Comments Add Comment

भूमिसुधार मन्त्रीबाट नक्साको ‘होम डेलिभरी’ बन्द

११ जेठ, काठमाडौं । मन्त्रिपरिषद्ले नेपालको अतिक्रमित भू-भागसहितको नयाँ नक्सा पारित गरेपछि निकै बधाई खाइन् भूमिसुधार मन्त्री पद्मा अर्यालले । मन्त्रिपरिषद्मा उनैले प्रस्ताव लगेकी थिइन् भने नेपालको दाबी पुष्टि हुने प्रमाण जुटाउन पनि उनले मिहिनेत गरिरहेकी छिन् ।

नयाँ नक्सा पारित भएपछि सरकारको जिम्मेवारी हो यसलाई अन्तर्राष्ट्रिस्तरमा स्थापित गर्ने । संयुक्त राष्ट्र संघलगायत विभिन्न अन्तर्राष्ट्रिय नियोगहरूमा नयाँ नक्सा पुर्‍याउन विज्ञहरूले सुझाव दिइरहेका छन् ।

तर, मन्त्री अर्यालको प्राथमिकतामा भने आफ्नै देशका नेताहरू परे । उनले उनले विभिन्न दलका शीर्ष नेताहरूको घर-घरमा आकर्षक फ्रेमसहितको महँगो नक्सा आफैँ ‘होम डेलिभरी’ गर्न सुरु गरिन् ।

मन्त्री अर्यालले हिजोसम्ममा करिब एक दर्जन नेताहरूको निवास पुगेर नक्सा बाँड्न भ्याएकी छिन् । तीमध्ये अधिकांश उनको आफ्नै दलका नेता हुन् । मन्त्री अर्यालको यो अभियान आइतबारदेखि बन्द गरिएको छ। अब थप नेताहरूको निवासमा मन्त्री नक्सा बोकेर नजाने उनको सचिवालयले जनाएको छ ।

दलबलसहित नेताहरूको घर-घर चहार्दै मन्त्रीले नक्सा बाँड्ने काम गर्नु अनावश्यक र फजुल कुरा थियो नै। कतिपयले यसलाई मन्त्री अर्यालले राज्यको ढुकुटी दुरुपयोग गरेर आफ्ना नेता रिझाउन खोजेको भनेर सामाजिक सञ्जालमा आलोचना गरेका थिए ।

भूमिसुधारमन्त्री अर्यालका स्वकीय सचिव बुद्ध घर्तीले मन्त्रीबाट नयाँ नक्सा वितरण आजबाट अन्त्य भएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘सबैलाई मन्त्रीले बाँड्दै हिँड्ने कुरा होइन । नेपाली नक्सा पारित भएपछि यसको खुसी साट्न र नक्सालाई देशभित्र स्थापित गर्न प्रतिकात्मक अभियानका रुपमा उहाँ केही नेताहरूकहाँ पुग्नुभएको हो । अब यसलाई देशभरका सरकारी कार्यालयहरुमा पुर्‍याउने कुरालाई मन्त्रालयले तीव्रता दिनेछ ।’

यो पनि पढ्नुहोस नेताको घरघरमा नक्सा पुर्‍याउँदै नहिँड्नुस् : कमल थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment