आजभन्दा केही हप्ताअघिको एउटा घटना । उनै राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को नयाँ बानेश्वरस्थित आइप्लेक्स मलमा प्रिमियर आयोजना भयो । सामान्यतया नेपाली फिल्मको प्रिमियर हुँदा हल खचाखच भरिने गर्छ । तर यसपटक दृश्य पूर्णरूपमा फरक थियो। हलका आधाभन्दा बढी सिट खाली थिए।
हमाल स्वयं उपस्थित हुँदासमेत अन्य सेलिब्रेटीहरूको उपस्थिति देखिएन । न त मिडियाको भीड नै थियो । अन्य समयमा सामान्य पसलको उद्घाटनमा पुग्दासमेत दर्जनौं क्यामेराले घेरिने हमाललाई त्यस दिन ती क्यामेराहरूले पनि पत्याएनन् ।
एक चर्चित युट्युबरको टिप्पणी थियो, ‘अहिले राजेश हमालको भिडियोमा कत्ति पनि भ्यूज आउँदैन । बेकारमा किन दुःख गर्नु ?’
फिल्मका आयोजकले आफन्त र परिवारका सदस्यलाई ल्याएर बसाउँदा पनि हल भरिएन । दृश्य हेर्दा टिठलाग्दो थियो । अझ टिठलाग्दो त त्यतिबेला भयो, जब फिल्म रिलिज भएको दिन साँझसम्म धेरै हलबाट उत्रिसकेको थियो । दर्शक अभावका कारण धेरै शो रद्द हुँदै गएपछि यो फिल्म प्रदर्शन भएको दुई दिनमै अधिकांश हलहरूले हटाइसकेका थिए ।
करिब नौ महिनाअघि प्रदर्शन भएको हमालको अर्को फिल्म ‘नरसिंहा अवतार’ ले पनि बक्स अफिसमा कमजोर व्यापार गर्यो । निर्माण टिमले हमाललाई विशेष प्राथमिकता दिएर हल र शहरका चोक-चोकका भित्ता भरिने गरी पोस्टर टाँसेका थिए । अभिनेता हमाल स्वयं पनि प्रचार-प्रसारमा सक्रिय थिए । तर दर्शकको रुचि नभएपछि कसको के लाग्छ ? जसका कारण फिल्मले लगानी उठाउन सकेन– सिधा भाषामा भन्नुपर्दा फ्लप भयो ।
०००
करिअरको उत्कर्षमा रहँदा सफलताको चरम स्वाद चाखेका हमालका लागि पछिल्लो समय फिल्मको सफलता ‘एकादेशको कथा’ जस्तै बनेको छ । विगत एक दशकयता उनका कुनै पनि फिल्म उल्लेखनीय रूपमा सफल भएनन् । करिब १० वर्षअघि प्रदर्शन भएका राजेश हमाल अभिनित ‘बागमती’ र ‘शकुन्तला’ बारे त अधिकांश दर्शकलाई थाहा पनि छैन ।
फिल्म एकपछि अर्को असफल भएपछि उनले करिब आठ वर्ष अभिनयबाट विश्राम लिए । लामो अन्तरालपछि हलमा कमब्याक गरेका हमालले आफ्नो साख जोगाउन सकेनन्।
०००
लगभग १५ वर्षअघि नेपाली फिल्म उद्योगको शक्ति-केन्द्रमा उनै राजेश हमाल थिए । उनीसँग नेपाली सिनेमाको गति र गणित परिवर्तन गर्न सक्ने सामर्थ्य पनि थियो । उनले स्क्रिप्टमा हस्तक्षेप गर्न सक्थे । चरित्र निर्माणमा ध्यान दिन सक्थे तर त्यसो गरेनन् ।
चलचित्र विश्लेषक, समीक्षक तथा निर्देशक मनोज पण्डितका अनुसार, हमालले आफूले अभिनय गर्ने फिल्महरूको स्क्रिप्टलाई साहित्यिक दृष्टिकोणबाट थोरै मात्र सुधार गरिदिएको भए पनि नेपाली सिनेमाको स्तरमा ठूलो हस्तक्षेप हुन्थ्यो ।
पण्डित भन्छन्, ‘त्यो समयमा जसरी फिल्महरू धमाधम बनिरहेका थिए, यदि हमालले अभिनय मात्र गर्नेभन्दा पनि स्क्रिप्ट, पात्रको अध्ययन र कथावस्तुमा बढी ध्यान दिएको भए नेपाली सिनेमाका लागि त्यो सबैभन्दा ठूलो योगदान बन्न सक्थ्यो ।’
अहिले पनि हमाल फिल्मको कथावस्तुभन्दा आफ्नो भूमिका, छायांकन कति टाढा-नजिक छ भनेर हेर्ने र पारिश्रमिकमा मात्रै धेरै ध्यान दिने गरेको कतिपयको बुझाइ छ।
०००
पुराना चलचित्र निर्देशक यादव खरेलको निर्देशनमा २०५५–५६ तिर ‘हत्तेरीका’ नामक फिल्म छायांकन भइरहेको थियो । फिल्मका मुख्य अभिनेता उनै राजेश हमाल थिए । छायांकन सुरु भएलगत्तै निर्देशक खरेल चलचित्र विकास बोर्डको अध्यक्ष हुने निश्चित भयो । त्यसपछि बाँकी काम असिस्टेन्ट निर्देशक मनोज पण्डितको टाउकोमा आयो ।
पण्डितले छायांकन सुरु भएलगत्तै केही सिन रिटेक गरौं भने । तर हमाल रिटेक गर्न अस्वीकार गर्दै सेट छोडेर घर हिँडे।
निर्देशक पण्डित त्यो बेलाको सम्झना गर्छन्, ‘उहाँ त्यतिबेला सर्वशक्तिमान हुनुहुन्थ्यो । हामी सेटका साथीहरू हेराहेर मात्र गर्नसक्थ्यौँ ।’ उनका अनुसार त्यो बेला हमालसँग विवाद भयो । पछि यादव सरले उहाँलाई फकाएपछि बाँकी काम सम्पन्न भयो । ‘त्यसपछि जीवनभर हमालसँग काम गर्न मलाई कहिल्यै मन लागेन’ निर्देशक पण्डित सुनाउँछन् ।
त्यसो त हमालसँग फिल्म निर्देशकहरू कहिल्यै सजिलै बहस गर्न सक्दैनथे । नाम नलेख्ने सर्तमा एक निर्देशक भन्छन्, ‘हमाल सर यति ठूलो ब्रान्ड भए कि केही बोल्न सक्दैनन् । उनले ‘यत्तिको सिन ठिकै छ’ भनेपछि किच-किच गर्न मिल्दैन ।’
केही वर्षअघि एक अभिनेत्रीले ‘फिल्म खेल्नुबाहेक हमालले यो समाजमा के गरे ? के योगदान दिए ?’ भन्ने किसिमको टिप्पणी गरेपछि उनी अनावश्यक विवादमा तानिएकी थिइन्। त्यसपछि उनी पनि बोल्न डराउँछिन् ।
०००
राजेश हमालले आफूलाई सामान्य कलाकारको रूपमा स्वीकारेर काम गरेको धेरैलाई याद छैन । फिल्मका पात्र तथा कथावस्तुमा समेत हमालको स्टारडम झल्किएपछि नेपाली फिल्ममा मौलिकता हराएको कतिपयको धारणा छ । अब उनीबाट गुणस्तरीय र प्रभावकारी काम कसैले गर्न चाहन्छ भने स्टारडम घरमै छोडेर सेटमा उपस्थित हुनुपर्ने तर्क सुनिन्छ ।
आफूभन्दा महत्वपूर्ण कथाका पात्रहरू हुन्छन्, कथाका निर्देशक हुन्छन्, लेखकहरू हुन्छन् र कथामा मचाहिँ एउटा कलाकार हुँ भन्ने कुरा राजेश हमालले कहिल्यै स्वीकारेनन् । यही कुरा फिल्म उद्योगका लागि घातक थियो । उनीसँग निकट एक पत्रकार भन्छन्, ‘उहाँले पैसा मात्र हेर्नुहुन्छ । पैसा टेबुलमा राखेपछि जस्तोसुकै काम पनि ओके भन्नुहुन्छ । तर त्यो काम कसरी राम्रो गर्ने भन्नेमा खासै ध्यान दिएको देखिँदैन ।’
०००
राजेश हमालको प्रभुत्वदेखि नयाँ पुस्ताको उदयसम्म
२०५७–५८ तिर नेपाली फिल्म उद्योगमा राजेश हमालबिना सिनेमा बनाउन मेकरहरूलाई गाह्रो पर्थ्यो । हमाल नभए फिल्म चल्दैन भन्ने भाष्य जबरजस्त बनेको थियो। त्यसपछि विस्तारै ‘हमाल भए फिल्म चल्दैन’ भन्न थालियो ।
यही मानसिकताविरुद्ध केही फिल्मकर्मीले फरक शैलीका सिनेमा बनाएर विद्रोह गर्ने प्रयास गरे । त्यो समयमा नयाँ सोच र नयाँ कथासहित सिनेमा बनाउने प्रयास सुरु भयो, जसले पुरानो स्टार-केन्द्रित प्रणालीलाई चुनौती दियो ।
२०६२–६३ को राजनीतिक परिवर्तनपछि नेपाली सिनेमामा नयाँ पुस्ताको प्रवेश झन् तीव्र भयो । त्यसपछि उद्योगमा फरक ढंगका कलाकार र कथाहरू आउन थाले । दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, खगेन्द्र लामिछाने, अनुप बराल जस्ता कलाकारहरूको आगमनले नेपाली सिनेमामा नयाँ यथार्थवादी अभिनय शैली स्थापित गर्न मद्दत गर्यो ।
विशेष गरी ‘लुट’ जस्ता फिल्मले यो परिवर्तनलाई अझ बलियो बनायो । त्यसपछि नेपाली सिनेमा विस्तारै स्टारडमभन्दा पनि कथा, पात्र र अभिनयमा केन्द्रित हुन थाल्यो ।
तर उद्योगभित्र अझै पनि ‘स्टारडम’ भन्ने अवधारणा धेरै हदसम्म हमालसँग जोडेर हेरिन्छ । धेरैका लागि स्टार बन्नु भनेको हमालजस्तै शैली, दूरी र प्रभाव कायम गर्नु हो भन्ने मनोविज्ञान बनेको देखिन्छ । यही कारण कतिपय कलाकारले अनजानमा हमालकै शैली पछ्याउने प्रवृत्ति देखिन्छ।
यद्यपि, विश्लेषकहरूका अनुसार राजेश हमालसँग अनुभव, क्यामरासँगको अभ्यस्तता र बौद्धिक क्षमता पर्याप्त छ । यदि उनले ‘स्टार’ भन्दा पनि ‘कलाकार’को रूपमा पात्रलाई प्राथमिकता दिने र निर्देशकको दृष्टिअनुसार काम गर्ने अभ्यास स्वीकारे भने भविष्यमा पनि प्रभावशाली भूमिका निभाउन सक्ने सम्भावना छ ।
यस अर्थमा, हमालको प्रभाव नेपाली सिनेमाबाट तुरुन्त हराउने अवस्था देखिँदैन । तर समयसँगै नयाँ पुस्ता, नयाँ सोच र फरक शैलीले उद्योगको दिशा परिवर्तन गरिरहेको स्पष्ट छ । र यो दिशा परिवर्तन हमालले समयमै बुझेर आफूलाई परिवर्तन गरे उद्योगमा दीर्घकालका लागि फाइदा पुग्न सक्छ।
प्रतिक्रिया 4