+
+
Shares

परीक्षामा पूर्णबहादुर

सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिका सुम्पेसँगै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई चुनौतीपनि सँगसँगै थपिएको छ । नियमित हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने परीक्षामा उनी छन् । अर्कोतर्फ, सभापति देउवा समूहलाई एकत्रित बनाउनुपर्ने चुनौती पनि छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ असोज ३१ गते २१:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २८ असोजबाट सक्रिय राजनीतिबाट बिदा लिएर कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएका छन्।
  • मंसिरभित्र नियमित महाधिवेशन नभए २४८८ जना प्रतिनिधिले विशेष महाधिवेशन गर्न हस्ताक्षर कार्यवाहक सभापति खड्कालाई बुझाएका छन्।
  • कार्यवाहक सभापति खड्काले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्दै मंसिरभित्र महाधिवेशन गर्ने दबाब र चुनौती सामना गरिरहेका छन्।

३१ असोज, काठमाडौं । जेनजी विद्रोहले उठाएका मागलाई केही हदमा सम्बोधन गर्ने गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २८ असोजबाट सक्रिय राजनीतिबाट बिदा लिए । सभापति देउवाले कार्यकारी अधिकारसहित कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिए ।

कार्यवाहक सभापति खड्काले प्राप्त गरेपनि देउवाको प्रभाव केही समयसम्म निरन्तर रहने प्राध्यापक लोकराज बराल बताउँछन् । बरालले अनलाइनखबरसँग भने,‘अहिले कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइए पनि, उनले अझै सभापतिको पद पूर्णरूपमा त्यागिसकेका छैनन् । त्यसैले देउवाको प्रभाव केही समय रहिरहन्छ ।’

नियमित हुन नसके विशेष महाधिवशेन गराउनुपर्ने दबावमा कार्यकारी भूमिका प्राप्त गरेसँगै खड्का लागि एकातर्फ नियमित महाधिवेशन गर्नुपर्ने चुनौती छ भने अर्कोतर्फ पार्टीभित्रको आन्तरिक व्यवधानहरू पार गर्नुपर्नेछ ।

खड्काले कार्यवाहक पद प्राप्त गरेकै भोलिपल्ट बहुमत प्रतिनिधिले विशेष महाधिवेशनको लागि हस्ताक्षर उनलाई बुझाएका छन् । मंसिरभित्र नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने दबाव उनी माथि पर्नेछ ।

मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने माग सहित २४८८ जना प्रतिनिधिले कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका छन्

यो अंक १४ औं महाधिवेशनका कूल प्रतिनिधि मध्ये बहुमत संख्या (५३ प्रतिशत) हो । नियमित हुन नसके विशेष महाधिवेशन हुनुपर्ने मागकर्ताहरूले विगतमा छोटो समयमा महाधिवेशन सम्पन्न गरेको उल्लेख गर्दै भनेका छन्, ‘यदि यो सम्भव नभए, धारा १७ (२) बमोजिम विशेष महाधिवेशन गरी विषम परिस्थितिलाई सम्बोधन गर्न अनिवार्यता छ ।’

छोटो समयमा नियमित महाधिवेशन गर्ने समयको दबावमा खड्का छन् । क्रियाशील सदस्यता वितरण, नवीकरण, तल्लो तहको अधिवेशनको गरेर अबको दुई महिनाभित्रै नयाँ नेतृत्व ल्याउनुपर्ने अवस्थामा खड्का छन् ।

कांग्रेसको विगतको परम्परा हेर्ने हो भने कार्यतालिका पटक-पटक प्रभावित हुँदै आएको देखिन्छ ।

द्रुत गतिमा सकिने गरी कार्यतालिका बनाएर नियमित महाधिवेशन गर्नुपर्ने दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँगै संस्थापनइतरका नेता डा.शेखर कोइराला पक्षधर छन् । संस्थापन पक्ष भने मंसिरमा महाधिवशेन गर्दा चुनावी तयारी नपुग्ने तर्क राख्दै आएको छ ।

वर्तमान कार्यसमितिको चार वर्षे अवधि यही मंसिरमा सकिँदैछ । प्रतिकूल अवस्थामा कार्यकाल एक वर्ष थप्न सकिने विधानको सुविधा छ । तर, महामन्त्री थापा र शर्मा वर्तमान कार्यसमिति थप्ने गरी केन्द्रीय समितिमा प्रस्ताव नलाने अडानमा छन् ।

वर्तमान समितिको अवधि मंसिर उता लान खोज्ने र अवधि बढाउनै नहुने दुई अडानलाई सहमतिमा ल्याउने जिम्मेवारी कार्यवाहक सभापति खड्काको काँधमा छ ।

खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी लिएर केन्द्रीय समितिको बैठक पहिलोपटक अध्यक्षता गर्दा नै उनी सामू एजेण्डालाई लिएर चुनौती देखियो ।

महामन्त्री थापाले मंसिरभित्र महाधिवशेन गर्न कार्यतालिका सहितको प्रस्ताव बिहीबारको बैठकमा पेश गर्ने तयारीमा थिए । बैठकको एजेण्डा तय गर्न शीर्ष नेताको छलफलमा महामन्त्री थापाले वडादेखि केन्द्रसम्मको कार्यतालिका पेश गर्ने अडानमा थिए ।

कांग्रेसका एक कार्यसम्पादन समितिका सदस्यले दिएको जानकारी अनुसार कार्यवाहक सभापति खड्काले बिहीबारको बैठकमा कार्यतालिका पेश नगर्न महामन्त्री थापासँग आग्रह गरे ।

त्यसपछि मध्यामार्गी बाटो अपनाएको उनी बताउँछन्,‘अर्को महामन्त्री विश्वप्रकाश शर्माले मध्यस्थता गर्नुभयो । पूर्णबहादुर खड्काले विशेष महाधिवशेनका लागि प्राप्त भएको हस्ताक्षरको विषय प्रवेश गराउने र विधानले तोकेको समय भित्र नै त्यो महाधिवेशन गर्ने एजेण्डा गगनले राख्ने सहमति बन्यो ।’

कार्यवाहक सभापति खड्का माथि विधानले तोकेको समयावधि भित्र नै पार्टीको १५ औं महाधिवशेन गर्नुपर्ने दबाब एक पक्षले बढाएको छ । अर्कोतर्फ, संस्थापन पक्षका कतिपय नेताहरु वर्तमान समितिको अवधि थपेर महाधिवशेनको समय पर सार्न खोजेका छन् ।

नियमित महाधिवेशन पक्षधरहरु मंसिरमा महाधिवशेन नभए स्वतः विशेष महाधिवशेनको चरण प्रवेश गर्ने बताउँदै आएका छन् । विशेष महाधिवेशनका लागि हस्ताक्षरको अभियान चलाउने एक नेताले भने,‘विशेष महाधिवशेन एउटा अवस्थामा मात्रै रोकिन्छ । त्यो भनेको मंसिरमा नियमित महाधिवशेन हुनु हो ।

विधान अनुसार पेश गरिएको हस्ताक्षर प्रस्तावलाई मर्न दिँदैनौं ।’ केन्द्रीय समितिबाट बहुमतको बलमा महाधिवशेन पर सार्ने गरी कार्यतालिका ल्याउने प्रयत्न गरिए स्विकार नगर्ने संस्थापनइरतका नेताहरुले बताउँदै आएका छन् । कार्यवाहक सभापति खड्का निकट नेता रामहरि खतिवडा समूह नभनेर महाधिवशेन गराउन खड्कालाई सबै पक्षले साथ दिनुपर्ने बताउँछन् ।

समूहलाई एकत्रित राख्ने चुनौती

कार्यवाहक सभापति खड्कालाई इतरको साथै आफ्नै समूहका नेताहरुको चुनौती पनि छ । सभापति देउवाका सधैंका सारथी खड्काले आफ्नो समूहलाई एकतावद्ध राख्न उनका लागि सहज नहुने नेताहरु बताउँछन् । पूर्व पदाधिकारी विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा.शशांक कोइराला, विजय गच्छदार, गोपालमान श्रेष्ठ, प्रकाशशरण महत लगायतलाई देउवाले आफूसँगै राखेका थिए । यी नेताहरुले पटक-पटक गरेका बैठकमा खड्का उपस्थित भएनन् । १५ औं महाधिवेशन केन्द्रित छलफलमा खड्कालाई पनि पूर्व पदाधिकारीहरुले बोलाएपनि उनी सहभागी भने भएनन् ।

देउवाले आफूसँगै एकत्रित गरेका यी नेताहरुलाई खड्काले पनि सँगै राख्न सक्लान् ? उनी माथि प्रश्न उठिसकेको छ । यी नेताहरुको पार्टीभित्र संख्यामा सानो नै भएपनि शक्ति भने छ । प्राध्यापक बराल भन्छन्,‘यस्तो बेला देउवा निष्कृय हुँदा सबल नेतृत्व अभाव खड्किन सक्छ । नेतृत्व कार्यवाहकको हातमा हुँदा पार्टीलाई एकीकृत गर्न कठिन हुन्छ ।’

देउवाको पक्षमा केन्द्रीय समितिमा रहेका ८० प्रतिशतको शक्तिलाई एकतावद्ध गराउने क्षमता उनले देखाउन सक्लान् ? उनी प्रश्नको घेरामा रहेको कांग्रेसका नेताहरु बताउँछन् । खड्काको प्रवृत्तिबारे एक नेताले टिप्पणी गरे,‘निर्देशन र नियन्त्रण गर्ने उनको प्रवृत्ति छ । अब कार्यकारी भूमिकामा रहँदा कस्तो व्यवहार गर्नुहुन्छ । केही दिनमै थाहा हुन्छ ।’ पार्टीभित्र उदारता र र धैर्यता खड्काले देखाउन सके पार्टी संरचनामा उनी बलियो देखिने ती नेता बताउँछन् ।

खड्का निकट केन्द्रीय सदस्य रामहरि खतिवडा कार्यवाहक सभापति खड्काले विगतमा खेलेको भूमिका र समन्वय गर्नसक्ने क्षमताले सफल हुने दाबी गर्छन् । खतिवडा भन्छन्,‘कृष्णप्रसाद भट्टराईको नजिक रहेको काम गर्नुभएको पूर्णबहादुर खड्काले किसुजीको आदर्शबाट पार्टीलाई अझ बलियो बनाउने विश्वास लिएका छौं ।’

१५ औं महाधिवेशनबाट सभापति हुने आकांक्षीमा आधा दर्जन बढी नेता छन् । कार्यवाहक सभापति खड्का, महामन्त्री थापा, संस्थापनइतरका नेता डा.शेखर कोइराला नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइरालादेखि गोपालमान श्रेष्ठ लगायतले सभापति हुने चाहना राखेका छन् । देउवाको समर्थन लिएर सभापति हुने चाहना संस्थापन पक्षका सबै नेताहरुमा छ ।

कार्यवाहक सभापति भएका खड्का सभापतिको प्रत्यासी हुनु स्वाभाविक देखिन्छ । संस्थापनबाट आकांक्षी रहेका नेताहरुलाई व्यवस्थापन गरेर सभापतिको प्रत्यासी देखिनु उनका लागि थप चुनौती छ ।

युवा विश्लेषक शंकर तिवारीको बुझाईमा खड्का बढी हल्ला नगरिकन आफ्ना रणनीति तय गर्ने व्यक्ति हुन् ।

‘संकटका बेला त अतालिएको देखाउँदै देखाउँदैनन् । उनको पार्टीका विभिन्न पदमा रहेर काम गरेको र राजकीय पदमा रहेर काम गरेको पृष्ठभूमि र पृष्ठ अनुभवले उनले पार्टीको संकट पार लगाउन सहयोगी भूमिका निर्वाह गर्न सक्छन् भन्न सकिन्छ,’ कार्यवाहक सभापति खड्काबारे तिवारीको विश्लेषण छ ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?