News Summary
Generated by OK AI. Editorially reviewed.- ०७० को संविधानसभा चुनावमा माओवादीले हार स्वीकार्न सकेन र मतगणनास्थलबाट उठेर हिँडे।
- एमालेले जेनजी आन्दोलनपछि कुनै आत्मालोचना वा स्वीकारोक्ति सार्वजनिक गरेको छैन।
- माओवादी अध्यक्ष प्रचण्डले कुर्सी छाड्ने संकेत नदिई पार्टी नेतृत्वमा निरन्तरता जनाएका छन्।
०७० को संविधानसभा चुनावमा माओवादीले हार स्वीकार्न सकेन । मत गन्दागन्दै कमरेडहरु ‘धाँधली भयो’ भन्दै बीचैमा मतगणनास्थलबाट उठेर हिँडे । त्यसपछि मैले कटाक्ष गर्दै लेखेको थिएँ– कम्युनिस्टहरु हार्दैनन् । कि त जित हुन्छ, कि त धाँधली ।
०८२ को भदौमा यो भिडियो बन्दैगर्दासम्म कुनै चुनाव त भएको छैन, तर जेनजी आन्दोलनको अस्थायी विरामपछि एमाले र माओवादीको अवस्था यस्तै छ ।
माओवादीको कुरा पछि गरौंला, सुरुमा एमालेको कुरा ।
एमालेले च्यासलमा ठूलो झन्डा राखेर आफ्नो आत्मविश्वास नजलेको, नढलेको दाबी गरिसक्यो । हामीले अपेक्षा राखेका थियौं, त्यहाँ आन्दोलनक्रममा ढलेका जेनजी युवाप्रति श्रद्धान्जली कार्यक्रम हुनेछ । राष्ट्रको गहिरो शोकमा एमालेको तर्फबाट गहिरो मौनधारण हुनेछ । अघिल्लो सातासम्म सत्ता नेतृत्वमा रहेको एमालेले शहीदको सम्मान, अनि घाइतेको उपचारबारे केही बोल्ला ।
आम अपेक्षा यो पनि थियो कि, कांग्रेसका गगन थापा विश्वप्रकाश शर्माझैं एमालेका नेताहरुले आत्मालोचना र स्वीकारोक्तिहरु राख्लान् । माफी माग्लान् । सच्चिने प्रण गर्लान् । केही दिनभित्र दलसुधारको एजेन्डा र कार्यसूची नै आउला ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका नाममा एउटा भावुक भन्न मिल्ने नक्कली पत्र सार्वजनिक भयो । उनी अहिलेसम्म करिब गुमनाम छन् । न उनको, न पार्टीका कुनै शीर्षस्थ नेताको स्वीकारोक्ति, बाचा वा सच्चिने प्रणसहितको वक्तव्य आएको छ ।
३० भदौका दिन एमाले महासचिव शंकर पोखरेलको वक्तव्य सुनियो, ‘गोदावरीमा एक साताअघि सकिएको विधान महाधिवेशनबाट जेनजी युवाका भावना सम्बोधन गर्ने २१ बुँदे कार्यक्रम ल्याउँदै थियौं, तर युवाले पर्खिने धैर्य देखाएनन् ।’
ओली, पोखरेललगायत धेरै नेताहरुको घर जलेको छ । निजी सम्पत्ति, पार्टी अफिस जलेकामा अफसोस छ । यति भनिसकेपछि अब प्रश्न गर्न मन लाग्छ– कम्युनिस्टहरु सधैं आत्मालोचना–आत्मालोचना भन्छन् । तर त्यो उनीहरु आफैंले चाहिँ गर्नु नपर्ने हो ?
के एमालेको फलामे अडानका अघिल्तिर जेनजी युवाहरुले पो उल्टै आत्मालोचना गर्नुपर्ने हो ? एमालेको गोदावरी महाधिवेशनको कार्यक्रमप्रति धैर्य देखाउन नसकेको भन्दै जेनजीले पो एमालेसँग माफी माग्नुपर्ने हो कि ?
यो भिडियो बनाउँदासम्म एमालेले कुनै पनि खालको स्वीकारोक्ति नदेखाएको पाउँदा टिठ लागेर आयो ।
ओलीको बानी कस्तो छ भने, उनी ०६४ को संविधानसभा चुनाव हारेपछि झापाबाट काठमाडौं आए । पत्रकारले सोधे, ‘तपाईं कसरी हार्नुभयो कमरेड ?’
ओली – ‘म हारेको होइन, जनताले गल्ती गरेका हुन् ।’
पत्रकार– ‘अब के गर्नुहुन्छ ?’
ओली– ‘मैले केही गर्दिनँ । जनताले आफैं गल्ती सच्याउनेछन् ।’
ढिटपनामा उनीसँग कसले प्रतिष्पर्धा गर्ने ।
तर पार्टी सधै ढिटपनाले मात्र चल्दैन । यसपालि जेनजी विद्रोहसँगै एमालेका लाखौं समर्थक र हजारौं कार्यकर्ताले नेतृत्वका बारेमा प्रश्नहरु उठाएका छन् । उनीहरुले त्यसअघि पार्टी मुख्यालय च्यासल र गोदावरी सम्मेलन केन्द्रमा बोल्न सकेनन् वा उनीहरुको आवाजलाई बहुमतको बलमा किचिपिची पारियो भन्दैमा त्यो पार्टीमा डिसेन्ट भोइस नै छैन भन्ने त होइन होला !
बरु कम्तिमा एमाले सचिव गोकर्ण विष्टले अनलाइनखबरसँग कुरा गर्ने क्रममा स्वीकारे, ‘यति ठूलो घटनाबाट समेत पाठ सिक्न सकेनौं भने हामी कहिल्यै सुध्रिँदैनौं । आफ्नो नेतृत्वका कमजोरीहरुको प्रतिरक्षा गर्ने नाममा पार्टी खरानी हुन दिँदैनौं ।’
अहिले एमाले नेतृत्वपंक्तिमा विष्टले जति बोल्ने साहस पनि पलाइसकेको छैन । उनीहरु जेनजी घुसपैठका प्रधानशत्रु, राष्ट्रिय अन्तर्राष्ट्रिय शत्रु किटान गर्नै व्यस्त हुन् कि ? नत्र यतिन्जेलसम्म कुनै न कुनै खालको बैठक, वा निर्णय आइसकेको हुने थियो ।
एमालेका कमरेडहरु । आजदेखि असोज सुरु भयो । विक्रम संवतको पात्रोमा महिना वा सातामात्रै बदलिएको होइन, सत्य पनि बदलिएको छ । यो त कस्तो भयो भने, सत्य रोज्छौ कि एमाले भनी कसैले सोध्यो भने, ‘होइन म त मेरो प्रिय पार्टी एमाले नै रोज्छु’ भनेजस्तो उदेकलाग्दो अवस्था आयो । ओहो, यो त अस्ति तपाईंहरुका केही नेताले थालेको म झोले हो भन्ने फेसबुके अभियानको कार्यान्वयनजस्तो मात्रै हुने भयो ।
एमालेजस्तो जनाधार भएको, गतिशील पार्टीले बाह्य षड्यन्त्र वा अरुलाई दोष थोपरेर हुँदैन । कम्युनिस्टहरु भन्छन् नि, ठोस परिस्थितिको ठोस विश्लेषण जहाँ बाह्य पक्ष सहायकमात्रै, आन्तरिक पक्ष प्रधान हुन्छ ।
देशमा लामो समयदेखि असन्तोष, आक्रोश थियो भन्ने ठम्याउन सक्नुपर्छ । युवाहरुमा व्याप्त उदासीनता बुझ्न एमालेका नेताहरुले आफ्नै परिवार र छिमेकमा संवाद गर्न सक्छन् ।
हामी निजी सम्पत्ति गुमाएका एमालेका नेताहरुप्रति सहानुभूति राख्छौं । एमालेले इतिहासमा पुर्याएको परिवर्तनको योगदानलाई जस पनि दिन्छौं । तर वर्तमानलाई बुझ्न एमालेले गरेको अस्वीकारप्रति प्रश्न गर्दै अब नेतृत्वलाई गोदावरीमा गत २०८२ भदौमा आयोजित दोस्रो विधान महाधिवेशनमा अध्यक्ष ओलीका लागि भनेर संशोधन गरिएको विधानलाई सच्याउन समेत आग्रह गर्छौं ।
कुनै पनि दलको विधान उसको आन्तरिक मामिलामात्रै होइन । त्यो अन्ततः जनताको हो । कुनै व्यक्तिलाई हेरेर संविधान वा पार्टी विधान बदल्न सकिन्छ र ? त्यो त भ्लादिमिर पुटिनको रुसमा मात्रै हुन्छ । मन लागे भ्लादिमिर पुटिनलाई राष्ट्रपति बनायो, नत्र कार्यकारी प्रधानमन्त्री बनाए भयो । ओलीलाई आजीवन निर्विकल्प मान्ने एमालेको यस्तो गल्तीले राजतन्त्र सम्झाउँदैन, उल्टो हामी गणतन्त्रमा छौं भन्ने तथ्य बिर्साउँछ ।
अब माओवादीको कुरा । माओवादीलाई चाहिँ खासै भन्नुपर्ने धेरै छैन । ०४४ सालदेखि त्यो पार्टीको कार्यकारी पदमा एउटै व्यक्ति अर्थात् प्रचण्ड छन् । उनी निरन्तर पार्टीसत्तामा हुन सुरु त्यो बेला गरेका थिए, जति बेला जेनजी जन्मेकै थिएनन् । मिलेनियलहरुको समयमा महामन्त्री र अध्यक्ष भएका प्रचण्ड जेनजी जन्मिएको केही समयपछि प्रधानमन्त्री नै बने । माओवादी पार्टीको नाममात्रै पनि कतिपल्ट बदलिइसक्यो । तर प्रचण्डले छोड्ने छाँटै छैन ।
बरु उल्टै पेरिसडाँडाको जलेको भवन पुगेर प्रचण्डले घोषणा गरे, ‘अझै भव्य बिल्डिङ बनाएर देखाउँछौं ।’ प्रचण्डले यो भनेनन्, हामी सच्चिन्छौं । उनी त पोहोर भदौ १२ गतेसम्म बंगलादेश बन्छ नेपाल भनिरहेका थिए ।
अनि अस्ति २३ भदौको साँझ, अर्थात जेनजी प्रदर्शनको पहिलो दिन बेलुकीसम्म पार्टी पदाधिकारीसँग मनको लड्डु बाँडिरहेका थिए, ‘कांग्रेस र एमालेले भोलि दिउँसोसम्म हात उठाइसक्छन् । हामी देशको नेतृत्व लिनका लागि तयार हुनुपर्छ ।’
कांग्रेसले साथ दिएको एमाले सरकारले हात त उठाएकै हो, तर माओवादीको पालो भने आएन । आउने वाला थिँदै थिएन । प्रचण्डको गणित अनि लेखाजोखाले यहाँनेर ठ्याम्मै काम गरेन ।
तर उनलाई कुनै शरमको भावना छैन । उनले कुर्सी छाड्लान्, नयाँ पुस्तालाई बाटो देखाउलान् भनेर माओवादीमा कसैले नचिताए हुन्छ । कुनै संकेत छैन ।
शक्तिको सामान्य नियम के हो भने सधैंभरि कोही पनि त्यहाँ बसिराख्न सक्दैन । संसारभरिको लोकतन्त्रमा जस्तै यो देशमा पनि सबैले कुर्सी छाड्नुपर्छ । कतिसम्म भने शेरबहादुर देउवाजस्ता निरन्तर सत्ताशक्तिमा रहेका भनिएका नेताले समेत तेस्रो कार्यकाल सभापति हुन पाउने व्यवस्था कांग्रेसमा छैन ।
तर मोहनविक्रम सिंहदेखि मोहन वैद्यसम्म, नारायणमान विजुक्छेदेखि विप्लवसम्म, सीपी मैनालीदेखि माधव नेपालसम्म कसैले पनि शीर्षासन छाड्नुपर्दैन ।
यो देशमा सबैले चेत्छन्, वामपन्थी चेत्दैनन् । के ब्रह्मनालसम्म नपुगी कुर्सीबाट कमरेडहरुले अवकाश नलिने हो ? के उनीहरुलाई सम्मानजनक बहिर्गमन गराउनका लागि आ–आफ्ना पार्टीभित्रैबाट ‘आन्तरिक लोकतान्त्रिक धाँधली’ गर्न मिल्दैन ?
भिडियो अनलाइनखबरको फेसबुकमा
प्रतिक्रिया 4