Comments Add Comment
कोरोना संक्रमितको शव व्यवस्थापनमा लफडा :

जनप्रतिनिधिले बाटो छेके, प्रहरीले लाठी हान्यो

२६ जेठ, पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पोखरामा मृत्यु भएका स्याङ्जाका ६० वर्षीय पुरुषको शव व्यवस्थापन गर्न प्रशासनलाई हम्मेहम्मे परेको छ ।

शव लिएर गएको गाडीको बाटो छेक्न स्थानीयबासीसँगै स्थानीय जनप्रतिनिधि, प्रदेश सांसदसमेत आएपछि प्रहरीले लाठी चार्ज गर्नुपरेको छ ।

जेठ २२ गते सुनौली नाकाबाट उद्दार गरिएका वालिङ नगरपालिकाका उनलाई २३ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा भर्ना गरिएको थियो । उनमा कोरोना संक्रमण भएको आइतबार पुष्टि भयो भने राति उपचारका क्रममा मृत्यु भएको थियो ।

शव व्यवस्थापन कहाँ गर्ने भन्ने टुंगो १६ घण्टासम्म उनको शव अस्पतालको आइसोलेसनमा अरु सं‌क्रमितसँगै रह्यो ।

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनसम्बन्धी कार्यविधि अनुसार यसका लागि स्थानीय तह, प्रशासन र नेपाली सेनाले आपसी समन्वयमा गर्नुपर्छ । त्यसअनुसार घाट खोज्ने जिम्मा पोखरा महानगरपालिकाले पायो भने व्यवस्थापन गर्ने जिम्मा पोखरा फूलबारीस्थित भगवती दल गणलाई दिइएको थियो ।

महानगरले वडा नं ११ मणिपाल शिक्षण अस्पतालभन्दा केही तलको सेती नदीस्थित रिठ्ठे घाटमा संक्रमितको शव गाड्ने निधो गर्‍यो । नेपाली सेनाले शव गाड्न खाल्डो खनेर ठिक्क पारिसकेका थिए । तर वडा नम्बर ११ र २० का वासिन्दाले विरोध गरे । सेती किनारमा शव गाड्दा आफूहरुलाई जोखिम हुने उनीहरुको तर्क थियो ।

पोखरा महानगरको वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोला, वडा नम्बर २० का अध्यक्ष सिम गुरुङ, प्रदेश सांसद विन्दुकुमार थापा समेत शव लैजान नदिने अडानमा थिए ।

पश्चिमाञ्चल अस्पतालको ठिक अगाडि रामघाट हुँदै शव गाड्न ल्याइएको भन्दै स्थानीयले विरोध गरे । नेपाली सेनाको टोलीले शव लैजान खोज्दा स्थानीय वासिन्दाले पटकपटक अवरोध गरेपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरेको थियो ।

विरोध गर्नेहरुले शव बोकेको गाडीको बाटो नै छेक्न आएपछि प्रहरीले लाठी चार्जसमेत गरेको छ । प्रहरीको लाठीचार्जबाट वडाध्यक्ष बास्तोलासहित केही सामान्य घाइते भएका छन् ।

श्रीमानको शव हेर्न उनकी श्रीमती छोरीसहित दिउँसै अस्पताल पुगेका थिए । तर शव व्यवस्थापनमा अवरोध हुँदा आफन्त गुमाएका उनीहरुमाथि भने थप पीडा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment