८ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समय सापेक्ष नरहेका र पुराना कानुन खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले नयाँ कानुन थप्दै जाने तर पुराना कानुन संशोधन र खारेज गर्न ढिलो गर्ने प्रवृत्तिले अर्थतन्त्रमा अनावश्यक नियामकीय बोझ बढेको बताए ।
अर्थमन्त्री वाग्लेले विभिन्न अध्ययन र प्रतिवेदनले औंल्याएका १५ वटा ऐन खारेज गर्ने प्रस्ताव अघि बढाइएको जानकारी दिँदै नयाँ आयोग गठन गरेर थप अध्ययन गर्नुभन्दा यसअघि नै प्राप्त सुझाव कार्यान्वयन गर्ने उद्देश्यले विधायिकी सुधारको प्रक्रिया अघि बढाइएको बताए ।
नियमन आवश्यक भए पनि अत्याधिक कानुनी व्यवस्थाले अर्थतन्त्रलाई बाधा पुर्याउनसक्ने बएयो ।
एउटा ऐनले आर्थिक गतिविधि सहज बनाउने तर अर्को ऐनले नियन्त्रण गर्न खोज्ने अवस्था सिर्जना हुँदा नीतिगत विरोधाभाष उत्पन्न हुने उनले बताए ।
पुराना ऐनहरू तत्कालीन समय र परिस्थितिअनुसार बनेका भएपनि अहिलेको आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा तिनको सान्दर्भिकता पुनरावलोकन गर्नुपर्ने बताए ।
पुराना र असान्दर्भिक कानुन खारेज गरेर आवश्यक व्यवस्था आधुनिक ऐनहरूमा समेट्नुपर्ने अर्थमन्त्री वाग्लेको भनाइ छ ।
अर्थमन्त्री वाग्लेले भने, ‘नेपालमा नयाँ कानुन बनाउने तर पुराना कानुन संशोधन वा खारेज गर्न ढिलाइ गर्ने प्रवृत्ति छ । यसले अनावश्यक रूपमा कानुन थपिँदै जाँदा अर्थतन्त्र अति नियमनको अवस्थामा पुग्ने जोखिम हुन्छ । नियमन आवश्यक छ तर अत्यधिक र परस्पर विरोधी कानुनले आर्थिक गतिविधिलाई बाधा पुर्याउन सक्छ । त्यसैले समयसापेक्ष नरहेका पुराना ऐन खारेज गरी आधुनिक कानुनमा आवश्यक व्यवस्था समावेश गर्नु उपयुक्त हुन्छ ।’
अर्थमन्त्री वाग्लेले टिकट टाँस्नेसम्बन्धी ऐन र कालोबजारीसम्बन्धी पुराना कानुनी व्यवस्थाको उदाहरण दिँदै नयाँ उपभोक्ता संरक्षणसम्बन्धी कानुन आइसकेको अवस्थामा पुराना कानुनको औचित्यसमेत पुनरावलोकन गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4