Comments Add Comment

विदेशमा रोकियो डेढ सय कामदारको शव, ५८ जनाको भयो दाहसंस्कार

११ जेठ, काठमाडौं । विदेशमा काम गर्ने क्रममा विभिन्न कारणले मृत्यु भएका एक सय ४९ जनाभन्दा बढी नेपाली श्रमिकको शव विदेशमै अलपत्र परेको छ । आफन्तको मृत्यु भएर पनि शव नआएपछि मृतकका परिवार थप पीडामा छन्।

विश्वव्यापी कोरोना महामारीका कारण देशमा बन्दाबन्दीमा छ। अन्तर्राष्ट्रिय उडान प्रतिबन्धित छ ।

यस्तो बेला नेपाल फर्कन रोइकराइ गरिरहेका श्रमिक त फर्कन पाएका छैनन् भने विदेशमा पसिना बगाउँदा-बगाउँदै मृत्युवरण गर्न पुगेकाहरूको आफ्नै भूमिमा सद्गतको मौका पाएका छैनन् ।

नेपालमा दैनिक दुई श्रमिकको शव भित्रिने गरेको सरकारी तथ्यांकले देखाउँछ । तर, एक सय ४९ बढी शव अहिले विदेशमा रोकिएको छ। नेपाल सरकारले तिनको अस्तुलाई नेपाल ल्‍याउने प्रवन्ध गर्न सकेको छैन ।

यस अवधिमा कुल २०७ जनाको शव व्यवस्थापन गर्नुपर्नेमा ५८ जनाको विदेशमै अन्त्येष्टि गरिएको छ । बाँकी एक सय ४९ जना मृत कामदारको परिवारले भने दाहसंस्कार नेपालमै ल्याएर गर्ने इच्छा व्यक्त गरेका छन् ।

कहाँ, कति नेपालीका शव ?

वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार अहिले साउदी अरब र मलेसियामा ४२/४२ जना नेपालीका शव अलपत्र छन् । त्यस्तै, कतारमा ३५ जना, यूएईमा १४ जना र कुवेतमा ११ जना नेपालीको शव थन्किएका छन्।

बहराइनमा दुई तथा टर्की र ओमानमा एक-एक जना नेपालीको शव अलपत्र रहेको बोर्डको सचिवालयले जनाएको छ । अन्य मुलुकमा पनि एउटा शव अलपत्र छ। लकडाउन लम्बिँदै जाँदा ती शव कहिले नेपाल आइपुग्छन् भन्ने स्पष्ट छैन ।

५८ शव विदेशमै जले

स्वयं नेपाल सरकारले उनीहरूको अन्तिम संस्कार उतै गर्न सम्बन्धित परिवारहरूलाई प्रेरित गरिरहेको छ । यो अवधिमा अनुमति लिएर ५८ जना श्रमिकको शव विदेशमै दाहसंस्कार गरिएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ ।

सरकारले त्यसरी विदेशमै दाहसंस्कार गर्न सहमति दिने परिवारलाई ५० हजार रुपैयाँ दिने गरी प्रोत्साहनको नीति नै ल्याएको छ ।

यूएईमा मृत्यु भएका ३२ जना कामदारको परिवारले उतै शव दाहसंस्कारकै लागि सहमति दिएका छन् । त्यसैगरी साउदीमा ७, कतारमा ६, दक्षिण कोरियामा ३, मलेसियामा २, बहराइन, सेसेल्स र जोर्डनमा १/१ जना कामदारको अन्त्येष्टि सम्बन्धित देशमै गरिएको छ । अन्य मुलुकहरूमा पाँच नेपालीको शवलाई उतै अन्तिम संस्कार गरिएको छ ।

कोरोनाबाट मृत्यु भएकाहरूको शव नपाल ल्याउन पाइँदैन । कोरोनाबाट मृत्यु भएकाबाहेकको शव भने परिवारको सहमतिविना विदेशमा दाहसंस्कार गर्न पाइँदैन ।

बोर्डको विवरणअनुसार अहिलेसम्म रोजगारीका लागि विदेश गएका ११ जनाको मृत्यु कोरोनाबाट भएको तथ्यांक छ। यूएईमा ५ जना, साउदीमा ३ जना, कतार र टर्कीमा एक-एक जनाको कोरोनाबाट मृत्यु भएको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment