Comments Add Comment

कोरोनामा केन्द्रित हुँदा डेंगुले सताउला !

'मजदुरलाई राहत होइन, सरसफाइमा लगाएर तलब दिउँ'

८ जेठ, काठमाडौं । विगतका वर्ष झैँ यतिबेला सामान्य अवस्था भएको भए अहिले स्वास्थ्य मन्त्रालय डेंगु रोग नियन्त्रणको अभियानमा जुटिरहेको हुने थियो । तर, कोरोना भाइरसको महामारी फैलिँदो क्रमसँगै डेंगुबारे चर्चा र बहस ओझेलमा छ ।

गर्मीयाम सुरु भएसँगै कोरोना भाइरसको प्रकोप घट्दै जाने कतिपय विज्ञहरुको भनाइ थियो । तर, जेठ पहिलो सातासम्म आइपुग्दा कोरोनाको प्रकोप नियन्त्रणतर्फ होइन, तीब्ररुपमा फैलिरहेको छ ।

कोरोनाका कारण स्वास्थ्य मन्त्रालय मात्र होइन, सिंगो सरकारले समेत अन्यत्र ध्यान दिन नसकेका बेला अहिले डेंगुको रोगको संक्रमण देखिन थालेको छ । कोभिड–१९ को महामारीका बेला डेंगुको पनि संक्रमण देखिन थाल्नुलाई स्वास्थ्यकर्मीहरुले खतराको संकेत मानेका छन् ।

‘कोरोना भएकै बिरामीलाई पनि डेंगु हुन सक्छ, यदि दोहोरो इन्फेक्सन भए, मृत्युदर पनि बढ्न सक्छ’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘त्यसैले कोरोनासँगै डेंगुबाट पनि बच्न सतर्कता अपनाउनु जरुरी छ ।’

सावधानी अपनाउन ७७ जिल्लालाई सर्कुलर

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार हालसम्म मुलुकभर डेंगुका ६६ बिरामी भेटिएका छन् । मनसुनको भित्रिने क्रमसँगै यसका बिरामी थप बढ्ने सम्भावना छ ।

डेंगुको सम्भावित प्रकोपलाई मध्यजनर गरेर ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालय र सबै स्थानीय तहलाई पूर्वसावधानी अपनाउन सर्कुलर पठाइसकिएको डेंगु शाखाका चिकित्सक डा. उत्तम प्याकुरेल बताउँछन् । उनका अनुसार हालसम्म रुपन्देहीमा सबैभन्दा बढी १४, म्याग्दीमा ८ र काठमाडौंमा ४ जना डेंगुका बिरामी अस्पताल भर्ना भएका छन् ।

‘त्यसबाहेक ललितपुरमा चार, कास्कीमा एकसहित कुल २१ वटा जिल्लामा डेंगुका बिरामी भेटिएका छन्’, प्याकुरेलले अनलाइनखबरसँग भने, ‘हरेक जिल्ला जनस्वास्थ्य कार्यालयको फोकल पर्सनको ग्रुप बनाएर डेंगु संक्रमितको नियमित विवरण संकलन गरेर अध्ययन गरिरहेका छौं ।’

अघिल्लो वर्ष डेंगुबाट नेपालमा ३ हजार ४ सय २४ जना संक्रमित भएका थिए । सबैभन्दा बढी प्रदेश नं. १ का जिल्लाहरु प्रभावित बनेको रेकर्ड छ । महाशाखाले उपलब्ध गराएको विवरण अनुसार प्रदेश १ मा मात्रै ३ हजार एक सय ५२ जना डेंगुबाट संक्रमति भएको देखिन्छ ।

त्यसपछि बागमती प्रदेशमा १२५, प्रदेश नं. ५ मा ९६ र गण्डकी प्रदेशमा २६ जना संक्रमित रहेको देखिन्छ । जिल्लागत रुपमा सुनसरीमा मात्रै ३ हजार २५ जना डेंगुबाट संक्रमित भएका थिए ।

अघिल्लो वर्ष मुलुकमा धरानबाटै डेंगुको संक्रमण महामारीका रुपमा फैलिँदै हेटौंडा र काठमाडौं आइपुगेर अन्त्य भएको थियो । त्यतिञ्जेल ८ जना नागरिकले यसका कारण ज्यान गुमाएका थिए । सुनसरीपछि मकवानपुरमा ८३, मोरङमा ८१ र रुपन्देहीमा ५५ जना संक्रमित भेटिएका थिए ।

पछिल्लो ६ वर्षको विवरण हेर्दा पनि नेपालमा बर्सेनि डेंगु संक्रमितको संख्या बढ्दै आएको पाइन्छ । आर्थिक वर्ष २०७०/७१ मा ३०२, ०७१/०७२ मा १३४, ०७२/०७३ मा एक हजार ५ सय २७, ०७३/०७४ मा दुई हजार एक सय ११ जना र ०७४/०७५ मा ८ सय ११ जनामा  डेंगुको संक्रमण देखिएको सरकारी तथ्यांक छ ।

‘अघिल्लो वर्ष डेंगुको संक्रमण देखिएका ठाउँमा अर्को वर्ष नदेखिने ट्रेण्ड देखिन्छ’, डा. प्याकुरेलले सुनाए, ‘एक वर्षमा शरीरले त्यस प्रकारको रोग प्रतिरोधी क्षमता पनि विकास गरिसकेको हुनाले यस्तो भएको हुनसक्छ ।’ यद्यपि, डेंगु भाइरस डेन १, डेन २, डेन ३ र डेन ४ गरी चार प्रकारका हुने भएकाले अर्को प्रकारको संक्रमण जोखिमलाई भने नजरअन्दाज गर्न नमिल्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

‘अर्को वर्ष त्यही गाउँपालिका वा नगरपालिका नभइ, अन्यत्र संक्रमण देखिन सक्छ’, प्याकुरेल थप्छन्, ‘अघिल्लो कुन गाउँपालिकाबाट डेंगु संक्रमणको रेकर्ड भएको छ, त्यसलाई आधार बनाएर नयाँ वस्तीलाई जोखिमपूर्ण क्षेत्रका रुपमा राखेर पूर्वतयारी गरेका छौं ।’

क्वारेन्टाइनमा डेंगुको जोखिम

कोभिड–१९ का कारण बाँकेमा राखिएका एकजना बिरामीमा मलेरियाको समस्या पनि देखियो । प्रारम्भिक अनुसन्धानमा भारतबाट आउँदै उनलाई कोभिड–१९ र मलेरिया भएको आशंका गरिएको छ । तर, क्वारेन्टाइन पनि रोगको अखडा बन्न नसक्नेमा विश्वस्त हुन नसकिने विज्ञहरु बताउँछन् ।

‘क्वारेन्टाइनका दुरावस्थाबारे मिडियामा आइरहेकै छ, न्यूनतम सुविधा पनि छैन’, टेकु अस्पतालका एक चिकित्सक नाम उल्लेख नगर्ने सर्तमा भन्छन्, ‘कोभिड–१९ सँगै अन्य सिजनल रोगबारे ध्यान नदिए, मृत्युदर बढ्न सक्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि भन्छन्, ‘कोरोना भन्दाभन्दै अरु रोगमा ध्यान नदिए, उपचार गर्न सक्ने रोग पनि हाम्रो हातबाट फुत्किएर जटिलता निम्तिन सक्छ ।’

अझ ज्वरो देखिने वित्तिकै कोभिडकै विरामी झैँ तर्सिने अवस्थाले सामान्य रोगको उपचार पनि पाउन नसक्ने अवस्था आउन सक्छ । ‘सतर्कता अपनाउनु ठिकै हो तर, ज्वरो आएको मान्छे अस्पतालमा पुगेपछि उपचार गर्नुपर्छ’, संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, ‘सबै ज्वरो कोभिड नहुन सक्छ, अरु रोग पनि हुनसक्छ भनेर सोच्नुपर्छ ।’

सर्वसाधारण आफैं पनि रोगको संक्रमणबाट बच्न सचेत भएर लामखुट्टेको टोकाइबाट जोगिन झुलसहित अन्य उपकरणको प्रयोग गर्नुपर्ने विज्ञ बताउँछन् ।

स्थानीय तहले पनि सित्तैमा राहत वितरणको साटो स्थानीय स्तरमा पानी जम्ने ठाउँ, ढलको सरसफाइ लगायतका क्षेत्रमा प्रयोग गराएर निश्चिम रकम दिनुपर्छ । यसले अफ्ठ्यारोमा परेका नागरिकको समस्या समाधानसँगै रोगको सम्भावित संक्रमणबाट पनि जोगाउन मद्दत पुग्न सक्छ ।

डेंगु : बर्सेनिको समस्या

एडिस जातका एजिप्टाइ र अल्बोपिक्टस पोथी नामखुट्टेको टोकाइका कारण संक्रमण हुनसक्ने डेंगुको समस्या बर्सेनि देखिँदै आएको छ । यसलाई लक्षित गरेर सरकारले प्रकोपको सम्भावित क्षेत्रमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाउँदै आएको छ । यद्यपि, संक्रमण दर घट्दो क्रममा छैन ।

गत वर्षको संक्रमण दर सम्भवतः इतिहासकै सबैभन्दा बढी भएको मान्छन्, डा. पुन । उनको बुझाइमा हरेक वर्ष सरकारले पनि सरसफाइमा केन्द्रित रहन चेतनामूलक अभियान चलाइरहे पनि सर्वसाधारणको सानो असावधानीले डेंगु फैलिने गरेको छ ।

‘अहिले सबै नागरिक घरमै हुनुहुन्छ, यस्तो अवस्थामा गाउँतिर घरकै गमला, सहरी क्षेत्रमा पनि रेफ्रिजरेटरतिर पनि पानी जमेको हुनसक्छ’, पुनले अनलाइनखबरसँग भने, ‘बाथरुममै अथवा कतै पानी जम्मा गर्ने चलन पनि हुनसक्छ, त्यसतर्फ सबैले सचेतता अपनाउनुपर्छ ।’

लामखट्टे भएको ठाउँमा जाँदा शरीर पूरै ढाक्ने गरी कपडा लगाउन पनि उनको सुझाव छ । लक्षण देखा परेको अवस्थामा तुरुन्त अस्पताल वा स्वास्थ्य केन्द्र जानुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

महाशाखाका पूर्वनिर्देशक मरासिनी फागुनदेखि हरेक हप्ता पानी परिरहेकाले यो पटक डेंगुको जोखिम बढ्न सक्ने बताउँछन् । ‘डेंगु सार्ने लामखुट्टेको वयस्कले फुल पार्नु अघि तीन पटक मान्छेलाई टोक्छ’, उनले थपे, ‘त्यसपछि पोशक तत्व पूरा भएर फुल पार्ने हो, त्यसो हुँदै गर्दा डेंगुको प्रकोप भने बढ्दै जान्छ ।’

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार डेंगुको प्रमुख लक्षण उच्च ज्वरो (४० डिग्री सेल्सियस/१०४ डिग्री फरेनहाटइट) आउनु हो । यो चरणमा ज्वरोसँगै टाउको दुखाइ, आँखाको गेडी दुख्ने, मांसपेसी वा जोड्नी दुख्ने, वान्ता आउने जस्ता समस्या देखिन सक्छन् । डेंगु फैलाउन लामखुट्टेले टोकेको चारदेखि १० दिनको अवधिमा यी लक्षण देखिन थाल्छन् ।

गम्भीर अवस्थामा रक्तचाप, प्लेटलेटको कमी, श्वास–प्रश्वासमा समस्याजस्ता घातक जटिलता उत्पन्न भई मानिसको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । प्लेटलेटको संख्या कम हुँदै जाँदा शरीरमा डाबर पनि देखिन थाल्छन् ।

डब्ल्यूएचओले यसलाई गम्भीर अवस्था (सिभियर फेज) मानेको छ र यस्तो अवस्थामा २४ देखि ४८ घन्टासम्म चिकित्सकको निगरानीमा रहेर उचित उपचार लिनुपर्ने भनेको छ । संगठनका अनुसार डेंगुको कुनै निश्चित उपचार छैन । यसको नियन्त्रणका लागि प्यारासिटामोल प्रयोग गर्ने गरिन्छ साथै, जोर्नीको दुखाइ कम गर्न पेनकिलर पनि प्रयोग हुने डब्लूएचओले उल्लेख गरेको छ ।

एस्पिरिन, आइब्रुफिन जस्ता औषधिलाई भने निषेध गर्नुपर्ने भनिएको छ । किनकि, यी औषधिले रक्तचाप बढाउन भूमिका खेल्ने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment