+
+
Shares

डीडीसी महाप्रबन्धकको जिम्मेवारी डा. शरण पाण्डेलाई

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते २२:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण पाण्डे दुग्ध विकास संस्थानको महाप्रबन्धकमा नियुक्त भएका छन्।
  • पाण्डेले किसानको ५० करोड रुपैयाँ बराबरको बक्यौता तीन महिनाभित्र भुक्तानी गर्ने योजना बनाएको बताए।
  • संस्थानलाई घाटाबाट मुक्त गराउँदै किसान र उपभोक्तामैत्री बनाउन पाण्डेले अधिकतम प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

१७ वैशाख, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण पाण्डे दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धकमा नियुक्त भएका छन् ।

कृषिमन्त्री गीता चौधरीको मन्त्रीस्तरीय निर्णयबाट यो जिम्मेवारी पाएका पाण्डेले बिहीबार नै संस्थानको केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गरेलगत्तै नवनियुक्त महाप्रबन्धक पाण्डेले संस्थानको सबैभन्दा ठूलो समस्याको रूपमा रहेको किसानको भुक्तानीलाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन् ।

उनले किसानको ५० करोड रुपैयाँ बराबरको बक्यौता आगामी तीन महिनाभित्र भुक्तानी गरिसक्ने योजना बनाएको बताए ।

‘मेरो पहिलो प्राथमिकता किसानको बाँकी रकम चुक्ता गर्नु हो,’ पाण्डेले अनलाइनखबरसँग भने, ‘तीन महिनाभित्र सबै बक्यौता तिरेर आगामी दिनमा दूध खरिद गरेको १० देखि १५ दिनभित्रै किसानले पैसा पाउने गरी नियमित भुक्तानी प्रणाली (पेमेन्ट साइकल) विकास गर्ने मेरो योजना छ ।’

पाण्डेको नियुक्तिसँगै डीडीसीको कर्मचारी संरचनामा पनि केही फेरबदल भएको छ । यसअघि निमित्त महाप्रबन्धकको जिम्मेवारीमा रहेका सञ्जीव झा संस्थानकै आठौँ तहको जिम्मेवारीमा फर्किएका छन् ।

त्यस्तै, विगतमा मन्त्रालय तानिएका राजेन्द्र अधिकारीले संस्थानको नायब महाप्रबन्धक (डीजीएम) को रूपमा पुनः जिम्मेवारी सम्हालेका छन् ।

मन्त्रालयको पशुपक्षी तथा मत्स्य विकास महाशाखा प्रमुखसमेत रहेका पाण्डेले बिक्री केन्द्रहरूको विस्तार र उत्पादनको गुणस्तरमा सुधार ल्याएर उपभोक्ताको विश्वास जित्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले संस्थानलाई घाटाबाट मुक्त गराउँदै किसान र उपभोक्तामैत्री बनाउन अधिकतम प्रयास गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?