
News Summary
Generated by OK AI. Editorially reviewed.- असमका लोकप्रिय गायक जुबिन गर्गको अप्रत्याशित निधनपछि तीन दिनसम्म सबै कार्यालय बन्द भए र राज्य शोकमा डुब्यो।
- जुबिनले ४० भन्दा बढी भाषामा ३८ हजार गीत रेकर्ड गरी असमको सांस्कृतिक र राजनीतिक आत्मविश्वास जगाए।
- उनले नागरिकता संशोधन ऐनको विरोध गर्दै असममा हिंसा नहोस् भनेर आन्दोलनको नेतृत्व गरे र सरकारलाई चेतावनी दिए।
देशमा जब भयानक संकट र चरम निराशा छाउँछ, तब एउटा कलाकारले के गर्न सक्छ ? के उसले आफ्नो कलाको माध्यामबाट उत्साह र आशाको बहार ल्याउन सक्छ ? के उसले समाजलाई सकारात्मक दिशामा मोड्न सक्छ ?
जुबिन गर्गको कथाले भन्छ, सक्छ ।
उनी पूर्वोत्तर भारत असमको धरातलमा उभिएका कलाकार थिए, जसले हिंसाको आगोमा जलिरहेको समाजलाई शान्त तुल्याए । उमंगका भाकाहरू सुनाए । प्रेरणाका कथाहरू सुनाए । जनताको घर-घरमा बसे, मन-मनमा बसे ।
यस्तो भयो, जब उनको अप्रत्याशित निधनको खबर आयो पूरै असाम राज्य शोकमा डुब्यो । तीन दिनसम्म सबै कार्यलयहरू बन्द गरिए । शोकसभामा सर्वसाधरणको भीड उर्लियो । यस्तो कोही भएन, जसले आँसु नझारेको होस् ।
जुबिनले कसरी सर्वसाधरणको यति अथाह माया पाए ? चर्चित युट्युबर ध्रुब राठीले यसैबारे एक सामाग्री पेश गरेका छन्, युट्युबमा । यहाँ त्यसैको सम्पादित अंश राखिएको छ।
…………..
एउटा यस्तो देश, जहाँ धेरैजसो बलिउड सेलिब्रेटी सत्ता र पैसाको गुलाम हुन्छन्, त्यहाँ यस्ता थोरै स्टार छन्, जसमा प्रणालीको विरुद्धमा उभिने हिम्मत मात्र होइन, विद्रोह गर्ने साहस पनि हुन्छ ।
उनलाई अन्तर्वार्ता सोधियो, ‘तिमीमा यति धेरै कटुता किन छ ?’
जुबिनको जवाफ यस्तो थियो, ‘किनभने म विद्रोही हुँ, म लडाकु हुँ ।’
जुबिन गर्ग वास्तवमै एक विद्रोही थिए ।
असममा १९ सेप्टेम्बर २०२५ को दिन इतिहासमा सधैंका लागि अंकित भएको छ । त्यो दिन, समुद्रको छालले एक जीवन मात्र खोसेन, तर सम्पूर्ण पुस्ताको आवाजलाई पनि खोस्यो। जुबिन गर्गको नाम हरेक बाटो, कुनाकानी, उत्सव र हरेक धड्कनमा जोडिएको थियो ।
जब जुबिन गर्गको मृत्युको खबर फैलियो, असम ठप्प भयो । कलेजका विद्यार्थीहरूदेखि लिएर सुरक्षाकर्मीहरू, सामाजिक सञ्जाल प्रयोगकर्तादेखि कार्यालय जाने कर्मचारीहरू, कसैले पनि आफ्नो आँसु रोक्न सकेनन् ।
कार्यालयहरू बन्द भए । सरकारले तीन दिनको आधिकारिक शोक घोषणा गर्यो । जब जुबिनको शव असम पुग्यो, लाखौं मानिसहरू उनको अन्तिम दर्शनका लागि सडकमा उत्रिए ।
२३ सेप्टेम्बरमा, उनको अन्तिम संस्कारको दिन भारतमा कहिल्यै नदेखिएको रेकर्ड तोड्ने भीड देखियो । किन ? किन एक गायकको मृत्युले सम्पूर्ण राज्य ठप्प भयो ?
किनभने जुबिन केवल एक गायक थिएनन् ।
जुबिन गर्गको कथा
१९९० को दशकको सुरुतिर ।
जुबिन गर्गले संगीतको दुनियाँमा त्यसबेला पाइला राखे, जब असममा युनाइटेड लिबरेसन फ्रन्ट अफ असम (उल्फा) नामक संगठन आफ्नो चरम अवस्थामा थियो। एउटा सिंगो पुस्ताले हतियार उठाएका थिए, छुटै देशको माग गर्दै ।
हिंसा, उपद्रो, बदला, दण्डहीनता उत्कर्षमा थियो । सर्वसाधरण गहिरो निराशा र त्रासमा थिए । ठिक यही पृष्टभूमिमा जुबिनको पहिलो एल्बम रिलिज भयो, अनामिका ।
यो एल्बमले सर्वसाधरणमा नयाँ आशा जगायो । उनको प्रेम, निराशा र आशाका भाकाहरूले हिंसाको बीचमा ताजा हावाको बहार ल्यायो । अनामिका असमको पहिलो रक एल्बम थियो, जसले रिलिज भएलगत्तै तहल्का मच्चायो । जुबिन रातारात स्टार बने ।
त्यसपछि उनले एकपछि अर्को हिट गीतहरू दिए । उनका गीतले सर्वधारण खासगरी युवाहरूलाई मोहित बनायो । जताततै उनका गीतहरू गुञ्जिन थाल्यो । यी गीतहरूले निराशाका बीचमा पनि आफ्नो भूमि र संस्कृतिप्रति प्रेमभाव जगाउन प्रेरित गर्यो ।
उनी यस्ता गायक थिए, जसले असमका विरोधाभासहरू, असुरक्षाहरू र सांस्कृतिक गर्वलाई आफ्ना गीतमार्फत व्यक्त गरे । उनको गीतमा राजनीतिक विद्रोह र सांस्कृतिक गर्व थियो । उनको संगीतको जरा असमको माटो, नदी र संस्कृतिमा गाडिएको थियो । उनको गीतले वैश्वीकरण र आप्रवासको दबाबमा संघर्ष गरिरहेको पुस्तालाई सांस्कृतिक र राजनीतिक आत्मविश्वास प्रदान गर्यो ।
सन् २००० सम्ममा जुबिन असमका लागि एक आइकन बनिसकेका थिए । उनको तस्वीर असमभरि देखिन्थ्यो, र उनका गीतहरू सर्वत्र सुनिन्थे ।
बलिउडमा प्रवेश
जुबिन मुम्बई गएर बलिउडमा काम गर्न थाले । सन् २००६ मा, फिल्म ग्याङ्गस्टर को गीत ‘या अली’ ले उनलाई देशभरि चर्चित बनायो । तर सबैभन्दा रोचक कुरा, जब उनी बलिउडमा आफ्नो करियरको शिखरमा थिए, मुम्बई छाडेर असम फर्किए ।
एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘बलिउडमा दृष्टिकोणको समस्या छ । असममा मलाई राजाको जस्तो व्यवहार गरिन्छ । र, एक राजाले आफ्नो राज्य कहिल्यै छोड्नु हुँदैन।’
जुबिनले ४० भन्दा बढी भाषाहरूमा ३८ हजार भन्दा बढी गीतहरू रेकर्ड गरे, जसमा असमेली, हिन्दी, तेलुगु, तमिल, मलयालम, नेपाली, भोजपुरी, बंगाली र उत्तरपूर्वका लगभग सबै भाषाहरू समावेश छन् । उनी १२ वटा वाद्ययन्त्रहरू बजाउन सक्थे ।
तर दु:खको कुरा, यति धेरै प्रतिभा र यति धेरै गीतहरू रेकर्ड गर्दा पनि उनलाई पर्याप्त पारिश्रमिक दिइएन । उनका म्यानेजर सिद्धार्थ शर्माले खुलासा गरेका छन्, उनले रेकर्ड गरेका ३८ हजार गीतहरूको अधिकार प्रोडक्सन हाउस र संगीत कम्पनीहरूसँग छ । जुबिनले केवल एक पटकको रेकर्डिङ शुल्क मात्र प्राप्त गरे । संगीत कम्पनीहरूले उनको धेरै शोषण गरे ।
जुबिनलाई विशेष बनाउने कुरा
जुबिनको लोकप्रियता उनको संगीतमात्र होइन, आज हरेक असमका व्यक्तिको जुबिनसँग कुनै न कुनै कथा छ । उनीसँग तस्वीरहरू छन् । किनभने जुबिन जनताका लागि, जनतामाझ बाँचे ।
कहिलेकाहीँ उनी सडकमा मजदुरहरूसँग बसेर खाना खान्थे । कहिलेकाहीँ तरकारी बेच्ने र रिक्सा चालकहरूलाई सहयोग गर्थे । उनले हरेक संकटमा आफ्ना जनताको साथ दिए ।
उनले विभिन्न सामाजिक कार्यमा धेरै दान गरे र हजारौं परिवारहरूलाई सहयोग गरे ।
उनको स्टुडियो र घरबाहिर हरेक दिन मानिसहरू सहयोग माग्न आउँथे । उनले कहिल्यै कसैलाई खाली हात फर्काएनन् । विवाह, अन्त्येष्टि, उपचार, स्कुल वा कलेजको शुल्कका लागि जुबिनले जसरी सक्थे, सहयोग गर्थे ।
असममा बाढी आउँदा, जुबिन प्रभावित क्षेत्रमा गएर मानिसहरूलाई सहयोग गर्थे । उनले कपडा, औषधि र आर्थिक सहायता संकलन गरेर वितरण गर्थे । कोभिड महामारीको समयमा अस्पतालको बेड अभाव हुँदा, उनले आफ्नो गुवाहाटीस्थित दुईतले घरलाई कोभिड केयर सेन्टरमा परिणत गर्ने प्रस्ताव राखे ।
जुबिनले १५ जना विपन्न बालबालिकालाई पालनपोषण गरिरहेका थिए । तीमध्ये एक काजली थिइन् । एकपटक, कामबाट फर्किंदै गर्दा उनले काजलीलाई देखे, जसलाई घरेलु कामदारको रूपमा राखिएको थियो र निरन्तर दुर्व्यवहार गरिन्थ्यो । उनले काजलीलाई उद्धार मात्र गरेनन्, उनलाई आफैंले पालनपोषण गरे र अदालतमा कानुनी लडाइँ लडेर जिते ।
किनभने उनले विपन्नहरूलाई सहयोग गरे र जनताको आवश्यकतामा साथ दिए, जुबिन धेरैका लागि वास्तविक जीवनका नायक थिए ।
विद्रोही स्वभाव
जुबिन एक विद्रोही थिए, जसले सत्तामा रहेकाहरूलाई प्रश्न गर्थे, चाहे ती राजनीतिक होऊन् वा धार्मिक व्यक्तित्व ।
उनले सधैं स्वतन्त्र र इमानदारीपूर्वक बोले । उनी कसैसँग डराउँदैनथे । उनले कुनै मन्त्री वा राजनीतिज्ञको विरोध गर्न हिचकिचाएनन् । बरु, उनले तिनीहरूलाई प्रत्यक्ष चुनौती दिए ।
उनले सार्वजनिक रूपमा भने कि- असमका सबै मन्त्री र नेताहरू भ्रष्ट छन्, चाहे ती कुनै पनि पार्टीका होऊन् ।
आफूलाई नास्तिक भन्ने जुबिनले भने- आफ्नो कुनै जात, धर्म वा भगवान छैन। उनी स्वतन्त्र छन्। । ब्राह्मण परिवारमा जन्मिए पनि, उनले खुल्लमखुल्ला जात प्रथा र सामाजिक भेदभावको विरोध गरे । उनले १२ कक्षामा पढ्दा ब्राह्मण पहिचानबाट आफूलाई टाढा राखे ।
सन् २०१८ मा, जब बलिउड अभिनेता गोविन्दा गुवाहाटीको माँ कामाख्या मन्दिरमा भैंसीको बलि चढाउन गए, जुबिनले त्यसको विरोध गरे । उनले भने, ‘कुनै पनि भगवानले जनावरको रगत माग्दैन । धर्मको नाममा पशु बलि बन्द गर्नुपर्छ ।’ उनले त गोविन्दालाई माँ कामाख्यालाई खुसी पार्न चाहन्छन् भने आफैंलाई बलि चढाउनुपर्छ सम्म भने ।
जुबिनले असम, असमेली भाषा र संस्कृतिलाई माया गर्थे । तर पनि, उनी संकीर्णतावादी थिएनन् । सन् २०१३ मा, उल्फाको एक समूहले असमका गायकहरूलाई बिहे उत्सवमा हिन्दी गीत गाउन निषेध गरेको थियो, किनभने तिनीहरू ‘भारतीय संस्कृतिको नकारात्मक प्रभाव’ बाट असमेली संस्कृतिको रक्षा गर्न चाहन्थे ।
जुबिन एकमात्र गायक थिए, जसले उल्फाको विरोध गरे । उनले तिनीहरूको अधिकारलाई मान्यता दिएनन्, न त तिनीहरूको वास्ता गरे । उनले भने, ‘संगीतको कुनै भाषा हुँदैन। उनले अल्फालाई चुनौती दिँदै भने, ‘हिन्दी गीतले असमको संस्कृति नष्ट गर्छ भन्ने कुरा पुरातन र बकवास हो ।’
जुबिनले हार मानेनन् र बिहुमा हिन्दी गीत गाए । त्यसैले उल्फाले उनलाई गोली हान्ने धम्की दियो । धेरैजसो बलिउड सेलिब्रेटीहरू बहिष्कारको सानो कुराबाट डराउँछन् । तर जब अल्फा जस्तो उग्रवादी संगठनले जुबिनलाई मार्ने धम्की दियो, उनी अविचलित रहे ।
जब असम सरकारले उनलाई सुरक्षा प्रदान गर्यो, सुरुमा उनले कुनै पनि सुरक्षा लिन अस्वीकार गरे । उनको साहसका कारण, उनीसँग असहमत हुनेहरू पनि उनलाई मन पराउँथे ।
उल्फाले पछि उनलाई आफ्नो भाइ जस्तै भएको बताए । उनको मृत्युपछि उल्फाले पनि उनलाई श्रद्धाञ्जली दियो ।
जनताको साथमा जुबिन
जुबिनले कुनै पनि सरकारको आलोचना गर्न हिचकिचाएनन्, जसले उनको जनताको सहयोग गर्दैनथे । जब मोदी सरकारले नागरिकता संशोधन ऐन लागू गर्यो, असमका जनताले यो चाहँदैनथे । जुबिनले एक कलाकारको रूपमा आफ्नो जिम्मेवारीबाट पछि हटेनन् । बरु, उनले यसको नेतृत्व गरे ।
उनले आफू जिउँदो रहेसम्म यो लागू हुन नदिने वाचा गरे । उनले ‘साथी, राजनीति नगर्नू’ गीत गाए, जुन असममा नागरिकता संशोधन ऐन विरोधी प्रदर्शनको गान बन्यो ।
जनतामा कुनै विभाजन नहोस् र प्रदर्शनकारीहरूको आवाज बुलन्द होस् भनी उनले AssamAgainstCAA=in वेबसाइट सुरु गरे । प्रदर्शनको क्रममा, उनले हिंसा हुनुहुँदैन भनेर स्पष्ट गरे । उनले सरकारले प्रदर्शनकारीहरूमाथि गरेको हिंसाको विरोध गरे र सरकारलाई असमका जनताको पीडाप्रति सहानुभूति राख्न आग्रह गरे ।
सन् २०२४ सम्म, जुबिनले विरोध जारी राखे । उनले यो कानुन खारेज नभएसम्म विरोध जारी राख्ने बताए ।
जुबिनले वातावरणको बारेमा पनि सक्रिय रूपमा बोले । सन् २०२४ मा, जब बीजेपी सरकारले गुवाहाटीमा फ्लाइओभर बनाउन रुखहरू काट्न चाहन्थे, जुबिनले स्थानीयसँग मिलेर त्यसको विरोध गरे । उनले भने- विकासको नाममा रुखहरूको बलिदान स्वीकार्य छैन, चाहे कुनै पनि पार्टीले यो चाहोस् ।
उनले प्रधानमन्त्री मोदी र मुख्यमन्त्री हिमन्त विश्व शर्मालाई चेतावनी दिए- यदि रुखहरू काटियो भने उनले क्रान्ति सुरु गर्नेछन् । उनले भने, ‘यदि सरकार रुखहरू काट्नमा अडिग छ भने, पहिला उनलाई काट्नुपर्छ । यस विरोधका कारण, बीजेपी सरकारले रुखहरू काट्ने योजना त्याग्नुपर्यो ।
जुबिनको प्रेरणा
यो कुराले देखाउँछ कि, जब एक सेलिब्रेटीले अन्यायको विरुद्धमा बोल्न चाहन्छ, त्यसले कति फरक पार्छ । तर दु:खको कुरा, हाम्रो देशका धेरैजसो सेलिब्रेटीहरू सधैं सत्ताको पक्षमा उभिन्छन्, जनताको होइन । अझ धेरैजसो विवादमा परिन्छ भन्ने डरले मौन बस्छन् ।
जुबिन यस्ता थोरै सेलिब्रेटीहरूमध्ये एक थिए, जसले जनताको साथमा उभिए र सत्तासमक्ष झुकेनन् । यही कारणले, लाखौं मानिसहरू सडकमा जुबिनको साथमा उभिए, किनभने उनले साँचो सम्मान र स्नेह प्रेरित गरे ।
तर सत्ता र पैसाको लोभमा झुक्ने, हानिकारक पदार्थहरूको प्रचार गर्ने र सरकारको ट्रोल बन्ने सेलिब्रेटीहरूलाई वर्षौंपछि कसले सम्झनेछ ? के मानिसहरूले तिनीहरूलाई साँच्चै सम्मान गर्छन् ?
जुबिन यस्तै थिए, जहाँ राजनीतिले मानिसहरूलाई विभाजित गर्छ, जुबिनले असमलाई एकजुट गरे ।
पछिल्ला केही वर्षहरूमा असमको राजनीति खस्किएको छ । हरेक ठाउँमा घृणा छ । तर पनि, जुबिनको मृत्युले असमलाई फेरि एकजुट गरेको छ । हरेक जात, पन्थ र धर्मका मानिसहरू उनलाई बिदाइ गर्न एकसाथ आए । किनभने जुबिन जनताका थिए । एक सच्चा कलाकार ।
प्रतिक्रिया 4