News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघले आईसीसी विश्वकप लिग-२ सिरिजका लागि २० खेलाडीलाई क्याम्पमा बोलाएको छ तर मध्यपूर्व तनावका कारण सिरिज सुरु हुन सकेन।
- प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका अर्जुन कुमाल क्याम्पमा परेनन् र खेलाडी छनोट समितिका पूर्वसंयोजक दीपेन्द्र चौधरीले असन्तुष्टि व्यक्त गरे।
- नेपालले आईसीसी लिग-२ मा २० खेलमध्ये ५ मा मात्र जित निकालेको छ र ओपनिङ ब्याटरहरूको कमजोर प्रदर्शनले समस्या बढाएको छ।
२८ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले केही दिनअघि ओमान र यूएईसँगको एकदिवसीय सिरिजका लागि २० खेलाडीलाई क्याम्पमा बोलायो । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको उक्त सिरिजका लागि क्यानले अधिकांश राष्ट्रिय टोलीका खेलाडीलाई समेट्दै क्याम्पमा बोलाएको हो । तर, मध्यपूर्वमा बढेको तनावका कारण सिरिज सुरु हुनै सकेन ।
नेपालको मुख्य घरेलु प्रतियोगिता प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउँदै उत्कृष्ट ब्याटर बनेका अर्जुन कुमालले क्याम्पमा समेत अवसर पाउन सकेनन् । जय ट्रफीमा गरेको प्रदर्शनलाई आधार मानेर क्यानले २० खेलाडीलाई क्याम्पमा बोलायो ।
४ टोली मात्र सहभागी गराउँदा पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेका अर्जुनसहित धेरै खेलाडी जय ट्रफी खेल्न पनि पाएनन् । अर्जुन क्याम्पमा नपरेको विषयमा खेलाडी छनोट समितिको पूर्वसंयोजक दीपेन्द्र चौधरीले असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘अर्जुन क्याम्पमा डिजर्ब गर्ने प्लेयर हुन् ।’
सानै उमेरमा राम्रो प्रभाव छाडेका अर्जुन पछिल्लो समय भने उपेक्षामा पारिँदै आएको आरोप क्यानमाथि लाग्दै आएको छ ।
गत मंसिरमा भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम खेलमा अवसर पाएका अर्जुनले आफूलाई प्रमाणित गरेका थिए । पोखरा एभेन्जर्सको अन्तिम खेलमा ओपनरको रुपमा मैदानमा आएका अर्जुनले २० ओभर नै टिकेर टोलीलाई जित दिलाएका थिए ।
पहिलो संस्करणको एनपीएलमा प्रतियोगिता भर नै अर्जुनले खेल्ने अवसर पाएनन् । कमै अवसर पाउने अर्जुनले पाएका अवसरमा भने आफूलाई प्रमाणित गर्दै आएका छन् । विकेटलाई होल्ड गरेर ब्याटिङ गर्ने र क्रिजमा धैर्यता राख्ने उनको विशेषता हो ।

२०२१ मार्च १९-२८ सम्म ओमानमा भएको आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि अर्जुन पहिलोपटक सिनियर टोलीको क्याम्पमा परेका थिए । १५ वर्षको उमेरमै क्याम्पमा परेका अर्जुन अन्तिम टोलीमा भने पर्न सकेनन् । त्यसपछि पनि अर्जुनले राम्रो प्रर्दशन गर्दै आएका छन् ।
उनी घरेलु क्रिकेटदेखि उमेर समूहमा राम्रो छाप छोड्न सफल छन् । तर, अहिलेसम्म छनोट समिति, प्रशिक्षक र कप्तानको रोजाइमा पर्न सकेका छैनन् । अर्का पूर्वसेलेक्टर भन्छन्, ‘कप्तान र प्रशिक्षकको इन्पुटले पनि खेलाडी छनोटमा काम गर्छ ।’
छनोट समितिले कप्तान र प्रशिक्षकको राय लिएर खेलाडी छनोट गर्नुपर्छ । तर, छनोट समिति कप्तान र प्रशिक्षकबाट केही हदसम्म प्रभावित हुनसक्ने ती सेलेक्टरको भोगाइ छ ।
टी-२० विश्वकपका लागि ३२ खेलाडीलाई क्याम्पमा बोलाएको क्यानले लिग-२ सिरिजका लागि २० खेलाडीलाई मात्र बोलायो । क्याम्प सानो बनाउँदा पनि खेलाडीले आफ्नो क्षमता देखाउने अवसर नपाउने गरेको खेलाडी छनोट समितिका पूर्वसंयोजक चौधरी बताउँछन् । ‘हामी हुँदा क्याम्पको आकार ठूलो हुन्थ्यो । धेरै खेलाडीले क्याम्पमा क्षमता देखाउने अवसर पाउँथे, उनी भन्छन्, ‘अहिले क्याम्पको आकार सानो हुँदा धेरै खेलाडीले क्षमता देखाउन पाउँदैनन् ।’
उमेर समूहमा न्युजिल्याण्ड र अफगानिस्तानविरुद्धको प्रदर्शन तथा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ टिमबाट हानेको शतक जसले अर्जुनलाई सम्झाइरहन्छ । आत्मविश्वासी ब्याटिङ गर्ने उनले हालसम्म उमेर समूहमा दुई र ‘ए’ टिमबाट एउटा शतक प्रहार गरिसकेका छन् ।
नेपाल ‘ए’ बाट एक शतक हानेका अर्जुनले दुई खेल खेल्ने मात्र अवसर पाएका छन् । उनी छनोट नभएको विषयमा एक प्रशिक्षक भन्छन्, ‘छनोटमा खेलाडी र कोचले मात्र भनेर हुँदैन । जिल्ला, प्रदेशले पनि कुरा उठाउनुपर्छ । प्रतियोगिताको उत्कृष्ट ब्याटरलाई तपाईंले मौका नदिने भए हामीले किन खेलाडी ल्याउने भन्न त मिल्यो नि त ।’
खेलाडी छनोट समिति संयोजकबाट एलबी क्षेत्रीले केही समयअघि राजीनामा दिइसकेका छन् । त्यसयता क्यानले संयोजक तोकिसकेको छैन । छनोट समितिका सदस्य रहेका युनिल श्रेष्ठ र मुर्तुजा हवारीले नै लिग-२ अन्तर्गत ओमन-युएई सिरिजका लागि २० खेलाडीलाई क्याम्पका बोलाएका थिए । संयोजक नहुँदा सदस्यहरुबाट खेलाडी छनोट भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
अन्तर्राष्ट्रिय अनुभव, प्रदर्शन र घरेलु प्रतियोगिताको प्रदर्शनकाआधारमा खेलाडी छनोट गर्ने गरेको छनोट समितिका पूर्वसंयोजक क्षेत्री बताउँछन् ।
‘अन्तर्राष्ट्रिय अनुभव, छनोट हुने फर्म्याट कस्तो प्रकारको प्रदर्शन गरेको छ । अम्पायर, कोचको भरोसा कस्तो छ । र घरेलु क्रिकेटमा कस्तो प्रदर्शन गरिराखेको छ । यी सबै कुरालाई ध्यानमा राखेर खेलाडी छनोट गरिन्छ,’ उनी भन्छन् ।
‘टपअर्डरमा लिड गर्ने र लामो इनिङ खेल्ने क्षमता छ’
अर्जुनले उमेर समूहदेखि नै टोलीमा ओपनिङ ब्याटरको रुपमा खेल्दै आएका छन् । बाल्यकालदेखि नै भारतमा क्रिकेट सिकेका अर्जुनको ब्याटिङ अरु नेपाली खेलाडीभन्दा फरक छ । अझै पनि उनी बेला-बेलामा भारतमा गएर क्रिकेट सिक्ने गर्छन् । टाइमिङ र कभर ड्राइभ अर्जुनको ब्याटिङ शैली हो ।
अर्जुनलाई उमेर समूहदेखि नै प्रशिक्षण गराएका जगता टमाटा टपअर्डरमा लिड गर्ने क्षमता अर्जुनमा रहेको बताउँछन् । ‘उमेर समूहदेखि नै उसले ओपनिङ गर्दै आएको छ । अर्जुन टपअर्डरमा लिड गर्न सक्ने खेलाडी हो,’ उनी भन्छन् ।

अर्जुन लामो इनिङमा राम्रो खेल्ने क्षमता भएको खेलाडी भएको टमाटाको अनुभव छ । उनी थप्छन्, ‘क्याम्पमा पार्ने, नपार्ने टिम म्याजेनमेन्टको कुरा हो । तर, मेरो ठाउँबाट भन्ने हो भने क्याम्पमा अवसर दिएको भए राम्रो हुन्थ्यो । धैर्यता र क्यालिटी भएको खेलाडी हो ।’
एकदिवसीयमा धरमराएको नेपाल
आईसीसी लिग–२ मा २० खेलमध्ये ५ खेलमा मात्रै जित निकालेको नेपाल १२ अंकसहित सातौं स्थानमा छ । शीर्ष ४ मा रहँदै एकदिवसीय मान्यता कायम गर्न र विश्वकप छनोटमा पुग्ने नेपाललाई चमत्कारिक प्रदर्शन गर्न जरुरी देखिन्छ ।
लिग–२ अन्तर्गतको पछिल्लो सिरिजमा नेपालले ४ वटै खेलमा पराजित भएको थियो । पछिल्ला वर्षयता नेपालको ओपनिङ कुशल भुर्तेल र आसिफ शेखले गर्दै आएका छ ।
सुरुवातका केही खेलमा आशा जगाएका उनीहरुले पछिल्लो ओपनिङमा निराशा पैसा गरेका छन् । पछिल्ला १० ओडीआईमा आसिफले एउटा पनि अर्धशतक पूरा गरेका छैनन् । कुशलले एउटा अर्थशतकबाहेक सम्झनालायक ब्याटिङ गर्न सकेका छैनन् ।
नेपालको ओपनिङ ब्याटर धरमराउँदा पूरै खेल कोल्याप्स हुने समस्या कायमै छ । न ओपनिङ जोडी फर्ममा आउनसकेको छ न प्रशिक्षकले उनीहरुको विकल्प खोज्ने प्रयास गरेका छन् । जसका कारण अर्जुनजस्ता खेलाडीहरू क्याम्पमा समेत पर्दैनन् ।
प्रतिक्रिया 4