+
+
Shares

सरकारको ‘उद्धार सूची’ देखेर दूतावासका कर्मचारी ट्वाँ !

अमेरिका र अष्ट्रेलियाबाट २ हजार, यूएईबाट ४ सय मात्र

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २७ गते ८:४५

२७ जेठ, काठमाडौं । कोभिड–१९ महामारी र लकडाउनका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीमध्ये तत्कालै उद्धार गर्नुपर्ने नागरिकको सूची सोमबार सार्वजनिक भयो । परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सोमबार बुझाएको सूची हेरेर यूएईस्थित नेपाली दूतावासका अधिकारीहरु तीन छक खाए ।

सुचीमा यूईबाट जम्मा ४१० जना मात्रै कामदार उद्धार गर्नुपर्ने उल्लेख छ । जब कि सरकारले अष्ट्रेलियाबाट १३ सय र अमेरिकाबाट साढे ६ सय व्यक्तिसहित ३० देशबाट सरकारले २४ हजार १४८ उद्धार गर्नुपर्ने सूची तयार गरेको छ ।

शुक्रबार १६९ यात्रुलाई नेपाल पठाएको यूएईस्थित नेपाली दूतावासले सरकारलाई २५ हजार नेपाली तुरुन्तै नेपाल फर्किन सक्ने जानकारीसहितको सूची दिएको थियो । त्यसमध्ये करिब १० हजार त तुरुन्तै उद्धार गर्नुपर्ने गरी अप्ठेरो अवस्थामा रहेको दूतावासको भनाइ छ ।

कोभिड–१९ले खाडीका देशमध्ये आर्थिक हिसाबले यूएईलाई सबैभन्दा बढी थिल्थलो बनाएको मानिन्छ । यूएईमै सबैभन्दा बढी नेपाली कामदारले रोजगारी गुमाएको दूतावासको तथ्यांकले पनि देखाउँछ ।

तर, सरकारको सूचीमा उद्धार गर्नुपर्ने ४१० मात्रै कसरी पर्‍यो भनेर दूतावासका अधिकारीले सोमबार बेलुका नै मन्त्रालयका केही अधिकारीलाई टेलिफोनमार्फत सोधेका थिए । तर, त्यसबारे मन्त्रालयका जिम्मेवार अधिकारी नै अनभिज्ञ देखिएका छन् । यो विषय पराराष्ट्र मन्त्रीलाई जानकारी गराउन कर्मचारीहरुले राजदूतलाई सुझाव दिएका छन् ।

‘यहाँबाट ४१० जना मात्रै उद्धार गर्नुपर्ने काठमाडौं पठाएको भ्रम अलपत्र कामदारहरुमा पर्‍यो भने हामीलाई बस्न टिक्न गाह्रो हुन्छ,’ दूतावासका एक अधिकारी भन्छन्, ‘यसै पनि एक हप्तादेखि दूतावासमा कामदारले अनेक तवरबाट हामीमाथि उद्धार छिटो गर्न दबाव बढाएका छन् ।’

आइतबार मात्रै दर्जनौंको संख्यामा गएका नेपाली कामदारले दूतावासको गेटमा धर्ना दिएका थिए । उनीहरुले नराबाजी समेत गरेर छिटो उद्धार गर्न दूतावासको ध्यानाकर्षण गराएका थिए ।

उनीहरुको भीडलाई गेटबाटै स्थानीय प्रहरीले बलपूर्वक तितर–बितर पारेको थियो । कामदारले दूतावासले प्रहरी बोलाएर लखेटेको आरोप लगाए पनि पनि दूतावासका अधिकारीहरुले प्रहरीको गस्ती टोलीले भीडलाई हटाएको हुन सक्ने बताएका छन् ।

यूएईमा पछिल्लो सयममा भिजिट भिसा लगाएर जानेहरु सबैभन्दा धेरै पीडित भएका छन् । धेरैको जागिर गएको छ भने कतिले काम गरे पनि तलब पाएका छैनन् । कतिपय कामदार कम्पनी बन्द भएकाले अलपत्र बन्न पुगेका छन् ।

भिसाको अवधि सकिएर फर्किन नपाएकाहरुको संख्या सबैभन्दा धेरै छ । त्यसैगरी लकडाउन अघि नै विभिन्न कारणले जागिर छोडेर स्वदेश फर्किन लागेकाहरु उतै अलपत्र छन् । उनीहरु पटक–पटक दूतावासको गेटमा धर्ना दिन पुग्ने गरेका छन् ।

दूतावासले पछिल्लो समय फोन नै नउठाएको गुनासो छ । दूतावासका अधिकारीले म्यासेज रिप्लाई नगरेको, कम्पनीमा उत्पन्न श्रम समस्या समाधान गर्न सहयोग नगरेको र ढोका बन्द गरेर कामदारको समस्यालाई नजरअन्दाज गरेको आरोप पीडित कामदारहरुले लगाएका छन् ।

दैनिक २ हजारभन्दा बढी फोन आउने गरे पनि कहिलेदेखि उद्धार सुरु हुन्छ भन्ने प्रश्नको जवाफ दिन नसकिएको र कामदारको समस्या समाधान गर्न नसकेर निरीह बन्नुपरेको गुनासो दूतावासका अधिकारीहरूको छ ।

‘यस्तो समयमा  अमेरिकाबाट साढे ६ सयको उद्धार गर्नुपर्ने उल्लेख भएको सूचीमा यूएईबाट ४ सय मात्रै उल्लेख हुनु अनौठो छ,’ दूतावासका एक अधिकारी भन्छन्, ‘यो सत्य वा गल्ती जे भए पनि सच्याउनुपर्छ ।’

उद्धार गर्नेहरुको संख्या

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?