Comments Add Comment
नैरनापुरको नालीबेली :

एकै गाउँपालिकामा ११२ संक्रमित : स्थानीय सरकार थाक्यो, केन्द्रले हेरेन

मापदण्ड विपरीत बनाइएका क्वारेन्टाइनस्थलबाटै सर्न थाल्यो कोरोना

१० जेठ, काठमाडौं । शनिबार अपराह्न कोरोना भाइरस (कोभिड-१९) का ३६ जना संक्रमित थपिँदा २७ जना बाँकेको नरैनापुर गाउँपालिकाका थिए ।

यससँगै नरैनापुरमा संक्रमितको संख्या ११३ पुगेको छ । यो संख्या अहिलेसम्म नेपालमा भेटिएका कुल संक्रमित ५८४ को १९ प्रतिशत बढी हो । संक्रमितमध्ये एकजनाको क्वारेन्टाइनमा मृत्यु भयो, जुन कोभिड-१९ बाट नेपालमा भएको दोस्रो मृत्यु हो ।

नरैनापुरलाई नेपालमा कोरोनाबाट सबैभन्दा प्रभावित गाउँ मान्न सकिन्छ ।

क्वारेन्टाइनस्थलमै संक्रमित हुन्छन्

जिल्ला सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि रहेको यो गाउँपालिकामा करिब ३५ हजार मानिसको बसोबास छ । गाउँपालिकाको ६ वटै वडा भारतसँग जोडिएको छ ।

विकासमा निकै पछाडि परेको गाउँगालिकामा पक्की भवन भेट्टाउन कि त विद्यालय नै पुग्नुपर्छ कि स्वास्थ्य चौकी ।

जब भारतमा कोरोना महामारी सुरु भयो, मजदुरीका लागि परदेशिएकाहरू लकडाउनका क्रममा पनि फाट्टफुट्ट फर्किएका थिए । सबै वडाको सीमा भारतसँग जोडिएको र त्यो खुला भएकाले वैधानिक नाका जमुनाहको साटो जता सहज हुन्छ, उतैबाट आउँछन् ।

जब भारतमा लकडाउन खुकुलो भयो, गाउँ फर्किनेहरूको संख्या ह्वात्तै बढेको छ । शुक्रबार मात्र ५१ जना आएका थिए । यसरी फर्किनेहरूमा कोरोना महामारी फैलिएको महाराष्ट्र, दिल्लीबाट आएकाहरू पनि छन् । सीमा नाकामा सशस्त्र प्रहरी परिचालन गरिएका कारण यसरी आउनेहरू स्थानीय जनप्रतिनिधिको सम्पर्कमा पुग्छन् । अहिले उनीहरूलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

तस्वीर सौजन्य : कृष्ण अधिकारी

अहिले पनि १५ वटा विद्यालयको क्वारेन्टाइनमा भारतबाट आएका ६५१ जना बसिरहेका छन् । क्वारेन्टाइनमा बस्नेहरूलाई म्याट, तन्ना र झुल दिन्छ तर जस्तोका छाना तातेर बस्न निकै गाह्रो हुने गरेको छ । क्वारेन्टाइन स्थलमा सबै मापदण्ड पूरा गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल स्वीकार गर्छन्।

क्वारेन्टाइन स्थलमा बसेको १०/१२ दिन भएपछि पीसीआर विधिबाट परीक्षण गर्ने गरिएको छ । तर, केही भारतबाटै संक्रमित भएका आएका हुन्छन् त कोही बाटोमा संक्रमित भएका हुन्छन् । कतिपय त क्वारेन्टाइनस्थलमै संक्रमित हुन सक्छन् । त्यसैले एउटा क्वारेन्टाइनस्थलका केहीमा कोरोना संक्रमण देखियो भने नेगेटिभ आएकाहरूलाई के गर्ने भन्ने अन्योल हुने गरेको छ ।

‘क्वारेन्टाइनको सबै मापदण्ड पूरा भएको भए त नेगेटिभ आएकाहरूलाई घर पठाउन सकिन्थ्यो । तर, त्यो नभएकाले राख्ने गरेका छौं’ खराल भन्छन्, ‘एउटा क्वारेन्टाइनमा त २८ दिनदेखि मानिसहरू छन् ।’

उनीहरूको दोस्रो पटक स्वाब संकलन गरेर पठाइएको छ र अब सबैको नेगेटिभ रिपोर्ट आए घर पठाउने तयारी छ ।

अब धान्न सक्दैनौं, केन्द्र सरकारले हेरेन

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरालका अनुसार अहिलेसम्म जसोतसो भारतबाट आएकाहरूलाई क्वारेन्टाइनमा राख्न सकिएको छ । तर,अब गाउँपालिकाको बजेट पनि सकिन लागिसक्यो भने क्वारेन्टाइन स्थल बनाउने भवनको पनि अभाव हुन लाग्यो ।

तर, भारतबाट अझै ४/५ सय मानिस फर्किने अनुमान स्थानीय जनप्रतिनिधिहरूको छ । ‘तेस्रो मुलकबाट पनि ल्याउने चर्चा सुनिएको छ । त्यसो भयो अर्को ८/९ सय मानिस आउन सक्छन्’ खराल भन्छन्, ‘गाउँपालिकाले उनीहरूको व्यवस्थापन गर्न सक्दैन ।’

गाउँपालिका अध्यक्ष इश्तियाक अहदम शाह पनि नरैनापुरस्थित स्थानीय सरकारको नियन्त्रण बाहिर गइसकेको बताउँछन् । ‘भन्दाभन्दा म त थाकिसकेँ, अहिलेसम्म केन्द्र र प्रदेश सरकारले सुनेन’ उनले भने, ‘हामीले सक्दो गरेका छौं । तर, अब स्थिति नियन्त्रण छैन । केन्द्रले सुरक्षाफौज र स्वास्थ्यकर्मीको टोली पठाउनुपर्‍यो ।’

गाउँपालिकाले शनिबार नै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायतमा पत्र पठाएर उच्चस्तरीय चिकित्सक टोली र थप स्वास्थ्यकर्मी पठाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment