदेखि ‘क्लिन फिड’ लागू गर्ने निर्णय गरेको थियो । तर, त्यसपछि बनेको सरकार नेपाली टेलिभिजन वितरक र भारतीय टेलिभिजन प्रसारकको दबावका कारण पछि हट्यो । यसविरुद्ध नेपाली टेलिभिजन वितरकले आन्दोलन नै घोषणा गरेका थिए । ०७४ असार ३१ गते थप तयारीका लागि भन्दै सरकारले ‘क्लिन फिड’ लागू गर्ने निर्णय स्थगित गरेको थियो ।

तर निर्वाचनपछि नयाँ सरकार आएसँगै ऐनमै यो व्यवस्था गर्न सरकार अग्रसर भयो । पुनः टेलिभिजन सेवा वितरकहरू विरोधमा उत्रिए । संसदमा मधेसवादी दल राजपालगायतले विधेयक संशोधनमा लागि प्रयत्न गरे । तर अन्ततः संसदले सरकारको प्रस्ताव अनुसार नै विधेयक पास भएर ऐनका रुपमा लागू छ ।

नेपाललाई के फाइदा ?

नेपालमा करिब २ सयभन्दा बढी विदेशी च्यानल क्लिन फिडबिना नै प्रसारण हुन्छन् । यसमा पनि भारतीय हिन्दीभाषी च्यानलको प्रभुत्व छ ।

टेलिभिजन सेवा प्रदायकहरू असन्तुष्ट भए पनि नेपाली विज्ञापन व्यवसायी जसरी पनि क्लिन फिड लागू हुनुपर्ने पक्षमा थिए । नेपाली बजारलाई लक्षित गरेर बहुराष्ट्रिय कम्पनीहरूले भारतका च्यानलमा पैसा खर्च गर्ने गरेका कारण नेपालले त्यसबाट लाभ लिन नसकिरहेको उनीहरूको तर्क छ ।

क्लिन फिड लागू भए नेपालमा आˆनो उत्पादनको बजार भएका विदेशी कम्पनीले नेपालमै विज्ञापनका लागि पैसा खर्च गर्छन् । साथै नेपाली टेलिभिजन दर्शकले पनि विदेशी च्यानलमा अनावश्यक विज्ञापन हेर्नुपर्दैन । यसले अहिले वाषिर्क ६ अर्बको नेपाली विज्ञापन बजार तत्कालै ८ अर्बभन्दा माथि पुग्ने संघको आकलन छ ।

हाल नेपालको विज्ञापन बजार सानो छ । विज्ञापन व्यवसायीहरूका अनुसार विदेशी टीभी च्यानलहरूले यो अझै संकुचित बनाइदिएका छन् । विदेशी च्यानलमा निर्वाध रूपमा बहुराष्ट्रिय कम्पनीका विज्ञापन बज्छन्, जुन सामग्रीका नेपालमा थुप्रै उपभोक्ता छन् ।

नेपालमा बजार प्रवर्द्धनका लागि उत्पादक कम्पनीले छुट्टै रकम खर्चिन पर्दैन । यही कारणले नेपालमै रहेका बहुर्राष्ट्रिय कम्पनीहरूले नेपालका लागि विज्ञापनमा कम खर्च गरिरहेको विज्ञापन व्यवसायीको भनाइ छ । यसबाट नेपालको विज्ञापन व्यवसायलाई वाषिर्क करोडौं नोक्सानी भइरहेको छ ।

विदेशी च्यानलहरू क्लिन फिड पूर्ण रूपमा लागू भएपछि नेपालको विज्ञापन बजार अहिलेको भन्दा कम्तीमा दोब्बर हुनेमा आशावादी छन् । यसले सरकारको राजस्व पनि बढ्नेछ ।

मन्त्रालयका प्रवक्ता तिवारीका अनुसार, क्लिन फिड लागू भए विज्ञापन बनाउनका लागि स्वदेशको साधन-स्रोत प्रयोग हुन्छ र देशको आम्दानी बढ्छ । यस्तै स्वदेशी कलाकार र सेलिबि्रटीहरूको माग बढ्छ र विदेशी कलाकारले लैजाने पैसा नेपाली कलाकारले पाउँछन् । विज्ञापनबाट मिडिया हाउसहरू स्वतः लाभान्वित हुन्छन् र मिडिया उद्योग पनि फस्टाउँछ ।

अहिले सरकारलाई वाषिर्क ७ लाख तिरेर विदेशी च्यानलहरू विज्ञापनसहित नेपालमा प्रसारण हुन सक्छन् । यही शुल्कबाट विदेशी टेलिभिजन सञ्चालकहरूले नेपालमा अर्बौं मूल्यका विज्ञापन पनि देखाइरहेका छन् ।

यसलाई रोक्न र नेपालको विज्ञापन बजारलाई व्यवस्थित एवं थप विस्तार गर्न क्लिन फिडको व्यवस्था प्रभावकारी हुने सरकारी अधिकारीहरूको भनाइ छ ।

क्लिन फिड लागू भएको अवस्थामा नेपाललाई आर्थिक सांस्कृतिक रूपमा फाइदा हुने नेपाल विज्ञापन संघले तर्क गर्दै आएको छ । क्लिन फिड लागू भएपछि विदेशी च्यानल हेर्नेको संख्या पनि घट्दा नेपालका टेलिभिजन बलियो हुन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment