Comments Add Comment

छुवाछुत उन्मूलनको उपाय : दक्षिण एसियाली समाजमा एउटा मौलिक क्रान्ति जरुरी छ !

यतिबेला रुकम काण्डले सबैलाई तताएको छ । बिक थरका युवा र मल्ल थरकी युवतीबीचको सजातीय प्रेम (मनुश्यको जात एउटै हो) लाई युवतिको परिवार र समाजले स्वीकार गरेन । प्रेमिका भगाउन आफ्ना साथीहरुसहित युवतीको गाउँ पुगेका प्रेमी र उनका अन्य ५ जना साथीहरुको निर्मम हत्या भयो । जसमा गैरदलितहरु पनि परे ।

घटनालाई शुरुवातमा भवितव्य घटनाका रुपमा देखाउने प्रयास गरियो । युवाहरुलाई गाउँलेले लखेट्ने क्रममा युवाहरु आफैं नदीमा हामफालेका हुन्, जसका कारण उनीहरुको मृत्यु भयो भन्ने कुरा गरियो । साथै यो जातपातको घृणाद्वारा गरिएको हत्या होइन, मानवीय मतभेदबाट पैदा भएको झडप हो भनेर पनि व्याख्या गरियो ।

यस सम्बन्धमा संसदीय छानविनसमिति गठन भइसकेको छ । प्रहरीद्वारा मुद्दा दर्ता गर्ने प्रकृया पनि सम्पन्न भइसकेको छ । अब छानविन समितिको विस्तृत प्रतिवेदन र अदालतको फैसला हेर्न बाँकी छ ।

यद्दपि अहिले नै यतिभन्दा गलत हुँदैन कि रुकुम घटना मूलतः जातपातको घृणाले नै पैदा गरेको हो । नत्र प्रेम सम्बन्धको असहमतिकै नाममा यत्रो नरसंहारको अर्को कुनै कारण फेला पर्दैन । आशा गरौं, सम्बन्धित निकायहरुले थप छानविन गर्नेछन् र अपराधीहरुलाई हदैसम्मको सजायँ गर्नेछन् । घटनाका सम्बन्धमा हाल यति मात्र भन्न सकिन्छ । किनकि, घटना नहुनु भइसक्यो । होनाहार युवाहरुले ज्यान गुमाइसके । सजातीय प्रेमले जातपातको घृणा र वियोगान्त भोगिसक्यो ।

तर, समग्र विषयमा भने यति भनेर पुग्दैन । घटनाले प्रश्न उठाएको छ, आजको अत्याधुनिक युगमा, त्यहीमाथि ‘क्रान्तिको आधार इलाका’मा यस्ता घटना कसरी पैदा भइरहेछन् ? आजको युगसम्म पनि हाम्रो समाजमा किन जातपातमा आधारित विभेदकायम छ ? जातपातको विभेद निर्मूल गर्ने उपाय के हो ?

यी प्रश्नहरुमा आज हामी सबैले बोल्नैपर्ने भएको छ । त्यसैले यस्ता प्रश्नहरुमाथि ‘सचेत मानिसहरु’ बोल्न पनि थालेका छन् । तर, बोल्ने नाममा जे-जे धारणाहरु आइरहेका छन्, ती समाधानमुखी कम भावुकता र भावनात्मक बेसी छन् । वा कथित उच्च जातीय अहंकारले भरिएका छन् । त्यस कारण पनि यस विषयमा थप केही बोल्नैपर्ने अवस्था सिर्जना भएको छ ।

छुवाछुत प्रथाको जरा

छुवाछुत जन्य विभेदपूर्वको हिन्दु सम्प्रदायमा मात्र छ भन्ने कुरा एउटा भ्रम मात्र हो । पश्चिमको इसाई सम्प्रदायमा पनि छ । फरक यति हो, हिन्दुले आन्तरिक विभेदलाई संस्थागत गरेको छ । इसाईले बाह्य विभेदलाई । अर्थात हिन्दु सम्प्रदायमा आफ्नै सहकर्मीवीच छुवाछुतको प्रथा खडा गरिएको छ । इसाई सम्प्रदायहरुमा अर्काको सम्प्रदायसँग छुवाछुतको प्रथा खडा गरिएको छ । धेरैजसो इसाई सम्प्रदायमा अर्काको धार्मिक अनुष्ठानमा सहभागी हुन र खान निषेध गरिएको हुन्छ । त्यसैले छुवाछुत हिन्दुहरुमा मात्र हो भन्ने बुझाई एउटा भ्रम मात्र हो ।

मुख्य कुरा छुवाछुतजस्तो प्रथा कसरी शुरु भयो भन्ने प्रश्नमा खास छलफल हुनुपर्छ । यसका जरा पहिल्याउन सक्दा मात्र यसलाई निर्मूल गर्न सकिन्छ । तर, समस्या के हो भने आजको यान्त्रिक (भौतिकवादी) समाजशास्त्रीय पद्दतिबाट यो समस्याको जरामा पुग्नै सकिन्न ।

इतिहासलाई ‘स्थानीय परिघटना’ मान्ने र कार्य-कारण सम्बन्ध केलाउने विधिबाट इतिहासका केवल सतही कुरा मात्र जानकारीमा आउँछन् । इतिहासको मूल रहस्य बाँकी नै रहन्छ ।

तर, यान्त्रिक समाजशास्त्रको विधिलाई नै पूरा सत्य मानेर धारणा बनाउने आम चलनले नै हामीलाई समस्याको जरासम्म पुग्न दिएको छैन । जसका कारण हाम्रा धारणाहरु कि त विभेदकारी नै हुन पुग्छन्, कि त भावुकतामै सीमित हुन्छन् ।

वर्ण व्यवस्थासँग सम्बन्धित ऋग्वेदको श्लोकले भन्छ-

ब्राम्हणोस्य मुखमासीद बाहु राजन्य कृतः

उरुतदस्य यवैश्य पद्भ्यां शुद्रोऽजायत ।। ऋग्वेद १०।९०।१२

अर्थात, मुखबाट ब्राम्हणहरुको श्रृष्टि भयो, हातहरुबाट राजन्यहरुको श्रृष्टि भयो, पेटबाट वैश्यहरुको श्रृष्टि भयो र खुट्टाबाट शुद्रहरुको श्रृष्टि भयो ।

माथिको श्लोक नै हो हिन्दु समाजमा छुवाछुतको मूल जड । अर्थात वेदजस्ता ग्रन्थहरुले नै छुवाछुत फैलाएका हुन् । मानिसहरुलाई शोषण गर्न नै वर्णाश्रम व्यवस्था जन्माइयो । शुरुवातमा वर्णाश्रम व्यवस्थामा छुवाछुत थिएन, यो ‘कर्मजात’ व्यवस्था थियो । कर्मजात व्यवस्थाले नै ‘जन्मजात’ प्रथाको रुप लियो । अर्थात, वर्णाश्रम व्यवस्थाको भ्रष्टीकरणद्वारा नै छुवाछुत प्रथा स्थापित भएको हो । यो कुरामा प्रायः सबैको स्वीकारोक्ति छ ।

तर, यो प्रसंगसँग सम्बन्धित केही प्रश्नहरु छन्, जसका बारेमा कहिल्यै छलफल हुँदैन । पहिलो- संसारमा अन्यत्र यस प्रकारको वर्णाश्रम व्यवस्था देखा नपर्नु, दक्षिण एशियामा मात्र देखा पर्नुको कारण के हो  ? दोस्रो, किन ‘कर्मजात’ व्यवस्था ‘जन्मजात’ छुवाछुत प्रथामा रुपान्तरण भयो ? तेस्रो, आयुर्वेद, योग, ध्यान, ज्योतिष जस्ता विज्ञान जन्माउने वैदिक सभ्यताले समाजमा चाहिँ किन छुवाछुत र वर्ण व्यवस्था लागु गर्‍यो ?

बौद्धिक जगतमा आज यस्ता प्रश्नहरुलाई बेवास्ता गरिएको छ । तर, यिनै प्रश्न हुन्, जसले हामीलाई छुवाछुत प्रथाको जरासम्म पुग्न र यसको समाधान खोज्न पनि मद्दत गर्दछ । तर, यी प्रश्नहरुलाई शास्त्रीय विज्ञानको कसीमा होइन, आधुनिक विज्ञानको कसीमा हेर्न जरुरी हुन्छ ।

यान्त्रिक (भौतिकवादी) होइन, जैविक विश्वदृष्टिकोणबाट हेर्न जरुरी हुन्छ । यदि यसो गरियो भने इतिहासका सम्बन्धमा फरक परिदृश्य देख्न सकिन्छ । छुवाछुत प्रथाको फरक ऐतिहासिक पृष्ठभूमि पनि देख्न देखिन्छ ।

प्राचीन वैदिक ऋषिहरुले मनुष्यलाई जसरी चार खण्डमा विभाजित गरे, त्यो आफैंमा गलत थिएन । साथै समाजलाई ‘जिउँदो शरीर’ को विम्वमा हेर्ने तरिका पनि गलत थिएन । बरु यो त गहिरो विज्ञानको उपज थियो । यो तथ्य बुझ्न विज्ञानका विधाहरुमा भएको प्याराडाईम सिफ्टलाई बुझ्न जरुरी हुन्छ ।

आजको अत्याधुनिक मनोविज्ञानले पनि मनुष्यको गुणवत्तालाई मूलतः चार खण्डमा नै विभाजन गरेको छ । साथै आजको अत्याधुनिक समाजशास्त्रले पनि समाजलाई यान्त्रिक विम्वमा हेर्नु गलत हुने रहेछ, समाजलाई ‘जिउँदो सञ्जाल’ को विम्वमा नै हेर्नुपर्ने रहेछ भन्ने निश्कर्ष दिएको छ ।

त्यसैले माथिको श्लोक आफैंमा विभेदकारी थिएन । श्लोकले भन्न खोजेको कुरा यही थियो कि समाज ‘यन्त्र’ होइन, ‘जिउँदो तत्व’ हो । जसरी जीवनका लागि शरीरका सबै अंगहरुको महत्व बराबर हुन्छ, त्यसरी नै समाजका लागि हरेक व्यक्तिको महत्व बराबर हुन्छ ।

समाजलाई विभाजनमुखी  नजरले हेर्नु हुँदैन । सामाजिक संरचना र सम्बन्धहरु आपसमा परिपूरक र अन्तरसम्बन्धित हुन्छन् । मनुष्यमा व्यक्तिपिच्छे स्वभावगत भिन्नता त हुन्छ । तर, सामाजिक सदस्यहरु कोही उच्चनिच, सानोठूलो हुँदैन । गुणवत्ताका हिसावले मनुष्य जाति असमान (फरक स्वाभावको) छ । तर, अधिकारका हिसावले समान छ । समाज पनि जिउँदो अवयव नै हो । श्लोकको खास आसय सायद यही थियो ।

ऋषिहरुमा यो स्तरको बुझाई विकास हुनु र सोहीअनुसारको सामाजिक अभ्यास गर्नु पनि गलत थिएन । आज हामी पनि विज्ञानको यही सारतत्वलाई पक्रिने र अभ्यास गर्ने कोसिस गरिरहेका छौं । त्यसैले वर्ण व्यवस्था आफैंमा शोषण गर्न जन्माइएको प्रथा थियो भन्ने कुरा सही होइन । साथै सामाजिक वर्गहरुलाई शरीरका अंगहरुसँग तुलना गर्नु गलत थियो, यसले कसैलाई सम्मान र कसैलाई अपमान गरेको थियो भन्ने कुरा पनि सही होइन ।

दक्षिण एसियामा मात्र यस प्रकारको सामाजिक अभ्यास हुनुको कारण यही नै थियो कि यही भुमिमा प्राचीनकालमा अनौठो विज्ञान आविस्कार भएको थियो । जुन तपश्चातको पद्दतिमा आधारित थियो । त्यही विज्ञानले प्राचीनकालमै भौतिकशास्त्र, जीवशास्त्र, मनोविज्ञान, स्वास्थ्य विज्ञान र समाजशास्त्र जस्ता विषयमा गहिरो संश्लेषण दिएको थियो ।

यस्तै संश्लेषणमध्धेको एक थियो, चार बर्णको निश्कर्ष । प्राचीन आयुर्वेद, योग, ज्योतिष, सम्मोहन, वास्तुशास्त्र, वेद र उपनिषदजस्ता ज्ञान सम्पदा पनि यही अनौठो विज्ञानको उपज थियो ।

तर, जुनसुकै वैज्ञानिक अभ्यासका पनि खराबी हुन्छन् । हरेक क्रान्ति कालान्तरमा परम्परामा रुपान्तरण हुन्छ । प्राचीनकालमा पनि यही भयो । एउटा क्रान्तिकारी विज्ञानको जगमा क्रान्तिकारी प्रकृयाबाट निर्माण गरिएको समाज र यसका मान्यताहरुको पछि गएर भ्रष्टीकरण भयो र छुवाछुतजस्तो सामाजिक कलंकका रुपमा विकसित भयो । यसको निश्कर्ष हो, दक्षिण एशियाको छुवाछुत प्रथाको जरा ‘हिन्दु सामन्तवाद’ होइन, प्राचीन ‘क्रान्तिकारी’ विज्ञान चाहिँ हो ।

छुवाछुतको बैचारिक आधार

त्यस्तो के कारण थियो, जसले गर्दा ऋषिहरुले स्थापित गरेको क्रान्तिकारी समाजमा भ्रष्टीकरण भयो ? यसको कारण यति नै थियो कि कालक्रममा मानिसहरु ऋषिहरुको विश्वदृष्टिकोणबाट च्युत भए । तत्कालीन समाजमा ‘प्रतिक्रान्ति’ भयो ।

ऋषिहरुको विश्वदृष्टिकोणले भन्दथ्यो, संसारमा ‘श्रृष्टिकर्ता ईश्वर’ को अस्तित्व छैन । साथै संसारको पनि स्वतन्त्र अस्तित्व छैन । पदार्थ वा संसार नाशवान चिज हो । यो शुन्यबाट अकारण प्रकट हुन्छ, गतिशील हुन्छ र निश्चित समयपछि प्रलयद्वारा पुनः शुन्य मै विलीन हुन्छ ।

त्यसैले आफ्नो भाग्यको निर्माता मनुश्य आफैं हो । मनुश्यका लागि भौतिक तत्व साधन मात्र हो, अभौतिक तत्वचाहिँ लक्ष्य हो । अर्थात धन, पद र शरीर साधन हो, निजत्वको प्रस्फुटन, आत्मज्ञान चाहि लक्ष्य हो । त्यसैले मनुश्यले आफ्नो गुणधर्म अनुसारको कर्ममा रमाउनुपर्छ । भौतिक चिजलाई साधनमै सीमित गर्नुपर्छ, यसैलाई लक्ष्य मानेर जीवन अल्मल्याउनुहुँदैन । नागरिक मात्र होइन, राज्य वा शासकहरुलाई पनि यसरी नै प्रशिक्षित गरिएको थियो ।

तर, कालक्रममा यो मूल्यमान्यता उल्टियो । शासकहरु भौतिक सुखको मोहले ग्रस्त भए । जसका कारण उनीहरुले ऋषिहरुले स्थापित गरेको मूल्यमान्यतालाई उल्टाए । वर्ण व्यवस्था शासकहरुका लागि नागरिकहरुमा विभाजन पैदा गराएर आफ्नो स्वार्थ सिद्ध गर्ने सजिलो बहानाबाजी सावित भयो । यही कारण वर्णव्यवस्थालाई छुवाछुत प्रथामा रुपान्तरण गरियो र समाजलाई जातपातका अनन्त टुक्राहरुमा विभाजित गरियो । छुवाछुतका पक्षमा अनेकन नीतिशास्त्रहरु रचना गरियो ।

यस क्रममा वेद, उपनिषद र पुराण कथाका मुलभूत मान्यताहरुको अपव्याख्या गरियो । सृष्टिकर्ता ईश्वरको अस्तित्वको दाबी गरियो । भाग्य, स्वर्ग, नर्क जस्ता मान्यताहरुको प्रचार गरियो । यसरी प्राचीन वैदिक समाजमा छुवाछुत प्रथा स्थापित भयो । जुन मूलतः शासकहरुको भौतिक सुखको मोहका कारणले सिर्जना भएको थियो ।

छुवाछुत प्रथा जनस्तरबाट सिर्जना भएको थिएन । यो माथिबाट, अर्थात, शासकहरुबाट लादिएको थियो । तर कालक्रममा यो जनस्तरसम्म बलियो भयो । साथै आधुनिक युगसम्म आउँदा यसले दुईखाले बैचारिक आधार पाएको छ । ईश्वरवादी बैचारिकी एउटा आधार हो भने, यान्त्रिक (भौतिकवादी) वैचारिकी दोस्रो आधार हो ।

यहाँ छुवाछुत प्रथाको एउटा आधार ईश्वरवाद हो भन्ने कुरा त सबैले स्वीकार गर्दछन् । तर, भौतिकवादी मूल्यमान्यता छुवाछुतको दोस्रो आधार हो भन्ने विषयमा भने असहमति पैदा हुन सक्छ । त्यसैले यस सम्बन्धमा अलिकति चर्चा गर्नु जरुरी हुन्छ ।

भौतिक सुखको भोगमै जीवनको सार्थकता छ भन्ने कुरामा ईश्वरवादी र भौतिकवादी दुवै चिन्तन पद्दति एकै ठाउँमा छन् । ईश्वरवादीको स्वर्गको कामना पनि भौतिक सुखकै कामना हो । अझ भौतिकवादीले त सगौरव घोषणा गर्दछ कि भौतिक सुख मात्र वास्तविक सत्य हो । अभौतिक सुख झुठ र भ्रम हो । त्यसैले मनुश्यले जीवनमा भौतिक सुखको प्राप्तिलाई नै आफ्नो लक्ष्य बनाउनुपर्छ ।

जब मनुश्यको चेतनामा यस प्रकारको मूल्यमान्यता घुसाइन्छ, तव मानिस भौतिक सुखप्रति मोहग्रस्त हुनु स्वभाविक हुन्छ । जब मानिस भौतिक सुख नै सबथोक हो भन्ने ठाउँमा पुग्छ, तब उ यसको प्राप्तिका लागि अनेक पागलपनयुक्त कृत्य गर्न तयार हुन्छ । तब समाजमा विभेद, बिध्वंश र उपद्रव शुरु हुन्छ ।

संसारमा जति पनि मानवीय विभेदका प्रथा र बिम्बहरु सिर्जना भएका छन्, ती सबैमा मनुष्यको यस्तै पागलपनयुक्त कृत्य नै जिम्मेवार छ । अर्थात, रंगभेद, वर्णभेद, लिंगभेद, वर्गभेद, जातिभेद, क्षेत्रभेद आदि सबैको रहस्य एउटै हो । यो मूलतः समाजमा फुट र विभाजन पैदा गराएर भौतिक सुख (धन सुख, पद सुख र शरीर सुख) हासिल गर्ने महत्वाकांक्षा नै हो । यस मामिलामा ईश्वरवादी र भौतिकवादीहरु एकै ठाउँमा छन् । त्यसैले छुवाछुतजन्य विभेदका लागि भौतिकवादी मूल्यमान्यता पनि जिम्मेवार छ ।

समाजमा विभेद सिर्जना गर्ने दोस्रो कारक, जीवन र जगतको ईश्वरवादी र भौतिकवादी परिभाषा पनि हो । यसमध्धे ईश्वरवादी परिभाषाले ईश्वर, नर्क, भाग्य कर्म आदिको भय देखाएर समाजमा बिभेद पैदा गर्दछ भन्ने कुरा सहजै बुझिन्छ । तर, भौतिकवादी परिभाषाले पनि मानवीय विभेद सिर्जना गर्छ भन्ने कुरा बुझ्न थप चर्चा जरुरी हुन्छ ।

भौतिकवाद भन्नु नै प्रकृति, जीवन र समाजको स्थुल सत्यमा आधारित चिन्तन प्रणाली हो । जुन आफैंमा विभाजनमुखी दृष्टिकोणमा आधारित हुन्छ । यसले प्रकृति, जीवन र समाजलाई यान्त्रिक बिम्बमा हेर्दछ । हरेक अस्तित्व ‘विपरीत तत्व’ ले बनेको हुन्छ भन्छ । त्यसैले हरेक चिजलाई अंश र समग्र, कार्य र कारण आदिमा विभाजन गर्दछ । जसले समाजलाई अनेकन टुक्रामा विभाजन गर्ने बैचारिक आधार दिन्छ । अन्ततः यही दृष्टिकोण सामाजिक विभेद र छुवाछुतसम्मका पनि आधार बन्दछ ।

अर्कोतिर यस्तो दृष्टिकोणले ‘अँध्यारो बिरुद्ध लड्ने’ कुरा त गर्न सक्छ, तर ‘दियो जलाउने’ विधि दिन सक्दैन । तब, समाजमा कुनै गुणात्मक परिवर्तन आउँदैन । परिणामतः सामाजिक विभाजन र विभेदले निरन्तरता प्राप्त गर्छ । यसरी भौतिकवादी चेतना पनि छुवाछुत प्रथाको बैचारिक आधार बन्छ ।

प्राचीन कालमा स्थापित छुवाछुत प्रथाले आजको ‘भौतिकवादी युग’ मा पनि बलियो उपस्थीति जनाइरहनु र ‘क्रान्तिको आधार इलाका’ मा पनि छुवाछुतको बितण्डा देखा पर्नुको कारण यही नै हो ।

समाधानको उपाय :

संविधानमा ‘छुवाछुत सामाजिक अपराध हो’ भनेर लेखिएको र दण्ड सजायँ तोकिएको लामो समय भइसक्यो । यसबीचमा छुवाछुत प्रथा केही कमजोर भएको कुरा सत्य हो । विषेश गरी आजका युवा पंक्तिमा छुवाछुतजन्य विभेद कम भइसकेको छ । तर, समग्र समाजमा छुवाछुत उन्मूलन भएको छैन । किन यस्तो भयो ? किनकि यो संविधानमा लेखिदिएर पुग्ने विषय नै होइन ।

छुवाछुत प्रथा हाम्रो बैचारिक, संरचनागत र साँस्कृतिक क्षेत्रहरुमा अझै पनि जरा गाडेर बसेको छ । संविधानमा जे लेखिएको भए पनि नेपालका राजनीतिक दल, सरकार, कर्मचारीतन्त्र, धार्मिक साँस्कृतिक संरचना र वयस्क नागरिकमा यो अझै पनि पुरै सक्रिय छ । त्यसैले यसको उन्मूलन भएको छैन ।

यदि छुवाछुत प्रथा साँच्चै उन्मूलन गर्ने हो भने समग्र बैचारिक, संरचनागत र साँस्कृतिक क्षेत्रमै क्रान्ति जरुरी हुन्छ । साथै यो प्रथा मूलतः माथिबाटै अर्थात राज्य तहबाटै लादिएकाले माथिबाटै पहल भयो भने मात्र उन्मूलन हुन्छ । यसका लागि निम्न तीन काम गर्न जरुरी देखिन्छ-

१. बैचारिक काम : छुवाछुतको एउटा जड कारण अज्ञानता नै हो । जबसम्म मानव सभ्यता ईश्वरवादी र भौतिकवादी भुलभुलैयामा अल्मलिन्छ, तबसम्म बिभिन्न रुपरंगमा बिभेद र छुवाछुत बाँकी रहन्छ । यसलाई समाप्त गर्ने सबैभन्दा महत्वपूर्ण एउटा उपाय सामाजिक मूल्य मान्यतामा परिवर्तन नै हो । यसो गर्न प्याराडाईम सिफ्टसहितको विज्ञानको चेतनालाई पक्रिनु जरुरी हुन्छ । ऋषि चेतनालाई पक्रिनु पनि जरुरी हुन्छ । अर्थात जैविक विश्वदृष्टिकोण आत्मसाथ गर्नु जरुरी हुन्छ ।

तर, आजसम्म यही विषयमा ठूलो भ्रम छ । अर्थात ऋषि चिन्तन नै विभेदको कारक हो भन्ने भ्रम छ । त्यसैले यो बिषयमा समाज र राज्य स्वयं पनि स्पष्ट हुन जरुरी छ । अर्थात, आधुनिक विज्ञान र ऋषि चेतनावीचको सम्बन्धबारे स्पष्ट धारणा निर्माण गर्न र दक्षिण एशियाली विज्ञान र सामाजिक इतिहासको पुनःव्याख्या गर्न जरुरी छ । सोही अनुसारको शिक्षा प्रणालीको पुनसंरचना गर्न जरुरी छ । साथै सबै दलित उत्पीडित समुदायलाई उच्च शिक्षा (स्नातकोत्तर सम्म) पूर्णः निशुल्क शिक्षाको ग्यारेन्टी गर्न जरुरी छ ।

२. संरचनागत काम : संबिधान र कानुनले तोकेका विषयलाई निरन्तरता दिँदै, केही थप व्यवस्था गर्न जरुरी छ । राज्यका तीनवटै तहका केहीमुख्य संरचनाका मुख्य पदहरुमा आगामी दश बर्ष दलित समुदायका योग्य मानिसलाई विषेशाधिकार दिनुपर्छ । जस्तो कि अदालत, प्रहरी, सेना, लोक सेवा आयोग आदि । मन्दिरहरुमा राज्यले नै दलित पुजारी नियुक्त गर्नुपर्छ । यो तिनै तहका सरकारले आ- आफ्नो क्षेत्र किटान गरेर गर्नुपर्छ ।

त्यसैगरी दलित समुदायमा बेरोजगारी र भूमिहीनता उन्मूलन गर्ने बिषेश कार्यक्रम सञ्चालन गर्नुपर्छ । किनकि छुवाछुतको अर्को जड कारण गरिबी र पहुँचहीनता पनि हो ।

धार्मिक साँस्कृतिक काम : हरेक बर्ष संघीय, प्रदेश र स्थानीय सरकारको आयोजनामा तीनवटै तहमा ‘समता सम्मेलन’ आयोजना गरिनुपर्दछ । ती सम्मेलनहरुमा समाजका सबै धर्म (सम्प्रदाय)का पुरोहितहरु र समाजका दलित समुदायसहित सबै जाति तथा समुदायको प्रतिनिधित्व गराएर सार्वजनिकस्थलमा सहभोज कार्यक्रम गर्नुपर्दछ । उक्त सम्मेलनबाटै छुवाछुत उन्मूलनको सार्वजनिक प्रतिवद्धता जारी गर्नु पर्दछ ।

हरेक बर्षको सम्मेलनमा छुवाछुत प्रथाको अवस्थाको समीक्षा र उन्मूलनको पुनः प्रतिवद्धता जारी गर्नुपर्छ । कम्तिमा १० बर्ष यो कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । किनकि स्थानीय तहमा स्थानीय पण्डा पुरोहितसमेतलाई सहभागी गरेर गरिने यसखालका कार्यक्रमले निकै तिब्र स्तरमा छुवाछुत उन्मूलन गर्न मद्दत गर्ने छ ।

अन्त्यमा

यदि राज्यले साँच्चै छुवाछुत उन्मूलन गर्छु भनेर इमानदार पहल गर्यो भने यो छिट्टै उन्मूलन हुन्छ । सति प्रथाजस्तो परम्परा राज्यको एउटा घोषणाबाट उन्मूलन हुन सम्भव छ भने छुवाछुत पनि उन्मूलन हुन सम्भव छ । तर, यसका लागि एउटै शर्त हो, राज्यको सही, प्रभावकारी र इमानदार पहल ।

तर, हाम्रा नेताहरु यो पहल गर्न चाहँदैनन् । किनकि यो काममा ‘जोखिम’ छ । यसो गर्दा भोट बैंक बिग्रिन सक्छ । भोट बैंक बिग्रँदा भौतिक सुख (धन सुख, पद सुख र शरिर सुख) मा धक्का लाग्छ । यही ‘बाध्यता’ ले यतिबेला धेरै नेताहरु बहुत ‘जोगिएर’ बोलिरहेका छन् ।

‘क्रान्तिकारी नायक’ हरुलाई पनि यही ‘बाध्यता’ ले मौन बनाएको छ । अन्ततः हाम्रो समाजमा छुवाछुतजस्तो कलंक ज्युँदो रहिरहनुको कारण नै शासकहरुको यही स्वार्थ हो ।

यो तथ्यले बताउँछ, दक्षिण एशियाली समाजमा एउटा मौलिक क्रान्ति जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment