News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका नेता विष्णु पौडेलले चुनावमा पार्टीले भोगेको पराजय ठूलो धक्का भएको बताएका छन्।
- उनले चुनावको पराजय चानचुने धक्का नभएको र त्यसबाट शिक्षा लिएर अघि बढ्नुपर्ने बताए।
- पार्टी एकतालाई कायम राख्दै पछिल्लो १० वर्षको कमजोरी समीक्षा गर्ने र कार्यनीतिलाई रुपान्तरण गर्ने योजना बनाइएको छ।
९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता विष्णु पौडेलले पार्टीले चुनावमा भोगेको पराजय ठूलो धक्का भएको बताएका छन् । नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावको पराजय चानचुने धक्का नभएको बताएका हुन् ।
‘यो बीचमा धक्का खायौँ । यो चानेचुने धक्का होइन । धक्काको अनुभवबाट शिक्षा लिएर हामी अघि बढ्न चाहन्छौँ,’ उनले भने, ‘निर्वाचनमा पराजय भएपछि औचित्य सकियो भनिएको छ । हामी पार्टी एकतालाई कायम राख्छौं । हामी हाम्रो यात्राको समीक्षा गर्नेछौं । औचित्य थप पुष्टि गर्न चाहन्छौं ।’
उनले पछिल्लो १० वर्षमा पार्टीले अवसर पाएर पनि कमीकमजोरी केके भए भन्नेतर्फ ध्यान दिन नसकिएको स्वीकार गरे ।
‘०७२ देखि ०८२ सम्म समीक्षा गर्दा- यही बीचमा झन्डै दुई तिहाइ प्राप्त गर्यौँ । तर आज यो पराजय धक्का किन खाइयो भन्ने बुझ्नुपर्नेछ । आफ्ना कमजोरी केछन् हामी समीक्षा गर्नेछौँ । बाह्य र पार्टीभित्रको कारण केछन् हामी समीक्षा गर्नेछौं,’ उनले भने ।
उनले जनताले पार्टी र नेताबारे आलोचना गरिरहेको पनि बताए । ‘जनताले आलोचना गरेका छन्,’ उनले भने, ‘आचरण र कार्यनीतिका हिसाबले मुलुकलाई नयाँ ढंगले अघि लैजान सक्ने हिसाबले हामी अघि बढ्नेछौं । देशैभरिका सबै कार्यकर्तालाई भन्छु- टाउकोमाथि हात राखेर निराश हुने क्षण होइन ।’
उनले पार्टीले कार्यनीतिलाई रुपान्तरण गर्दै देशकै नेतृत्वमा फेरि एमाले पुग्ने वातवारण बनाउने गरी काम गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4