Comments Add Comment

चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु, संक्रमणको स्रोत खुलेन

भरतपुर अस्पताल । फाइल फोटो

२७ जेठ, चितवन । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मंगलबार बिहान मृत्यु भयो । उनी कोरोनाबाट मृत्यु हुने चितवनको पहिलो व्यक्ति हुन् ।

६८ वर्षीय ती पुरूषलाई कहाँबाट कोरोना सर्यो भन्ने विषयमा अस्पतालका डाक्टर तथा स्वास्थ्य कार्यालयका कर्मचारीहरु अन्योलमा परेका छन् । भरतपुर महानगरपालिका वडा नं. ११ कोलटाँडीका ती पुरुषमा सुगर, प्रेसर र मुटुसम्बन्धी रोग थियो । स्वास्थ्यमा समस्या भएपछि पाँच दिनअघि उनलाई नारायणी सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो ।

समस्या बढ्दै गएपछि उनलाई अस्पतालको आईसीयूमा लगियो । चिकित्सकका अनुसार अस्पतालमा उपचारकै क्रममा निमोनियासमेत देखियो । कोरोना आशंकामा शुक्रबार स्वाब निकालेर परीक्षण गर्दा सोमबार उनमा कोरोना संक्रमण भएको पुष्टि भयो । नारायणी सामुदायिकको आईसीयूमा उनीसहित अन्य चार जना बिरामी पनि थिए । उनीहरूमा पनि संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ । उनीहरुको स्वाब निकालेर परीक्षण गर्ने तयारी छ ।

उनको उपचारमा संलग्न चिकित्सकसहित झण्डै ३० जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा छन् । नारायणी सामुदायिक अस्पतालकै संक्रमित फिजिसियन चिकित्सक भने आइसोलेसनमा छन्

संक्रमित मृतक वृद्ध कोरोना संक्रमणसहित अस्पताल आएका थिए वा अस्पतालमा उपचारको क्रममा संक्रमण भयो भन्ने बारेमा चिकित्सकहरूसमेत अन्यौलमा छन् ।

अस्पतालले अन्य बिरामीलाई समेत सर्न सक्ने भन्दै कोभिड ‘लेभल १’ उपचार गर्ने भरतपुर अस्पतालमा रिफर गर्यो । तर, भरतपुर अस्पताल र जिल्ला प्रशासन कार्यालय चितवनले गम्भीर अवस्थाको बिरामी नसार्न अनुरोध गर्दागर्दै पनि सारेको भन्दै आपत्ति जनाएका छन् ।

तर, अस्पतालले सरकारकै प्रोटकल अनुसार सारेको दावी गरेको छ । कोरोना संक्रमित ती पुरुषलाई सामान्य अक्सिजनको भरमा असावधानीपूर्वक भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ ६.३० बजे सारिएको थियो । उनको उपचारको क्रममा मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु भयो ।

उनको उपचारमा संलग्न चिकित्सकसहित झण्डै ३० जना स्वास्थ्यकर्मी भरतपुरकै होटल रोयल सेन्चुरीको क्वारेन्टिनमा बसेका छन् । नारायणी सामुदायिक अस्पतालकै संक्रमित फिजिसियन चिकित्सक भने भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

नारायणी सामुदायिक अस्पताल स्रोतले दिएको जानकारी अनुसार ती फिजिसियन कोरोना संक्रमित आईसीयूका बिरामीसँग सम्पर्कमा थिएनन् । ती फिजिसियनलाई कसरी कोरोना लाग्यो भन्ने बारेमा अझै केही थाहा हुन सकेको छैन । उनले जाँच गरेका बिरामीहरुको कन्ट्याक्ट ट्रेसिङ पनि बाँकी छ ।

आईसीयूमा संक्रमितको उपचार गर्ने मुटरोग विषेशज्ञ चिकित्सक पनि क्वारेन्टिनमा गएका छन् ।

शव व्यवस्थापनको तयारी सेनाले गरिरहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार उनको नारायणी नदीको तटिय क्षेत्रमा सेनाको नेतृत्वमा शव व्यवस्थापन गरिँदैछ । ‘सरकारले बनाएको शव व्यवस्थापन प्रोटकलका आधारमा नै व्यवस्थापनको तयारी गरेका छौं,’ सहायक प्रजिअ शर्माले भने, ‘उहाँहरुको धार्मिक, सांस्कृतिक परम्परा र मान्यतालाई पनि ख्याल गर्छौं ।’ सहायक प्रजिअ शर्मालेअन्तिम संस्कारपछि उनको ज्वाइँलाई पनि क्वारेन्टिनमा राखेर जाँच गरिने बताए ।

छोरी–ज्वाइँसँग बस्थे

भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका कोरोना संक्रमित पुरुष श्रीमतीसहित छोरी–ज्वाइँको घरमा बस्दै आएका थिए । उनका चार वर्षकी नातिनी र ४ महिनाका नाती छन् ।लमजुङ पुर्ख्यौली घर भएका उनका छोरा भने विदेशमा छन् । ज्वाइँ सेवा निवृत सैनिक हुन् ।

भरतपुर–११ कोलटाँडीका स्थानीयका अनुसार खासै घरबाट बाहिर ननिस्कने ती पुरुषले पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि स्मारिका फर्माबाट औषधि लिएको र रगत जाँच गर्न दिएका थिए । हाल फर्माका सञ्चालकसमेत क्वारेन्टिनमा छन् । भरतपुर ११ का वडाध्यक्ष बाबुराम अधिकारीले मृतकका परिवारका सदस्यहरुलाई भेटेर अहिले घरबाहिर ननिस्कन र कसैसँग पनि सम्पर्कमा नजान भनिएको बताए ।

यसैबीच कोरोना संक्रमितको पहिचान र उपचार व्यवस्थापन सम्बन्धी छलफल गर्न आयोजना गरिएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठक स्थगित भएको छ ।  मंगलबार विहान ११ बजे आह्वान गरिएको बैठक पछिल्लो अवस्थाका कारणले स्थगित गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment