+
+
Shares

‘राजनीतिमा देउवाको प्रभाव तुरुन्तै हराउँदैन’

राजनीतिमा निष्कृय हुने भनेर देउवाले गरेको निर्णय जेनजी आन्दोलनबाट सिर्जित बाध्यात्मक परिस्थितिको उपज हो, उनको स्वत:स्फूर्त होइन ।

प्राध्यापक लोकराज बराल प्राध्यापक लोकराज बराल
२०८२ असोज ३० गते ८:५६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मेरो सम्बन्ध गुरु-शिष्यको हो । मैले उनलाई त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्र पढाएको थिएँ । पछि उनी बेलायत पढ्न जाँदा मैले नै सिफारिस गरेको थिएँ ।

डडेलधुराको दुर्गम गाउँबाट उठेर उनी पाँच-पाँचपटक देशको प्रधानमन्त्री नै बने । यो आफैंमा ठूलो उपलब्धि हो । उनको त्यो मिहिनेत, लगन र संघर्षको म सम्मान गर्छु ।

पछिल्ला वर्षमा उनको छवि धेरै कुरा, कहानी र विवादले ढाकियो । उनीबारे सार्वजनिक कतिपय कुरा साँचो होलान् तर कतिपय अतिरञ्जना पनि ।

राजनीतिक जीवनमा आलोचना त हुन्छ नै, तर उनले संयमतापूर्वक खेलेका छन् । अहिले पनि हेर्नुस्, एमाले अध्यक्ष केपी शर्मा ओलीले जस्तो कठोर शब्द बोल्दैनन् । देउवामा अझै पनि लोकतान्त्रिक संस्कार र सहनशीलताको झल्को देखिन्छ । यो गुण उनीबाट सिक्न लायक छ ।

तर, यथार्थ के हो भने ओली, देउवा र प्रचण्डजस्ता नेताहरूको त्रिकोणीय लेनदेनले देशमा जनताभन्दा सत्तालाई प्राथमिकता दिएको महसुस भयो । त्यसैले जनताको भरोसा घट्दै गएको हो । भ्रष्टाचार बढेको कुरा पनि त्यसकै परिणाम हो ।

शेरबहादुर देउवाले सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरे । यो कुनै कुरा नयाँ होइन । उनले पहिले नै भन्ने गरेका थिए– महाधिवेशनपछि म उठ्दिनँ, अब नयाँ पुस्तालाई अवसर दिनुपर्छ भनेर । त्यो कुरा उनले केन्द्रीय समिति बैठकमा फेरि स्पष्टसँग राखे । त्यसैले उनले पार्टीको नेतृत्व हस्तान्तरण गर्छु, म आगामी महाधिवेशनमा उम्मेदवार बन्दिनँ भनेको कुरा मलाई अस्वाभाविक लागेको छैन । अहिलेको सन्दर्भसँग जोडेर हेर्ने हो भने उनले सभापतिको आशा त्याग्नुपरेको बाध्यताको परिणामजस्तो देखिन्छ ।

ओलीसँग भएको लेनदेन र प्रधानमन्त्री पदको मोह चाहिँ अनावश्यक थियो । पाँच पटक प्रधानमन्त्री भइसकेको मानिसले फेरि त्यही पदमा यति लोभ गर्नु आवश्यक थिएन । यदि उनले पहिले नै पद र जिम्मेवारीबाट अलग भएर उदाहरण पेश गरेको भए, त्यो पार्टी र देशका लागि राम्रो सन्देश हुनेथियो ।

अहिले देउवाले गरेको निर्णय जेनजी आन्दोलनबाट सिर्जित परिस्थितिको बाध्यताको उपज हो, उनको स्वत:स्फूर्त होइन । अहिले युवाहरू र नयाँ पुस्ताले अब तपाईंको समय सकियो भनेर दबाब दिएका थिए ।

तर कांग्रेसभित्रको पुस्तान्तरण उनको इच्छाले मात्र वा अरु कसैले चाहेर मात्र हुने पनि होइन, परिस्थितिले तय गर्छ । पार्टीमा नयाँ पुस्ता आउन, आफैं लोकप्रियता र संगठनात्मक आधार बनाउनु पर्छ । देउवाले रामचन्द्र पौडेललाई पराजित गरेर सभापति बनेका थिए । नयाँ पुस्ताले पनि त्यो क्षमता विकास गर्न सक्नुपर्छ ।

देउवाको राजनीतिक यात्रा लामो छ, झन्डै पाँच दशक । उनले धेरै पटक अवसर पाएका छन्, तर अन्त्यतिर आइपुग्दा उनको नेतृत्वबाट कांग्रेसले ठूला नतिजा लिन सकेन । पार्टीभित्र विभाजन पनि बढ्यो । उनी पनि पहिलेजस्तो सक्रिय भएनन् ।

स्वास्थ्य कारणले पनि उनको सक्रियता कमजोर भएको हुनसक्छ । त्यसैले अहिले कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइए पनि, उनले अझै सभापतिको पद पूर्णरूपमा त्यागिसकेका छैनन् । त्यसैले देउवाको प्रभाव केही समय रहिरहन्छ । संसद पुन:स्थापना भए, उनी फेरि प्रधानमन्त्री बन्ने लाइनमा देखिन पनि सक्छन् ।

उनले अब सक्रिय हुँदैन भन्नुलाई पूर्ण रूपमा राजनीतिबाट अवकाश लिएको भनेर बुझ्नु हुँदैन । नेतृत्वको कार्यभार मात्र हस्तान्तरण गर्न लागेकाले देउवाको राजनीतिक प्रभाव अझै रहिरहन्छ भन्ने मेरो विश्लेषण छ ।

कांग्रेसभित्र अहिले प्रतिनिधि सभा पुन:स्थापनाको मुद्दा उठाउने र आगामी फागुन २१ गते तोकिएको निर्वाचनमा होमिने भन्ने विषयमा विवाद छ । यस्तो बेला देउवा निष्कृय हुँदा सबल नेतृत्व अभाव खड्किन सक्छ । नेतृत्व कार्यवाहकको हातमा हुँदा पार्टीलाई एकीकृत गर्न कठिन हुन्छ ।

संवैधानिक दृष्टिले अहिलेको सरकार पनि ठ्याक्कै संविधानअनुरूप बनेको होइन, यो असामान्य परिस्थितिको उपज हो । कहिलेकाहीँ राजनीति केवल कानुनी व्याख्याबाट मात्र हुँदैन, परिस्थितिको बलले पनि चल्छ ।

तर जस्तोसुकै आलोचना भए पनि, देउवाको योगदान इतिहासमा रहनेछ । उनले लोकतन्त्र र पार्टीलाई ठूला संकटबाट जोगाउन पनि भूमिका खेलेका छन् । उनी नेपाली राजनीतिका एक महत्वपूर्ण पात्र हुन् । देउवा संयमी, व्यवहारिक र संगठनात्मक शक्ति भएका नेता भनेर इतिहासमा सम्झिइरहनेछन् ।

(प्राध्यापक बरालसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?