Comments Add Comment

बर्मन बुढाको निधनले मर्माहत भएँ : प्रचण्ड

७ साउन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको थवाङ घर भएका पाका कम्युनिष्ट नेता बर्मन बुढाको निधनले आफू मर्माहत भएको बताएका छन् । उनको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको प्रचण्डको भनाइ छ ।

बुधबार शोक विज्ञप्ति जारी गर्दै प्रचण्डले बर्मन बुढाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजन र आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।

बर्मन बुढालाई ‘नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा’ भन्दै प्रचण्डले लेखेका छन्, ‘कमरेड बुढाको विशेषगरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ । सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो ।’

बर्मन बुढाको बुधबार बिहान ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा ९० वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार विहान आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बतायो ।

बर्मन बुढाको निधनले स्तब्ध बनायो : महरा

यसैबीच पूर्वसभामुख कृष्णबहादुर महराले बर्मन बुढाको निधनको खबरले स्तब्ध बनाएको बताएका छन् ।

बर्मन बुढा २०४८ सालमा रोल्पा क्षेत्र नं. १ बाट तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट निर्वाचित हुँदा महरा सोही पार्टीबाट क्षेत्र नं. २ बाट विजयी भएका थिए ।

महराले लेखेका छन्, ‘बर्मन बुढा मगर एक कम्युनिष्ट आदर्श तथा अडिक र निडर व्यक्तित्वको रुपमा म उहाँलाई सधैं स्मरण गरिरहन्छु ।’

महराले बर्मन बुढाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment