+
+
Shares

जेन जी आन्दोलन : जसले रचनात्मक भूमिका खेले

जेन जी पुस्तासँग हातेमालो गर्न माइतीघर पुगेकी उनले प्रदर्शनकारी र सुरक्षाकर्मी दुवैलाई पानी, बिस्कुट दिने काम गरिन् ।

शिव मुखिया शिव मुखिया
२०८२ भदौ ३१ गते १३:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेन जी आन्दोलनमा कतिले हिंसा भड्काउने काम गरे भने कतिपयले रचनात्मक ढंगले त्यसलाई संयम बनाउने काम गरे।

‘सिंहदरबारमा महत्वपूर्ण डाटा सेन्टर र कागजात छ । केही नगर्नुहोला ।’

सुरक्षाकर्मीलाई फूलको थुँगा दिएर हार्दिकताका साथ सुरु गर्ने भनिएको जेन जी प्रदर्शन २४ घण्टा नबित्दै आगोको लप्कामा परिणत भइसकेको थियो । आक्रोश र बदलाको भावले भरिएको त्यो भीड कतै तोडफोड त कतै आगो सल्काउँदै सिंहदबारतर्फ बढ्यो ।

लगत्तै भिक्टर पौडेलले ‘प्लिज, सिंहदरबारमा केही नगर्नुहोला भनी’ रुटिन अफ नेपाल बन्दको पोस्ट आफ्नो वालमा शेयर गरे । युवापंक्ति नै क्रोधले आगो भइरहेको त्यो क्षण उनी जति संयम र सचेत देखिए, त्यो अनुकरणीय थियो ।

त्यसो त भिक्टरलाई सोसल मिडियामा पछ्याउने र पत्याउनेको संख्या कम्ती छैन । जब उनी केही लेख्छन्, त्यसमा ‘रियाक्ट’, ‘शेयर’ र ‘कमेन्ट’ गर्नेको घुँइचो यसरी लाग्छ मानौं उनीहरू भिक्टरलाई अधैर्यताका साथ पर्खिरहेका छन् ।

तोडफोड, आगजनी, घम्साघम्सी, गोलीबारीले शहर थर्कमान थियो । ब्यारिकेट तोडेर अगाडि बढेको तुफानी भीडलाई काँडेतार, पर्खाल र कुनै पनि संयन्त्रले छेक्न सक्ने स्थिति थिएन । त्यसलाई कसले रोक्ने ? कसले सम्हाल्ने ? कसले फकाउने ? कसले फर्काउने ?

त्यही भयानक क्षणमा भिक्टरले पोस्ट गरे, ‘आन्दोलनमा जानुभएका आफ्ना साथीभाइ, छोराछोरीलाई सम्पर्क गरेर अब घर फर्किन र थप क्षति नगर्न भनिदिनुहोस् ।’
त्यसपछिका घटनाक्रमहरूमा पनि उनी चनाखो अनि सर्तक भइरहे । बिगार नगर्न, संयम रहन, एक-अर्कालाई सहयोग गर्न अनुरोध गरिरहे ।

होटल हिल्टनमा आगो जल्दै गर्दा होस् वा मध्य बानेश्वरमा उत्पात मचिएको बेला, भिक्टरले कति पनि ढिला नगरी हुलदंगामा फसेका सर्वसाधरणलाई उद्वार गर्न सजग गराए ।

साँझ छिप्पिदै जाँदा अर्को खबर भाइरल भयो, पशुपतिनाथ तोडफोड हुन थाल्यो । यो कुरा यति सनसनीपूर्ण भयो कि मान्छेहरू आफैंमा असुरक्षित र आतंकित महसुस गर्न थाले । लगत्तै भिक्टरले एउटा स्टाटस लेखे, ‘यदि कोही पशुपतिथान मन्दिर क्षेत्र नजिक हुनुहुन्छ भने कृपया त्यहाँ जानुहोस् । किनभने केही अराजक व्यक्ति उपद्रो गर्न खोज्दैछन्।’

अघिल्लो दिन पनि उनी रमिते बनेनन्, फुर्सदमा बसेनन् । जेन जी प्रदर्शन भएसँगै उनी फेसबुकमा सक्रिय भए र सही मार्गदर्शन दिइरहे । जसै प्रदर्शन विद्रोहमा बदलियो र विद्रोह हिंसामा, त्यसपछि धेरै कुरा यस्तो भयो, जो नहुनु थियो । घाइतेले अस्पताल भरिन थाले । अस्पतालमा स्वास्थ्यकर्मीलाई भ्याइनभ्याइ भयो । घाइते ओसार्ने एम्बुलेन्सको खाँचो भयो । रगत अभाव हुनथाल्यो ।

त्यो जटिल स्थितिमा भिक्टरले कहिले रगत जुटाउनका लागि त कहिले एम्बुलेन्स सेवाका लागि समन्वय गरिरहे ।

यस्तै अर्का पात्र हुन्, संजोग कोइराला । संजोगले जेन जी प्रदर्शनअघि र पछिका क्षणमा यस्तो रचनात्मक भूमिका खेले, जुन उल्लेखनीय थियो ।

‘आजको झलक । आशा गर्छु, कुनै अप्रिय घटना हुनेछैन ।’ माइतीघरको जेन जी प्रदर्शनबाटै उनले यस्तो सदीक्षा गरेको धेरै समय बित्न नपाउँदै अप्रिय खबरहरू छ्यापछ्याप्ती भइसकेका थिए । घरमा आमाबुबालाई खबर नै नगरी प्रदर्शनमा पुगेका स्कुले बालबालिकाहरू गोली लागेर ढल्दै थिए । सडक रगतले लत्पतिएको थियो ।

‘रेस्ट इन पिस अबोध आत्माहरू, आशा छ हामी तपाईंहरूको सपनालाई न्याय गर्न सक्षम हुनेछौं’ संजोगले यससँगै लगातार यस्ता पोस्ट गरे, जसले जेन जी आन्दोलन र उनीहरूको मागलाई स्पष्ट रूपमा बुझाउन सहयोग गर्थ्यो ।

‘अहिले कुनै पनि सार्वजनिक सम्पति तोडफोड वा जलाउने नगर्नुहोस् । प्रधानमन्त्रीको राजीनामा आइसकेको छ । अब कानुनी तरिकाबाट अगाडि बढ्नुपर्छ । बिन्ती, यो निर्णयक क्षण हो’ आन्दोलन हिंसामा भड्किएपछि संजोगले शान्त रहनका लागि बारम्बार आग्रह गरे ।

आक्रोशित भीड नेता–मन्त्री खोज्दै कुटपिटमा उत्रिसकेको थियो । त्यहाँ सुरक्षा र पर्खालले रोक्न सक्ने स्थिति थिएन । त्यहीबेला संजोगले लेखे, ‘तपार्इंहरूको रिस जायज छ । हामी कसैको रिस अझै मरेको छैन । हो उनीहरूले हामीमाथि दयामाया देखाएनन् । तर, उनीहरू र हामीमा फरक छ । यो रिसलाई हामी देश बनाउने हुटहुटीमा बदल्नुपर्छ । हामी अघिल्लो पुस्ताभन्दा फरक छौं भनी प्रमाणित गर्नुपर्छ । सिंगो पुस्ताको इज्जत दाउमा छ । बिन्ती ।’

जेन जी आन्दोलनको परिदृश्यमा सबैको प्रिय बनेकी पात्र हुन्, आशिका तामाङ । अक्सर उनका क्रियाकलापलाई ‘मजाक’ बनाउनेहरू पनि यतिबेला ‘फ्यान’ भएका छन् । आशिका तामाङ जेन जी प्रदर्शनमा योगदान गर्ने त्यस्ती अगुवा हुन्, जसले सुरुदेखि अन्त्यसम्म उत्तिकै रचनात्मक भूमिका खेलिन् ।

जेन जी पुस्तासँग हातेमालो गर्न माइतीघर पुगेकी उनले प्रदर्शनकारी र सुरक्षाकर्मी दुवैलाई पानी, बिस्कुट दिने काम गरिन् । दुवैतर्फ सौहार्दता र हार्दिकताको वातावरण बनाउन उनले प्रयास गरिरहेको देखिन्थ्यो । पक्कै पनि उनले चाहेकी थिइनन्, यिनीहरूको आपसमा भिडन्त होस् । तर नचाहेकै भइदियो ।

त्यसपछि उनले फेसबुकमा लेखिन्, ‘जेन जीका सबै ज्ञानी हुनुहुन्थ्यो । मैले जम्मा भएको बेला तपाईंहरू तोडफोड नगर्नुहोस्, फर्किनुपर्छ भन्दा हामी सँगसँगै फर्केका थियौं । तर, बीचमा घुसपैठ पक्कै भएको छ । त्यहाँ भीड भड्काउन अरूबाट परिचालित भएको हुनुपर्छ ।’

जेन जी आन्दोलन सुरु भएकै दिन घाइतेले खचाखच हुँदै थियो सिभिल अस्पताल । त्यहाँ घाइतेहरूको लस्कर थियो, जो विद्यालय पोशाकमै थिए । अझ कतिपय त बिहानदेखि भोकभोकै प्रदर्शनमा सहभागी थिए । आमाबुबालाई पनि नभनी प्रदर्शनमा आएका उनीहरूलाई स्यहारसुसार गर्ने त्यहाँ कोही थिएनन् ।

ठिक त्यही बेला अस्पतालमा खाना, पानी लिएर पुगेकी थिइन् आशिका तामाङ । यसरी पुगेकी थिइन्, मानौं हरेक घाइतेको उनी साख्खै दिदी हुन् । अस्तव्यस्त अस्पतालमा उनले घाइतेको स्यहारसुसार गरिरहिन् । कसलाई उपचार गर्नुपर्ने, कसलाई घरको सम्पर्कमा पुर्‍याउनुपर्ने, कसलाई के सहयोग दिनुपर्ने यो अनुसार उनले निस्वार्थ ढंगले सेवा गरिरहिन् ।

यतिबेला आशिका त्यहाँ–त्यहाँ पुगिरहेकी छिन्, जहाँ घाइते छन् । तेल, चामल र उपचार खर्चसमेत बाढिरहेकी छिन् । र भनिरहेकी छिन्, ‘चिन्ता नलिनू । तिम्रो दिदी म छु, जे आवश्यक पर्छ मलाई फोन गरिहाल्नू ।’

लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?