Comments Add Comment

स्वाब संकलनपछि पनि भागेका थिए जनकपुरका संक्रमित

११ जेठ, जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसन कक्षबाट आइतबार बिहान भागेका सर्लाहीका संक्रमित यसअघि स्वाब संकलन गर्दा पनि फरार भएको खुलेको छ । जनकपुरधाममै स्वाब संकलन गरिएपछि उनी भागेर घर गएका थिए ।

३१ वैशाखमा आएको रिपोर्टमा संक्रमित भएको खुलेपछि उनलाई सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलस्थित घरबाट फेला पारी आइसोलेसनमा ल्याइएको थियो ।

वैशाखको तेस्रो साता धनुषाको धनुषाधाममा फेला परेका ४५ बर्षीय यी पुरुषलाई जनकपुरधाम ल्याइएको थियो ।

‘प्रादेशिक अस्पतालमा राखेर स्वाब संकलन गरेलगत्तै उनी फरार भएका थिए’ धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भने, ‘प्रादेशिक प्रयोगशालामा उनको रिपोर्ट नेगेटिभ देखिएको थियो ।’

जनकपुरधाममा पुरानो मेसिनबाट गरिएको परीक्षणमा नेगेटिभ देखिए पनि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाउँदा पोजेटिभ आएको थियो । ‘यहाँ नेगेटिभ देखिएपछि, हामीले त्यस बेला त्यत्ति ध्यान पनि दिएनौं’ उनले भने, ‘तर काठमाडौंबाट रिपोर्ट पोजेटिभ आएपछि उनलाई खोज्न समस्या भएको थियो ।’

पोजेटिभ देखिएपछि उनलाई सर्लाहीस्थित घरबाटै ल्याएर आइसोलेसनमा भर्ना गरिएको थियो । ‘त्यस बेला उनलाई घरबाटै ल्याउन धेरै सकस भएको थियो’ निरौलाले भने, ‘आउनै नचाहने उनलाई स्थानीय समेतको सहयोगमा आइसोलेसनसम्म ल्याइएको थियो ।’

आइसोलेसनमा ल्याइसकेपछि उनी आइतबार बिहान भागेका छन् । उनी कहाँ गएका हुन् भन्ने कुरा थाहा लाग्न सकेको छैन । प्रमुख जिल्ला अधिकारी निरौलाले तदारुकताका साथ उनको खोजी भइरहेको बताएका छन् ।

आइसोलेसन कक्षबाट भागेका पुरुष मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment