Comments Add Comment

सानी भलिबल खेलाडी उषाको ठूलो मन

२१ जेठ, काठमाडौं । उषा भण्डारी नेपालको राष्ट्रिय महिला भलिबल टिमकी कान्छी सदस्य हुन् । कक्षा ९ को पढाइ सिध्याएकी उनी सागमा पदक जितेपछि चर्चामा छिन् ।

१५ वर्षमै अन्तर्राष्ट्रिय उपलब्धि हासिल गर्न सफल उषा नेपाल पुलिस क्लबबाट घरेलु भलिबल खेल्छिन् । उनले १२ वर्षको उमेरदेखि भलिबल खेल्न थालेकी हुन् । १३औं सागमार्फत उनले राष्ट्रिय टिममा डेब्यु गर्ने अवसर पाइन् ।

गत फागुनमा नेपालगन्जमा भएको प्रधानमन्त्री कप महिला भलिबलमा नेपाल पुलिस क्लबले उपाधि जित्दा उषाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । सागमा राम्रो खेल्न नसके पनि घरेलु प्रतियोगितामा चम्किरहेको उनको भलिबल यात्रा अहिले लकडाउनका कारण अवरुद्ध छ । अहिले उनी घरमै रेस्ट गरिरहेकी छन् ।

‘अलिकति घाइते पनि थिएँ । गोलीगाँठोमा दुखाई थियो । डायमण्ड कप खेल्दा हातमा पनि समस्या भएको थियो । त्यसैले अहिले रेस्ट गर्न पाएको छु,’ उनले भनिन् ।

उषा सामाखुशीस्थित नेपाल प्रहरी स्कुलमै अध्ययन गर्छिन् । नेपालमा खेलकुद फेरि कहिले फर्किएकला र कोर्टमा भलिबल हान्न पाउँला भनेर प्रतिक्षामा छिन् उनी ।

‘फिट रहनका लागि घरमै बिहान एक्सरसाइजहरु गर्छु । ट्रेनिङ सुरु भए राम्रो हुन्थ्यो । नत्र फेरि गेममा फर्किन गाह्रो हुन्छ । गुरुले सिकाएको जस्तो घरमा हुँदैन,’ उनले भनिन् ।

अहिले उनले आराम गर्नुका साथै पढाईमा समेत ध्यान दिएको बताइन् । ‘बाबा-ममीले पनि पढाईमा ध्यान दिने यही बेला हो भन्नुहुन्छ । बिहान उठेर फिजिकल गर्छु र अनलाइन क्लास लिन्छु ।’

सुरु-सुरुमा लकडाउन रमाइलो भए पनि अहिले भने लकडाउनले धेरैलाई असर गरेको छ । कोरोनाको भन्दा भोकमरीको चिन्ता ठूलो भएको छ । उषा उमेरले सानै भए पनि ठूलो मन भएकी खेलाडी हुन् । उनी अहिले लकडाउनका कारण गुजारा गर्न समस्या भइरहेकाहरुलाई सहयोग गर्न पनि जुटिरहेकी छन् ।

लकडाउन सुरु हुँदा कावासोतीमा रहेकी उनी बीचमा काठमाडौं फर्किइन् । केही समयअघि उषाले धुर्मुस-सुन्तली फाउण्डेसनसँग मिलेर गोंगबु क्षेत्रमा एक छाक खानाको लागि सहयोग गरिन् ।

सरकारले १३औं सागमा पदक जित्ने खेलाडीहरुलाई वितरित नगद पुरस्कार उनीहरुको बैंक खातामा हालिदिएको छ । टिम इभेन्टमा रजत जितेकी उषाले ४ लाख प्राप्त गरेकी छन् । उनले त्यसैबाट केही भाग सहयोगमा लगाएकी हुन् । सामाखुशीमा बस्ने उनले नजिकै ३०० परिवारलाई खाना खुवाएर सहयोग गरिन् ।

१०० प्लस डि्रङसको ब्राण्ड एम्बासडर समेत रहेकी उषाले मंगलबार पनि १०० जनालाई सहयोग हस्तान्तरण गरेकी छन् ।

‘म ब्राण्ड एम्बासडर भएकोले मलाई सहयोग हस्तान्तरण गर्न भन्नुभयो । यस्तो बेला सहयोग गर्दा खुशी लाग्छ,’ उनले सुनाइन् ।

केही समयअघि १०० प्लसकै सहकार्यमा राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले पनि राहत वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment