+
+
Shares

जेनजी आन्दोलनको बहानामा दुग्ध किसानको भुक्तानी रोक्ने खेल

यसअघि सरकार, उद्योगी र किसानबीच ५ असोजसम्म दूधको बक्यौता भुक्तानी गरिसक्ने सहमति भए पनि जेनजीको अगुवाइमा भएको आन्दोलनलाई देखाएर उम्कने प्रयासमा डेरी उद्योगहरु छन् ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ असोज १ गते २१:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दुग्ध किसानहरूले ५ असोजभित्र दूधको बक्यौता भुक्तानी पाउने सहमति भए पनि हालसम्म भुक्तानीको अवस्था अन्योलमा छ।
  • डीडीसीले दशैंअघि चैत महिनासम्मको मात्र बक्यौता भुक्तानी गर्ने र बाँकी भुक्तानी क्रमशः दशैंपछि गर्ने जनाएको छ।
  • सरकार, डेरी उद्योग र किसानबीच ६ बुँदे सहमति भए पनि राजनीतिक आन्दोलन र बजार अस्थिरताले भुक्तानी प्रक्रिया जटिल भएको छ।

१ असोज, काठमाडौं । नेपालीहरूको महान चाड दशैं नजिकिँदै गर्दा दुग्ध किसानहरूले लामो समयदेखि पाउनुपर्ने दूधको बक्यौता भुक्तानीको अवस्था थप अन्योल बनेको छ ।

यसअघि दुग्ध किसानको आन्दोलनका क्रममा ५ असोजभित्र बाँकी बक्यौता भुक्तानी गर्ने सहमति भएको थियो । तर, जेनजी आन्दोलन, बन्द-हड्ताल र बजारको अस्थिरताका कारण सहमति कार्यान्वयन नहुने हो कि भन्ने चिन्ता किसानलाई थपिएको छ ।

१५ भदौमा दुग्ध उत्पादक किसानहरूले सात महिनादेखि नपाएको दूधको बक्यौता भुक्तानी माग गर्दै आन्दोलन गरेका थिए ।

दुग्ध किसान आन्दोलनमा उत्रिएपछि १८ भदौमा सरकार र डेरी उद्योगीहरूले दुग्ध उत्पादक किसानसँग दशैंअघि नै भुक्तानी गर्ने सहित ६ बुँदे सहमति गरेका थिए ।

उक्त ६ बुँदे सहमति कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव पशुपति ढुंगाना, केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनका पदाधिकारीहरूले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार २०८२ असार मसान्तसम्मको बक्यौता रकम  ५ असोजभित्र भुक्तानी गर्ने भनिएको थियो । यस्तै, साउन मसान्तसम्मको बक्यौता रकम  ३० असोज र भदौ मसान्तसम्मको बक्यौता कात्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति भएको थियो । त्यसपछि बाँकी पैसा भुक्तानी नियमित गर्दै जाने भनिएको थियो ।

दुग्ध विकास संस्थान (डीडीसी) ले मात्र दुग्ध किसानलाई तिर्नुपर्ने बक्यौता झन्डै एक अर्ब रुपैयाँ छ । २०७८ यता डीडीसीले दूधको बक्यौता तिर्न भन्दै अर्थ मन्त्रालयसँग पटक–पटक गरी १ अर्ब २५ करोड ऋण लिएको छ । दुग्ध किसानले सरकारी र निजी गरी झन्डै ३ अर्ब रुपैयाँ बक्यौता भुक्तानी पाउन बाँकी छ ।

‘अझै २–४ दिन केही भन्न सकिँदैन’

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले दुग्ध किसानहरूलाई दशैंअघि दूधको भुक्तानी दिने सम्बन्धमा हालको अवस्था अन्योल रहेको बताएका छन् । हालसम्म भुक्तानीको स्थितिबारे पूर्ण स्पष्ट जानकारी नआएको र यसको वास्तविक अवस्था बुझ्न अझै केही दिन लाग्ने उनको भनाइ छ ।

‘पछिल्लो समयमा भएका बन्द, हड्ताल र अन्य विभिन्न कारणले गर्दा दुग्ध उद्योगमा असर परेकाले भुक्तानी प्रक्रिया जटिल हुने हो कि भन्ने आशंका छ,’ अध्यक्ष दाहालले अनलाइनखबरसँग भने, ‘हालैको परिस्थितिले गर्दा पनि बजारमा पैसा संकलनमा समस्या भएको छ ।’

अध्यक्ष दाहालले भुक्तानीसम्बन्धी स्पष्टता ल्याउन भुक्तानी गर्नुपर्ने पक्षहरूले आफ्नो अवस्था र कठिनाइबारे औपचारिक जानकारी दिनुपर्ने बताएका छन् ।

यस्तो जानकारी प्राप्त भएपछि मात्र एक वा दुई दिनभित्र केही स्पष्टता आउने उनको भनाइ छ । यद्यपि, समग्र स्थिति स्पष्ट हुन तीन-चार दिन पनि लाग्न सक्ने उनी बताउँछन् । अध्यक्ष दाहालले दशैंअघि नै किसानहरूलाई भुक्तानी दिने सक्दो प्रयास भइरहेको पनि बताए ।

५ असोजमा भुक्तानी गर्ने सहमतिमा हाम्रो संलग्नता छैन : डीडीसी

डीडीसीले दुग्ध किसानलाई असार मसान्तसम्मकै भुक्तानी गर्न नसकिने स्पष्ट पारेको छ । डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतमले दशैंअघि दुग्ध किसानहरूलाई चैत महिनासम्मको मात्रै भुक्तानी गरिने बताए ।

यसअघि, दुग्ध किसानहरूले आन्दोलन गर्दा ५ असोजसम्म भुक्तानी गर्ने सहमतिमा डीडीसीको संलग्नता नरहेको र त्यो सहमति मन्त्रालयका अधिकारीहरूले गरेको उनको दाबी छ ।

‘मन्त्रालयका मान्छेले आफैं खुशी त्यो सहमति गरेका भए मन्त्रालयले पैसा हामीलाई पैसा दिनुपर्यो,’ उनले भने, ‘संस्थानले नै तिर्ने हो भने हामीसँग पैसा छैन, किसानबाट लिएको दूधलाई क्यास (नगद) मा परिणत गर्न नसक्दा  गोदाममा रहेको मौज्दात सामानहरू बिग्रिन थालेको अवस्थामा छ ।’

दशैंअघि चैत महिनाको भुक्तानी गरिने भए पनि बाँकी वैशाखदेखिको बक्यौता भने दशैंपछि मात्रै क्रमश: गरिने उनले बताए । ‘दशैं सकिनेबित्तिकै फेरि हामी १५ दिनको भुक्तानी दिन्छौं,’ गौतमले भने ।

पूर्ण भुक्तानीको ग्यारेन्टी गर्न मुश्किल छ : अध्यक्ष बगाले

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले दशैंअघि दुग्ध किसानहरूलाई भुक्तानी दिने सहमति भए पनि पछिल्लो राजनीतिक तथा आन्दोलनको परिवेशले गर्दा भुक्तानीको अवस्था राम्रो नरहेको बताए ।

अध्यक्ष बगालेले समग्र आन्दोलनले गर्दा सबैलाई अप्ठेरो परेको र देशको अवस्था बर्बाद भएको टिप्पणी गरे । उनका अनुसार सबै सरोकारवाला निकायहरूसँग निरन्तर छलफल भइरहेको र डीडीसीले पनि हिजो केही भुक्तानी पठाएको छ ।

‘दशैंअघि भुक्तानीको स्पष्ट चित्र आउन अझै दुई-चार दिन लाग्नेछ,’ उनले भने, ‘आज र भोलिभित्र सबै संस्थाबाट भुक्तानीसम्बन्धी विवरण संकलन गरी ३–४ गतेसम्ममा एउटा राम्रो निष्कर्षमा पुग्न सकिने आशा छ ।’

दशैंको समयमा किसानहरूलाई वर्षभरको दूधको भुक्तानी दिने र नाफा-बोनस वितरण गर्ने चलन रहेकोले सकेसम्म राम्रो सन्देश दिन आफूहरू प्रयासरत रहेको बगालेले जानकारी दिए ।

असोज ३ र ४ गतेसम्ममा सबै कुरा व्यवस्थित गर्न सके राम्रो सन्देश जाने उनले बताए । यद्यपि, उनले अहिले नै भुक्तानीको यकिन मिति वा पूर्ण भुक्तानीको ग्यारेन्टी गर्न नसकिने बताए ।

‘चैत महिनाकै भुक्तानी हुनेमा शंका’

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले दुग्ध किसानलाई चैत महिनाकै भुक्तानी हुनेमा अन्यौल रहेको बताएको छ ।

संघका महासचिव राम आचार्यले ५ असोज नजिकिँदै गर्दा पनि भुक्तानीको स्पष्ट खाका नआएको बताए । उनले ‘सामान बिकेन, घ्यू बिकेन’ जस्ता बहानाहरू आउन सक्ने डर व्यक्त गर्दै यसले किसानहरू थप मर्कामा पर्ने  सक्ने चिन्ता व्यक्त गरे ।

भुक्तानीसम्बन्धी पछिल्लो अवस्थाबारे थप जानकारी लिन र सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउन महासचिव आचार्यले कृषि मन्त्रालय र दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धकलाई भेट्ने कार्यक्रम रहेको पनि बताए ।

उक्त भेटपछि मात्र भुक्तानीको सम्बन्धमा केही स्पष्टता आउने अपेक्षा गरिएको छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?