+
+

सम्पदा पुनर्निर्माणमा भक्तपुर मोडल

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७७ साउन ३ गते २०:३४

२ असार, काठमाडौं । असार मध्यतिर भक्तपुरकै पाँचतले (न्यातपोल) मन्दिरको पुनर्निर्माण सकियो । त्यो पनि लागत अनुमानभन्दा आधा कम खर्चमा । हो, ६५ लाख १३ हजार ३५८ रुपैयाँ २७ पैसा लागत अनुमान गरिएको न्यातपोल मात्र ३० लाख रूपैयाँ बनेको छ ।

यो जनता जागेपछि मिलेको सफलता हो, जसलाई सम्पदा निर्माणमा भक्तपुर मोडल पनि भनिन्छ ।

भक्तपुर नगरपालिकाका अनुसार यो मन्दिर निर्माणका क्रममा कुल ४ हजार १६५ जनाले स्वेच्छिकले श्रमदान गरे । त्यसमा पनि महिलाहरू निकै अगाडि रहे ।

नगरपालिकाको सम्पदा शाखाका अधिकारीहरू सुनाउँछन्, ‘अरूभन्दा पनि पाँचतले मन्दिर निर्माणमा अभूतपूर्व जनसहभागिता देखियो । देवीको मन्दिर पुनर्निमाणका लागि आएका महिलाहरूको जमात देख्दा लाग्थ्यो, आफ्नो मन्दिर निर्माणका लागि साँच्चिकै देवीकै स्वरूप आएका छन् ।’

श्रमदान गर्नेहरू कसैले पनि दुईदिन काम गर्नुपरेन । कतिपयले चाहेर पनि श्रमदान गर्न पाएनन् । श्रमदानका लागि आएकाहरू कसैले पनि समय गुजार्ने गरी काम गरेनन् । कोही श्रमदान गर्नेहरूलाई पानी खुवाउने काम गर्थे, खाजा खाने समयमा घरबाटै ल्याएको खाजा सबैजना एकै ठाउँमा बसेर खान्थे । २०७६ साल कात्तिकमा निर्माण सुरु गरेको सो मन्दिरको काम असारको मध्यमा सम्पन्न भयो । कोभिड-१९ का कारण चैतमा केही समय रोकिएको निर्माण कार्य पनि स्थानीयकै जोडबलमा  मास्क र पञ्जा लगाएर पुनः सुरू गरिएको थियो ।

अझ महत्पपूर्ण के भने, भक्तपुरमा जनश्रमदानबाट बनेको सम्पदा न यो पहिलो हो, न अन्तिममा नै हुनेछ ।

२०७२ सालको विनाशकारी भूकम्पको केही समयअघि भक्तपुरको धनविनायक मन्दिर यसरी नै पुनर्निर्माण भएको थियो ।

मन्दिर जीर्णोद्धारका लागि नगरपालिकाले तीन लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो । तर ठेकेदारलाई पैसा दिएर काम लगाउँदा नाफामुखी हिसाबले काम सम्पन्न हुने भन्दै स्थानीयले उपभोक्ता समितिमार्फत मन्दिर जीर्णोद्धार गर्ने अनुमति दिन नगरपालिकासँग आग्रह गरे । नगरपालिका सहमत भएपछि स्थानीय दीपेशराज शर्माको नेतृत्वमा उपभोक्ता समिति गठन भयो । र, समितिले मन्दिरको जीर्णोद्धार तोकिएको समयमा त सम्पनन गर्यो नै, लागत पनि घटयो । नगरपालिकाले साढे तीनलाखमध्ये डेढलाख फिर्ता गरियो ।

मन्दिर बनाउँदा खर्च भएको वास्तविक मूल्य कुल ११ लाख हो । स्थानीयले स्वतस्फूर्त सहयोग गरेकाले नगरपालिकाले दिएको रकम फिर्ता गरेको शर्मा बताउँछन् । मन्दिर निर्माणमा ५० जनाले श्रमदान गरेका थिए । ‘कसैले छानो हाल्न सहयोग गरे, कसैले ढोकाका लागि, आर्थिक सहयोग गर्न नसक्नेले श्रमदान गरे’ शर्मा भन्छन्, ‘जे होस् त्यो कामले हामी सबैलाई उपभोक्ता समितिमार्फत् कसरी राम्रो काम गर्न सकिन्छ भन्नेमा राम्रो अनुभव हासिल भयो ।’

त्यसपछि नै भक्तपुर सम्पदा पुनर्निमार्णमा ठेकेदार प्रथाभन्दा उपभोक्ता समितिमार्फत् काम गर्न आकर्षित भयो ।

अहिले न्यातपोल मात्र होइन, भक्तपुर दरबार क्षेत्रमा रहेको बत्सला देवीको मन्दिर निर्माणको पनि जनश्रमदानमा नै सम्पन्न भयो । यो मन्दिरको पूरै भाग ढुंगाबाट निर्माण गरिएको छ । त्यसैले यहाँ जनश्रमदान मात्रभन्दा प्राविधिक ज्ञान भएको जनशक्ति आवश्यकता थियो । तर प्राविधिकलाई स्थानीयले सुरुदेखि अन्त्यसम्म आफूले गर्नसक्ने काम गरेर साथ दिइरहे ।

मन्दिर निर्माणमा थप प्राविधिक समस्या पनि थियो, जसका कारण पुनर्निर्माण सम्पन्न गर्न तीन वर्षसम्म कुर्नुपर्‍यो ।

सबैभन्दा ठूलो समस्या त यहाँ प्रयोग ढुंगा पाउन मुस्किल पर्‍यो । नजिकै रहेको सिद्धिलक्ष्मीको मन्दिरमा ठेकेदारले स्वरूप बिग्रनेगरी ढुंगा प्रयोग गर्दा विरोध गरेर पुरानै स्वरूपको ढुंगा राख्न लगाएका स्थानीयले त्यो मन्दिरमा पनि जस्तोपायो उस्तो ढुङ्गा निर्माणमा प्रयोग गर्ने कुरै थिएन ।

अर्को समस्या यो मन्दिर भूकम्पको समयमा पूरै भत्किएको थियो । यदि पुरै नभत्किएको भए मन्दिरमा रहेका ढुंगालाई नम्बर दिन सकिन्थ्यो । जसले पुनर्निमार्ण सहज हुन्थ्यो । तर त्यी नहुँदा समस्या भोग्नु पर्‍यो । यस्तै समस्याले गर्दा अरू मन्दिरभन्दा यसको पुनर्निर्माणमा धेरै पैसा लाग्यो । मन्दिर निर्माणका लागि १८ लाख ९४ हजार ४७८ रुपैयाँ ४ पैसाको लागत अनुमान गरिएको थियो, त्यसमध्ये १७ लाख ७७ हजार ७२ रुपैयाँ खर्च भएको छ ।

भक्तपुर नगरपालिकामा स्थानीय जनप्रतिनिधि आएपछि उपभोक्ता समितिमार्फत् १३० वटाभन्दा बढी मन्दिर, सत्तल, ढुंगेधाराजस्ता संरचनाको पुनर्निर्माण भइसकेको छ, जसमध्ये एउटा पनि सम्पदा ठेकेदारमार्फत् पुनर्निर्माण गरिएको छैन ।

पुरातत्व विभागले पुनर्निर्माण गर्न लगाएको सम्पदाहरू भने ठेकेदारले नै पुनर्निर्माण गरेका छन् । पुरातत्व अधिकृत मोहनसिंह लामा ठेकेदारभन्दा उपभोक्ता समितिमार्फत गरिएको काम बढी प्रभावकारी देखिएको बताउँछन् । उनी स्थानीय जनसहभागिता र उनीहरूले आफ्नै सम्झिएर गरेको काम र ठेकेदारले नाफामुखी हिसाबले गरेको काममा फरक हुनु स्वाभाविक रहेको उनको बुझाइ छ ।

नगरपालिकाले अहिले स्थानीय स्रोत र साधनमा निर्माण हुनै नसक्नेबाहेक सबै काम उपभोक्ता समितिमार्फत गर्ने निर्णय गरेको छ । त्यसको केही प्रत्यक्ष र परोक्ष फाइदा समेत रहेको नगरपालिकाका प्रशासन अधिकृत दामोदर सुवाल बताउँछन् । उनका अनुसार उपभोक्ता समितिमार्फत काम गर्दाको सबैभन्दा ठूलो फाइदा भनेको स्थानीयमा सम्पदाप्रति हुने अपनत्वको भाव हो । ‘आफूले बनाएको मन्दिरको एउटा इँटा भत्किँदा पनि उनीहरूको मन दुख्छ । आफूले बनाएको काम जसरी भए पनि राम्रै हुनुपर्छ भन्ने मान्यता राखेर स्थानीय काममा आउँछन्’ सुवालले अनलाइनखबरसँग भने, ‘अर्कोतर्फ ठेकेदारले जतिसक्दो सस्तोमा काम सकेर नाफा कमाउन खोज्छ । त्यसैले हामीले सुरुदेखि नै पहिलो मोडल अपनायौं ।’

नगरपालिकाले पुनर्निर्माण गरेका सबैजसो सम्पदामा स्वतस्फूर्त रूपमा भक्तपुरबासीले जनश्रमदान गरेका छन् ।

भैरवनाथ मन्दिरको पुनर्निर्माण झण्डै ६ महिनामा सम्पन्न भयो । यसको धेरै काम स्थानीयवासीले श्रमदानमार्फत नै गरे । नगरपालिकाका अनुसार मन्दिरको पुनर्निर्माणमा करिब दुई हजार जनाले श्रमदान गरेका थिए । श्रमदानकै कारण एक करोड ४६ लाख ३६ हजार ७४५ लागत अनुमान गरिएको मन्दिर बनाउन केवल ५६ लाख ६१ हजार २७८ रुपैयाँ खर्च भयो ।

त्यस्तै, लालाछेंको गणेश द्यःछेको निर्माणको लागि ११ लाख ४४ हजार ४१७ रुपैयाँ लागत अनुमान गरिएको थियो । झण्डै ६ महिनामा निर्माण सम्पन्न भएको योमन्दिर पुनर्निर्माणमा केवल ६ लाख ५९ हजार २२१ रुपैयाँ खर्च भयो । भक्तपुरको सिद्धी गणेश मन्दिर पनि स्थानीय जनश्रमदानमा बनेको मन्दिर हो । यसको पुनर्निर्माणको लागि १३ लाख १२ हजार ६११ रुपैयाँ लागत अनुमान गरिएकोमा जम्मा ६ लाख १२ हजार ५६२ रुपैयाँमा सम्पन्न भएको छ । झण्डै आधा लागतमा सम्पन्न भएका मन्दिरहरूमा भीमसेन मन्दिर, केदारनाथ मन्दिरलगायत छन् । भीमसेन मन्दिर निर्माणको लागि नगरपालिकाले १८ लाख ५१ हजार ४३९ रुपैयाँ लागत अनुमान गरिएको थियो । जसमा जम्मा ९ लाख ९२ हजार ७०२ रुपैयाँ खर्च भएको थियो । केदारनाथ मन्दिरमा भने ७२ लाख ६३ हजार ३९७ रुपैयाँ लागत अनुमान गरिएकोमा ३९ लाख १६ हजार ५०४ रुपैयाँ खर्च भएको थियो ।

यसबाहेक बद्रीनारायण पाटी, नृत्यनाथ मन्दिरलगायतको पुनर्निर्माण समेत तोकिएको भन्दा कम खर्चमा भएको छ ।

नगरपालिकाका अनुसार नयाँ जनप्रतिनिधि आएपछि भएका १३० वटाभन्दा धेरै सम्पदा पुनर्निर्माणमा अनुमानित लागतभन्दा धेरै खर्च भएको छैन भने स्थानीयले जनश्रमदान नगरेको ठाउँ छैन । यसलाई आफूहरूले भक्तपुर मोडलको रूपमा विकास गरेको  भक्तपुर नगरपालिकाका प्रशासन अधिकृत सुवाल बताउँछन् । ‘सडक पिच जस्ता स्थानीय स्रोत साधनले नधान्ने कामबाहेक अरूमा ठेकेदारलाई प्रयोग गर्ने गरेका छैनौं’ उनले अनलाइनखबरस्ग भने, ‘ठेकेदारले कमाउने फाइदाले हामीले अर्को सम्पदा पुनर्निर्माण गर्ने खर्च जुटाउने गरेका छौं ।’

किन भयो कम खर्च ?

प्रशासन प्रमुख सुवालका अनुसार उपभोक्ता समितिमार्फत काम गर्दा खर्च कम हुने मुख्य कारण भनेको नै पारिश्रमिक मात्रै हो । न्यातपोल मन्दिरको उदाहरण दिँदै उनी भन्छन् ‘यो मन्दिरमा झण्डै ४२ सय जनाले श्रमदान गरे । उनीहरूलाई दैनिक एक हजार रुपैयाँको दरमा पारिश्रमिक दिने हो भने पनि ४२ लाख रुपैयाँ खर्च हुन्थ्यो । यसको कुल बजेट ६४ लाखको छ ।

यस्तो अवस्थामा ठेकेदारले झण्डै २२ लाखमा सामान किनेर नाफाको हिस्सा राख्नुपर्ने अवस्था हुन्छ । त्यसैले अहिले जति श्रमिक नलगाउने र कमसल रूपमा जसरी हुन्छ देखावटी काम सम्पन्न गर्ने गर्छन् ।’ यसबाहेक ठेक्का प्रकि्रयामा सार्वजनिक खरिद ऐनले दिएको झण्झट झेल्नुपर्ने त छँदैछ । त्यसैले जनसहभागितामा निर्माण हुने हामीहरूको मोडल सफल भएको हो ।

पुरातत्व विभागको भक्तपुर दरबार क्षेत्रमा नै कार्यरत पुरातत्व अधिकृत लामा पनि सार्वजनिक खरिद ऐनले कम मूल्यमा आवेदन दिनेलार्इ नै ठेक्का दिनुपर्ने प्रावधानले समस्या गराएको बताउँछन् । ‘सबैले सडक निर्माणमा जसरी कम मूल्यमा टेण्डर हाल्छन्’ उनले भने, ‘जसले गर्दा गुणस्तरीय सामान ल्याउन नसक्दैनन् र हामीले ठेकेदारसँग झगडा गर्नुपर्छ ।’

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?