Comments Add Comment

नयाँ सदस्य सचिवको प्रतिस्पर्धा : सिलवाललाई टक्कर दिने को-को ?

५ साउन, काठमाडौं । अहिले नेपाली खेलकुदमा चर्चाको विषय बनेको छ राष्ट्रिय खेलकुद परिषद (राखेप) मा नयाँ सदस्य सचिवको नियुक्ती । नयाँ ऐन कार्यान्वयनमा आएपछि पहिलोपटक खुल्ला प्रतिस्पर्धामार्फत सदस्यसचिव चयन हुन लागेको हुँदा खेल क्षेत्रमा कौतुहल बढेको हो ।

विगतमा सरकारले सदस्य सचिवको राजनीतिक नियुक्ती गर्ने प्रचलन थियो । तर राष्ट्रिय खेलकुद ऐन २०७७ राष्ट्रिपतिबाट असार ११ गते पारित भएर असार १८ गतेदेखि लागु भएपछि अहिले उक्त कार्यकारी पदका लागि खुल्ला प्रतिस्पर्धा भइरहेको छ ।

निवर्तमान सदस्य सचिव रमेश सिलवालसहित २७ जनाले दरखास्त हालेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा बनाएको सिफारिस समितिले ७ दिनको सूचना जारी गर्दै इच्छुकहरुलाई आवेदन दिने समयसीमा तोकेको थियो । खुल्ला प्रतिस्पर्धा भएकोले योग्यता पुगेकाहरुले दाबेदारी दिनु स्वभाविक हो । तर, खेल क्षेत्र हाँक्न तम्सेकाहरु कुन क्षेत्रबाट आएका छन् भन्ने अर्को चर्चाको विषय बनेको छ । राजनीतिमा भिजिरहेकाहरुले पनि उक्त पदमा आवेदन दिएका छन् ।

नयाँ ऐन लागु भएपछि तत्कालीन सदस्य सचिव रमेश सिलवालसहित राखेप बोर्डका सदस्यहरु पदमुक्त भए । त्यसपछि मन्त्रालयले भक्तबहादुर ढकाललाई राखेपको कार्यवाहक सदस्य सचिवको जिम्मेवारी दियो । असार मसान्तमा महत्वपूर्ण कामहरु गर्नुपर्ने बेला राखेपमा भने कार्यवाहक मात्र थिए ।

ऐन आउने बेला सुरुमै मन्त्रालय र राखेपबीच प्रक्रियागत अस्पष्टता हुँदा सदस्य सचिव नियुक्तिको प्रकियामा ढिलाइ भइरहेको छ । मन्त्रालयले बनाएको सिफारिस समितिले आवेदन दिएका २७ जनाको कार्ययोजना अध्ययन गरिरहेको बताएको छ । अब २७ जना मध्येबाट सिफारिस समितिले ३ जनाको नाम खेलकुद मन्त्रालयमा पेस गर्नेछ ।

खेलकुदका जानकारहरु भने समितिकै औचित्यमा प्रश्न गरिरहेका छन् । सचिवको संयोजकत्वमा रहेको समितिमा यसअघि राखेपमा बोर्ड सदस्य रहेकी इन्दिरा निरौला र राखेपकै कर्मचारी रहेका रिम रानाभाटसमेत छन् । एकजना महिला र दुई जना विज्ञ सहितको सिफारिस समिति बनाउने कुरा ऐनमा उल्लेख छ । यो समितिमा कस्ता व्यक्ति हुने भन्ने विषय बहसमा आएको हो ।

समितिले पहिलो बैठकमै सदस्य सचिव नियुक्तिका लागि कार्यविधि बनाउँदै ७ दिनमा सदस्य सचिव बन्न चाहनेले दरखास्त दिन आह्वान गरेको थियो । नयाँ सदस्य सचिव बन्नका लागि मुख्य गरी ५ योग्यता तोकिएको छ । ३० वर्ष पूरा भएको नेपाली नागरिक, नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नाक पास गरेको तथा खेलकुद क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । साथै प्रचलित कानुनले अयोग्य घोषित नगरेको पनि हुनुपर्ने प्रावधान छ ।

यी पाँच योग्यताअनुसार हेर्दा के २७ जना सबै लायक छन् त भन्ने प्रश्नसमेत उठेको छ । आवेदन दिनेहरुले समेत सबैको योग्यता र क्षमता पारदर्शीरुप्मा सार्वजनिक हुनुपर्ने माग राखिरहेका छन् । खेलकुदमा ५ वर्षको अनुभव हुनुपर्ने उल्लेख भएपनि कस्तो खालको अनुभव भन्ने खुलाइएको छैन । त्यसैले कुनै संघमा सल्लाहकारको रुपमा संलग्न भएकाहरु समेतले दरखास्त हालेका छन् ।

निवर्तमान सदस्य सचिव रमेश सिलवालकै विषयमा पनि केहीले खेलकुद क्षेत्रमा उनको पाँच वर्षको योग्यता नै नपुग्ने समेत दाबी गरेका छन् । साथै अख्तियारमा उनीमाथि उजुरीसमेत परेको छ । तथापि, १३औं दक्षिण एसियाली खेलकुद साग सफल बनाउन भूमिका खेलेकाले उनको दावेदारी बलियो छ । प्रधानमन्त्रीकै इच्छाबमोजिम सिलवालले आवेदन दिएको लखसमेत काटिएको छ ।

सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्दा एकजना महिला अनिवार्य हुनै पर्छ । २७ जनामा तीनजना महिला उमेदवार छन् । भलिबलका दुई पूर्वखेलाडी अन्जु श्रेष्ठ र निलम बज्राचार्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व उपस्वकीय सचिव मिना श्रेष्ठले आवेदन दिएका छन् । यी तीनजनाबाट एकजनाको नाम सिफारिस हुने पक्का छ । यस्तै बाँकी २४ बाट २ जनाको नाम आउनेछ ।

प्रधानमन्त्री ओली सिलवालको पक्षमा भए पनि अरु केही नाम पनि उनीसम्म पुगिरहेको छ । नेकपाका केन्द्रीय  सदस्य लिलबहादुर थापा, नेकपाकै राजनीतिमा रहेका नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनका महासचिव मेघराज पौडेल, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा हृयाण्डबलका अध्यक्ष तेजबहादुर गुरुङ पनि दाबेदारको रुपमा छन् ।

थापा र पौडेल दुवैले आफूलाई पार्टीमा समर्थन रहेको बताएका छन् । थापाले आफ्नो प्रतिस्पर्धा सिलवालसँग मात्र रहेको बताउँदा पौडेलले भने अन्तिम ३ मा पर्न थापालाई प्रतिस्पर्धीको रुपमा हेरेका छन् ।

उता गुरुङ खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माको क्षेत्रका रहेकाले उनलाई खेलकुदमन्त्रीको उम्मेदवारको रुपमा चर्चा गरिएको छ । नेपाल भलिबल संघका पूर्वउपाध्यक्ष समेत रहेका लिलबहादुर थापाले योग्य व्यक्ति सदस्य सचिव बन्नुपर्ने र त्यसैक लागि आफ्नो दाबेदारी रहेको बताएका छन् । आफूभन्दा योग्य व्यक्ति आए समर्थन गर्ने नभए नत्र आफू नै मुख्य दाबेदार रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment