Comments Add Comment

पीसीआर मेसिन किन्न वीरगञ्जमा चन्दा संकलन

२७ जेठ, वीरगञ्ज । अलौका मेराजुल अन्सारी भारतको हरियाणामा सिलाइको काम गर्थे । १४ दिनअघि उनी नेपाल आए । त्यसपछि उनी वीरगञ्ज–२६ अलौस्थित द्वारदेवी मावि क्वारेन्टिनमा बसिरहेका छन् । क्वारेन्टिनमा उनले पाउनुपर्ने कुनै पनि सुविधा पाएका छैनन् । उनीसँगै क्वारेन्टिनमा बसेका १८ जनाले बाहिरबाट खानेकुरा मगाएर खाने गरेका छन् । ‘क्वारेन्टिनमा बस्न मात्रै भन्छन् । घरबाटै खाना मगाएर खानु पर्ने बाध्यतामा छौं,’ उनले भने । क्वारेन्टिनमा बसेकालाई कोरोनासम्बन्धी कुनै पनि सचेतना  दिने गरिएको छैन । उनीहरू काेराेनाबारे अन्यौलमा छन् ।

अलौकै दयावीर कबारिया ब्याङ्लोरबाट आएका हुन् । उनलाई आरटी पीसीआर परीक्षणबाट कोरोना भाइरस पत्ता लाग्छ भन्ने समेत थाहा छैन ।

भारतको ब्याङ्लोरमा इलेक्ट्रिकको काम गर्ने तैयब अहमद लकडाउनले गर्दा तीन महिना उतै थुनिए । भारतमा लकडाउन खुकुलो भएपछि घरबाट पैसा मगाएर उनी साथीहरूसँगै नेपाल-भारत सीमासम्म आइपुगे । तर सशस्त्र प्रहरीले उनलाई सीमामै रोक्यो । उनी राति सशस्त्र प्रहरीको आँखा छलेर नेपाल पसे, तर खेतमै उनलाई सशस्त्र प्रहरीले समात्यो । अहिले उनी अलौको क्वारेन्टिनमा छन् । ‘क्वारेन्टिनमा बसेको १३ दिन भइसक्यो । घरबाट प्लास्टिकमा खाना आउँछ त्यही खाने गरेको छु,’ तैयबले भने, ‘कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर लगेका छन् । कहिले रिपोर्ट आउँछ त्यो पनि थाहा छैन ।’

क्वारेन्टिनको सुरक्षाका लागि प्रहरी प्रशासनले कसैलाई खटाएकाे छैन । तर पनि परिवारका अन्य सदस्यमा हामीबाट संक्रमण फैलिने खतरा रहेका कारण क्वारेन्टिनमा बसिरहेकाे उनी बताउँछन् । अलौमा घर भएकाले त जसोतसो घरबाट मगाएर खानेकुरा खाइरहेका छन् । तर क्वारेन्टिनमा भारतीय नागरिक पनि छन् । उनी अरूसँग मागेर खाइरहेका छन् ।

भारतको मोतीहारी आदापुरका नाजिर हुसैन वीरगञ्जस्थित ड्राइपोर्टमा आएर काम सुरु गरेका थिए । चार दिन काम गरेपछि कसैले उनी भारतबाट आएको जानकारी कसैले प्रहरी प्रशासनलाई दियो ।

‘१५ दिन भइसक्यो कोरोनाको चेकजाँच भएको छैन, ल्याएर स्कुलमा राखेका छन् ।’ उनले भने ‘खानाको व्यवस्था पनि छैन, अरूसँग मागेर खाना खाने गरेको छु ।’

भारतमा विभिन्न कामको सिलसिलामा रहेका नेपाली आउने क्रम सुरु भएपछि क्वारेन्टिनमा व्यवस्थापन गरिएको छ । क्वारेन्टिनमा भएकाहरूको समयमै पीसीआर परीक्षण हुन सकेको छैन । पीसीआर परीक्षण नहुँदा उनीहरू घर जान पाएका छैनन् । सरकारले क्वारेन्टिनमा बसेको १४ दिन पुगेपछि आरडीटी परीक्षण गरेर घर पठाउने भने पनि त्यो समेत हुन सकेको छैन । जनशक्ति अभाव, स्वाब संकलन भएअनुसार जाँचका लागि पीसीआर मेसिनको क्षमता नभएकाले धेरैलाई लामो समय क्वारेन्टिनमा बस्नु परिरहेको अवस्था छ ।

मेसिन, जनशक्ति मात्रै हैन, आवश्यक सामानको समेत अभाव

प्रदेश २ को वीरगञ्ज, सप्तरी र जनकपुरमा पीसीआर ल्याब छ । वीरगञ्जको ल्याब तीन सिफ्ट सञ्चालन गर्दा पनि बढीमा तीन सय वटा थ्रोट स्वाबको नमुना परीक्षण मात्रै गर्न सकिन्छ । एक लटमा ३४ वटासम्म नमुना परीक्षण गर्न सकिन्छ । ल्याबमा कन्सल्टेन्ट प्याथोलोजिस्ट डाक्टरसहित ६ जना तालिम प्राप्त कर्मचारी खटिन्छन् ।

प्रदेशमा सञ्चालित अन्य ल्याबको अवस्था पनि उस्तै छ । नारायणी अस्पतालमा ल्याब सञ्चालनमा आउनुअघि हेटौंडास्थित प्रादेशिक ल्याब र केन्द्रीय प्रयोगशालामा पठाउने गरिएको थियो । अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको र केन्द्रीय प्रयोगशालामा स्वाब पठाएर परीक्षण गर्ने गरिएको छ । रिपोर्ट आउन ३/४ दिन कुनुपर्ने बाध्यता छ । रिएजेन्ट, भीटीएमलगायतका समानको अभाव उत्तिकै झेल्नुपरिरहेको छ ।

नारायणी अस्पतालको पीसीआर ल्याबमा झण्डै पाँच हजार पीसीआर परीक्षण गरिएको छ । तैपनि पर्साका ३६ वटा क्वारेन्टिनमा ट्रेसिङ गरिएका ६९ र भारतबाट आएका ५४४ लगायत गरी ५५६ जना छन् । १० दिन नपुगेका २६४ र पुगेका ६८ जनाको स्वाब संकलन र परीक्षण गर्न बाँकी नै छ । जेठ २६ गते मात्रै २०६ जनाको स्वाब संकलन गरिएको छ । रौतहट र बाराबाट समेत वीरगञ्जमा स्वाब संकलन गरेर पठाउने गरिएको छ । क्वारेन्टिनमा बसेकाहरूको पीसीआर परीक्षण हुन सकिरहेको छैन ।

पुरानो ल्याबको जनशक्तिलाई नै पीसीआर ल्याबमा खटाइएकोले नारायणीको जनरल ल्याब सञ्चालन गर्दा झनै जनशक्तिको समस्या आउने नारायणी अस्पतालका डा. उदय नारायण सिंह बताउँछन् ।

‘पर्सा जिल्लाको विभिन्न क्वारेन्टिनमा धेरैको पीसीआर परीक्षण गर्न बाँकी छ । डिमाण्डअनुसारको भीटीएम नआइदिने, रिएजेन्ट पर्याप्त नआउने, पठाइहाले पनि कम्पनी बदलिदिन, किट पनि सक्किने समस्या छ,’ उनले भने, ‘पुरानो प्रयोगशालाकै कर्मचारी पीसीआर मलेकुलर ल्याबमा काम गरिहेका छन् । स्वाब संकलनमा पनि नारायणीको प्राविधिक कर्मचारी खटिन्छन् । ५० प्रतिशत जनशक्ति अभावमै काम भइरहेको छ ।’

क्वारेन्टिनमा बसेकाको १४ दिनमा पछि मात्रै पीसीआर परीक्षण गर्ने नीति लिइएको छ । परीक्षणका क्रममा कुनै-कुनै क्वारेन्टिनमा बसेकाहरूमा कोरोना संक्रमण देखिएको छ । अव्यवस्थित क्वारेन्टिन हुँदा कोरोना संक्रमणको जोखिम उत्तिकै छ । क्वारेन्टिनमा थुप्रिएर बसेकाहरूको पीसीआर परीक्षणपछि नयाँ संक्रमण थपिने सम्भावना देखिएको डा. सिंहको भनाइ छ ।

कोरोना कोषमा एक करोड ४७ लाख

नारायणी अस्पतालको पीसीआर ल्याबको क्षमताले भ्याएसम्म गरिरहेको छ तर त्यतिले पुगिरहेको छैन । कोरोनाको हटस्पट बनेको वीरगञ्ज महानगरपालिकामा समुदाय स्तरमा पर्याप्त मात्रामा काेराेना परीक्षण हुन सकेको छैन । यसै कुरालाई मध्यनजर गरेर वीरगञ्ज महानगरपालिकाले पीसीआर मेसिन खरिदका लागि प्रक्रिया सुरु गरेको छ । आरटी पीसीआर मेसिनका लागि टेन्डर आह्वान भइसकेको छ ।

रकम जुटाउनका लागि कोरोना कोष सञ्चालन गरिएको छ । स्वेच्छिक रुपमा दाताहरूले रकम सहयोग गरिरहेका छन् । कोषमा एक करोड ४७ लाख ८१ हजार ८९१ रुपैयाँ ३२ पैसा संकलन भइसकेको छ । मंगलबार वीरगञ्ज महानगरपालिकामा औपचारिक कार्यक्रमकै आयोजना गरेर वीरगञ्ज उद्योग वाणिज्य संघले ७० लाख ११ हजार १११ रुपैयाँ सहयोग गरे ।

जसमा वीरगञ्ज उद्योग वाणिज्य संघले ११ लाख ११ हजार १११ र बाँकी अरु उद्योगपति दाताहरूले सहयोग गरेको अध्यक्ष गोपाल केडियाले जानकारी दिए । अध्यक्ष केडिया र महानगर प्रमुख विजयकुमार सरावगीबीच त्यो रकम पीसीआर मेसिन खरिद गरी नारायणी अस्पतालमा जडान गर्नमा खर्च गर्ने सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ ।

कोषमा पटेर्वासुगौली गाउँपालिकाले २५ लाख, वीरगञ्ज महानगरपालिका कर्मचारीहरुको तर्फबाट १५ हजार ५४ हजार ७१६ रुपैयाँ, सूर्य नेपाल प्रालीले १५ लाख र अन्य विभिन्न संघ संस्था र व्यक्तिले सहयोग गरेको नगरपालिकाका अधिकृत विकास मिश्रले जानकारी दिए ।

मास टेस्टिङ जरुरी छ- सरावगी

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सरावगी समुदाय स्तरमा परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्न लागिएको बताउँछन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा पीसीआर मेसिन हुँदा हुँदै अर्को मेसिन किन चाहियो त ? भन्ने अनलाइखबरको प्रश्नमा उनले भने-

पर्सा जिल्ला कोरोनाको हटस्पट बन्दा समेत समुदायस्तरमा स्वाब संकलन गरेर टेस्ट हुन सकेको छैन । समुदायस्तरमा परीक्षण गर्ने कुरा छाडौं, क्वारेन्टिनमा लामो समयदेखि बसेका व्यक्तिहरूको समेत परीक्षण हुन सकेको छैन । वीरगञ्जमा पर्साबाट मात्रै होइन, बारा र रौतहटका समेत बिरामी आउँछन् ।

वीरगञ्जमा अहिले प्रयोगमा आइरहेको मेसिन त्रिभुवन विश्वविद्यालयमा कृषि अनुसन्धानको हो । पछि फर्काउनैपर्ने हुन्छ । भोलिका दिनमा कृषिमा प्रयोग गर्न वा कुनै यस्तै खाले भाइरस आउँदा परीक्षण गर्नुपर्छ । त्यसैले सम्पत्तिको रुपमा पनि एउटा पीसीआर मेसिन हुनुपर्छ । पर्सा जिल्लामा १० लाख जनसंख्या होला, दुई प्रतिशतको पीसीआर परीक्षण गर्दा पनि २० हजारको गर्नुपर्छ । एक सय, १५० को दरले गर्ने हो भने पनि दुई सय दिन लाग्ने भयो । यसरी धेरै दिन छोड्दा संक्रमण अझै फैलने सम्भावना हुन्छ । इलाकालाई ब्लक गर्दै परीक्षण गर्नुपर्छ । कोरोना कोषमा संकलमा एक पटकमा ७२ वटा स्वाब परीक्षण गर्ने मेसिन खरिद गर्ने र दिनभरिमा दुई हजारसम्म परीक्षण गर्न सकिन्छ ।

तीन महिनादेखि सुनिरहेको कुरा हो । कोभिड– १९ रोग मान्छेबाट मान्छेमा सर्ने रोग हो । भारतबाट आएका अधिकांश अब क्वारेन्टिनबाट निस्केर समुदायमा गइरहेका छन् । मैले पहिलेदेखि नै कोभिडलाई नियन्त्रणका लागि मास टेस्टिङ गर्नुपर्छ । व्यापक टेस्टिङका लागि कार्य क्षमतामा नै अभिवृद्धि गर्नुपर्छ । काठमाडौं, हेटौंडा, भरतपुर पठाएर हुँदैन । यहाँ मेसिन र जनशक्तिको अभाव हो । मेसिन खरिद गर्दैछौं । केन्द्र र प्रदेश सरकारसँग जनशक्ति माग गरिसकेका छौं, जुन सरकारले दिएपनि ठिकै छ हामीलाई जनशक्ति चाहियो । त्यसमा पनि असमर्थ छन् भने वीरगञ्ज महानगरपालिका आफै‌ँले जनशक्ति तयार पारेर व्यापक टेस्टिङ गर्छ । पर्सा जिल्लालाई छिटोभन्दा छिटो ग्रिन जोन बनाउन नसकेको अवस्थामा अन्य गतिविधि गर्न सकिँदैन, लकडाउनमै बस्नुपर्ने बाध्यता हुन्छ । ट्रान्जिट, औद्योगिक र व्यापारिक नगरी भएकोले जोखिम बढी छ ।

त्यसपछि बाहिरबाट आउनेलाई अनिवार्य पीसीआर टेस्ट गरेर मात्रै आउन दिनुपर्छ । सहयोग लिने काम केन्द्र सरकार र प्रदेश सरकारले लिएको भए पनि परिचालित हुन नसकेको सरावगी बताउँछन् । सबै सरकारले वीरगञ्जलाई जुन किसिमले माया गर्नुपर्ने थियो, त्यो देखिएन । आइसोलेसन, क्वोरन्टिनको व्यवस्थापन मात्रै होइन, कोभिड अस्पताल समेत वीरगञ्ज महानगरपलिकाले सञ्चालन गर्नुपरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment