
७ साउन, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले २५ जेठ २०८२ मा दुग्धजन्य पदार्थ (धुलो दूध र मखन) बेच्न सूचना निकाल्यो ।
असार २०८१ देखि नबिकेर म्याद गुज्रिन लागेपछि ३ सय टन धुलो दूध र ३ सय टन मखनको मूल्य समायोजन गरी बिक्री गर्ने भन्दै डीडीसीले सूचना निकालेकोे थियो ।
१ अर्ब रुपैयाँभन्दा बढीको दुग्धजन्य पदार्थ म्याद सकिने अवस्थामा पुगेपछि बिक्रीका लागि डीडीसीले सूचना निकालेको थियो । तर, डीडीसीको बिक्री प्रयास सफल भएन, दूध किन्न कसैले चासो दिएनन् ।
डीडीसीका एक अधिकारीका अनुसार डीडीसीमा रहेको धेरै परिमाणको धूलो दूध र मखनको उपभोग्य मिति अब बढीमा चारदेखि पाँच महिनामात्रै बाँकी छ । उपभोग्य मिति नै गुज्रिन लागिसकेको दुग्धजन्य पदार्थ बिक्री हुने छाँट छैन ।
‘दुग्धजन्य पदार्थ बिक्री नहुँदा मौज्दात बढी भएर सबै गोदाम भरिभराउ छन्,’ डीडीसीका ती अधिकारीले अनलाइनखबरसँग भने, ‘भाडामा लिइएका गोदाम समेत भरिँदा उत्पादन कहाँ राख्ने समस्या उत्पन्न भएको छ ।’
यसो त डीडीसीले धुलो दूध र मखन बेच्न पटक–पटक सूचना निकालिरहेको हुन्छ । यसबाहेक झोल दूध, दही, घिउ लगायत दुग्ध पदार्थ बिक्रीका लागि पनि सूचना जारी भइरहन्छ । तर, बिक्री नै गर्न नसकेको गुनासो संस्थानले गरिरहन्छ ।
किन बिकेन डीडीसीको दुग्ध पदार्थ ?
संस्थानका सूचना अधिकारी नीलकण्ठ गौतमले जेठमा सूचना निकालेर बिक्रीका लागि टेन्डर आह्वान गर्दा एउटा पनि नपरेको बताए । उनका अनुसार टेन्डर नपरेपछि दुग्धजन्य पदार्थ बिक्री गर्न गाह्रो हुन्छ ।
‘सूचना निकालेर पनि टेन्डर नै नपरेपछि त्यो पाटो क्लोज नै भयो,’ उनले भने, ‘सार्वजनिक सूचना निकाल्दा समेत कसैले हामीलाई आवश्यकता छ भनेर टेन्डर नहालेपछि हामीले बेच्न सक्ने अवस्था रहेन ।’
उनले २ पटक सूचना निकाल्दा समेत कोही पनि खरिदका लागि अघि नसरेको बताए ।
उनका अनुसार ७ सय ५० टन मखन र ९ सय टन धुलो दूध मौज्दात छ । करिब सवा अर्ब रुपैयाँभन्दा बढी मूल्यको दुग्धजन्य पदार्थ स्टकमा छ । सूचना अधिकारी गौतमले धुलो दूध र मखन उत्पादन भएको मितिदेखि १८ महिनासम्म उपभोग गर्न मिल्ने बताए ।
‘अहिले हामीसँग मौज्दात रहेको धुलो दूध र मखन पोहोर असारदेखिको हो,’ उनले भने, ‘पोहोर असारमा उत्पादन भएको दूग्धजन्य पदार्थको उपभोग्य मिति अब ५–६ महिना छ ।’
पोहोर असारमा उत्पादन भएको धुलो दूध र मखनको उपभोग्य मिति ५–६ महिनामात्रै बाँकी भएकाले डीडीसीले ३ सय टन मखन र ३ सय टन धूलो दूधको मूल्य समायोजन गरी बिक्री गर्ने योजना बनाएको भए पनि बेच्न सकस परेको छ ।
सूचना अधिकारी गौतमले पोहोर असारमा उत्पादन भएको दुग्धजन्य पदार्थको मौज्दातबारे तथ्यांक भने दिएनन् । उनले हरेक महिना फरक–फरक उत्पादन हुने बताए ।
‘दूधको फ्लो अनुसार उत्पादन हुन्छ, दूध जति बढ्दै गयो त्यनि नै पाउडर र मखन उत्पादन बढ्दै जाने हो,’ उनले भने, ‘उत्पादन बढ्दै जाँदा स्टक पनि बढ्दै जान्छ । बजार बढ्यो भने उत्पादन बिक्री भएर घट्दै जान्छ । अहिले हामीले बिक्री गर्न सकेका छैनौं ।’
डीडीसीका अनुसार धुलो दूधलाई जुनसकै तापक्रममा राख्न मिल्ने भए पनि मखनलाई भने माइनस तापक्रममा राख्नुपर्ने हुन्छ । जहाँ पायो त्यहीँ राख्दा मखन चाँडै बिग्रिन्छ । सोही कारण उक्त दुग्धपदार्थ बेच्न टेन्डर आह्वान गरिएको थियो ।
गोदाममा ठूलो परिमाणमा रहेको धूलो दूध र मखन बिक्री गर्न सकस हुँदा किसानलाई भने ठूलो परिमाणको बक्यौता भुक्तानी गर्न बाँकी रहेको गौतमको भनाइ छ ।
गौतमका अनुसार डीडीसीको कुल भण्डारण क्षमता ५ सय टन हो । तर, उत्पादन बढी हुँदा गोदाम नै भाडामा लिएर बढी भएको उत्पादन मौज्दात गरिएको छ ।
डीडीसीले नेपालगञ्ज, धनगढी, जनकपुर, विराटनगर, बालाजु, खरिपाटी, हेटौंडा र लुम्बिनी दुग्ध वितरण आयोजनाहरूमा दुग्ध पदार्थ भण्डारण गर्दै आएको छ ।
निजी डेरीले किन्दैनन् डीडीसीका उत्पादन
यसअघि डीडीसीले उत्पादन गरेका दुग्ध पदार्थ निजी डेरीहरूले किन्ने गरेका थिए । तर, अहिले निजी डेरीले पनि किन्न छाडेका छन् ।
‘खासगरी हाम्रो उत्पादन प्राइभेट डेरीहरूले किन्ने हुन्, उनीहरूले पनि किनेका छैनन्,’ डीडीसीका सूचना अधिकारी गौतमले भने, ‘अब मुख्य कुरा यो कहाँ प्रयोग हुन्छ भन्ने हो, मार्केट कुन भन्ने पनि प्रश्न आउँछ । सामान्य मान्छेलाई धुलो दूध, मखन चाहिँदैन । बटरबाट घिउ बनाएर बेच्ने हो । बजारमा घिउको माग पनि छैन ।’
निजी डेरीले दूध कम भएका बेला धूलो दूध प्रयोग गर्ने गर्थे । तर, अहिले निजी डेरीसँग पनि मौज्दात बढी छ । धुलो दूध बिस्कुट फ्याक्ट्रीहरूले प्रयोग गर्ने गर्छन् । तर, सिजनका बेला उनीहरूले पनि आफैं उत्पादन गरेर स्टोर गरेको गौतम बताउँछन् । बाहिर निर्यात गर्न बलियो ‘नेटवर्क’ नभएको उनको भनाइ छ ।
डीडीसीले किसानलाई तिर्न बाँकी कति ?
लामो समयदेखि मौज्दात यस्ता दुग्धजन्य पदार्थ बिक्री नभएको भन्दै डीडीसीले किसानको बक्यौता रकम पछिल्लो ६ महिनादेखि भुक्तानी गरेको छैन ।
डीडीसीका सूचना अधिकारी गौतमले दिएको जानकारी अनुसार संस्थाले पछिल्लो पटक २०८१ पुस मसान्तमा किसानहरूलाई ९० करोड रपैयाँ भुक्तानी गरेको थियो ।
केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले भने डीडीसीले अझै करिब डेढ अर्ब रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको दाबी गरेको छ । तर, डीडीसँग यसबारे जानकारी लिँदा भने सही तथ्यांक दिँदैन ।
असार अन्तिम साता अनलाइनखबरको प्रश्नमा डीडीसीले ९८ करोड बक्यौता रहेको बताएको थियो । अहिले फेरि ९० करोड मात्रै तिर्न बाँकी रहेको बताएको छ । तर, यसबीचमा डीडीसीले किसालाई एक पैसा पनि भुक्तानी गरेको छैन ।
डीडीसीले तालुक मन्त्रालय कृषि तथा पशुपन्छी विकासमा भने किसानलाई भुक्तानी गर्न बाँकी रकम ८८ करोडमात्र रहेको जानकारी गराएको छ ।
कृषिमन्त्री रामनाथ अधिकारीले सोमबार आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरण सार्वजनिक गर्दै डीडीसीले किसानलाई भुक्तानी गर्न बाँकी रकम ८८ करोड रहेको बताए ।
‘यो रकम चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासभित्र भुक्तानी गर्ने योजना बनाएका छौं,’ मन्त्री अधिकारीले भने । डीडीसीको बिक्री हुन नसकेको पाउडर दूध तथा मखन चीन निर्यात प्रयास गरिएको पनि उनले बताए ।
डीडीसीले घटायो दूध संकलन
डीडीसीले ठूलो परिमाणमा दुग्ध पदार्थ मौज्दात भएसँगै दैनिक संकलन गरिने दूधको परिमाण पनि घटाएको छ ।
अरू बेला दैनिक डेढ देखि २ लाख लिटरसम्म दूध संकलन गर्ने डीडीसीले हाल मौज्दात बढेको भन्दै ८० हजार लिटर मात्रै संकलन गर्ने गरेको छ ।
दैनिक बजार बिक्री भने ६५ देखि ७० हजार लिटर मात्रै भइरहेको सूचना अधिकारी गौतम बताउँछन् ।
मौज्दात गरेर राख्ने ठाउँ नै भरिभराउ भएपछि दूध संकलन घटाउनुपरेको तर्क डीडीसीको छ । पछिल्लो समय बजारमा खपत कम भएका कारण हरेक वर्ष मौज्दात समस्या झेल्नुपरेको उनले बताए ।
५ वर्ष अघिसम्म डीडीसीले दैनिक १ लाख २० हजार लिटर दूध बिक्री गर्ने गरे पनि अहिले दैनिक ८० हजार लिटरमात्रै बिक्री गर्न सकेको छ ।
डीडीसीलाई सरकारको सवा अर्ब ऋण
सरकारले दुग्ध किसानको बक्यौता चुक्ता गर्न भन्दै डीडीसीलाई हालसम्म सवा अर्ब हाराहारी ऋण उपलब्ध गराइसकेको छ ।
अर्थ मन्त्रालयले ११ असोज २०८१ मा डीडीसीलाई ६० करोड ऋण निकासा गरेको थियो । त्यसमा डीडीसीले ३० करोड थपेर त्यही बेला ९० करोड किसानलाई भुक्तानी गरेको थियो ।
प्रतिक्रिया 4