Comments Add Comment

देशभर लकडाउन अवज्ञाका ५ सूचक

२६ वैशाख, काठमाडौं । सरकारले औपचारिक रुपमा लकडाउन अन्त्य भएको घोषणा गरेको छैन । जेठ ३२ गतेसम्मका लागि घोषणा गरिएको लकडाउनको मोडालिटी बनाउन भन्दै मन्त्रालयमा मध्यरातसम्म बैठकहरु हुने गरेका छन् । सरकार लकडानलाई कसरी खुकुलो पार्ने भन्नेबारे सोचिरहेको छ ।

तर, सरकारी अधिकारीहरु सोचमग्न भइरहेका बेला जनताले आफैं निर्णय लिइसके । शहरमा निजी सवारी साधन गुड्न थालिसके । पसल, रेष्टुरेन्ट र व्यवसायहरु खुल्न थालिसके । सरकार भने लकडाउनबारे सोचेको सोच्यै छ ।

आइतबारजस्तै सोमबार पनि देशका मुख्य शहरमा लकडाउनको अनुभूत खासै देखिएन । लकडाउनबारे सरकारी निर्देशन उल्लघंन गर्ने क्रम जारी रहेको छ । कतिपय ठाउँमा प्रहरीले सवारी साधन रोक्न खोजे पनि सरकारी प्रयास ‘बिचरा’ सावित भएको छ ।

लकडाउन अघोषितरुपमा खुलिसकेको वा खुकुलो भएको केही सूचक हामीले यहाँ पाँच तथ्यांकमा देखाउने प्रयास गरेका छौँ–

१. सडकमा सवारी साधन र मानिसको चाप

उपत्यकामा सवारी साधनको चाप बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सवारी साधन कति सडकमा निस्किए भन्ने तथ्यांक नभए पनि लकडाउन उल्लंघन गरेका कारण होल्डमा राखिएका सवारी साधनको संख्या बढ्न थालेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

जेठ १८ गते होल्ड गरिएका सवारी साधनको संख्या एक हजार ६५ रहेकोमा २१ गते उक्त संख्या २४ सय ६६ पुगेको श्रेष्ठले बताए । यस्तै २२ गते उपत्यकामा होल्ड गराइएका सवारी साधनको संख्या १९ सय ८३ थियो ।

सरकारले कृषिजन्य उत्पादन, बैंक तथा वित्तीय संस्था, निर्माण र उद्योगका कच्चा पदार्थलगायतका अत्यवश्यक सेवा खोल्न दिन गरेको निर्णयका कारणले पनि सवारी चाप बढेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अत्यावश्यक सेवाको व्यवस्थापनमा खट्ने मानिसहरुको आवत–जावत तथा केही मानिस बाहिरी जिल्लाबाट पास लिएर आउने क्रम बढेकाले पनि सडकमा चाप बढेको उनले बताए ।

एकाध मानिसहरु लकडाउन खुलेको वा नखुलेको हेर्न पनि सवारी लिएर सडकमा निस्किएको पाइएको प्रवक्ता श्रेष्ठ बताउँछन् ।

सडकमा सवारी साधन मात्रै हैन, पैदल हिँड्ने मानिसहरुको संख्या पनि उल्लेख्यरुपमा बढेको छ ।

यो पनि पढ्नुहोस अचानक कसरी खुल्यो वीरगञ्ज बजार ?

बिराटनगरमा तीनदिन यता बजार र निजी सवारीसाधनको चाप बढेको छ । बिहान १२ बजेसम्म सहरमा भिडभाड देखिन थालिसकेको छ । जनकपुरमा पनि पेशा व्यवसाय र निजी सवारी साधनहरु बाक्लै चल्न थालेका छन् ।

चितवन, बुटवल, नेपालगञ्ज हुँदै धनगढीसम्म लकडाउनको अवज्ञा स्वस्फूर्तरुपमा हुन थालेको छ ।

यो पनि पढ्नुहोस बजार खुल्यो, सामान्य बन्दै जनकपुरधाम

२.  बढ्यो इन्धन खपत

लकडाउनका कारण २० प्रतिशतमा सीमित इन्धनको माग विस्तारै बढ्न थालेको छ । जेठ २२ गते देशभर ८ सय ३५ किलोलिटर पेट्रोल, पाँच हजार ६ किलालिटर डिजेलको बिक्री भएको थियो । तर, २५ गते इन्धनको बिक्रीमा उल्लेख्य बृद्धि भएको छ । लकडाउन कडाइ भएको २२ गतेको तुलनामा २५ गते पेट्रोलको बिक्री १६५ किलोलिटरले बढेको छ । यस्तै २५ गते डिजेलको बिक्री पनि एक हजार किलोलिटरले देशभर बढेको छ ।

काठमाडाैं उपत्याकामा पाँच दिनअघि दैनिक ३५० किलोलिटर बिक्री रहेको डिजेल आइतबार एक सय किलोलिटरले बढेर ४५० किलोलिटर प्रतिदिन पुगेको छ । यस्तै पेट्रोलको बिक्री पनि पहिलेको तुलनामा एकसय किलोलिटरले बढेको नेपाल आयल निगमले जनाएको छ । इन्धनको खपत हरेक दिन बढ्दो क्रममा रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

३.  भन्सारको ब्यापार बढ्यो

भारतमा आंशिकरुपमा खुलेको लकडाउनका कारण त्यासको प्रभाव नेपालमा पनि देखिएको छ । लकडाउनको सुरुआती दिनमा नेपालको बाह्य व्यपार दैनिक ५० देखि ६० करोडको हाराहारीमा थियो । तर, लकडाउनको ११ औं हप्तामा आइपुग्दा दैनिक कारोबार ३ अर्ब हाराहारी पुगेको भन्सार विभागले जनाएको छ ।

सुरुआती दिनमा भन्दा बाह्य ब्यापारको गति बढेको विभागका महानिर्देशक सुमन दाहालले बताए । सामान्य अवस्थामा दैनिक ५ अर्बको बाह्या ब्यापार गर्ने देशभरको भन्सार कार्यालयहरुले लकडाउनको ११ औँ हप्तामा आईपुग्दा ६० प्रतिशतमा पुगेको उनले बताए ।

४. साना व्यवसाय सञ्चालन दर ७५ प्रतिशत

लकडाउन जारी रहेकै समयमा पनि देशभर अधिकांश साना व्यवसायहरु सञ्चालनमा आएका छन् । देशभर रहेका २७ हजार साना पसलहरु मध्ये मोटामोटी ७५ प्रतिशत पसलहरु सञ्चालनमा आएको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।

गाउँ गएका मानिसहरु फर्कन नपाएर केही व्यवसाय चल्न नपाए पनि शुक्रबारयता ठूलो मात्रामा व्यवसाय सञ्चालनमा आएको महासंघका अध्यक्ष नरेश कटवाल बताउँछन् ।

५. सुनचाँदीको भाउ ७८ दिनपछि तोकियो

सुनचाँदी व्यवसायी महासंघले ७८ दिनपछि सोमबार सुनचाँदीको बजार भाउ तोकेको छ । देशका कतिपय सहरहरुमा स्थानीय तहले निश्चित समय तथा कयौँ ठाउँमा सुरक्षा विधि अपनाएर पसल निर्बाध खोल्न पाइने व्यवस्था गरेपछि भाउ तोकिएको महासंघले जनाएको छ ।

कोरोना कारण सरकारले लकडाउन घोषणा गर्नु तीन दिन अघिदेखि महासंघले देशभरका १० हजारभन्दा धेरै सुन पसलको कारोबार स्थगनको घोषणा गरेका थिए । उद्योग वाणिज्य महासंघबाट सदस्यता लिएर कयौँ सुन पसलहरुले कारोबार थालेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । खुलेका सुन पसललाई कारोबार गर्न असहजता नहोस् भनेरै महासंघले भाउ तोकिदिएको उनले बताए ।

काठमाडौंमा सोमबार देखिएको चहल पहलका थप तस्वीर–

तस्वीरहरु : विकास श्रेष्ठ/चन्द्रबहादुर आले/ आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment