News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनले कम विकसित राष्ट्रलाई पुर्याएको क्षतिको विषय उठाउँदै विश्वले त्यसलाई अनदेखा गर्न नपाउने बताउनुभयो ।
- लेखकले प्रधानमन्त्रीको महासभा सम्बोधनमा कालो चस्माले प्रस्तुति फितलो बनेको र देशको पीडा प्रभावकारी रूपमा देखाउन नसकिएको टिप्पणी गरेका छन् ।
- लेखकले प्रधानमन्त्रीलाई देशभित्र, पत्रकारसँग र संसद्मा संवाद बढाएर दुईतर्फी राजनीतिक सञ्चार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घको महासभामा बोल्दै गर्दा देशमा झरी परिरहेको थियो । झरी अद्यापि परिरहेको छ । बाढी र पहिरोका खबर आइरहेका छन् ।
प्रधानमन्त्री भोटेकोसी बाढी वा हिमाली सुनामीबाट प्रभावित देशको कहर विश्वसामु राख्न त्यहाँ पुगेर फर्किसकेका छन्। जलवायु परिवर्तनले हाम्रोजस्तो कम विकसित राष्ट्रहरूमा कस्तो क्षति गरिरहेको छ र विश्वले त्यसलाई अनदेखा गर्न पाउँदैन बताएका छन् ।
उनले संयुक्त राष्ट्रसंघका महासचिवसँग फोटोसेसनका क्रममा खल्तीबाट कालो चस्मा निकालेर लगाउन भुलेनन् । महासभामा सम्बोधनमा पनि उनी कालो चस्मा मै प्रस्तुत भए ।
चस्मा लगाउँदा उनको आँखासँग अडियन्सले प्रत्यक्ष र जीवन्त संवाद गर्ने अवसर गुमाउँछन् । त्यो प्रायः गुमाइरहेकै छन् ।
म नेपाली कांग्रेसको युवा हुँ। यो लेख कुनै स्वतन्त्र विश्लेषकले लेखेको होइन। र, यदि तपाईं सरकार समर्थक, रास्वपा समर्थक वा भनौं बालेन समर्थक हुनुहुन्छ र पनि यो आलोचनात्मक लेख पढ्न सक्नुहुन्छ भने साधुवाद ! स्वस्थ आलोचनाका लागि ढोका खुला राखेर लोकतन्त्रलाई मजबुत बनाउन तपाईंले पनि एउटा इँटा थप्नुभयो।
तर तपाईं यो लेखको हेडलाइन देख्नेबित्तिकै पढ्नै सक्नुहुन्न भने सायद तपाईं पनि चस्मा लगाइरहनुभएको छ- भक्तको चस्मा।
भारतमा एउटा चर्चित म्युजिक भिडियो छ; कट्टर बीजेपी समर्थकहरूलाई व्यङ्ग्य गरेर बनाइएको, जसमा त्यो चस्मा लगाउनेबित्तिकै गरिबको झुपडी पनि बदलिएर आलिसान महल देखिन्छ, सरकार सफल देखिन्छ। राजनीतिमा कहिलेकाहीँ शासकले चस्मा लगाउँछ, कहिलेकाहीँ समर्थकले। तर खतरनाक अवस्था सायद त्यो हो; जब दुवैले एउटै चस्मा लगाउँछन्।
केही त्यस्ता चस्मा लगाउने समर्थकहरूको कुरा छ- ‘बिचरा, पहिलो पटक हो। प्रयास त गरेको हो नि ! पहिलेकाहरूको भन्दा अङ्ग्रेजी राम्रो थियो।‘
जुन कुरा गलत होइन। तर यो कुनै साधारण वैदेशिक भ्रमण थिएन। नेपालको इतिहासमै यति ठूलो प्रकोप र सायद विश्वमै पहिलोपटक घटेको यति ठूलो जलवायु परिवर्तनको असरको घटनाको पूर्वसन्ध्यामा भएको यूएन महासभाको भाषण थियो। कुनै ‘मोडल यूएन’ को कार्यक्रम थिएन । हामीले देशकै इतिहासमै ‘शक्तिशाली प्रधानमन्त्री’ पठाएका हौं, हाम्रो कुरा स्थापित गर्नलाई।

प्रधानमन्त्रीको सम्बोधन कस्तो भयो ? के–कस्ता विषयवस्तु थिए ? भनेर अहिले सामाजिक सञ्जालहरूमा (विशेषगरी एक्स र रेडिटमा) जानकारहरूको धारणा आइरहेका छन्। मेरो विचारमा विषयवस्तु ठीक थियो, बोल्नैपर्ने कुराहरू थिए। तर प्रस्तुति भने केही फितलो थियो। त्यो प्रस्तुति फितलो हुनुमा उनको ‘चस्मा’ एक नम्बर दोषी थियो भन्ने लाग्छ।
आजको सम्बोधनमा हाम्रो देशको पीडा देखिनुपर्थ्यो। प्रभावित क्षेत्रका जनताको पीडा त्यो सभालाई, विश्वलाई महसुस गराउन सक्नुपर्थ्यो। कम्युनिकेसन (सञ्चार) मा आँखाको ठूलो महत्त्व हुन्छ। आँखाले धेरै कुरा बोल्छ, अझ आँखामा धेरै कुरा देखिन्छ। सिन्सियरिटी झल्किन्छ। पीडा र मन्द आक्रोश संसारलाई सुनाउनुपर्ने थियो। तर कालो चस्माले आँखा ढाकिँदा त्यो अवसर गुम्यो।
‘क्युरेटेड इमेज बिल्डिङ’ मा मात्र ध्यान दिँदा आजको त्यो महत्त्वपूर्ण भाषण एउटा औपचारिकता बन्यो। विश्व हल्लाउने भाषण बन्न सक्ने अवसरबाट चुक्यो।
उनी आत्तिएका जस्ता देखिन्थे, तयारी पनि पर्याप्त नभएको जस्तो लाग्थ्यो। हतारहतार आफ्नो कुरा राखेर ‘कहिले सकाऊँ !’ जस्तो गरी बोलिरहेका थिए। ठहराव थिएन। उनले बोलेको कुरामा चाहिने कन्भिक्सन पनि सुनिँदैनथ्यो।
उनलाई “यो बोल” भनेर दिइएको कागज पढेजस्तो गरी बोल्दा उनले जुन प्रभाव छाड्नुपर्ने थियो, देशको पीडालाई जसरी जबर्जस्त प्रस्तुत गर्नुपर्ने थियो; त्यो हुन सकेन। उनी किन अमेरिका पुगेका थिए ? कम्युनिकेट गर्न न कि आफ्नो इमेज प्रमोट गर्न ।
बालेन एउटा र्यापरका रूपमा उदाएका थिए, बोलेर। तर उनी राजनीतिका शीर्षस्थ पात्र बनिसक्दा संवाद गर्न छाडेका छन्। यसको अर्थ उनले कम्युनिकेट गर्न छाडेका छन् भन्ने होइन। बालेन बोल्नुभन्दा धेरै ‘भिजुअल्ली कम्युनिकेट’ गर्छन्। उनको कालो चस्मा उनको ब्रान्ड बनेको छ।
उनले लगाउने लुगा ट्रेन्ड बन्छन्, उनको नाच भाइरल हुन्छ। उनको हिँडाइ, हाउभाउ र समग्र इमेजले नै धेरै कुरा कम्युनिकेट गर्छ। उनले आफ्नो एउटा बलियो भिजुअल पर्सोना बनाएका छन्; जसलाई जेनजीको भाषामा ‘नन–सलान्ट’ वा ‘नो ननसेन्स इमेज’ भनेर बुझिन्छ।
तर प्रधानमन्त्रीको कम्युनिकेसन यतिमै सीमित हुन सक्दैन। अब उनलाई यो छुट दिन सकिँदैन। उनी देशभित्र बोल्दैनन्। पत्रकारसँग संवाद गर्दैनन्। कुनै अन्तर्वार्तामा बोल्दैनन्। प्रेस कन्फ्रेन्स गर्दैनन्। संसद्मा गएर बोल्न रुचाउँदैनन्। उनलाई संवाद मन पर्दैन। उनलाई एकोहोरो फेसबुकको भित्तामा भित्तेलेखन मन पर्छ।
नेपालमा एउटा गलत भाष्य चलेको छ- ‘नेताको काम बोल्ने होइन, काम गर्ने हो। तर नेताको प्रमुख काममध्ये एउटा बोल्नु पनि हो। आफ्नो कुरा बुझाउनु हो, मानिसलाई प्रेरित गर्नु हो, समाजलाई दिशा देखाउनु हो।
ठूला राजनीतिक आन्दोलन र परिवर्तनहरू पनि विचार प्रवाह गरेर, भाषण गरेरै हुन्छन्। बोलेरै हुन्छन्। नेता आफैंले सडक खन्ने, अस्पताल चलाउने वा हरेक फाइल बोकेर हिँड्ने होइन। त्यसका लागि राज्य संयन्त्र हुन्छ। नेताले मार्गदर्शन दिने हो, मानिसलाई जोड्ने हो, आफ्नो भिजन बुझाउने हो र त्यसलाई कार्यान्वयन गर्न संयन्त्रलाई चलाउने हो।
त्यसैले ‘काम गर्ने नेता बोल्दैन’ भन्ने कुरा आफैंमा गलत बुझाइ हो। राम्रो नेताले काम पनि गर्छ, बोल्छ पनि, बुझाउँछ पनि, प्रेरित पनि गर्छ।
बालेन अमेरिकाका लागि प्रस्थान गर्ने बेलादेखि नै उनको चर्चा सुरु भएको थियो। उनले भीआईपी बिदाइ लिएनन्। सामान्य तरिकाले गए। रेड कार्पेटमा हिँडेनन् जस्ता कुराहरूले समर्थकहरू उत्साहित थिए। त्यसलाई माओवादीले कुनै बेला प्रयोग गर्ने अग्रगामी छलाङ जसरी प्रस्तुत गरियो।
अमेरिका पुगेपछि केही फेक एआई भिडियोहरू सञ्जालमा छ्यापछ्याप्ती गरिए। ‘यस्तो सम्मान भयो, उस्तो सम्मान भयो’ भनेर भिडियो, फोटो सञ्जालमा दौडिए। देशमा दिइएको सम्मान नलिएका प्रधानमन्त्रीलाई फेरि विदेशमा ‘खतरा स्वागत गरियो’ भनेर प्रचार गर्ने प्रयास पनि भयो।
देशमा गरिने सम्मानचाहिँ लिन नहुने, विदेशमा चाहिँ ‘हामीलाई भयंकर सम्मान चाहिने’ हीनताबोधबाट ग्रसित हाम्रो समाजले सम्मान कस्तो भयो ? भन्ने कुरामा भन्दा हाम्रो प्रस्तुति कस्तो भयो ? भन्ने कुरामा ध्यान दिने दिन सायद हामी सही बाटोमा हुनेछौं।
हामीले हेर्नुपर्ने कुरा एयरपोर्टदेखि होटेलको बाथरुमसम्मै रेड कार्पेट ओछ्याइयो कि नाइँ ? भनेर होइन। हामीले कतिवटा अन्तर्राष्ट्रिय मिडियामा एक्सक्लुसिभ इन्टरभ्यु दियौं ? कतिवटा मञ्चमा गएर जोडदार बोल्यौं ? हाम्रो कुरा कति प्रभावकारी रूपमा राख्यौं ? भन्ने हुनुपर्ने हो।
हामीले ‘पोलिटिकल कम्युनिकेसन’ गर्न सक्यौं त ? त्यसको मूल्याङ्कन हुनुपर्ने हो। त्यसको प्रभावकारिताको जाँच र चर्चा हुनुपर्ने हो।
युक्रेन युद्धपछि जेलेन्स्कीले आफ्नो देशको कहर विश्वलाई बुझाउन धेरैवटा इन्टरभ्यु दिएका छन्; जहाँ उनले कठोरभन्दा कठोर प्रश्नहरूको सामना गरेका छन्। विश्वमा छाप छाड्न हामीले हाम्रो कुरा सही ठाउँमा जबर्जस्त राख्न सक्यौं कि सकेनौं ? भन्ने कुरामा भर पर्छ।
हामी ‘गुड कम्युनिकेटर’ हुन सक्यौं कि नाइँ ? भन्ने कुरा महत्त्वपूर्ण हो। हाम्रो कम्युनिकेसन खुबीले नै हामीलाई संसारमा, हामीले खोजेको पहिचान, इज्जत र मान दिलाउने हो। एयरपोर्टको स्वागत र ‘रेड कार्पेट’ त्यो गर्न सकेको दिन आफैं भव्य हुन थालिहाल्छन्।
हामीले बीपी कोइरालापछि त्यस्तो नेता पाउनै सकेनौं। बीपी कोइराला उपचारका क्रममा अमेरिका गएका बेला एक जना होइन, दुई जना धुरन्धर पत्रकारसँग बसेर कठोरभन्दा कठोर प्रश्नको सामना गर्छन्; जुन भिडियो अहिले पनि युट्युबमा भेटिन्छ।
ती दुईमध्ये एक पत्रकारले ‘राजाको नजिकको मान्छे भनिरहेछन्— जनतालाई खानेपानी चाहिएको छ, रोड चाहिएको छ, स्कुल चाहिएको छ, जनताले प्रजातन्त्र खोजेका छैनन्। तपाईंसँग के प्रमाण छ कि जनताले प्रजातन्त्र खोजिरहेका छन् ?’ भनेर कठोर प्रश्न गर्छन्। जसको सामना बीपीले गज्जबले गर्छन्। आफ्नो कुरा बुझाउँछन्, कम्युनिकेट गर्छन्।
बीपीको चस्मा पनि एकदमै आइकोनिक थियो, उनको ‘दोषी चस्मा’ कथा त झन् नेपाली साहित्यको एउटा अति रुचाइएको कृति हो। तर बीपीको चस्मा वा बीपीको दौरा–सुरुवालको आज खासै चर्चा हुँदैन, उनका कथनको भने चर्चा हुन्छ।
नेताको प्रमुख काममध्ये एउटा सञ्चार हो। उसले कम्युनिकेसन नगर्दा धेरै कुरा लथालिङ्ग बन्छन्। बालेनले कालो चस्माको आवरणमा गरेको एकोहोरो कम्युनिकेसन सायद अब बिस्तारै उनैलाई घाटा गर्नेछ।
उनलाई मात्र घाटा हुने भएको भए एउटा विपक्षी दलको कार्यकर्ताले यत्रो लेख लेख्न पनि जरुरी थिएन होला। खुच्चिङ भन्दै बस्दा पनि हुन्थ्यो। तर त्यो कालो चस्मा खोलेर संवाद नगर्दा देशले भने धेरै ठाउँमा अप्ठ्यारो बेहोर्ला भन्ने पिर हुने भयो।
अति सफल भिजुअल कम्युनिकेटरबाट राम्रो पोलिटिकल कम्युनिकेटर भए सबैको हित हुन्थ्यो। प्रधानमन्त्रीले कालो चस्मा खोलेर, आँखा देखाएर अब ‘दुईतर्फी संवाद गर्ने’ बेला आएको छ।
(नेपाली कांग्रेस आबद्ध लेखक राजनीतिक सञ्चार रणनीतिकार हुन् ।)
प्रतिक्रिया 4