+
+
Shares

को हुन् इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी ?

आफ्ना पिताको अभ्यासविपरीत ५६ वर्षीय मोजतबाले अहिलेसम्म आफूलाई सार्वजनिक भूमिकाबाट टाढै राख्दै आएका छन् । खामेनीले आफूलाई धेरै हदसम्म ‘लो-प्रोफाइल’ मा राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १४:१६

२८ फागुन, काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले सुरु गरेको आक्रमणको पहिलो दिनमै मारिएका आयतोल्लाह अली खामेनीका छोरा मोजतबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको छ ।

५६ वर्षीय कट्टरपन्थी धर्मगुरु मोजतबाका पितासँगै उनकी आमा, पत्नी र एक बहिनीको पनि सोही आक्रमणमा मृत्यु भएको थियो । तर, उक्त भीषण बमबारीका समयमा मोजतबा त्यहाँ उपस्थित नरहेका कारण उनी सुरक्षित रहेको बताइएको छ ।

आफ्ना पिताको अभ्यासविपरीत ५६ वर्षीय मोजतबाले अहिलेसम्म आफूलाई सार्वजनिक भूमिकाबाट टाढै राख्दै आएका छन् । खामेनीले आफूलाई धेरै हदसम्म ‘लो-प्रोफाइल’ मा राखेका छन् ।

उनले कहिल्यै कुनै सरकारी पद धारण गरेका छैनन्, न त कुनै सार्वजनिक भाषण वा अन्तर्वार्ता नै दिएका छन् । उनका सीमित सङ्ख्यामा मात्र तस्वीर र भिडिओ सार्वजनिक भएका छन् ।

तर, इरानको सत्तामा पर्दा पछाडिबाट उनको निकै ठुलो प्रभाव रहने गरेको चर्चा वर्षौँदेखि चल्दैआएको छ ।

सन् २००० को दशकको अन्त्यतिर विकिलिक्सले सार्वजनिक गरेका अमेरिकी कूटनीतिक दस्ताबेजहरूमा मोजतबा खामेनीलाई ‘पर्दा पछाडिको वास्तविक शक्ति’ का रूपमा व्याख्या गरिएको थियो ।

समाचार संस्था एपीका अनुसार ती दस्ताबेजहरूमा उनलाई इरानी शासन संयन्त्रभित्र एक ‘सक्षम र शक्तिशाली’ व्यक्तित्वका रूपमा चित्रण गरिएको थियो ।

मोजतबा खामेनीको चयन अझै पनि विवादास्पद साबित हुनसक्ने देखिन्छ । सन् १९७९ मा राजतन्त्रको अन्त्य भएपछि स्थापना भएको इस्लामिक गणतन्त्रको विचारधाराअनुसार सर्वोच्च नेताको चयन वंशानुगत उत्तराधिकारका आधारमा नभई धार्मिक निष्ठा र प्रमाणित नेतृत्व क्षमताका आधारमा गरिनुपर्ने प्रावधान छ ।

आफ्नो शासनकालमा आयतुल्लाह अली खामेनीले इस्लामिक गणतन्त्रको भावी नेतृत्वका बारेमा केवल सामान्य रूपमा मात्र चर्चा गर्ने गरेका थिए । सर्वोच्च नेताको चयन गर्ने शक्तिशाली निकाय ‘एसेम्बली अफ एक्सपर्ट्स’ का एक सदस्यले दुई वर्षअघि बताएअनुसार  उनले आफ्ना छोरा भावी नेतृत्वको उम्मेदवार बन्ने विचारको विरोध गरेका थिए ।

यद्यपि, उनले यस्ता अड्कलबाजीका बारेमा सार्वजनिक रूपमा कहिल्यै केही उल्लेख गरेका थिएनन् ।

अमेरिका र इजरायलले सुरु गरेको आक्रमणको पहिलो दिनमै मारिएका इरानका सर्वाेच्च नेता आयतोल्लाह अली खामेनी

को हुन् मोजतबा खामेनी ?

सन् १९६९ सेप्टेम्बर ८ मा इरानको उत्तर-पूर्वी सहर मसहदमा जन्मिएका मोजतबा आयतुल्लाह अली खामेनीका छ सन्तानमध्ये दोस्रो हुन् ।

उनले आफ्नो माध्यमिक शिक्षा तेहरानको धार्मिक ‘अलावी स्कुल’ बाट प्राप्त गरेका थिए । इरानी सञ्चारमाध्यमका अनुसार मोजतबाले १७ वर्षको उमेरमा इरान-इराक युद्धका क्रममा केही छोटो अवधिको लागि सैन्य सेवा गरेका थिए ।

मोजतबा खामेनी अझै पनि मध्यमस्तरका धर्मगुरु मात्र हुन्, जसले गर्दा उनलाई नयाँ सर्वोच्च नेताका रूपमा स्वीकार गरिनुमा बाधा उत्पन्न हुनसक्ने देखिन्छ ।

आठ वर्षसम्म चलेको उक्त रक्तपातपूर्ण सङ्घर्षले इरानी शासनलाई अमेरिका र पश्चिमा देशहरूप्रति थप सशङ्कित बनाएको थियो, किनभने उनीहरूले त्यस युद्धमा इराकलाई समर्थन गरेका थिए ।

सन् १९९९ मा मोजतबा आफ्नो धार्मिक शिक्षालाई निरन्तरता दिन शिया धर्मशास्त्रको महत्त्वपूर्ण केन्द्र मानिने पवित्र सहर कोम गए । यहाँ एउटा उल्लेखनीय कुरा के छ भने, उनले त्यस समयसम्म धार्मिक पोसाक लगाएका थिएनन् ।

सामान्यतया युवावस्थामा नै मदरसा वा धार्मिक विद्यालय जाने चलन भए तापनि उनले ३० वर्षको उमेरमा किन यस्तो निर्णय गरे भन्ने कुरा अझै स्पष्ट छैन । मोजतबा खामेनी अझै पनि मध्यमस्तरका धर्मगुरु मात्र हुन्, जसले गर्दा उनलाई नयाँ सर्वोच्च नेताका रूपमा स्वीकार गरिनुमा बाधा उत्पन्न हुनसक्ने देखिन्छ ।

मोजतबा खामेनीको चयन हुनुअघि नै केही सञ्चारमाध्यम र इरानी सत्ता केन्द्रका निकटवर्ती अधिकारीहरूले उनलाई वरिष्ठ धार्मिक पदवी ‘आयतोल्लाह’ भन्न सुरु गरेका थिए ।

पर्यवेक्षकहरूका अनुसार उनको धार्मिक स्तर उकास्न र उनलाई एक विश्वसनीय नेताका रूपमा प्रस्तुत गर्न यस्तो प्रयास गरिएको हो । धार्मिक विद्यालय (मदरसा) प्रणालीमा ‘आयतोल्लाह’ को पदवी हुनु र उच्च तहका कक्षाहरूमा अध्यापन गराउनुलाई व्यक्तिको विद्वत्ता र ज्ञानको मापन मानिन्छ ।

साथै, यी कुराहरूलाई भावी सर्वोच्च नेता बन्नका लागि आवश्यक पूर्वशर्त र आधारका रूपमा समेत हेर्ने गरिन्छ ।

उनका पिता अली खामेनी सन् १९८९ मा इरानको दोस्रो सर्वोच्च नेता बनेलगत्तै उनलाई पनि द्रुत गतिमा ‘आयतोल्लाह’ को पदवीमा पदोन्नति गरिएको थियो ।

राजनीतिक हस्तक्षेपको आरोप

मोजतबा खामेनीको नाम पहिलो पटक सन् २००५ को राष्ट्रपतीय निर्वाचनका बेला सार्वजनिक चर्चामा आएको थियो, जतिबेला कट्टरपन्थी पपुलिस्ट नेता महमुद अहमदिनेजाद विजयी भएका थिए ।

सुधारवादी उम्मेदवार मेहदी करौबीले सर्वोच्च नेता खामेनीलाई एउटा खुला पत्र लेख्दै मोजतबाले ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईआरजीसी) र बासिज मिलिसियाका तत्त्वहरू प्रयोग गरी चुनावमा हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

उनका अनुसार अहमदिनेजादलाई जिताउन धार्मिक समूहहरूलाई पैसा वितरण गरिएको थियो ।

त्यसको चार वर्षपछि मोज्तबाले पुन: सोही प्रकृतिको आरोपको सामना गर्नुपर्‍यो । अहमदिनेजादको पुन: निर्वाचित हुने प्रक्रियाले देशभर जनआन्दोलन निम्त्यायो, जसलाई ‘ग्रिन मुभमेन्ट’ को रूपमा चिनिन्छ ।

त्यस समयमा केही प्रदर्शनकारीहरूले मोजतबा आफ्ना पिताको उत्तराधिकारीका रूपमा इरानको सर्वोच्च नेता बन्नसक्ने सम्भावनाको विरोध गर्दै नाराबाजी समेत गरेका थिए । तत्कालीन गृह उपमन्त्री मुस्ताफा ताजजादेहले उक्त निर्वाचन परिणामलाई ‘निर्वाचन कू’ को संज्ञा दिएका थिए ।

उनलाई सात वर्षको जेल सजाय सुनाइएको थियो, जसको पछाडि उनले ‘मोज्तबा खामेनीको प्रत्यक्ष इच्छा’ रहेको दाबी गरेका थिए। सन् २००९ को निर्वाचनपछि दुई सुधारवादी उम्मेदवारहरू मिर-होसेन मुसाभी र मेहदी करौबीलाई नजरबन्दमा राखिएको थियो ।

इरानी स्रोतहरू अनुसार, फेब्रुअरी २०१२ मा मोज्तबाले मुसाभीसँग भेट गरी उनलाई आफ्नो विरोध प्रदर्शन त्याग्न आग्रह गरेका थिए ।

भावी चुनौती र सैन्य सम्बन्ध

इरानका नवनियुक्त सर्वोच्च नेताका रूपमा मोजतबा खामेनीले आफ्ना पिताको कट्टरपन्थी नीतिहरूलाई नै निरन्तरता दिने धेरैले अपेक्षा गरेका छन् । अमेरिकी र इजरायली आक्रमणमा आफ्ना पिता, माता र पत्नीलाई गुमाएका व्यक्तिले पश्चिमा देशहरूको दबाबका सामु घुँडा टेक्नसक्ने सम्भावना निकै कम रहेको विश्लेषण समेत कतिपयले गरेका छन् ।

यद्यपि, उनीसामु इस्लामिक गणतन्त्रको अस्तित्व जोगाउने र राजनीतिक तथा आर्थिक रूपमा जर्जर बनेको देशलाई सही नेतृत्व दिन आफू योग्य पात्र भएको कुरा जनतामाझ प्रमाणित गर्ने चुनौतीपूर्ण जिम्मेवारी रहेको छ ।

मोजतबा खामेनीको नेतृत्व क्षमता अझै पनि परीक्षण हुन बाँकी छ । इस्लामिक गणतन्त्र विस्तारै ‘वंशानुगत प्रणाली’ तर्फ ढल्किँदै गएको जनमानसको बुझाइले सार्वजनिक असन्तोषलाई थप गहिरो बनाउन सक्ने देखिन्छ ।

साथै, मोजतबा अहिले इजरायलको निशानामा समेत परेका छन् । इजरायली रक्षामन्त्रीले गत हप्ता मात्र अली खामेनीको उत्तराधिकारीका रूपमा जो सुकै चुनिए पनि उनी ‘उन्मूलनका लागि स्पष्ट निसाना’ हुने चेतावनी दिएका थिए ।

मोजतबा खामेनीले सन् १९८० को दशकको इरान-इराक युद्धका क्रममा ‘हबिब बटालियन’ मा रहेर विभिन्न सैन्य कारबाहीहरूमा सहभागी हुँदाका बखतदेखि नै आईआरजीसीभित्र आफ्नो बलियो सम्बन्ध विस्तार गर्न सुरु गरेका थिए ।

त्यस समयमा उनीसँगै रहेका कतिपय धर्मगुरु लगायतका सहयोद्धाहरू पछि गएर तत्कालीन इस्लामिक गणतन्त्रको सुरक्षा र गुप्तचर निकायका उच्च पदहरूमा पुगेका थिए ।

रिपोर्टहरूका अनुसार अमेरिका र पश्चिमा मुलुकहरूको प्रतिबन्धमा रहेका खामेनीले विभिन्न देशहरूमा फैलिएको एक विशाल आर्थिक साम्राज्य समेत खडा गरेका छन् ।

ती कारोबारहरूमा प्रत्यक्ष रूपमा उनको नाम कतै उल्लेख नभए तापनि, उनले इरानी सत्तासँग जोडिएका भित्री व्यक्तिहरू र सहयोगीहरूको सञ्जालमार्फत वर्षौँदेखि अर्बौँ डलर परिचालन गरिरहेको बताइएको छ ।

मोजतबा अहिले इजरायलको निशानामा समेत परेका छन् । इजरायली रक्षामन्त्रीले गत हप्ता मात्र अली खामेनीको उत्तराधिकारीका रूपमा जो सुकै चुनिए पनि उनी ‘उन्मूलनका लागि स्पष्ट निसाना’ हुने चेतावनी दिएका थिए ।

ब्लूमबर्गले खामेनीको सम्बन्ध अली अन्सारीसँग रहेको उल्लेख गरेको छ । अन्सारीको ‘बैंक आयन्दे’ टाट पल्टिएपछि राज्यले जबरजस्ती विघटन गरेको थियो । बैंकको विघटनले इरानको तीव्र मुद्रास्फीतिलाई थप उकास्न मद्दत पुर्‍यायो, जसका कारण इरानीहरू झनै गरिब बन्न पुगे ।

खामेनी वा अन्सारी कसैले पनि उनीहरूबीचको सम्बन्ध र युरोपेली देशहरूमा विलासी सम्पत्ति खरिद गरेको विषयमा लागेका आरोपहरूका बारेमा सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन् ।

मोजतबा खामेनीको धार्मिक योग्यताको विषय पनि विवादको घेरामा रहँदै आएको छ । उनी ‘आयतोल्लाह’ जस्तो उच्च पदमा नभई मध्यम स्तरका धर्मगुरु ‘होजतोलेस्लाम’ मात्र हुन् ।

यद्यपि, सन् १९८९ मा उनका पिता अली खामेनी सर्वोच्च नेता बन्दा उनी पनि आयतोल्लाह थिएनन् र उनलाई उक्त पदमा समाहित गर्नका लागि कानुनमा संशोधन गरिएको थियो । मोजतबाका हकमा पनि यस्तै प्रकारको सम्झौता वा कानुनी बाटो अपनाउन सकिने सम्भावना छ ।

-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?