
२८ असोज, काठमाडौं । जेनजी आन्दोलनपछि नेतृत्वसहित पार्टी पुनर्गठनको माग चर्किएको कांग्रेसमा सभापति शेरबहादुर देउवाले सक्रिय पदबाट बिदा लिएका छन् । उनले मंगलबारको केन्द्रीय कार्यसमिति बैठकबाट उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी हस्तान्तरण गरेसँगै देउवा अब कांग्रेसको अभिभावकीय भूमिकामा पुगेका छन् ।
विधान अनुसार नयाँ महाधिवेशनबाट यत्तिकै पनि देउवा तेस्रो कार्यकालका लागि सभापतिमा उठ्न पाउँदैनथे । स्वत: नेतृत्व हस्तान्तरण हुने थियो । तर जेनजी आन्दोलनमा आफैंसमेत सांधातिक आक्रमणमा परेर स्वास्थ्य लाभ गरी फर्केका देउवाले पार्टी भित्र तत्काल नेतृत्व हस्तान्तरणका लागि उठेको आवाजलाई केही सम्बोधन गर्ने कोसिश गरे । जसको सुरुवात उनले कार्यबाहक सभापति खड्कालाई सभापति पद हस्तान्तरणबाट गरे ।
१५ औं महाधिवशेनबाट नेतृत्व परिवर्तनको सवाल उठेको उल्लेख गर्दै देउवाले केन्द्रीय समितिमा भने, ‘घरमा सधैं एकै जना मूली रहँदैन ।’
सभापति देउवाले कार्यबाहक दिने/नदिने वा दिएपनि फेरि सक्रिय हुने आशंका नेता कार्यकर्तामा थियो । देउवाले उक्त शंकालाई आजदेखि अन्त्य गरिदिएका छन् ।
सोही शंकासँगै अर्को उपशंका केही समय कार्यबाहक दिएर पूर्ववत फर्किन्छन् कि भन्ने पनि थियो । कांग्रेस नेताहरूका अनुसार सभापति देउवाको सभापति पदमा सक्रिय हुने गरी क्रियाशील हुने चाहना देखिँदैन ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सभापति देउवाले अब अभिभावकीय भूमिकामा रहने बताउँछन् । ‘१५ औं महाधिवशेनसम्म अभिभावकीय भूमिकामा उहाँ रहनुहुन्छ । पार्टीलाई परेका चुनौतीहरूको सामना गर्नुहुन्छ,’ विश्वकर्माले अनलाइनखबरसँग भने, ‘अब पार्टीको कार्यकारी भूमिकामा पूर्णबहादुर खड्का रहनुहुन्छ ।’
जेनजी आन्दोलनको दोस्रो दिन बुढानीलकण्ठस्थित निवासमा कुटपिटबाट घाइते भएका देउवा ३४ दिनपछि सार्वजनिक रुपमा देखा पर्दै पार्टी बैठकमा भाग लिन गएका थिए । जहाँ उनले मात्र मन्तव्य दिए ।
एक महिनाभन्दा बढी समयसम्म सभापति देउवा सक्रिय राजनीतिबाट टाढा रहँदा समेत आन्तरिक राजनीतिमा कमी आएन । जेनजी आन्दोलनले दलहरूमा पुर्नगठनको माग गरेका उल्लेख गर्दै कांग्रेसभित्र सुधारका लागि नेताहरूले फरक फरक तरिकाले दृष्टिकोण राखिरहेका थिए ।
वर्तमान नेतृत्व कायम राखेर निर्वाचनमा जान नसकिने निचोडसहित पार्टी सुधार गरेरै छोड्ने प्रतिवद्धता दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यस बीचमा गर्दै आएका थिए ।
अर्कोतर्फ, देउवा निकटका कतिपय नेताहरूले उपचारकै क्रममा सभापति रहेको बेला महामन्त्रीहरू हतारिएको टिप्पणी गरेका थिए । यहीबीचमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलिरहँदा पार्टीभित्र तिक्तता बढ्ने संशय यथावत् थियो ।
२६ असोजमा डाकिएको केन्द्रीय समितिको बैठकमा छलफल गर्नका लागि एजेण्डा तय समेत गर्न नसकिरहेको परिवेश थियो ।
केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गर्न बुधबार र बिहीबार वर्तमान र पूर्वपदाधिकारीको बैठक बस्यो । उक्त बैठकलाई विस्तार गरी कार्यसम्पादनमा रुपान्तरण गरियो ।
शुक्रबार, शनिबार र आइतबार भएको कार्यसम्पादन बैठकले समेत केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न सकेन । सोमबार दिनभर भएका अनौपचारिक बैठकले समेत केन्द्रीय समिति बैठकका एजेण्डा निश्चित गर्न सकेन । शीर्ष नेता र कार्यसम्पादन समिति बैठकले एजेन्डा तय गर्न नसकेपछि पार्टीभित्र अन्योल बढेको थियो ।
मंसिरभित्र नियमित महाधिवशेनको कार्यतालिका सहित प्रस्ताव ल्याउनुपर्ने अडानमा दुई महामन्त्री थिए । संस्थापन पक्षका नेताहरू भने मंसिरमा नियमित महाधिवशेनमा पार्टी केन्द्रित हुँदा चुनावी तयारीमा असर पुग्ने दाबी गर्दै आएका थिए ।
यही अन्योलबीच केन्द्रीय समिति बैठक बस्ने दिन मंगलबार बिहान महामन्त्री थापा र शर्मा सभापति देउवालाई भेट्न गए । केन्द्रीय समिति बैठक एजेन्डाविहीन हुने र दुई पक्ष आरोप प्रत्यारोपमा उत्रने भयका बीच मध्यमार्गी बाटो अपनाइयो ।
केन्द्रीय समितिको पहिलो दिनको बैठकलाई सहज वातावरणमा टुंगाउने वातावरण विहान सभापतिसँगको छलफलमा भएको थियो ।
महामन्त्री निकट एक नेताका अनुसार, देउवाले मन्तव्य राखेर सौहार्दपूर्ण रुपमा आजको केन्द्रीय समिति बैठक टुंग्याउने सहमति बनेको थियो ।
सभापति देउवाले मन्तव्य राख्नुअघि विशेष महाधिवशेनको पक्षमा संकलित हस्ताक्षर पेश नगर्ने निश्चित गरिएको थियो ।
हस्ताक्षरको अगुवाइ गर्नेमध्येका एक नेताले भने, ‘सभापति सम्मानजनक रुपमा बिदा हुन चाहनु भएको छ भने मन्तव्य अघि माहोल नबिगारौं भन्ने भयो । आज पेश गर्ने भनिएको हस्ताक्षरलाई रोक्यौं ।’
केन्द्रीय सदस्य मधु आचार्यका अनुसार विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेको संख्या ५४ प्रतिशत कटेको छ । कांग्रेसको १४ औं महाधिवशेनमा ४७४३ महाधिवेशनबाट हाल कायम ४५५६ प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
हाल कायम महाधिवशेन प्रतिनिधि मध्येबाट २४८७ जनाले विशेष महाधिवशेनको पक्षमा हस्ताक्षर गरेका छन् । कांग्रेस विधान अनुसार ४० प्रतिशत महाधिवशेन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेको अवस्थामा विशेष महाधिवशेन आव्हान गर्नुपर्ने व्यवस्था छ । आज पेश गर्न लागिएको हस्ताक्षर बुधबार बुझाउने गरी स्थगित गरिएको छ ।
नेताहरूका अनुसार, सभापति देउवाको मन्तव्य तयार गर्दा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा राख्नुपर्ने धारणाहरूमा छलफल भएको थियो ।
जेनजी आन्दोलन, निर्वाचन, पार्टीले अब खेल्नुपर्ने भूमिका लगायतमा बिहान छलफल गरेर मन्तव्यलाई अन्तिम रुप दिइएको नेताहरू बताउँछन् ।
‘आज सभापतिले एउटा पार्टी लाइन बोलिदिएपछि हामीलाई केन्द्रीय समितिबाट निर्णयहरू लिन सहज भयो,’ शीर्ष तहका एक नेता भन्छन्, ‘आज सभापति राखेका धारणा र पछि केन्द्रीय समितिले लिएका निर्णय बाझिने अवस्था अब भने रहेन ।’
विधानले तोके अनुसार पद छोड्छु भनि देउवाले बोलेको हुँदा चार वर्षे अवधि (यही मंसिर) भित्र नयाँ नेतृत्वका लागि महाधिवेशन हुने बाटो खुलेको नेताहरूको बुझाइ छ ।
सभापति देउवालाई मंसिरभित्रै महाधिवेशनको हुने गरी वक्तव्य दिन आग्रह समेत गरेका थिए । महामन्त्री निकट नेताले सुनाए, ‘महामन्त्रीहरुको कुरा मंसिरैभित्रै अधिवेशन हुने मन्तव्य दिनुस् भन्ने थियो । समय किटान नगरेपनि विधानले तोकेको समय भन्नुभएको छ ।’
विधानमा प्रतिकूल अवस्थामा कार्यकाल एकवर्ष अवधि थप्न सकिने व्यवस्था छ । सभापति देउवाले विधानले तोकेको अवस्था उल्लेखित गरेको हुँदा र वर्तमान समितिको अवधि थप्न सकिने अवस्था नरहेको हुँदा नियमित महाधिवशेन मंसिरमा हुनेमा नेताहरू विश्वस्त देखिन्छन् ।
‘विधानले दिएको अवधि हाम्रो २०८२ मंसिर हो । सभापतिले विधान अनुसार भनिसकेको हुँदा केन्द्रीय समितिले नियमितका लागि निर्णय लिनुपर्यो नि अब,’ शीर्ष तहका अर्का एक नेता भन्छन् ।
२०३१ सालमा संस्थापक नेता बीपी कोइराला सभापति आफू हुँदाहुँदै कार्यबाहक कृष्णप्रसाद भट्टराईलाई तोकेका थिए । २०६३ सालमा गिरिजाप्रसाद कोइरालाले सुशील कोइरालालाई कार्यबाहक तोकेका थिए । त्यसबेला बीपी र गिरीजा अभिभावकीय भूमिकामा रहेजस्तै अब सभापति देउवा त्यो भूमिकामा रहने प्रचार विभाग प्रमुख विश्वकर्मा बताउँछन् ।
तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4