Comments Add Comment

कोरोना महामारी नभएको भए भैरहवा विमानस्थलबाट कतार जान पाइन्थ्यो : मन्त्री भट्टराई

२६ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना महामारीको असर कम भएपछि भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन् ।

प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले कोरोना महामारीको असर नभएको भए भैरहवा विमानस्थलबाट कतार जान पाउनेसमेत बताए ।

‘कोभिडको असर नभएको भए थुप्रै माननीयज्यूहरु भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा कतार उड्ने सौभाग्य पाउनुहुन्थ्यो । कोभिडको स्थिति कम भएको ६ महिनाभित्र भैरहवाबाट विश्वका जुनसुकै ठाउँमा जान सकिन्छ’ उनले भने ।

मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलको सुदृढिकरणको काम अगाडि बढिरहको पनि बताए । त्यस्तै, ५४ वटा विमानस्थलहरुमध्ये ३४ वटा कालोपत्रे भएको र बाँकीको पनि कालोपत्रे, विस्तार र आधुनिकीकरण गर्दै जाने उनले बताए ।

पर्यटन व्यवसायीलाई सहुलियत प्याकेज

मन्त्री भट्टराईले बजेटमा पर्यटन व्यावसायीलाई सहुलियत प्याकेज आएको बताएका छन् ।

‘पर्यटन क्षेत्रले धक्का खाएको प्याकेज छैन भनेर पनि आयो । फेरि एक पटक पढ्नुभयो भने ५० अर्बको पुनर्स्थापना कोष छ, ५ प्रतिशत ब्याजमा रकम चलाउन सकिन्छ । एक खर्बको पुनर्कर्जा कोष छ’ उनले भने ।

सरकारले ल्याएको राहत प्याकेजबाट व्यवसायीले कर्मचारीलाई तलब दिन र व्यवसाय सञ्चालनका लागि सहुलियत पाउने भट्टराईले बताए ।

हजाई क्षेत्रमा पार्किङमा छुट, हवाइ इन्धनको मूल्य घटाउनु पनि सहुलियत भएको मन्त्री भट्टराईको भनाइ छ ।

प्रदेश २ मा सबै भन्दा बढी बजेट

मन्त्री भट्टराईले पर्यटन मन्त्रालयको सबैभन्दा बढी बजेट प्रदेश २ मा रहेको बताए । उनले प्रदेश २ मा मात्र ५६ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

बजेटमाथि छलफलका क्रममा केही सांसदहरुले प्रदेशगत रुपमा बजेट असन्तुलित भएको बताएका थिए । जवाफमा उनले भने, सदूरपश्चिममा कम छ, तर, सबैभन्दा बढी प्रदेश नम्बर दुईमा जाँदैछ ।’

वीपीको नाममा पुरस्कार राखेँ

मन्त्री भट्टराईले आफूले विश्वेश्वरप्रसाद कोइरालाको नाममा पुरस्कार स्थापना गरेको बताए ।

आगामी आर्थिक बर्षको बजेटमा रकम विनियोजन गर्दा राजनीतिकरण, पार्टीकरण भएको भन्ने सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

‘म भन्दाअघि प्रतिपक्षीबाट १० जना मन्त्री हुनुभएछ । तर, विश्वेश्वरप्रसाद कोइरालाको नाममा पुरस्कार राख्न म नै आइपुग्न पर्‍यो । माननीयज्यूहरुले कहिले पनि बनाउनुभएको थिएन । मै आइपुगेँ । यसमा त प्रमुख प्रतिपक्षीले अलिकति स्वागत गर्नुहोला भनेको स्वागतै गर्नुभएन’ उनले भने ।

सगरमाथाको नाम राख्ने इतिहास शिरोमणि बाबुराम आचार्यले र पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नाममा पनि पुरस्कार स्थापना गरेको मन्त्री भट्टराईले बताए ।

मन्त्री भट्टराईले यसपटक नेताहरुको नाममा स्थापित प्रतिष्ठानहरुलाई अनुदान नदिएको पनि बताए । ‘राष्ट्रिय नेताको नाममा बनेका प्रतिष्ठानहरुलाई अनुदान दिने कार्यक्रम छैन त्यसकारण समान छौं । दिँदा तलमाथि होला नदिएपछि समान हुन्छौं’ उनले भने ।

आगामी २ वर्षमा पुनर्निर्माण सकिन्छ

मन्त्री भट्टराईले भूकम्पबाट क्षति भएका चार सय भन्दा बढी सम्पदाको पुनर्निर्माण गरिसकको र आगामी वर्ष २ सय वटा सम्पदा पुनर्निर्माण सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment