Comments Add Comment

जनता समाजवादी पार्टीमा नेतृत्व विवाद मिल्यो, तीन जना अध्यक्ष

दल दर्ता गर्न आजै निर्वाचन आयोग जाने

२५ जेठ, काठमाडौं । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)मा तीन जना अध्यक्ष रहने भएका छन् ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृच्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार पार्टी पदाधिकारीबारे सहमति जुटेको छ । महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अध्यक्ष रहने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।

यस्तै वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई पनि पदाधिकारी रहने छन् ।

बाँकी सबैको नाम मात्रै पठाइने भएको छ ।

सहमतिअनुसार जसपा नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग गएका छन् । पार्टी एकताको सहमति अनुसार निवेदन दर्ता गर्न आयोग जान लागेको जसपाका नेता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

राजनीतिक दल सम्बन्धी ऐनमा एकिकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपि संलग्न गरेर आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ । राजपा र सपाले पार्टी एकताको सहमति गरेको शनिबार ४५ दिन पुगेको थियो, तर अन्तिम दिन शनिबार परेकाले आइतबार निवेदन दिने पाउनेछन् ।

ऐनमा दुई वा सो भन्दा पार्टीले सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्ने, एकीकरणको सम्झौता भएको ४५ दिन भित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपी संलग्न गरी आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ ।

निवेदनमा त्यस्ता दलमध्ये कुनै दलको नाममा गाभिने वा नयाँ नाममा एकीकरण हुने कुरासमेत खुलाउनु पर्ने र निवेदनमाथि आयोगले आवश्यक जाँचबुझ गरेर दल दर्ताको प्रमाणपत्र दिने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment