Comments Add Comment

सोफिया भन्छिन्ः मेरो गीतको विरोध पुरुषले मात्र गरेका छन्

 

सोफिया थापा खासै नाम सुनिएकी गायिका होइनन् । तर, एउटा तिजसँग सम्वन्धित एउटा गीतले उनलाई एकाएक चर्चा र विवादमा ल्याएको छ ।

सोफियाले ‘यसपालीको तिज नो व्रत प्लिज’ बोलको गीत सोमबार यूट्यूवबाट सार्वजनिक गरेकी थिइन् । हाइलाइट्स नेपालको च्यानलबाट अपलोड भएलगत्तै गीतले चर्को प्रतिक्रयाको सामना गर्नु परिरहेको छ । केही धार्मिक संस्थाले पनि यो गीतको आलोचना गर्दै यूट्यूवबाट हटाउन आग्रह गरेका छन् ।

गायिका सोफिया भने आफूले कुनै गल्ति नगरेको भन्दै गीत नहटाउने बताउँछिन् । आफ्नो गीत तिजविरोधि नभएर सामाजिक चेतनामुलक भएको उनको भनाइ छ । गीतलाई लिएर आफूमाथि धाक–धम्की आएको भनेर उनले प्रहरीमा उजुरी पनि गरेकी छन् ।

२० वर्षदेखि सांगीतिक क्षेत्रमा लागेको बताउने सोफिया पेशाले शिक्षिका हुन् । उनी कलेजमा पछाउँछिन् । संगीतलाई सोखको रुपमा अघि बढाइरहेकी उनले यसअघि गाएका गीतहरु खासै सफल भएका छैनन् । उनी विगतमा एउटा फिमेल ब्याण्डको सदस्य पनि थिइन् । चर्चित फिल्म निर्देशक मनोज पण्डित उनका श्रीमान हुन् ।

विवादित ‘तिज गीत’ लाई लिएर सोफियासँग गरिएको कुराकानी :

तपाईंले नेपाली महिलाहरुको आस्थामा चोट पुर्याउनेगरी तिजविरोधि गीत गाउनुभएको आरोप लागेको छ । गीतलाई प्रतिवन्ध लगाउनुपर्ने माग पनि सुनिएका छन् । यसमा तपाईंको भनाइ के छ ?

ममाथि लगाइएका आरोप झूटा हुन् । मैले गाएको गीत तिजविरोधि होइन । मेरो गीतको बोल छ– अबको तिज, नो व्रत प्लिज… । यो सन्देशमूलक गीत हो । मैले तिजमा पानीसमेत नपिइकन निराहार व्रत नबस्न दिदीबहिनीलाई आह्वान गरेको हो । तिज नमनाउँ, व्रत नै नबसौं त भनेकै छैन ।

गीतको बोलमै ‘नो व्रत प्लिज’ भनिएपछि व्रत नबस्न आह्वान गरेको भएन र ?

त्यै त भन्दैछु । ‘तिजमा नो व्रत’ क्या । तिजको व्रतमा महिलाहरुले पानी नपिइकन श्रीमानको आयू लामो होस भनेर बस्छन् । हो, त्यो व्रतलाई नो भनेको हो । किनभने श्रीमती व्रत बसिदिएर श्रीमानको आयू पक्कै लामो हुँदैन । २१ औं शताब्दीमा समानताको नारा लगाइरहेका महिलाहरुले कहिलेसम्म श्रीमानको खुट्टाको पानी खाइराख्ने ? यसले समानता झल्काउँदैन । मैले स्वास्थ्य र समानताको हिसाबले उपयुक्त छैन भनेर ‘नो’ भनेको हो ।

तिजमा दर पनि नखाउँ भन्नुभएको छ । त्यो चाहिँ स्वास्थ्यको हिसाबले कि समानताको हिसाबले हो ?

मैले दर नखाउँ भनेको छैन । के भनेको छु भने– ‘रंगीविरंगी चुरा र सारी गहनाको भारी, गुडीयाजस्तै सजिएर नखाने दर हामी ।’ यसको अर्थ के हो भने रंगीविरंगी लुगा लगाएर, गहनाले झकिझकाउ भएर दर नखाउँ भनेको हो । पार्टी नगरौं भनेको हो । धेरै नक्कल नपारौं भनेको हो । सामान्य पहिरन लगाएर खाँदा हुन्छ ।

चुरा र साडी त नेपाली महिलाको मौलिक पहिरन नै होइन र ? यसमा किन आपत्ति ?

त्यै त त्यै त । त्योसँग सिक्वेन्स जोडिएको छ क्या अन्तरामा । रंगीविरंगी चुरा र साडीसँग गहनाको भारी ‘कनेक्टेड’ छ । गुडियाजस्तै सजिएर, कुनै ‘अब्जेक्ट’जस्तो बनेर दर नखाउँ भनेको हो ।

यो पनि पढ्नुहोस व्रत नबस्न आग्रह गर्दै सोफियाले गाएको ‘तिज गीत’ विवादमा

कस्तो लुगा र गहना लगाउने भन्ने व्यक्तिगत इच्छाका कुरा होलान् नि । कसैलाई तिजमा चिटिक्क सजिन मन लाग्छ भने के नराम्रो भयो ?

केही पनि नराम्रो भएन । मेरो भिडियो हेर्नुभयो भने स्टार्टिङमा आमा साडीमा नै सजिनुभएको छ । गहना पनि लगाउनुभएको छ । उहाँले पुरानो पुस्ताको प्रतिनिधित्व गर्नुहुन्छ ।

तपाईं आफ्नो आमालाई तिजमा साडी, चुरा नलगाउन र जिन्स लगाउन भन्न सक्नुहुन्छ त ?

अहँ अहँ, मैले त्यस्तो भनेको छैन र भन्दिनँ पनि ।

यस्तो ‘सामाजिक सुधार’ त पहिले आफ्नो घर–परिवारबाटै सुरु गर्नुपर्ने होइन ?

फेरि तपाईंले मेरो आशय बुझ्नुभएन । मैले साडी नै नलगाउनुस भनेकै छैन । एकदमै धेरै एक्सोपोज र झकिझकाउ गर्ने चलन छ क्या । धनीहरुले त लगाउँछन्, गरिबहरुले के लगाउने ? उनीहरुलाई मानसिक दवाव भएन ? हिन्दू सनातन धर्मले पनि तिजमा झकिझकाउ भएर उत्सव मनाउ त भनेको छैन । खुटाको पानी खाउ भनेको छैन ।

तपाईं आफू कुन धर्म मान्नुहुन्छ ?

म हिन्दू हुँ । व्रत पनि बस्छु । आज पनि मेरो व्रत नै छ ।

के उद्देश्यले व्रत बस्नुहुन्छ ?

आफ्नो स्वास्थ्यको लागि बस्छु । मलाई कसैले वाध्य बनाएको छैन ।

तिजमा चाहिँ बस्नुहुन्न ?

तिजमा पनि बस्छु । तर कसैले मलाई वाध्य पारेको होइन । श्रीमानले मेरो आयूका लागि पानी पनि नखाएर व्रत बस भन्नुहुन्न ।

यो पनि पढ्नुहोस तिज गीतलाई लिएर धम्की आएको भन्दै सोफियाले प्रहरीमा दिइन् उजुरी

तपाईं तिजमा व्रत बस्नुको उद्देश्य चाहिँ के हो त ?

तिजको अघिल्लो दिनमा दर खाइन्छ । त्यसमा म्याक्सिमम खाइसकेपछि भोलीपल्ट…..

आफू व्रत पनि बस्ने, दर पनि खाने अनि अरुलाई यस्तो नगर भनेर गीतबाट सन्देश दिँदा तालमेल मिल्यो त ?

फेरि तपाईंंले बुझ्नु भएन । मैले व्रत बस्नेलाई होइन, निराहार ब्रत बस्नेलाई भनेको हो ।

निराहार भन्ने शब्द त गीतमा छैन नि ?

तपाईं कला बुझ्नुहुन्छ भने सबै कुरा शब्दमा व्यक्त गर्न सकिन्न । भावमा हुन्छ । पानी पनि नपिइकन व्रत नबसौं भन्दा त गीत राम्रो भएन नि ।

गीतमा आएका प्रतिक्रियाहरु हेर्नुभएको होला । कस्तो लागेको छ ?

कमेन्टले मलाई कुनै पनि असर गर्दैन । हिजो केही कमेन्ट देखेको थिएँ । त्यसपछि हेर्दै हेरिनँ । किनभने यूट्यूवमा मविरुद्ध नेगेटिभ कमेन्ट गर्न गिरोह नै लागिपरेको छ । बौद्धिक सर्कलले राम्रो भनेका छन् । खाली पुरुषहरुले मात्रै विरोध गरेका छन् । महिलाहरुले ममाथि केही भनुन् न । तपाईंले गलत गर्नुभो भनेर कुनै पनि महिला आउनुभएको छैन । महिलाहरुले व्रत बस्नुपर्छ भनेर पुरुषहरु आउने हो ? तिज महिलाको चाड भनेको होइन ? तैंले साडी लगाउनुपर्छ भनेर भन्ने को हो ? मेरो व्यक्तिगत स्वतन्त्रता छैन ?

एउटा महिलाले लेखेको सामान्य सिर्जनालाई बदनाम तुल्याउन हिन्दूवादी संस्थाहरु लागिपरेका छन् । मेरो एउटा शब्दको भरमा हल्लिने कति कमजोर रहेछ हाम्रो धर्म–संस्कृति ? म आफैं हिन्दू धर्म मान्ने मान्छे । मैले धर्मभित्रका विकृति उठाउन खोज्दा हिन्दू धर्म नै मासिने हुन्छ कतै ?

यो गीत गाउँदै गर्दा विवादमा आउँछ भन्ने त लागेको थियो होला । तपाईंलाई भाइरल हुने लोभ त होइन ?

अहँ, मलाई यस्तो होला भन्ने लागेकै थिएन । २० वर्षदेखि म्युजिकमा लागेको छु । म्युजिकमै ब्याचलर्स गरेको मान्छे हुँ । ईंग्लिसमा एमफिल गरेको छु । भाइरल हुनुथ्यो भने पहिल्यै हुन सक्थेँ । म सस्तो प्रचारमा आउने होडमा कहिले पनि थिइनँ । योभन्दा अगाडि तपाईंले मेरो नाम पनि सुन्नुभएको थिएन होला ।

के सोचेर लेख्नुभएको थियो यो गीत ?

अहिले लकडाउनले गर्दा निराशा छ । कति मान्छे मानसिक अस्पताल गइरहेका छन् । म पनि यही अवस्थाले गुज्रिरहेकाले यस्तो बेला किन सिर्जनातिर नलाग्ने भनेर लेखेको हो । कसैको आस्थामाथि चोट पुर्याउने उद्देश्य होइन ।

तपाईं महिलावादी अभियन्ता पनि हो कि ?

होइन । म गायिका र शिक्षिका हो । म त पढाइमा लागिपरेको छु । अहिले ब्याचलर्सलाई, मास्टर्सलाई पढाउँछु ।

यो गीत सार्वजनिक भएपछि तपाईंलाई धम्कि पनि आएको हो ?

हो, मेक्सिमम टर्चर आएको छ । गीत सार्वजनिक भएदेखि लगातार फोन, म्यासेजहरु आएका छन् ।

धर्म र संस्कृतिसँग जोडिएका विषय एकदमै संवेदनशील हुन्छन् भन्ने तपाईंजस्तो शिक्षित व्यक्तिले बुझ्नुभएको होला । यस्तो गीत ल्याएर कतै गलत गरेँ कि भन्ने लागेको छैन ?

अहँ पटक्कै लागेको छैन । मैले धर्म–संस्कृतिको संवेदनशीलता बुझेको छु । खासमा त गीतमा कतै पनि मैले धर्मको नामै लिएको छैन । तर, खुट्टाको पानी खाएर यो संसारमा को पवित्र हुन्छ ? एउटा टिचर पनि भएको नाताले यस्तो कुरा बुझाउनु, मेरो कर्तव्य हो ।

धर्म भनेको त आस्थाको कुरा हो । मान्नेले मान्छन् । कसैले विश्वास गर्छन् कसैले गर्दैनन् । फेरि, श्रीमान र श्रीमतीले बन्द बन्द कोठामा के गर्छन्, के गर्दैनन् भनेर कसैले चियो गर्ने कुरा पनि भएन । यसलाई उनीहरुको आपसी विषय मानेर मौन बस्न सकिन्न ?

कसैलाई खुशी लाग्छ भने गर्नुस, नगर्नुस भनेको होइन । तर, म पनि आफ्नो ‘एक्सप्रेसन’ त दिन सक्छु नि । म त कला गर्छु । सिर्जना गर्छु । सिर्जनामार्फत मैले आफ्नो भ्वाइसलाई अगाडि ल्याउन पाउने कि नपाउने त ? धर्म निरपेक्ष राष्ट्र छ । मेरो अभिव्यक्ति स्वतन्त्रता हनन किन गर्ने ? मेरो कुरा यही हो ।

तपाईंलाई गीत यूट्यूवबाट हटाउन धेरैले आग्रह गरेका छन् । के तपाईं तयार हुनुहुन्छ ?

अहँ तयार छैन । मैले गलत के गरेको छु र ? हटाउँदिन ।

योभन्दा पहिले तिजगीत गाउनुभएको थियो ?

यो मेरो पहिलो हो । खासमा यो पनि तिज गीत होइन । सबैले तिजगीत तिजगीत भनिरहेका छन् । तर, म यसलाई तिजगीत भन्दै भन्दिनँ । चेतनामूलक गीत हो ।

तिज गीत भनेर त टाइटलमै लेखिएको छ नि ?

छैन, छैन । ‘नो सङ, अबको तिज’ भनेको छ ।

एकचोटि फेरि टाइटल हेर्नुस त । अंग्रेजीमा ‘न्यू तिज सङ’ लेखिएको छ । त्यो भनेको के ?

ठिकै छ, केही भएन । तर, यो तिजको भाका पनि होइन । तिजमाथि लेखेको गीत हो ।

 

प्रस्तुतिः चिरञ्जीवी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment