१० जेठ, काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधान संशोधन विधेयकका विषयमा एकमत कायम गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आग्रह गरेका छन् ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले सबै दलले छलफल गरेर संविधान संशोधनको विषयमा समाधान धारणा कायम गर्न आग्रह गरेका हुन् । ‘यसका निम्ति दलहरूसँग छलफलको पहल म पनि गर्छु । यहाँहरूले पनि यसतर्फ ध्यान दिनुहोला’ उनले बैठकमा भने।
सरकारले संविधानको अनुसूची-३ मा रहेको निशान छापमा अंकित नक्सा हालै सरकारले जारी गरेको नक्साअनुसार अद्यावधिक गर्न शुक्रबार प्रतिनिधिसभामा संविधान संशोधन विधेयक दर्ता गराएको छ ।
बैठकमा राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदले भने आफूहरूको माग नसमेटी संविधान संशोधन विधेयक ल्याएकोमा असन्तुष्टि जनाएका छन् ।
राजपाका सांसद लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीका उमाशंकर अरगरियाले संसदमा पेश भएको संविधान संशोधन विधेयकमा मधेशको माग सम्बोधन गर्न माग गरे ।
‘विवादरहित ढंगले समान धारणा लैजाने विषयमा हाम्रो विमति रहेन’ कर्णले बैठकपछि पत्रकारसँग भने ‘यसपटक संविधान संशोधनको विषयमा संसदमा प्रस्ताव पेश गर्दा हाम्रा कुरा पनि सुनियोस् । त्यसका लागि सर्वक्षीय सर्वदलीय बैठक बस्न आवश्यक छ । सभामुखले पहल गर्नुपर्छ ।’