Comments Add Comment

देउवालाई समाजवादी र राजपाको प्रस्ताव : संविधान संशोधन गर्दा मधेशको माग पनि सम्बोधन गरौं

१० जेठ, काठमाडौं । पार्टी एकताको सहमति गरेका समाजवादी र राजपा नेपालका नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।  भेटमा उनीहरूले संविधान संशोधन गर्दा मधेशको माग सम्बोधन गर्न आग्रह गरेका छन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको सरकारले संविधानको अनुसूची-३ मा रहको निशान छाप संशोधन गर्न विधेयक संसद सचिवालयमा दर्ता गराएको छ। यही बेला आफूहरूले उठाउँदै आएको संविधान संशोधनको मागलाई पनि सम्बोधन गर्नुपर्ने राजपा र समाजवादी नेताहरूले बताएका छन् ।

देउवालाई भएको भेटपछि राजपा नेता राजेन्द्र महतोले अनलाइनखबरसँग भने, ‘अनुसूची संशोधन गर्ने प्रस्ताव ठिक छ । तर, मधेशका जनताले उठाएका मागहरूलाई पनि प्याकेजमा सम्बोधन गरौं ।’

जवाफमा देउवाले पार्टी पदाधिकारीको बैठक राखेर छलफल गर्ने आश्वासन दिएका छन् ।

मधेश केन्द्रित दलहरूले नयाँ सविधान जारी भएदेखि नै संशोधनको माग गर्दै आएका छन् । कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएको बेला संशोधन प्रस्ताव दर्ता पनि भएको थियो तर पास हुन सकेन ।

नक्सा मात्र होइन, जमिन नै फिर्ता ल्याऊँ

भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी बनाएको सडक उद्घाटन गरेपछि ३१ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा कांग्रेस, समाजवादी, राजपा र राप्रपा सबै दलले एक स्वरमा भनेका थिए– लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि हो । राजनीतिक दल र जनतालाई विश्वासमा लिएर भारतसँग तत्काल उच्चस्तरमा सम्वाद गर ।

यस अवधिमा दुई देशबीच सम्वाद भएन । सरकारले ५ जेठमा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गर्‍यो भने शुक्रबार त्यसअनुसार निशान छापसम्बन्धी अनुसूची संशोधन गर्न संविधान संशोधन विधेयक दर्ता गरेको छ । प्रधानमन्त्री ओलीले मंगलबार नै संसदमा सम्बोधन गर्दा संविधान संशोधनका अरू मुद्दामा भोलिका दिनमा छलफल गर्दै जाने तर नक्सासम्बन्धी संशोधन तत्काल गर्नुपर्ने बताएका थिए।

तर, राजपा नेता महतो भने कूटनीतिक सम्वादबाट समस्या समाधान गर्नुको साटो सरकारले नक्सा राजनीति त गर्न खोजेको होइन भन्ने आशंका गर्छन् । ‘सीमासम्बन्धी सवाल निकै संवेदनशील र गम्भीर सवाल हो । यसमा राष्ट्रिय सहमति बनाएर देशलाई एकढिक्का बनाएर सरकार अगाडि बढ्नुपर्छ’ महतो भन्छन्, ‘तब मात्र वार्ताको टेबलमा बस्दा उच्च मनोबल बनाउन सकिन्छ।’

तर, भारतसँग उच्चस्तरमा सम्वाद गर भनेर सुझाव दिएको प्रधानमन्त्री आफैँले उत्तेजक भाषण गरे । नक्सा जारी गर्दा पनि विपक्षी दलहरूसँग छलफल गरेन, संविधान संशोधन प्रस्ताव ल्याउँदा पनि सोधेन।

‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि हो । त्यसलाई फिर्ता ल्याउन सवुत प्रमाण जुटाउने, सिङ्गो देशलाई एक ढिक्का बनाउने र भारतसँग कूटनीतिक सम्वाद गर्नुपर्छ’ महतो भन्छन्, ‘तर, प्रधानमन्त्री भूमि फिर्ता चाहने जनताको भावनामा खेलवाड त गर्दैछैनन् ?’

पार्टीभित्र संकटमा परेका प्रधानमन्त्रीले नक्सा छापेर कुर्सी बचाउन खोजेको हुनसक्ने उनको आशंका छ । ‘नभए सबैलाई साथमा लिनुपर्छ । संसदमा पुगिसकेको संविधान संशोधनको मुद्दालाई पनि प्याकेजमा ल्याउनुपर्छ’ राजपा नेता महतोले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment