+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
८५ बलमा ८२ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
49/0 (5.5)
Shares

दूध किसानको बक्यौता चुक्ता गरेको उद्योगीको दाबी, दिँदैनन् तथ्यांक

सरकारले पटक-पटक भुक्तानी दिने भनेर सहमति गर्ने तर कार्यान्वयन कहिल्यै नगर्ने किसानहरूको गुनासो छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ मंसिर १ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरूले किसानलाई ४ अर्ब रुपैयाँभन्दा बढीको बक्यौता भुक्तानी गर्न बाँकी छ, जसले किसानलाई आर्थिक समस्या परेको छ।
  • सरकार र डेरी उद्योगबीच १८ भदौमा सहमति भए पनि तोकिएको समयसीमामा किसानलाई भुक्तानी हुन सकेको छैन र किसान आन्दोलन जारी छ।
  • डीडीसीले वैशाखदेखि करिब ६० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको स्वीकार गरेको छ र आगामी माघसम्म बक्यौता भुक्तानी गर्ने अपेक्षा गरेको छ।

१ मंसिर, काठमाडौं । दुग्ध उत्पादक किसानले आफ्नो बक्यौता भुक्तानीमा अहिले केही रकम हात पारे पनि पूरै पैसा भने अझै पाउन सकेका छैनन् ।

दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरी उद्योगहरूले स्थानीय दुग्ध सहकारी संस्थामार्फत किसानबाट दूध खरिद गर्दै आएका छन् । गत असारसम्म किसानको ४ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी बक्यौता रहेकामा अहिले केही रकम घटेको छ । तर, समयमा र नियमित भुक्तानी हुन नसक्दा किसनहरू बेलाबेला आनदोलित हुने गरेका छन् ।

लामो समयदेखि भुक्तानी नपाएको भन्दै १५ भदौमा दुग्ध उत्पादक किसानले बक्यौता भुक्तानी माग गर्दै आन्दोलन गरेका थिए । किसान आन्दोलनमा उत्रिएपछि सरकार र डेरी उद्योगीबीच दुई चरणमा भुक्तानी गर्ने सहमति भएको थियो । तर, त्यो सहमति समय कार्यान्वयनमै नआइ सकिएको छ ।

कात्तिकभित्रै भदौसम्मको सम्पूर्ण दूधको रकम भुक्तानी गर्ने सहमति भए पनि किसानले १५ वैशाखदेखिकै नपाएको बताएका छन् ।

दुग्ध किसान आन्दोलनमा उत्रिएपछि १८ भदौमा सरकार र डेरी उद्योगीले दुग्ध उत्पादक किसानसँग दशैंअघि नै भुक्तानी गर्नेसहित ६ बुँदे सहमति गरेका थिए ।

सहमति अनुसार गत असार मसान्तसम्मको बक्यौता रकम  ५ असोजभित्र भुक्तानी गर्ने भनिएको थियो । यस्तै साउन मसान्तसम्मको बक्यौता ३० असोज र भदौ मसान्तसम्मको बक्यौता कात्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति भएको थियो । त्यसपछि बाँकी भुक्तानी नियमित गर्दै जाने भनिएको थियो ।

६ बुँदे सहमतिमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव पशुपति ढुंगाना, केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनका पदाधिकारीहरूले हस्ताक्षर गरेका थिए ।

तर, सहमति अनुरूप तोकिएको समयसीमामा भुक्तानी हुन नसकेको किसानको गुनासो छ । सरकारले पटक–पटक भुक्तानी दिने भनेर सहमति गर्ने तर कार्यान्वयन कहिल्यै नगर्ने उनीहरू बताउँछन् ।

राष्ट्रिय किसान सञ्जाल अध्यक्ष डा. प्रेम दंगाल दूध किसानले आफ्नो बक्यौता रकम केही मात्रै पाए पनि पूरै पैसा नपाएको बताउँछन् । डीडीसी र निजी डेरी उद्योगबाट किसानले पाउनुपर्ने करोडौं रुपैयाँ अझै बाँकी रहेको उनले बताए ।

दंगालका अनुसार डीडीसीले किसानलाई अझै करिब ६० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यसैगरी निजी डेरी उद्योगहरूको बक्यौता साढे २ अर्ब रुपैयाँसम्म रहेको उनले दाबी गरे ।

‘निजी डेरी उद्योगहरूले भुक्तानी गरेको दाबी गरे पनि उनीहरूसँग बाँकी रकमको यकिन तथ्यांक छैन,’ डा. दंगालले अनलाइनखबरसँग भने, ‘अघिल्लो पटक मन्त्रालयमा बुझाएको तथ्यांक अनुसार किसानको कुल बक्यौता ४ अर्ब रुपैयाँ थियो, नियमित भुक्तानीको अभावले किसानलाई आर्थिक समस्या परिरहेको छ र उनीहरूको दैनिक जीवनयापनमा समेत असर परिरहेको अवस्था छ ।’

डीडीसीले वैशाखदेखिकै रकम तिर्न बाँकी

डीडीसीले दूध किसानलाई गत वैशाखदेखिकै बक्यौता रकम भुक्तानी गर्न नसकेको स्वीकारेको छ । डीडीसीका प्राविधिक व्यवस्थापन विभाग प्रमुख तथा सूचना अधिकारी नीलकण्ठ गौतमका अनुसार हाल किसानको करिब ६० देखि ६५ करोड रुपैयाँ भुक्तानी बाँकी छ ।

रकम व्यवस्थापनका लागि बाहिरी स्रोतबाट पर्याप्त कोष नआएकाले भुक्तानीमा ढिलाइ भएको उनी बताउँछन् ।

सूचना अधिकारी गौतमले गत वैशाखदेखि हालसम्मको भुक्तानी ‘क्लियर’ गर्न नसकेको बताए । विगतमा करिब १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेकामा दूध संकलन कम हुने वैशाखदेखि भदौसम्मको अवधिमा किसानबाट दूध खरिद कम हुँदा हाल बक्यौता रकम घटेको उनको भनाइ छ ।

‘डीडीसीले मासिक २२ देखि २४ करोड रुपैयाँ आम्दानी गरे पनि दूधको पैसामात्र तिर्ने हो भने दुई महिनामा सबै बक्यौता चुक्ता गर्न सकिन्छ,’ उनले भने, ‘तर कर्मचारीको तलब भत्ता, पेट्रोलियम पदार्थ, मेसिनरी मर्मत लगायत अत्यावश्यक खर्चहरू व्यवस्थापन गर्नुपर्दा दूधको भुक्तानी समयमै गर्न सकिएको छैन ।’

गौतमका अनुसार डीडीसीले अब आगामी माघ महिनासम्म चारदेखि पाँच महिनासम्मको बक्यौता भुक्तानी गर्न सक्ने अपेक्षा गरेको छ । यसको अर्थ, आगामी माघसम्म असोज र कात्तिकसम्मको भुक्तानी क्लियर गर्ने लक्ष्य छ । यद्यपि, दुईदेखि तीन महिनाको भुक्तानी ‘ग्याप’ भने सधैं रहिरहने उनले स्वीकारे ।

हाल डीडीसीसँग करिब ७० देखि ७५ करोड रुपैयाँ बराबर मौज्दात (स्टक) रहेको छ, जुन पहिले १ अर्ब २५ करोड रुपैयाँसम्म थियो ।

डीडीसीले दैनिक करिब ९० हजार लिटर दूध संकलन गरिरहेको छ । कात्तिकदेखि चैतसम्म दूध उत्पादन बढ्ने (फ्लस सिजन) भएकाले संकलन बढ्ने क्रममा रहेको उनको भनाइ छ ।

चितवनका दूध किसानले ५ महिनादेखि पाएनन् भुक्तानी

चितवनका दूध उत्पादक किसानले गएको वैशादेखि दूधको भुक्तानी पाएका छैनन् । किसानले डीडीसीबाट १६ वैशाखदेखि नै दूधको पैसा पाउन बाँकी रहेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ अध्यक्ष किशोर बगालेले बताए ।

अध्यक्ष बगालेका अनुसार चितवनका किसानले पाउनुपर्ने कुल बक्यौता पहिले करिब ८० करोड रुपैयाँसम्म पुगेकोमा हाल यो घटेर ६० करोड हाराहारीमा आएको अनुमान छ । यसमध्ये डीडीसीको करिब १७ देखि १८ करोड बक्यौता छ ।

‘निजी डेरी उद्योगहरूको अवस्था पनि सन्तोषजनक छैन, कतिपय किसानले असार महिनादेखि दूधको भुक्तानी पाएका छैनन्,’ बगालेले भने, ‘बक्यौता रकमभन्दा पनि कहिलेदेखि भुक्तानी रोकिएको छ भन्ने कुरा महत्त्वपूर्ण छ, किसानहरू लामो समयदेखि पैसा नपाउँदा ठूलो मर्कामा छन् ।’

 

भुक्तानी ढिलाइका कारण किसानलाई आफ्नो गाईवस्तुका लागि दाना, औषधोपचार, घर खर्च र ऋण तिर्नसमेत समस्या भएको छ । दूध उत्पादन सिजनमा समेत भुक्तानीको सुनिश्चितता नहुँदा किसानहरू ढुक्क भएर उत्पादनमा लाग्न नसकिरहेको अध्यक्ष बगाले बताउँछन् । ‘यसले उनीहरूको मनोबलमा समेत नकारात्मक असर परेको छ,’ उनले थपे ।

बगालेले दुग्ध किसानको बक्यौता भुक्तानीका विषयमा हालका कृषिमन्त्री डा. मदन परियारले पनि खासै चासो नदेखाएको गुनासो गरे ।

‘मन्त्रीज्यूलाई केही दिनअघि भेटेर भुक्तानीका विषयमा कुरा पनि गरेकै हो,’ उनले भने, ‘किसानले महिनौंदेखि पैसा नपाएको अवस्थालाई मन्त्रीज्यूले सामान्य रूपमा लिनुभयो कि !’

उद्योगीहरूले भने दूध खपत कम भएको बहाना बनाएर किसानलाई दिने दूधको मूल्य घटाउने प्रयास भइरहेको समेत उनले आरोप लगाए ।

चितवनमा दैनिक करिब ३ लाख ५० हजार देखि ३ लाख ७५ हजार लिटरसम्म दूध उत्पादन हुन्छ । यसमध्ये करिब ५०–५१ प्रतिशत दूध चितवनमै खपत हुने गरेको छ भने बाँकी करिब १ लाख ७५ हजार देखि २ लाख लिटरसम्म दूध जिल्ला बाहिर पठाइन्छ ।

कात्तिकदेखि दूध उत्पादन सिजन सुरु हुन्छ । कात्तिकदेखि फागुनसम्म दूध उत्पादन बढी हुन्छ भने चैतदेखि असोजसम्म कम हुन्छ ।

डेरी व्यवसायीका अनुसार हाल दैनिक ३ लाख लिटर कच्चा दूध बटर तथा धुलो दूधमा रूपान्तरण भइरहेको छ । यही अनुसार खपत घट्ने र स्टक बढ्दै जाने हो भने फेरि पनि किसानलाई भुक्तानीको समस्या दोहोरिने प्रष्ट देखिन्छ ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमिटेड नेपालका महासचिव राम आचार्य दूध किसानले पाउनुपर्ने बक्यौता रकममा केही सुधार आएको बताउँछन् । यद्यपि, हालसम्म कति रकम तिर्न बाँकी छ भन्ने यकिन तथ्यांक उपलब्ध गराउन भने उनले सकेनन् ।

आचार्यका अनुसार किसानको भुक्तानी अवस्थामा क्रमिक सुधार आएको छ र बक्यौता रकम घटेको छ । ‘किसानको भुक्तानीको तथ्यांकका लागि ८ सय वटा सहकारी संस्थासँग जानकारी लिनुपर्ने हुन्छ,’ उनले भने, ‘कुन किसानलाई कति पठाइएको छ भनेर सबै विवरण हामीसँग एकै ठाउँमा हुँदैन ।’

विगतमा दूध किसानको करिब ४ अर्ब रुपैयाँसम्म बक्यौता रहेको भन्ने विषयमा उनले सहमति जनाए पनि हाल बक्यौता घटेर कतिमा झरेको छ भन्ने प्रश्नमा उनी पन्छिए ।

नियमित भुक्तानी भइरहेको छ : डेरी एसोसिएसन

नेपाल डेरी एसोसिएसनले आफ्नो क्षेत्रमा किसानको बक्यौता भुक्तानी समस्या समाधान भएको र नियमित भुक्तानी भइरहेको दाबी गरेको छ ।

एसोसिएसन अध्यक्ष प्रह्लाद दाहालले निजी डेरी उद्योगहरूले दूध किसानलाई ‘ब्याक डेट’ को बैंक चेक दिएर र आन्तरिक रूपमा मिलाएर किसानको भुक्तानी सल्टाएको दाबी गरे ।

‘उद्योगीहरूले धेरै बक्यौता भुक्तानी गरिसकेका छन्,’ उनले भने, ‘अहिलेको अवस्थामा पनि भुक्तानी समस्या छैन, यसअघिका समस्या पनि आन्तरिक व्यवस्थापन र ब्याक डेटको चेक प्रयोग गरेर समाधान गरिसकिएको छ ।’

उनले अहिले निजी डेरीहरूसँग सामान मौज्दात नरहेको पनि बताए । हालै उत्पादन बढेकाले अहिलेदेखि मात्र सुरु हुने र यसअघिका सबै मौज्दात प्रयोग भइसकेको उनको भनाइ छ ।

 

‘अहिले दूध उत्पादन बढ्ने सिजन भएकाले संकलन राम्रो छ र यो क्रम माघ महिनाभरि रहन्छ,’ उनले भने, ‘फागुन लागेपछि गर्मी सुरु हुन्छ, त्यतिबेला भने भुक्तानीमा केही समस्या आउन सक्छ ।’

अध्यक्ष दाहालका अनुसार काठमाडौं उपत्यकामा प्रशोधित दूधको दैनिक खपत करिब ७ लाख लिटर रहेको छ भने खुला बजारमा बिक्री हुने दूधलाई समेत जोड्दा दैनिक १० लाख लिटरभन्दा बढी दूध खपत हुन्छ ।

उनका अनुसार निजी डेरी उद्योगले हाल दैनिक ३१ देखि ३२ लाख लिटर दूध संकलन गरिरहेका छन् । संकलित दूधमध्ये करिब ५ लाख लिटर दूध दैनिक धुलो दूध (पाउडर मिल्क) बनाउने गरिएको छ ।

दूध बक्यौता भुक्तानीमा निजी डेरीहरूको तथ्यांक लुकाउने प्रवृत्ति

दूध किसानले पाउनुपर्ने बक्यौता भुक्तानीका विषयमा निजी डेरी उद्योगहरूले यकिन तथ्यांक दिन आनाकानी गरेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

बोर्डका निर्देशक तथा प्रवक्ता डा. बालक चौधरीले निजी डेरीबाट किसानको कति रकम बक्यौता छ भन्ने स्पष्ट विवरण नआएकाले यति नै बाँकी छ भन्न सकिने अवस्था नरहेको बताए ।

यद्यपि, बोर्डले एक साताभित्र उक्त तथ्यांक संकलन गरेर सार्वजनिक गर्ने तयारी गरेको उनको भनाइ छ ।

‘निजी क्षेत्रका डेरीहरूले भुक्तानी विवरण दिन गाह्रो मान्ने गरेका छन्,’ उनले भने, ‘निजी उद्योगहरूले आफ्नो अनुकूलतामा काम गर्ने भएकाले उनीहरूबाट तथ्यांक संकलन गर्न समय लागिरहेको छ, धेरैजसो निजी व्यवसायमा आफ्नो कारोबारको तथ्यांक खुला रूपमा आदान–प्रदान गर्न संकीर्णता देखाउने चलन छ ।’

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?