Comments Add Comment

बुण्डेसलिगा सकियो, अन्तिम खेलमा च्याम्पियन बायर्नको रवाफ

ग्लाडबाक च्याम्पियन्स लिगमा, फर्चुना रेलिगेसनमा

१४ असार, काठमाडौं । बुण्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले सिजनको अन्तिम खेलमा वल्फसवर्गलाई ४-० ले पराजित गर्दै सुखद अन्त्य गरेको छ । दुई खेलअघि नै उपाधि पक्का गरिसकेको बायर्नले शनिवार फराकिलो जितपछि च्याम्पियन ट्रफी समेत उचालेको छ । बायर्नको यो लगातार आठौं बुण्डेसलिगा उपाधि हो ।

बायर्नका लागि खेलको चौथो मिनेटमै किंग्सले कोमनले गोल गर्दै अग्रता दिलाएका थिए । ३७औं मिनेटमा माइकल कुइसेनले गोल गर्दै पहिलो हाफमा बायर्नको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा वल्फ्सवर्ग दश खेलाडीमा झरेपछि बायर्नले दुई गोल थप्यो । ७१औं मिनेटमा जोसुख गुइलाभोगीलले पेनालटी एरियामा फाउल गरेपछि रातो कार्ड खाँदै मैदान बाहिरिए । त्यसैमा प्राप्त पेनाल्टीमा रोवर्टो लेवान्डोस्कीले गोल गर्दा बायर्नले ३-० को अग्रता बनायो । यस सिजन लेवान्डोस्कीको यो ३४औं गोल हो र उनी सर्वाधिक गोलकर्ता समेत बने ।

यस्तै ७९औं मिनेटमा थोमस मुलरले बायर्नका लागि चौथो गोल गरे । जितपछि बायर्नले ३४ खेलबाट ८२ अंक जोड्दै सिजन सकाएको हो ।

डर्टमण्ड पराजित, क्रामारिकको चार गोल

बायर्नले अन्तिम खेलमा शानदार जित हात पार्दा दोस्रो स्थानमा रहेको बवरुसिया डर्टमण्डले भने अन्तिम खेलमा फराकिलो हार व्यहोर्‍यो । आन्द्रे क्रामारिक एक्लैले चार गोल गरेपछि होफेनहेइमले डर्टमण्डलाई ४-० ले पराजित गरेको हो । उक्त जितपछि होफेनहेइम छैटौं स्थानमा रहँदै युरोपा लिगमा छनोट हुन सफल भएको छ ।

जितपछि होफेनहेइमले ३४ खेलबाट ५२ अंक जोड्यो । डर्टमण्डले भने ३४ खेलबाट ६९ अंकसहित दोस्रो स्थानमा लिग सकाएको छ । डर्टमण्डको घरेलु मैदान सिग्नल इडुना मार्कमा भएको खेलमा होफेनहेइमका लागि क्रामारिकले खेलको दुवै हाफमा २-२ गोल गरे । आठौं मिनेटमा पहिलो गोल गरेका उनले ३०औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै ४८औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । उनले चौथो गोल ५०औं मिनेटमा पेनाल्टीमा गरे ।

टिमो वार्नर लाइपजिगको सर्वाधिक गोलकर्ता

अर्को सिजन चेल्सी जाने पक्का भइसकेका टिमो वार्नरले बुण्डेसलिगाको अन्तिम खेलमा दुई गोल गर्दा आरबी लाइपजिगले अग्सवर्गलाई २-१ ले हरायो । खेलमा दुई गोल गरेका टिमो वेर्नर लाइपजिगका लागि सर्वाधिक गोलकर्ता समेत बने । उनले क्लबका लागि ९५ गोल गरे ।

वेर्नरले खेलको २८औं मिनेटमा गोल गर्दै लाइपजिगलाई अग्रता दिलाएका थिए । ७२औं मिनेटमा रुबेन भर्गासले अग्सवर्गका लागि बराबरी गोल फर्काएका थिए । तर ८०औं मिनेटमा वेर्नरले गोल गर्दै लाइपजिगको जित पक्का गरे भने बुण्डेसलिगामा पनि सुखद अन्त्य गरे । वेर्नर अर्को सिजन प्रिमियर लिगमा चेल्सीबाट खेल्नेछन् ।

जितपछि लाइपजिगले ६६ अंकसहित तेस्रो स्थानमा रहेर लिग सकाएको छ ।

बोरुसिया मोन्चेनग्लाडबाक च्याम्पियन्स लिगमा

अन्तिम दिन हेर्था बर्लिनलाई २-१ ले पराजित गर्दै बोरुसिया मोन्चेनग्लाडबाक चौथो स्थानमा रहेर अर्को सिजन युरोपियन च्याम्पियन्स लिगको लागि छनोट भएको छ । पाँचौ स्थानको बायर लेभरकुजनले पनि माइन्जलाई १-० ले पराजित गरेको थियो । तर मोन्चेनग्लाडबाकको जितपछि लेभरकुजनले युरोपा लिगमै चित्त बुझाउन बाध्य भयो ।

घरेलु मैदानमा भएको खेलमा मोन्चेनग्लाडबाकका लागि जोनास होपम्यानले सातौं मिनेटमा अग्रता दिलाएका थिए । ७८औं मिनेटमा ब्रिल एम्बोलोले गोल गर्दै अग्रता दोब्बर पारे । अन्तिम समयमा हेर्थाका भेदाद इबिसेसिकले गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।

जितपछि मोन्चेनग्लाडबाकले ३४ खेलबाट ६५ अंक जोड्यो । पाँचौ स्थानको लेभरकुजनले भने ६२ अंक मात्र जोड्न सक्यो ।

वेडर ब्रेमेनले रेलिगेसन प्लेअफ खेल्ने, फर्चुना रेलिगेसनमा

च्याम्पियन्स लिग होड जस्तै रेलिगेसन जोनमा पनि अन्तिम दिन रोमान्चक खेल भयो । पुछारबाट दोस्रोमा रहेको वेडर ब्रेमेनले एफसी कोल्नाई ६-१ ले पराजित गर्दै रेलिगेसन केही समयलाई टारेको छ । ब्रेमेनले अब बुण्डेसलिगा २ को तेस्रो स्थानमा रहेको क्लबसँग रेलिगेसन प्लेअफ खेल्नेछ । ब्रेमनभन्दा अघि रहेको फर्चुना डुसेलठोर्फ युनियन बर्लिनसँग ३-० ले पराजित भएपछि ब्रेमेनलाई फाइदा पुगेको हो ।

ब्रेमेनले ३४ खेलबाट ३१ अंक जोड्दा फर्चुनाको ३० अंक मात्र रह्यो । यसअघि नै पाडेरबवर्न रेलिगेसनमा परिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment