Comments Add Comment

सिद्धार्थ आउजीले किन गरे आत्मदाह ?

२६ जेठ, धनगढी । अछामको बयलपाटा अस्पतालले जेठ १२ गते कामबाट निकालिएको पत्र थमाएपछि अछामको साँफेबगर नगरपालिका-६ का सिद्धार्थ आउजी संकटमा परे ।

चार वर्षअघि मुम्बईबाट फर्किएका उनी त्यहाँ एक वर्षदेखि कार्यालय सहयोगीका रुपमा कार्यरत थिए । अस्पतालबाट मासिक रुपमा आउने १९ हजार पाँच सय रुपैयाँले श्रीमती र ७ महिनाकी छोरीसहित परिवार पाल्दै आएका थिए । तर, अस्पतालले १२ जेठमा उनीसहित ११ जनालाई अवकास पत्र थमायो ।

तीन दिनपछि थप २२ जना जागिरबाट निकालिए । जागिर गुमेपछि उनलाई परिवार कसरी पाल्ने भन्ने चिन्ताले सतायो । त्यही तनावमा उनले आत्मदाह गरेका छन् ।

सोमबार बिहान उनले अस्पताल परिसरमै आफूलाई पेट्रोल छर्किएर आफूलाई आगो लगाए । ‘१२ गतेदेखि नै भाइ अत्यन्त चिन्तामा थिए’ अस्पतालबाट निकालिएका रमित बडाहितले अनलाइनखबरसँग भने ‘दाइ अब भोकले मरिने भइयो भन्थे । त्यो दिन आउनभन्दा अघि नै उनी अस्ताए ।’

आगोले जलेर गम्भीर घाइते भएका उनलाई हेलिकप्टरबाट उद्दार गरेर कोलाहपुर मेडिकल कलेज लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको छ । ‘अस्पताल लगेको २/३ घण्टा त कुनै पनि डाक्टरले हेरेनन्’ आउजीलाई अस्पताल पुर्‍याउने मीन बोहरा भन्छन्, ‘जतिबेला डाक्टरले उपचार गर्न वार्डमा लिएर गए, त्यो बेलासम्म उनको प्राण गइसकेको थियो ।’

सबैतिर हारगुहार, कसैले सुनेनन्

बलयपाटा अस्पतालले आउजीसहित ३२ जनालाई अवकास पत्र थमाएको थियो । वर्षौंदेखि काम गरिरहेकाहरूलाई कुनै जानकारी नदिई अवकास पत्र दिएपछि उनीहरू आन्दोलित थिए । तर उनीहरूले अस्पतालमा काम पनि जारी राखेका थिए ।

‘एक हप्तामा घर जानुस् । साउन १५ गतेसम्मको पारिश्रमिक पाउनुहुन्छ भन्दै अवकास पत्र थमाइयो’ अस्पतालबाट निकालिएका ल्याब टेक्निसियन रमेश बडाहितले भने, ‘हामीले यो निर्णयलाई स्वीकार गरेनौं, हस्ताक्षर पनि गर्न मानेनौं ।’

३२ जना निकालिएका कर्मचारीमध्ये जनक कडायत, मृतक सिद्धार्थ आउजी, कविता ओड र बडाहितले हस्ताक्षर गरेका छैनन् । अस्पताल प्रशासनले भने ४ दिनभित्र हस्ताक्षर नगरे दिने भनिएको सेवा सुविधा पनि नदिने चेतावनी दिएको थियो ।

‘म ६ वर्ष देखि काम गरिरहेको छु । मैले नियमित ३६ घण्टासम्म काम गरेको रेकर्ड छ’ उनले भने, ‘हामीमाथि अन्याय भयो । हामी मौन भयौं । तर, भाइलाई आर्थिक संकट धेरै थियो । बाँच्नुको अर्थ छैन भन्थे । त्यही भएर होला आत्मदाह गरे ।’

निकालिएका कर्मचारीहरुका अनुसार ६ महिना पहिलेदेखि कर्मचारी हटाउने हल्ला चलेको थियो ।

जेठ १२ गते ११ जना कर्मचारीलाई अवकास पत्र थमाएपछि साँफेबगर नगरपालिकामा गुहार मागेका थिए । नगरपालिकाले कर्मचारी नहटाउन आग्रह गर्दै जेठ १४ गते विज्ञप्ति जारी गर्‍यो ।

तर, त्यसको भोलिपल्टै थप २२ जना कर्मचारी निकालिए । ‘तीनै तहको सरकारसँग समन्वय गरेर बजेट माग गर्ने र निकालिएका कर्मचारीहरूलाई बहाली गर्ने सहमति भएको थियो । तर कार्यान्वयन नहुने देखेर होला भाइले आत्मदाह गरे’ कडायत बने ।

सिद्धार्थले पटक-पटक जागिरबाट हटाएपछि बाँच्ने साहारा नभएको बताउँदै आएको कडायतलले सुनाए । उनी भन्छन्, ‘हामीमाथि अन्याय भएको भन्दै सबै ठाउँमा हारगुहार गर्‍र्यौ । हामीले न्याय पाएनौं विडम्बना भाइले मृत्युवरण गर्नुपर्‍यो ।’

यस विषयमा अहिलेसम्म अस्पतालले आधिकारी धारणा सार्वजनिक गरेको छैन । अस्पतालका प्रमुख डा. विकास गौचनसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment