Comments Add Comment

चेपाङ बस्ती जलाउने कम्युनिस्ट सरकारमाथि उसकै भूमि आयोगको प्रश्न

७ साउन, चितवन । मध्य बर्खामा झमझम पानी परिहेको छ । तर, यहीबेला चितवनको माडीस्थित कुमुसखोलामा चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले चेपाङ समुदायका १० घरमा आगो र हात्ती लगाएका छन् ।

झमझम पानी परिरहेका बेला गरीब सुकुम्बासीहरुलाई कम्युनिस्ट सरकारले छानोविहीन बनाइदिएको छ ।

गत शनिबार निकुञ्जले माडी नगरपालिका-९ कुसुमखोलामा हात्तीसहितको टोली पठाएर सुकुम्बासीको घर भत्काएको हो । यसक्रममा दुईवटा घरमा आगो लगाइयो भने ८ वटा घर हात्ती लगाएर भत्काइयो ।

निकुञ्जका कर्मचारीले कुसुमखोलाका दानबहादुर चेपाङ र उनका फुपाजु पर्ने दीपबहादुर चेपाङको घरमा आगो लगाएका हुन् ।

त्यस ठाउँमा १० वटा घरहरु थिए । त्यहाँ अधिकांश सीमान्तकृत चेपाङ समुदायको व्यक्तिहरु छाप्रा बनाएर बसोबास गर्दै आइरहेका छन् ।

शनिबार सातवटा हात्तीसहित निकुञ्जबाट पुगेका झण्डै २०/२२ जना कर्मचारीहरुले यस्तो ममानवीय काम गरेका थिए । कतिपयलाई घरभित्रबाट सामान निकाल्न दिइयो भने कतिपयका सामान घरभित्रै नै जले ।

सुकुम्बासी आयोग भन्छ- आगो लगाउनेलाई कारवाही गर

यसैवीच कुसुमखोलाको सुकुम्बासी बस्तीमा आगो लगाएकोमा सरकारबाट गठित देवी ज्ञवाली नेतृत्वको सुकुम्बासी आयोगले आपत्ति जनाएको छ ।

आयोगद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा आगो लगाउनेहरुमाथि कारवाही गर्न माग गरिएको छ । सरकारले सुकुम्बासीका समस्या समाधान गर्नका लागि आयोग बनाएका बेला सीमान्तीकृत समुदायको घर जलाउनु र उठीबास लगाउनु अक्षम्य भएको आयोगले बताएको छ ।

कहिले सरकारले दुःख दिन्छ, कहिले जंगली हात्तीले

कुसुमखोलामा कुनै समय दुई सय घर थिए । यहाँ चेपाङ, तमाङ र भुजेलहरुको बस्ती छ । यीमध्ये अधिकांश चेपाङहरु छन् । भूमिहीन चेपाङहरु मध्यवर्ती क्षेत्रको जंगल क्षेत्र मानिने यस ठाउँमा बस्दै आएका थिए । गोरखा, मकवानपुर, धादिङ लगायतका क्षेत्रबाट २०५२ सालदेखि यहाँ चेपाङहरु आएर बसेका हुने ।

नगरपालिकाको योजनाअनुरूप यहाँबाट उनीहरुको बस्ती अन्यत्र सार्ने काम भैरहेको थियो । यहीबेला निकुञ्जले उनीहरुमाथि बल प्रयोग गरेको हो ।

माडी वडा नं. ९ का वडाध्यक्ष शिवहरी सुवेदीले यहाँबाट लगभग बस्ती हटिसकेको बताए । ‘केही घरमात्रै बाँकी थिए, अध्यक्ष सुवेदीले भने, ‘हटिसकेको बस्ती हामीले हटायौं भनेर तक्मा लगाउन निकुञ्जले आगो र हात्ती लगायो ।’

यहाँका सुकुम्वासीहरुलाई नगरपालिकाले वडा नम्बर ९ कै राईडाँडामा  र वडा नं. ७ को परुईमा सार्ने प्रयास गरिरहेको छ । केही घर बनेका छन् भने केही घरहरु बन्ने क्रममा छन् । तर परुईमा त्यहीँका स्थानीयले बिरोध गरे पछि काम रोकिएको छ भने राईडाँडामा निकुञ्जले बन क्षेत्रमा बस्ती बसाउन लागेको भन्दै रोकेको छ । जसले गर्दा अहिले नगरपालिकाको योजना अलपत्र परेको छ ।

यसअघि कुसुमखोलामा झण्डै दुई सय घरधुरी थिए । त्यहाँका रहेका मध्ये ४० घरधुरी २०७४ सालमा नै प्याउलीमा सारिएका थिए । बाँकीलाई वडा नम्बर ९ कै राईडाँडामा र केहीलाई वडा नं. ७ को परुईमा राख्ने तयारी अनुरुप  सांसद विकास कोष र नगरपालिकाको बजेटबाट घरहरु बनाउने काम चलिरहेको थियो ।

राईगाउँमा ४० घर तयार गरेर २८ घरमा छानासमेत हालिएको थियो भने १२ घरमा टिन लगाउँदै गर्दा निकुञ्जले वन क्षेत्र मासेको भन्दै तत्कालै काम रोक्न निर्देशन दियो ।

बाँकी ५२ घरधुरीलाई वडा नम्बर सातको परुई खोलाको तटबन्ध गरेर राख्ने तयारी थियो । १५ धुरदेखि १ कठ्ठासम्म जग्गा दिएर झण्डै अढाई तीन लाख रुपैयाँ खर्च गरेर घर बनाउने काम भैरहेको थियो । तर, परुई खोलामा घर बनाउन त्यहाँका स्थानीयले विरोध गरे । झपडको समेत अवस्था आयो । अहिले त्यहाँ काम रोकिएको छ ।

राईगाउँ र परुईमा सोचे अनुसारको नभएपछि केही सुकुम्वासीहरु कुसुमखोलामा नै फर्किन थालेका थिए । यो थाहा पाएपछि निकुञ्जले उनीहरुलाई पुनः फर्किन नदिने योजनाअनुरुप आगो लगाउने र घर भत्काउने गरेको हुन सक्ने वडाध्यक्ष सुवेदी बताउँछन् ।

यसअघि २०५८ सालमा पनि बाँदरझुला र कुसुमखोला बस्तीमा निकुञ्जका कर्मचारीले यसैगरी हात्ती लगाएर घर भत्काउने र आगो लगाउने काम गरेका तिए । सोही बाँदरझुलामा अहिले करीव ५ सय सुकुम्वासीको बस्ती छ । माडीको भोट बैंकका रुपमा यसलाई लिइन्छ । यहाँको वस्तीलाई लिएर निकै दाउपेच पनि चल्छ । बाँदरझुलामा नगरपालिकाले नै विभिन्न संरचना बनाउन थालिसकेको छ ।

यहाँ निकुञ्जका कर्मचारीले मात्र होइन, जंगली हात्तीले समेत घर भत्काउने, मान्छे मार्ने काम गर्दै आएको छ । गएको हिउँदमा पनि यहाँ हात्तीले घर भत्काएको थियो ।

चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने माडी नगरपालिका क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल गत असार २७ गते चितवन आउँदा माडीसमेत पुगे । माडी नगरप्रमुख ठाकुर ढकालले सुकुम्वासीको बस्ती सार्न निकुञ्जले अवरोध गरेको दुखासो सुनाए । दाहालले निकुञ्जसँग समन्वय गरेर सहजीकरण गर्ने आश्वासन दिए । तर, त्यसको १५ दिन पनि नपुग्दै सुकुम्वासीका घर भत्काउने र आगो लगाउने काम भयो ।

माडी-९ का वडाध्यक्ष शिवहरि सुवेदी जनता र निकुञ्जको बीचमा द्वन्द्व नहोस् भनेर नगरपालिकाले सुकुम्वासी बस्ती स्थानान्तरण गर्ने योजना बनाएको बताउँछन् । उनका अनुसार बाँदरझुलामा कुसुमखोलाको भन्दा धेरै घरधुरी छन् । चुनावताका प्रचण्डले प्रतिपरिवार कम्तिमा पाँच कठ्ठा जग्गाको व्यवस्था गरेर मात्रै जनताको वस्ती सार्ने प्रतिवद्धता गरेका थिए ।

कुसुमखोलाका बासिन्दालाई नगरपालिकाले सुरक्षित घरको प्रबन्धसहित बस्ती स्थानान्तरण गर्ने योजना बनाएको वडाध्यक्ष सुवेदीले बताए ।

यसैवीच, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले घर जलाएको नभई मकै कुर्न बनाइएका छाप्रामा आगो लगाइएको बताए । रुपाखेतीले भने ‘यहाँका अधिकांश सुकुम्वासी अन्यत्र सिफ्ट भैसकेका छन्, केही मान्छेहरु यता पनि जग्गा कब्जा गर्न फेरि आएको सूचना आएपछि निकुञ्जले सांकेतिकरुपमा डिसमेन्टल गरेको हो । हामीले हाम्रो डिउटी पूरा गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment