Comments Add Comment
कोरोना संक्रमित युवकको अनुभव :

‘अभिनय सिक्न गएको थिएँ, संक्रमित भएर फर्कनु पर्‍यो’

११ जेठ, काठमाडौं । बारामा शुक्रबार राति छ जनामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमित सबै जना भारतबाट आएका हुन् । उनीहरु सबै सिम्रौनगढ नगरपालिकाका नागरिक हुन् । उनीहरु एउटै क्वारेन्टाइनमा बस्दै आएका थिए । तर नेपाल फर्कँदा भने उनीहरु एक साथ आएका थिएनन् । बेग्लाबेग्लै समयमा जेठ १ र २ गते रौतहट र बाराका नाकामार्फत सिम्रौनगढ आएका थिए ।

रौतहटको बन्जरीया नाका हुँदै भित्रिनेमा सिम्रौनगढ–११ का २२ वर्षीय युवक थिए । उनी जेठ १ गते नेपाल आइपुगेका हुन् । पानीको जार बोक्ने मिनी ट्रक चढेर उनी आएका थिए ।

‘मुम्बईमा मलगायत रौतहटका तीन जना साथी सँगै बस्थ्यौं । म र एकजना साथी मुम्बईको फोर बंगलास्थित एक इन्स्टिच्युटमा अभिनय सिक्थ्यौं भने बाँकी दुई जना काम गर्थे,’ संक्रमित ती युवकले भने ।

भारतबाट नेपालसम्मको यात्रा र आइसोलेसनको अनुभव उनले अनलाइनखबरसँग यसरी साटे–

लकडाउन लम्बिँदै गएपछि हामीले घर फर्कने मुड बनायौं । रौतहटकै एकजना दाइ मुम्बईमा पानीको जार बोक्ने गाडी चलाउनु हुँदो रहेछ । परिवारसहित उहाँ मुम्बईमा बस्दै आइरहनु भएको रहेछ । उहाँसँग साथीहरुको चिनजान रहेछ । उहाँसँग हामीले घर फर्कने सल्लाह ग¥यौं । उहाँ पनि घर फर्कन राजी हुनुभयो । उहाँले चलाउने गाडी नै लिएर घर फर्कने निधोमा हामी पुग्यौं । बाटोमा खाने रासन, पानी, ग्यास सिलिण्डर लगायत आवश्यक सबै बन्दोबस्तीका साथ हामी वैशाख २७ गते मुम्बईबाट हिंड्यौं ।

हामी चार जनासहित चालक, चालकको श्रीमती, उनको एक छोरा र साली पनि गाडीमा सँगै आएका थियौं । आफ्नै गाडीमा आएकाले बाटोमा कुनै अप्ठ्यारो परेन । हिँड्दा हिँड्दा जहाँ रात पथ्र्यो त्यही ठाउँको कुनै एकान्त ठाउँमा गाडी साइड लगाएर खाना बनाएर खान्थ्यौं र गाडीमै सुत्थ्यौं ।

छैंटौं दिन हामी रौतहटको बन्जरीया सीमा नाका नजिकैको भारतको कुनै एक गाउँमा आइपुग्यौं । गाडीवाला दाइको दिदीको घर त्यहीँ रहेछ । गाडी त्यहीँ राख्ने भन्ने कुरा आयो । उनीहरु पनि त्यहीँ बस्ने जस्तो कुरा चल्यो । त्यसपछि हामी चार जना उहाँहरुसँगबाट छुट्टिएर पैदलमार्फत बन्जरीया नाका आइपुग्यौं । त्यहाँ हामीलाई सोधखोज भयो । नाकामा सुरक्षाकर्मी लगायत त्यहाँका जनप्रतिनिधि पनि रहेछन् । उहाँहरुले चारै जनाको ट्राभल हिस्ट्रीसहित स्थायी ठेगाना टिपोट गर्नुभयो । रौतहटका तीन जना साथीलाई डुमरियाको क्वारेन्टाइनमा राख्ने निधोमा उहाँहरु पुग्ने भयो । तर मलाई आफ्नै जिल्लाको क्वारेन्टाइनमा गएर बस्न सुझाव दिनुभयो । आफ्नो जिल्ला पठाउन उहाँहरुले नै समन्वय गर्नुभयो ।

बाराको कचर्वाबाट मलाई लिन एम्बुलेन्स आएको थियो । त्यही एम्बुलेन्समार्फत म सिम्रौनगढको क्वारेन्टाइनमा आएँ ।

****

मेरो सानैदेखि कलाकार बन्ने लक्ष्य थियो । लक्ष्य त्यसै पूरा हुने कुरा आएन । त्यसैले राम्रो इन्स्टिच्युटमा गएर अभिनय सिकौं भन्ने लाग्यो । अभिनय सिक्नका लागि मैले भारतको मुम्बई सहरलाई रोजें । यसअघि काठमाडौं, वीरगञ्ज र भैरहवामा पनि अभिनयसम्बन्धी प्रशिक्षण लिएको थिएँ । तर पनि आफूलाई खारिए जस्तो लागेन । त्यही भएर एक महिनाअघि मात्रै मुम्बई गएर अभिनय सिक्न थालेको थिएँ ।

पाँच महिनाको कोर्स थियो । एक लाख पैँसठ्ठी हजार तिरेको थिएँ । हाम्रो टिममा २० जना थिए । जसमध्ये रौतहटका एक जना र म गरेर दुई जना मात्रै नेपाली थियौं । बाँकी सबै भारतीय थिए ।

इन्स्टिच्युटमा एक्टिङको प्रशिक्षण राम्रै चलिरहेको थियो । डान्स लगायत अन्य कुराहरु सिक्दै थिएँ । त्यहीबीच कोरोना संक्रमणको महामारी सबैतिर फैलँदै गयो । भारतमा पनि संक्रमण बढ्दै गएपछि भारत सरकारले लकडाउन घोषणा ग¥यो । त्यसपछि इन्स्टिच्युट पनि बन्द हुन पुग्यो । लकडाउन खुल्ला भन्ने आस गर्दै मुम्बईमा साथीहरुसँग बस्दै आएँ । तर लकडाउन खुल्ने कुनै छाँटकाँट देखिएन । संक्रमणको जोखिम बढ्दै गएपछि घर फर्कन बाध्य भयौं ।

****

क्वारेन्टाइनमा बसेको सातौं दिन अर्थात जेठ ७ गते कोरोना परीक्षणका लागि ५१ जनाको स्वाब लिने काम भयो । शुक्रबार बेलुका त्यसको रिपोर्ट आएको रहेछ । क्वारेन्टाइनमा मोबाइल हेरेर बसिरहेको थिएँ । रिपोर्ट आएकामध्ये ६ जनामा संक्रमण पुष्टि भएछ । त्यसमध्ये म पनि परेछु ।

आफू संक्रमित भएको खबरसुन्दा विश्वास नै लागेन । तर क्वारेन्टाइनबाट हामी ६ जनालाई शुक्रबार राति नै लैजाने तयारी भएपछि भने विश्वास गर्न करै लाग्यो । कहाँबाट, कसरी म कोरोना संक्रमित भएँ भनेर अहिले सोचीरहेको छु । मुम्बईमा बस्दा र घर आउँदा पनि सतर्कता अपनाएकै हो । कहीँ कतै गएकै थिइन । तर पनि मेरो परीक्षणको रिपोर्ट पोजेटिभ आयो । क्वारेन्टाइनमा ९ दिन बस्दा त्यहीँबाट संक्रमित भएँ कि भन्ने लाग्छ । किनकी क्वारेन्टाइनको व्यवस्थापन राम्रो थिएन ।

क्वारेन्टाइनमा भारतको विभिन्न सहरबाट आएका धेरै मानिस आएर बसेका छन् । त्यहाँ धारा एउटा मात्रै चालू थियो । धारा त तीन–चारवटा थिए तर अरु बिग्रिएका रहेछन् । ट्वाइलेट पनि एउटै थियो । सबैले त्यही धारा र ट्वाइलेट प्रयोग गर्नुपर्ने बाध्यता थियो । मलाई लाग्छ म क्वारेन्टाइनबाट नै संक्रमित हुन पुगें । मुम्बईमा बस्दा ड्राइभर दाइका परिवारले सुरक्षा सतर्कता अपनाएरै बसेका थिए । बाटोमा हामीले कसैसँग घुलमिल पनि गरेनौं । एकान्त ठाउँमा रोकेर हामी आफैं खाना बनाएर खान्थ्यौं ।

****

म सँगै आएका तीन जना साथीहरु अहिले रौतहटकै क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरुको पनि कोरोना परीक्षणका लागि स्वाब संकलन भइसकेको छ । रिपोर्ट भने आउन बाँकी छ । उनीहरुलाई पनि आफू संक्रमित भएको जानकारी गराइसकेको छु । मैले भगवानसँग पुकार गरेको छु तिमीहरुलाई केही हुँदैन भनेर उनीहरुलाई सम्झाएको छु ।

हामी चारै जना मुम्बईमा सँगै बस्दै आएका हौं । तर गाडीमा सँगै आउनु भएका ड्राइभर दाइसँग भने मेरो सम्पर्क छैन । उहाँहरु दिदीकै तिर १४ दिन बसेर आउने भन्दै हुनुहुन्थ्यो । मलाई थाहा छैन उहाँहरु आउनु भयो कि उतै हुनुहुन्छ । म संक्रमित भएपछि भने उहाँहरुको बारेमा चिन्ता बढेर आएको छ । संकटको बेला एउटै परिवार जसरी मुम्बईबाट आएका थियौं । सायद उहाँको गाडी नभएको भए हामी मुम्बई तिर अलपत्र हुने थियौं होला ।

सजगता अपनाउँदा अपनाउँदै संक्रमित हुन पुगेको छु । अभिनय सिकेर राम्रो कलाकार हुने सपना बोकेर मुम्बई गएको थिएँ । तर अहिले कोरोना संक्रमित भएर स्वदेश फर्किनु परेको छ । ममा कोरोना संक्रमणको कुनै लक्षण छैन । कोरोनालाई जितेरै फर्कने गरी आत्मबल बलियो पारेको छु । किनभने  भविष्यमा बलिउडको राम्रो कलाकार बन्ने मेरो सपना पूरा गर्नु छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment