+
+
Shares

नेपालको अलैँची बजार : भाउ नाघ्यो प्रतिमन लाख, घट्दो उत्पादनले बढायो चिन्ता

पछिल्ला वर्षहरूमा अलैँची मूल्यमा निकै राम्रो सुधार आएको छ । केही वर्षअघि प्रतिमन २० देखि २५ हजारसम्ममा बिक्री हुने अलैँची अहिले १ लाख रुपैयाँ नाघेको छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ कात्तिक १२ गते २१:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाँचथरका किसानहरूले करिब पाँच दशकदेखि अलैँची खेती गर्दै आएका छन् र यस वर्ष उत्पादन वृद्धि भए पनि घट्दो उत्पादकत्व र रोग समस्या देखिएको छ।
  • नेपालमा अलैँचीको मूल्य हाल प्रतिमन १ लाख रुपैयाँ नाघेको छ, तर गत वर्षको उच्च मूल्य १ लाख १४ हजार रुपैयाँमा पुग्न सकेको छैन।
  • नेपालको अलैँची निर्यातको ९८ प्रतिशत भारततर्फ जान्छ र सरकारले भण्डारण क्षमता अभाव समाधानका लागि 'वेयरहाउस मोडेल' लागू गर्न लबिङ गरिरहेको छ।

१२ कात्तिक, काठमाडौं । पाँचथर याङवरक गाउँपालिकाका वीरेन्द्रबहादुर लिम्बूले करिब पाँच दशकदेखि अलैँची खेती गर्दै आएका छन् ।

२०३५/३६ सालदेखि सुरु भएको उनको अलैँची खेती यात्राले नेपालको अलैँची उत्पादनको उतारचढाव नजिकबाट नियालेको छ । अहिले अलैँचीको भाउमा राम्रो वृद्धि भए पनि घट्दो उत्पादकत्व र रोगको समस्या चिन्ताको विषय बनेको छ ।

‘२०४०–४५ सालसम्म अलैँचीको व्यापक खेती र उत्पादन भयो,’ उनी सम्झिन्छन्, ‘तर, अहिले भने अवस्था फेरिएको छ, खेतीयोग्य जमिनको उर्वरा शक्ति घट्दै गएको छ ।’

हाल उनले करिब ५०–६० रोपनी जग्गामा मात्र अलैँची खेती गर्दै आएका छन् । पहिला जंगलभित्र पनि अलैँची फल्ने गरेकोमा अहिले जंगल क्षेत्रमा रोग लाग्ने हुँदा घाम र पानीको उचित निकास भएको ठाउँमा मात्र राम्रो उत्पादन हुने गरेको उनी बताउँछन् ।

यस वर्ष लिम्बूको बारीमा २५ देखि ३० मन (करिब १ हजारदेखि १ हजार २ सय किलो) अलैँची उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढेको छ । ‘पोहोर १० मन हुने ठाउँमा अहिले १५ मन भयो,’ उनले सुनाए ।

मूल्य राम्रो पाए पनि उनले हालसम्म अलैँची बिक्री गरेका छैनन् । उनी अझ राम्रो मूल्यको प्रतीक्षामा छन् । ‘अझै केही समय हेरौं, निकाल्न बाँकी पनि छ,’ उनले थपे ।

लिम्बूका अनुसार अलैँचीको मूल्यले लामो यात्रा तय गरेको छ । जब उनले अलैँची खेती सुरु गरेका थिए, त्यतिबेला प्रतिमन ३ देखि ४ सय रुपैयाँ र बढीमा ५ सय रुपैयाँमा बिक्री हुन्थ्यो । त्यो पनि पाँचथरमै बिक्री नहुँदा बोकेरै इलाम पुर्‍याएर बेच्नुपर्थ्यो ।

२०४५ सालदेखि पाँचथर सदरमुकाम फिदिमसम्म गाडी पुग्न थालेपछि स्थितिमा सुधार आयो र स्थानीय व्यापारीले गाउँमै खरिद गर्न थाले । हाल मध्यपहाडी लोकमार्गका कारण यातायात सुविधा घरघरमै पुगेको छ, जसले किसानलाई सहज बनाएको उनी बताउँछन् ।

पछिल्ला वर्षहरूमा अलैँची मूल्यमा निकै राम्रो सुधार आएको छ । उनले केही वर्षअघि प्रतिमन २० देखि २५ हजारसम्ममा बिक्री गरेको पनि बताए । हालको मूल्य गत वर्षको सबैभन्दा उच्च मूल्यमा नपुगे पनि अझै राम्रो रहेको उनको भनाइ छ ।

अहिले अलैँचीको मूल्य प्रतिमन १ लाख रुपैयाँ नाघेको छ । तर, गत वर्ष १ लाख १४ हजारसम्म पुगेको थियो ।

प्रमुख चुनौती : घट्दो उत्पादकत्व र रोगको प्रकोप

अलैँची खेतीको पाँच दशकको अनुभवबाट लिम्बूले मुख्य चुनौतीका रूपमा घट्दो जमिनको उर्वर शक्तिलाई औँल्याएका छन् । ‘जमिनको उर्वर शक्ति सकिएको होला जस्तो लाग्छ,’ उनी भन्छन्, ‘यसबाट धेरै जमिन बाँझो बन्न पुगेको छ ।’

रोगको समस्या पनि गम्भीर बनेको छ । पहिला जंगलभित्र पनि फल्ने अलैँचीलाई अहिले ‘फुर्के रोग’ लाग्ने गरेको उनी बताउँछन् । यस्तै, ‘गबारो’ नामक कीराको प्रकोप पनि मुख्य समस्या हो ।

उनका अनुसार यसको नियन्त्रणका लागि हालसम्म कुनै प्रभावकारी औषधि वा उपाय पत्ता लागेको छैन । उनले पहिले ‘रोगार’ नामक औषधि प्रयोग गरिए पनि त्यसले कुनै नियन्त्रण गर्न नसकेको बताए ।

‘अहिलेसमम अलैँचीमा लाग्ने रोगको कुनै उपाय भेटिएको छैन,’ उनले भने, ‘केही कृषि विज्ञले यहाँ आएर निरीक्षण र अनुसन्धान गरेर रोग पत्ता लागे पनि औषधि पत्ता लागेन ।’

अलैँची खेतीले लिम्बूको परिवारमा मौसमी रोजगारी सिर्जना गरेको छ । वर्षभरि नभए पनि झार फाल्ने, नल काट्ने, टिप्ने लगायत काममा दैनिक ज्यालादारी मजदुरले काम पाउँछन् । अलैँचीका काममा अन्य बालीको तुलनामा राम्रो ज्याला पाइने र ढुवानी खर्च पनि बढी लाग्ने उनी बताउँछन् ।

उत्पादन दोब्बर

पाँचथर रानीटारका किसान प्रताप तामाङ पनि २२ वर्षदेखि अलैँची खेती गर्दै आइरहेका छन् । उनका अनुसार यो खेती पहिले उनका बुबाले सुरु गरेका थिए । जुन करिब ३५–४० वर्षदेखि चल्दै आएको छ ।

६० देखि ७० रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका तामाङले यसपालि करिब १७ मन अलैँची उत्पादन भएको बताउँछन् । गत वर्ष ९ मनमात्र उत्पादन भएकोमा यस वर्ष उत्पादन लगभग दोब्बर भएको छ ।

उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष उत्पादन वृद्धि हुनुको मुख्य कारण रोगको प्रकोप कम हुनु र राम्रो दाना लाग्नु हो ।

तामाङले आफ्नो उत्पादन बेचेका छैनन्, मूल्य अझै बढ्ने आशामा पर्खिरहेका छन् । ‘हामीलाई यसको मूल्य अझै बढ्छ कि भन्ने लागेको छ, त्यसैले माग भए पनि रोकिराखेका छौं,’ उनले भने ।

जिल्लाभरिको अवस्था पनि यस्तै रहेको तामाङले बताए । उनका अनुसार पाँचथरको रानीटार, जहाँ अलैँची खेती प्रमुख छ । त्यहाँका किसानको लगभग ७५ देखि ८० प्रतिशत अलैँची अझै बिक्री हुन बाँकी छ । समग्रमा जिल्लाको करिब २० देखि २५ प्रतिशतमात्र बिक्री भएको अनुमान छ ।

अलैँचीको मूल्य बढ्ने आशामा किसान उत्साहित छन् र यस वर्षको राम्रो उत्पादनले उनीहरूलाई थप हौसला प्रदान गरेको छ ।

मूल्यवृद्धिले किसानमा उत्साह

नेपालको निर्यात व्यापारमा अलैँचीको भूमिका विशिष्ट छ । यो एकमात्र कृषिजन्य उत्पादन हो, जुन नेपालले निर्यात मात्र गर्छ र आयात गर्दैन । ‘कालो सुन’ का रूपमा परिचित अलैँचीले प्रत्येक वर्ष नेपाललाई अर्बौं रुपैयाँ विदेशी मुद्रा आर्जन गराउँदै आएको छ ।

पछिल्ला केही वर्षयता नेपालले अलैँची व्यापारमा राम्रो प्रगति गरिरहेको छ । यस वर्ष पनि अलैँची बिक्रीको मौसम सुरु हुनासाथ बजार मूल्यमा वृद्धि देखिएको नेपाल अलैँची व्यवसायी महासंघले जनाएको छ ।

नेपालको अलैँची बजारमा यतिबेला उत्साह र चिन्ता दुवै देखिएको छ । पछिल्लो समय अलैँचीको मूल्यमा भएको वृद्धिले किसानलाई थप आशावादी बनाएको छ भने दीर्घकालीन चुनौतीका रूपमा रहेको घट्दो उत्पादकत्व र रोगको प्रकोपले यस उद्योगको भविष्यमाथि प्रश्नचिह्न पनि खडा गरेको छ ।

यस वर्ष पनि नेपालमा अलैँचीको बजार भाउमा वृद्धि देखिएको छ भने भारततर्फको निर्यातमा उल्लेख्य विस्तार भएको छ । महासंघ अध्यक्ष दीपक नेपालले गत वर्षको भारतको स्टक सकिएकाले नेपाली अलैँचीको माग बढेको बताए । यस वर्ष समग्र उत्पादनमा सामान्य वृद्धि भए पनि दीर्घकालीन चिन्ताको विषय बनेको उत्पादकत्वमा भने ह्रास आएको उनको भनाइ छ ।

मूल्यवृद्धि र उत्पादनको अवस्था

महासंघ अध्यक्ष नेपालका अनुसार हाल अलैँचीको मूल्यमा केही सुधार आएको छ । झापा बिर्तामोडमा ‘जेजे क्वालिटी’ को अलैँची प्रतिमन (४० किलो) ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने फिदिममा यसको मूल्य ९८ हजार रुपैयाँ छ ।

जेजे क्वालिटीको अलैँची भने प्रतिमन १ लाख २ हजार रुपैयाँमा बिक्री भइरहेको छ, जुन प्रतिकिलो २ हजार ५ सय ५० रुपैयाँ हुन आउँछ । फिदिममा भने यस क्वालिटीको अलैँची १ लाख १ हजार रुपैयाँमा बिक्री भएको छ ।

गत वर्ष यही क्वालिटीको मूल्य १ लाख १४ हजार रुपैयाँसम्म पुगेको थियो, जसले गर्दा हालको मूल्य अझै पनि गत वर्षको उच्च बिन्दुमा पुग्न सकेको छैन । मूल्य अभिवृद्धि गरिएको र प्रशोधित ‘बोल्ड क्वालिटी’ प्रतिमन १ लाख ८ हजारदेखि १ लाख १० हजार रुपैयाँमा बिक्री भइरहेको छ ।

‘बोल्ड अलैँची’ भने संकलन गरिएको उत्कृष्ट गुणस्तरको अलैँची मध्येबाट पनि चाल्नी गरिएको एकै प्रकृतिको ठूलो दानामात्र भएको फुट्टा दाना ( विशेष ठूलो दाना ) हो ।

पाँचथरमा २९ प्रतिशतले घट्यो उत्पादन

उत्पादनका हिसाबले ताप्लेजुङमा यस वर्ष अलैँची उत्पादनमा करिब २९ प्रतिशतले कमी आएको छ । यद्यपि, इलाम र पाँचथर जस्ता अन्य प्रमुख उत्पादन क्षेत्रमा उत्पादन वृद्धि भएको छ ।

‘समग्रमा गत वर्षको तुलनामा यस वर्ष उत्पादन १० देखि २० प्रतिशतले बढ्ने अनुमान छ,’ महासंघ अध्यक्ष नेपालले भने ।

नेपालका करिब ५० जिल्लामा अलैँची खेती हुने गरे पनि मुख्य उत्पादन क्षेत्र कोशी प्रदेशमा पर्दछन्, जसले कुल उत्पादनको ८६ प्रतिशत योगदान गर्दछ । त्यसपछि गण्डकी प्रदेश (मुख्यत: लमजुङ र कास्की) र बागमती प्रदेश (काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट) प्रमुख छन् ।

घट्दो उत्पादकत्व चिन्ताको विषय

अध्यक्ष नेपालले अलैँची क्षेत्रको भविष्यका लागि चिन्ता व्यक्त गरेका छन् । ‘अलैँची खेती गर्ने क्षेत्रफल बढ्दो क्रममा छ,’ उनले भने, ‘तर, समग्र उत्पादनको मात्रा त्यस अनुपातमा बढिरहेको छैन, यसले हाम्रो उत्पादकत्व घटिरहेको देखाउँछ ।’

यस अवस्थाले उत्पादन लागत बढ्ने र किसानको नाफा घट्ने जोखिम रहेको उनको भनाइ छ । उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) बाट यसबारे थप आधिकारिक तथ्यांक लिनुपर्ने आवश्यकतामा जोड दिए ।

भारतमा ९८ प्रतिशत निर्यात र सीमित बजार

नेपालको कुल अलैँची निर्यातको लगभग ९८ प्रतिशत हिस्सा भारतले ओगटेको छ । द्विपक्षीय तथा त्रिपक्षीय व्यापार सम्झौताका कारण भारतसँग व्यापारमा सहजता भए पनि तेस्रो मुलुकमा प्रत्यक्ष निर्यात गर्न कठिनाइ रहेको अध्यक्ष नेपालले बताए ।

‘हामीले भारत बाहेक तेस्रो देशमा चाहिँ सिधै निर्यात गर्न अलि कठिन छ,’ उनले भने, ‘भन्सार शुल्क र कागजात प्रक्रिया (डकुमेन्टेसन) का कारण तेस्रो मुलुकतर्फको निर्यातमा जटिलता छ ।’

सरकारी बेवास्ता, ‘वेयरहाउस मोडेल’ को आवश्यकता

महासंघ अध्यक्ष नेपालले अलैँची क्षेत्रलाई सरकारले उचित प्राथमिकता नदिएको गुनासो गरे । उनले अलैँचीलाई नेपालीको विशिष्ट (टिपिकल नेपाली) उत्पादनका रूपमा हेरिनुपर्ने बताए ।

‘अलैँची नेपालीको विशिष्ट उत्पादन हो, आयातित कच्चापदार्थ होइन,’ उनले भने, ‘गत वर्ष यसको निर्यातबाट करिब ८ अर्ब रुपैयाँ आम्दानी भएको थियो ।’

उनले आयातित कच्चापदार्थबाट बनेका उत्पादनलाई जस्तै नभई कृषि उत्पादनलाई सरकारले फरक ढंगले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

किसान र व्यवसायीसँग भण्डारण क्षमता अभाव ठूलो समस्याका रूपमा छ । महासंघले किसान र संकलकहरूलाई गोदाममा राखेको अलैँचीको धितोमा ऋण उपलब्ध गराउने ‘वेयरहाउस मोडेल’ लागु गर्न सरकारसँग लबिङ गरिरहेको उनले बताए । यसले मूल्य स्थिर गर्न र किसानलाई बजारमा उचित मूल्य पाउन मद्दत गर्ने उनको भनाइ छ ।

वेयरहाउस विधेयक कोशी प्रदेश सरकारमा छलफल भइसकेको र काठमाडौंमा पनि छलफल भइसकेको छ । तर, विकसित राजनीतिक घटनाक्रमका कारण यसबारे अझै विस्तृतमा छलफल हुन बाँकी रहेको उनले बताए ।

रोजगारी अवसर

अलैँची क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १ लाख घरपरिवार संलग्न रहेको तथ्यांकले देखाउँछ । विशेषगरी बिर्तामोड, फिदिम र अन्य प्रमुख उत्पादन क्षेत्रमा अलैँचीको ‘टेल कटिङ’ (पुच्छर काट्ने) काममा गृहिणीहरूले राम्रो रोजगारी पाएका छन् । यो काममा प्रतिकिलो २० देखि २५ रुपैयाँ ज्याला पाइने गरेको छ ।

अन्य कृषि मजदुरको तुलनामा अलैँची क्षेत्रका मजदुरले राम्रो ज्याला पाउने र अलैँची ढुवानी गर्दा पनि अन्य वस्तुभन्दा महँगो (प्रतिकिलो ३ रुपैयाँ) भाडा लाग्ने उनले बताए ।

अलैँची उत्पादन र निर्यातको ठूलो सम्भावना भए पनि सरकारी नीतिगत प्राथमिकता अभाव र आन्तरिक खपत कमीले यस क्षेत्रको पूर्णक्षमता सदुपयोग हुन नसकेको अध्यक्ष नेपालले औँल्याए ।

यस्तो छ पाँच वर्षको अलैँची निर्यात

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिना (साउन–असोज) सम्म १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँको १० लाख ७२ हजार २ सय किलो अलैँची निर्यात भएको छ ।

आव २०८०/८१ मा नेपालले ५० लाख १७ हजार ३ सय ३० किलो अलैँची निर्यात गरी ७ अर्ब ९३ करोड ८१ लाख ८३ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

यो अघिल्लो आव २०७९/८० मा ९९ लाख ९० हजार ८ सय ५९ किलो अलैँची निर्यात भएको थियो । जसको मूल्य ८ अर्ब २७ करोड ६५ लाख ९७ हजार रुपैयाँ रहेको देखिन्छ ।

उत्पादन अवस्था

कृषि मन्त्रालयको तथ्यांक अनुसार आव २०७४/७५ मा १८ हजार हेक्टर क्षेत्रफल र २०७५/७६ मा २० हजार ८ सय ८० हेक्टर क्षेत्रफलमा फैलिएको अलैँची खेती अहिले १६ हजार हेक्टर क्षेत्रफलमा सीमित भएको छ ।

आव २०७६/७७ मा देशभरि १६ हजार ५ सय ६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको थियो । उक्त क्षेत्रफलबाट ९ हजार ५ सय ४५ टन अलैँची उत्पादन भएको थियो ।

त्यस्तै २०७७/७८ मा १५ हजार ६ सय ६८ हेक्टर क्षेत्रफलमा भएको अलैँची खेतीबाट ८ हजार २ सय ८९ टन उत्पादन भएको थियो । त्यसैगरी २०७८/७९ मा १५ हजार ९ सय ७५ हेक्टर क्षेत्रफलबाट ८ हजार ७ सय १४ टन अलैँची उत्पादन भएको तथ्यांकमा उल्लेख छ ।

यस्तै २०७९/८० मा १५ हजार ९ सय ७५ हेक्टर क्षेत्रफलमा उत्पादन घटेर ८ हजार ६ सय ७४ टनमा सीमित भयो । २०८०/८१ मा भने उत्पादन क्षेत्रफल र उत्पादन दुवै बढेको तथ्यांकले देखाउँछ । गत वर्ष १६ हजार ३ सय ८२ हेक्टर क्षेत्रफलमा ८ हजार ८ सय ८ टन अलैँची उत्पादन भएको थियो ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?