+
+
Shares
जेनजी प्रदर्शनमा मृत्यु :

७ शवको कंकाल मात्रै, प्रहरी भन्छ- कोही आफन्त सम्पर्कमा छैनन्

शव पहिचान कसरी हुन्छ ?

‘पहिचान हुन नसक्ने गरी पूर्ण रूपमा जलेका ७ वटा शव आएको छ । तिनको कंकाल मात्र बाँकी छ,’ डा. चौधरीले भने ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ असोज १ गते २१:३४

१ असोज, काठमाडौं । गत २३ र २४ भदौमा जेनजीले आह्वान गरेको प्रदर्शनका क्रममा विभिन्न भौतिक संरचनाहरूको क्षति, तोडफोड र आगजनी भयो ।

गत बुधबार (२४ भदौ) चुप्चेपाटीमा रहेको भाटभटेनी आगजानी भयो । केही दिनपछि सरसफाइ गर्ने क्रममा ७ जनाको शव फेला परेको थियो । ती शव पहिचानका लागि अहिले त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा छन् ।

फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार जेनजी प्रर्दशनका क्रममा मृत्यु भएका ४६ वटा शव पोस्टमार्टमका लागि आइपुगेका थिए । जसमध्ये ३९ जनाको पोस्टमार्टम गरिसकेर आफन्तले बुझिसकेका छन् । तर ७ वटा शव भने पूर्ण जलेका अवस्थामा छन् । उक्त शवको पोस्टमार्टम भएको छैन ।

बिहीबार कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा एउटा शव भेटिएसँगै जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।

‘पहिचान हुन नसक्ने गरी पूर्ण रूपमा जलेका ७ वटा शव आएको छ । तिनको कंकाल मात्र बाँकी छ,’ डा. चौधरीले अनलाइनखबरसँग भने ।

जलिरहेको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट/फाइल तस्वीर

डीएनए परीक्षणबाट मात्र पहिचान सम्भव

डा. चौधरीका अनुसार ती शव अत्याधिक जलेको अवस्थामा छन् । शरीरको मांशपेशी पूर्ण रूपमा जलेर हड्डी मात्र बाँकी छ ।

शव जलेको अवस्थामा परम्परागत पहिचान विधि काम नगर्ने भएकाले डीएनए परीक्षणबाट मात्र पहिचान गर्न सकिने उनले बताए ।

तर यो प्रक्रिया समय र स्रोतको हिसाबले जटिल हुन्छ ।

डा. चौधरीका अनुसार डीएनए विश्लेषण तीन मुख्य चरणमा गर्ने गरिन्छ । पहिलो चरणमा डीएनए निकाल्ने काम गरिन्छ ।

उनले स्पष्ट पार्दै भने, ‘डीएनए सेतो रक्तकोशिकाबाट निकालिन्छ, किनभने रातो रक्तकोशिकामा न्युक्लियस हुँदैन ।’

त्यसैगरी जलेका शवबाट हड्डी वा दाँतबाट डीएनए निकाल्न सकिन्छ । तर नष्ट भएको हुन हुँदैन ।

दोस्रो चरणमा पोलिमरेज चेन रियाक्सन (पीसीआर–एम) प्रक्रिया अपनाइन्छ ।

डा. गोपाल चौधरी

उनका अनुसार डीएनएको मात्रा कम भएमा पीसीआर–एम प्रक्रियाबाट डीएनएको मात्रा बढाइन्छ । यसले डीएनएको सिक्वेन्स एडिनिन, ग्वानिन, थाइमिन, साइटोसिन विश्लेषण गर्न सहज बनाउने उनको भनाइ छ ।

तेस्रो चरणमा प्रोफाइल म्याचिङ गरिन्छ ।

मृतकको डीएनए प्रोफाइललाई उनका बुबा वा आमाको डीएनएसँग तुलना गरिन्छ । बुबा वा आमाको डीएनए ५०–५० प्रतिशत मेल खाने भएकाले पहिचान गर्न सहज हुने उनले बताए ।

ती शव पूर्णरूपमा जलेको छैन र केही तन्तु बाँकी छन्, त्यसबाट डीएनए निकालेर विश्लेषण गरिन्छ । दाँत पूर्ण रूपमा नजलेको भए दाँतबाट पनि डीएनए नमुना लिन सकिन्छ । तर यदि दाँत पनि पूर्ण रूपमा जलेको भए हड्डीबाट नमुना संकलन गर्नुपर्ने हुन्छ ।

शव पूर्ण रूपमा जलेको भए डीएनए परीक्षणका लागि नमुना निकाल्न सम्भव नहुने डा. चौधरीले बताए ।

डा. चौधरीका अनुसार प्रहरीबाट सम्पूर्ण रूपमा जलेको कंकाल आएको जानकारी छ । अहिले ती शव पोका–पोका पारेर फ्रिजमा राखिएको छ । प्रहरीबाट पोस्टमार्टमको प्रक्रिया अगाडि बढाउने जानकारी आएपछि मात्रै काम थालिने उनले बताए ।

आन्दोलनका क्रममा जलेका भवनहरूमा मानव अस्थिपञ्जरहरू भेटिएकाले हराएका, सम्पर्कमा नआएका आफन्त तथा परिवारजनबारे जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।

‘अब परीक्षण गर्नु भन्ने पत्र आएपछि हेर्छौं । तर, शव पूर्ण रूपमा जलेको भए डीएनए परीक्षणबाट पनि पहिचान गर्न सकिँदैन,’ उनले भने ।

उनका अनुसार धेरै दिनसम्म जलेको शवमा डीएनको नमुना पनि नष्ट भइसकेको हुन्छ ।

डा. चौधरी भन्छन्, ‘लगातार दुई–तीन दिनसम्म आगोको तापमा बसेको शवमा नमुना सबै नष्ट भइसकेको हुन सक्ने अनुमान छ,’ डा. चौधरी भन्छन् ।

नमुना निकालेपछि नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा लगेर नमुनाबाट डीएनए निकालिने छ ।

‘हाम्रो काम गरेको नमुना निकाल्ने हो । त्यो नमुना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा लगेर मृतकको आमा वा बुबासँग परीक्षण हुन्छ,’ उनले थपे, ‘डीएनए आधा आमासँग आधा बुबासँग मिल्छ ।’

पहिचानका लागि आफन्तहरूले दाबी गर्न आए पछि आमा र बुवाको डीएनए र शवको डीएनए म्याचिङ भएपछि मात्रै शव हस्तान्तरण हुनेछ ।

पहिचान नभए के हुन्छ ?

यदि डीएनए परीक्षणबाट पनि पहिचान शवको कसको पत्ता लगाउने कुनै विकल्प रहँदैन । यस्तो अवस्थामा न त पहिचान खुल्छ न त मृत्युको कारण नै खुल्छ ।

हालसम्म यी जलेका शवका लागि कुनै आफन्तहरू फरेन्सिक विभागमा आएका छैनन् । फरेन्सिक विभागले बिहिबारदेखि जलेका शवको डीएनए नमुना संकलनको तयारी गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले ती जलेका शवका आफन्त अहिलेसम्म सम्पर्कमा नआएका जानकारी दिएको छ ।

आन्दोलनका क्रममा जलेका भवनहरूमा मानव अस्थिपञ्जरहरू भेटिएकाले हराएका, सम्पर्कमा नआएका आफन्त तथा परिवारजनबारे जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।

काठमाडौं जिल्लाका विभिन्न स्थानमा रहेका भवनहरूको सरसफाइ तथा उद्धारको क्रममा आगोमा जली पहिचानसमेत खुल्न नसकेका मानव अस्थिपञ्जरहरू भेटिएका परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै जेनजी प्रदर्शनपछि हराइरहेका, सम्पर्कमा नरहेका, सम्पर्कमा नआएका आफन्त तथा परिवारजनका सदस्यहरू कोही भएमा प्रहरी कन्ट्रोल नम्बर १०० र जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बर ९८५१२८३०१२ मा वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरेको छ ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?